तेह्रथुमको तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ, दैनिक तीन हजारभन्दा बढी पर्यटक

तेह्रथुम । तेह्रथुमको तीनजुरे मिल्के जलजले टिएमजे क्षेत्रका होटल भरिभराउ आन्तरिक पर्यटकले भरिभराउ भएका छन् ।सो क्षेत्रलाई पर्यटन मन्त्रालयले पर्यटकीय नयाँ गन्तव्यको सूचीमा समावेश गरेको छ । आसन्न निर्वाचनमा तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङबाट उठेका उम्मेदवारलेसमेत टिएमजे क्षेत्रको विकासको एजेन्डा समेत बनाएका छन् चाडपर्व सकिएसँगैै यस क्षेत्रमा पर्यटक बढ्न थालेका हुन् । वसन्तपुरदेखि सुरु हुँदै आरआर गार्डेन, तिनजुरे, चौकी बजार, मङ्गलबारे, गुफा पोखरी हुँदै तिनजुरे–मिल्के–जलजले क्षेत्रमा यो बेला घुइँचो नै लाग्ने गरेको छ । उक्त क्षेत्रमा गुराँस फुल्ने सिजन र हिउँ परेका बेला मात्र आउने पर्यटनक यतिबेला कात्तिकको सातादेखि नै दैनिक तीन हजारभन्दा बढी पर्यटक आइरहेको स्थानीय योगेन्द्रबहादुर सुवेदीले बताए । पाथीभरा मन्दिरको दर्शन गर्ने र वनभोजमा बढी आउने गरेको उनको भनाइ छ । पर्यटकको बाक्लो आगमनले होटल व्यवसायी उत्साहित बनेका छन् । नेपाल पर्यटन बोर्डले पर्यटकीय पूर्वाधार निर्माण तीव्रता दिएसँगै आगन्तुक बढिरहेको जिल्ला समन्वय समितिका उपप्रमुख श्री कार्कीले बताए । उनी भन्छन्, ‘सन्तपुरदेखि गुफासम्मका होटेल खाली छैनन् । पर्यटनको भविष्य देखेर वसन्तपुरदेखि गुफासम्मको आसपासका क्षेत्रमा जिल्ला बाहिरका नागरिकलेसमेत होटल, लज तथा रिसोर्ट सञ्चालनका लागि महँगो मूल्यमा जग्गा किनिरहेका छन् ।’ पदयात्राको आनन्द र हिमशृङ्खलाको दृश्यावलोकन गर्न यस क्षेत्रमा पर्यटक आउने ग्याल्जे शेर्पाले बताए । रासस

म्याग्दीको रुप्से झरनामा आन्तरिक पर्यटकको भीड

म्याग्दी । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना क्षेत्रको अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने आकर्षकस्थल रुप्से झरनामा रमाउन आउने आन्तरिक पर्यटकका कारण यहाँको रौनक बढ्दै गएको छ । बेनी–जोमसोम–कोरला सडकखण्ड कालीगण्डकी करिडोर अन्तर्गत पर्ने यस झरनामा रमाउन विभिन्न जिल्लाबाट आएका आन्तरिक पर्यटकका कारण झरनामा भीड बढ्न थालेको छ । मुस्ताङ भ्रमणमा आउने प्रायः सबै पर्यटकले रुप्से झरनामा केही समय बिताउने गरेका छन् । मोटरसाइकल र निजी तथा भाडाका सवारी साधनबाट मुस्ताङ आउने–जाने पर्यटकको रोजाइमा रुप्से झरना पनि पर्ने गरेको छ । दुई वर्षअघि आएको भीषण बाढी र गत वर्षको पहिराले रुप्से झरना नजिकका पर्यटकीय पूर्वाधार बगाएको थियो । अग्लो पहाडबाट खस्ने यस झरनामा नजिकका ढुङ्गा र झरनाको पानीमा पर्यटकले तस्बिर खिचाउने र टिकटक बनाउने गरेका छन् । पूर्वाधार निर्माणसँगै चिटिक्क परेको रुप्से झरनालाई गत वर्ष बाढीले क्षति पुर्याए पनि कोरोना सङ्क्रमणको जोखिम कम हुँदै गएपछि रुप्सेमा रमाउन आएका पर्यटकका कारण यो झरना पुनः पुरानै लयमा फर्किएको हो । विश्वको सबैभन्दा गहिरो अन्धगल्छी र मनमोहक रुप्से झरना एकै स्थानमा अवस्थित छन् । उक्त झरना र अन्धगल्छीमा पर्यटकीय महत्वको भए पनि यसबाट स्थानीयवासीले उचित लाभ लिन भने सकिराखेका छैनन् । पर्यटकलाई निःशुल्क अवलोकन गर्न दिइँदा लाभ लिन नसकेको स्थानीयवासीले बताएका छन् । झरनामा रमाउनका लागि आएका पर्यटक सडकमा नै गाडी रोकेर झरनाको अवलोकनमा मुग्ध बनेपछि सडकसमेत अवरुद्ध हुने गरेको छ । झरना र गल्छीसम्म पुग्न व्यवस्थित पदमार्ग र अवलोकनका लागि भ्यू टावरका साथै अवलोकनकर्ताका लागि उचित बास र शौचालयको समेत व्यवस्था हुनुपर्ने पर्यटकको माग छ । विसं १९७५ मा ७५ पैसाको हुलाकी टिकटमा रुप्से झरनाको फोटो टाँसिए पनि अहिले उक्त टिकट प्रचलनमा छैन । साविकको दाना गाविसले झरना र अन्धगल्छीको मुख्य भागसम्म पुग्ने पदमार्ग तथा भ्यू टावर निर्माण गरेको छ । अन्नपूर्ण गाउँपालिका पूर्वप्रमुख क्या डमबहादुर पुनले आधारभूत आवश्यकताका पूर्वाधार विकासमा गाउँपालिकाले प्राथमिकताका साथ बजेट विनियोजन गरेर रुप्सेको सौन्दर्यलाई जीवन्त राख्ने योजना ल्याउनुपर्ने बताए । झरनामा कान्छा भूमेदेवताको बासस्थान रहेको विश्वासले हरेक वर्षको जेठ महिनामा स्थानीयवासीले बोका बलि चढाउने गर्छन् । झरनालाई धार्मिक दृष्टिकोणले समेत पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना देखिएको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ल्याण्डफिल्ड निर्माण अझै अन्योलमा

पोखरा । नागरिक उडड्यन प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ बाट सञ्चालनमा ल्याउने तयारी गरेको छ । विमानस्थलबाट बुध्द एयरले जनवरीदेखि भारतका विभिन्न गन्तव्यमा उडान गर्ने भन्दै विज्ञप्ति जारी गरिसकेको छ । यद्यपि विमानस्थलको मुख्य चुनौतीका रुपमा रहेको ल्याण्डफिल साइट कहाँ सार्ने भन्ने विषयमा महानगरले अझै टुङ्गो लगाउन सकेको छैन । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले ल्याण्डफिल्ड साइट व्यवस्थापनका लागि उपयुक्त स्थानको खोजी गरिरहेको र तत्काल कुनै पनि स्थानका बारेमा निर्णय गरिनसकेको स्पष्ट पारेका छन् । सामाजिक सञ्जानमा ल्याण्डफिल साइडका स्थानका बारेमा विभिन्न धारणा सार्वजनिक भएपछि प्रमुख आचार्यले तत्काल कुनै निर्णय नभएको भनि स्पष्ट पारेका हुन् । “ल्याण्डफिल्ड साइट व्यवस्थापन हाम्रा लागि चुनौतीको विषय हो यस विषयमा विभिन्न सात स्थानमा अध्ययन गरिसकेका छौँ, तर यही ठाउँ भन्ने कुराको निर्णय भइसकेको छैन’, आचार्यले भने,’हामी विभिन्नस्थानको खोजीमा रहँदा स्थानीयवासीले अनुमान गर्नुभएको हुनसक्छ र त्यही आधारमा सामाजिक सञ्जालमा चर्चा गरिएको हुनसक्छ, तर हामीले ल्याण्डफिल्ड साइट व्यवस्थापन गर्ने स्थानको यकिन गरिसकेका छैनौँ ।’ उनले ल्याण्डफिल्ड साइटको विषयमा महानगर निकै गम्भीर भएको र छिट्टै स्थानको टङ्गो लगाउने समेत बताए । उनले अब बन्ने ल्याण्डफिल्ड साइट व्यवस्थित तवरबाट प्रशोधन केन्द्रसहित राखिने त्यस विषयमा सार्वजनिक सुनुवाइ नै गरेर जानकारी दिए । पोखराको फोहर व्यवस्थापनदेखि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसम्मका महत्वपूर्ण कुरा सबै पोखरेलीको साझा विषय भएकाले सबैको साथ र समर्थन आवश्यकपर्ने उनको भनाइ छ । राजनीतिक दल, स्थानीय सामाजिक सङ्घ संस्था, नागरिक समाज सबैले यसको अपनत्व लिने गरी महानगरले काम गर्न उनको भनाइ छ । आचार्यले भौतिक निर्र्माण सम्पन्न भएको विमानस्थलमा क्यालिब्रेसन फ्लाइटको अन्तिम तयारीका लागि हाल रिठ्ठेपानीडाँडा कटानको काम भइरहेको बताए । डाँडाको माटोले ल्याण्डफिल साइट पुर्ने र तत्काल अल्पकालीन र केही दीर्घकालीन रुपबाट ल्याण्डफिल्ड साइटको व्यवस्थापन गरिने उनको भनाइ छ । विमानस्थल नजिक रहेको ल्याण्डफिल साइटका कारण गिद्धलगायत चराको आवागमन बाक्लो रहेको र यसले उडानलाई प्रभावित गर्ने विज्ञहरुले बताउँदै आएका छन् । केही दिन अघिमात्र उक्त विमानस्थलको रनवेमा गिद्ध बस्दै गरेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो ।