भोटेकोसीका होटल तथा रिसोर्ट लयमा फर्किदै, दैनिक ३० जना पर्यटकले बन्जीजम्प गर्ने

सिन्धुपाल्चोक । पछिल्लो समय सिन्धुपाल्चोकको भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्न थालेको छ । विश्वकै उत्कृष्ट १५ बन्जीजम्पभित्र पर्ने सो स्थानमा कोभिड महामारीसँगै पर्यटन सुस्ताएको थियो । भोटेकोसीमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन वढेको पर्यटन व्यवसायी शङ्खर भुजेल बताए । उनका अनुसार केही वर्षअघिसम्म विदेशी पर्यटकमात्र देखिने बन्जीमा अहिले ९० प्रतिशत आन्तरिक पर्यटक देखिन्छन् । विराटनगरकी प्रतीक्षा घिमिरे अष्ट्रेलियाबाट नेपाल आएका बेला मनोरञ्जनका लागि भोटेकोसीमा बन्जी हान्न आएको सुनाइन् । द्रुतगतिमा बग्ने भोटेकोसी नदीको एक सय ६० मिटरको झोलुङ्गे पुलबाट हामफाल्दा आफू उत्साहित भएको भारतीय पर्यटक धर्मेन्द्र चतुर्वेदी बताए । हाइकिङ र र्याफ्टिङका लागि पनि उत्कृष्ट यो ठाउँबाट दैनिक सरदर ३० जनासम्म पर्यटकले जम्प गर्ने गरेका छन् । पर्यटकको सङ्ख्यामा सुधार आएसँगै होटल तथा रिसोर्टहरू पनि पुरानै लयमा फर्कन थालेको होटल व्यवसायीहरू बताउँछन् । रासस

पशुपती क्षेत्रको गौशाला धर्मशाला सञ्चालन सम्झौता रद्द गरिने

काठमाडौं । पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौताविपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ । कोषले भत्काउन लाग्दा मारवाडी समुदायले अवरोध गरेपछि शनिबार भत्काउन भने बन्द गरिएको छ । त्यसक्रममा केहीबेर भनाभनसमेत भएको थियो । कानूनअनुसार पशुपतिनाथको जग्गा उपयोग गरिने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । धर्मशाला क्षेत्रमा कोषसँग समितिले गरेको सम्झौताविपरीत दूध तथा दुग्धजन्य पदार्थ बिक्रीवितरण गर्ने गरेकाले व्यापारमा प्रयोग भएका कानूनविपरीतका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको हो । विसं १९९९ साल जेठ २ गतेको पुर्जीअनुसार साँढेलाई गौचरण राखी जुनेलो घाँस लगाउन हरिनारायण रामकुमारलाई एक रोपनी आठ आना जग्गा दिइएको त्यसबेलाको पुर्जीमा उल्लेख गरिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । गौचरण एवं जुनेलो घाँस लगाउन दिइएको जग्गा २०२१ सालको नापीमा दुई कित्ता भएको थियो । नापीका समयमा पशुपति गाउँ विकास समिति वडा नं २ (क) कित्ता नं ८३ को चार रोपनी १० आना जग्गा कायम भएको थियो । हाल नापीमा नगर ८ सिट नं १०६७–२१ कित्ता नं १५ को चार रोपनी आठ आना एक पैसा र कित्ता नं १६ को तीन रोपनी १४ आना तीन पैसा तीन दाम गरी आठ रोपनी सात आना तीन दाम जग्गामा गाईगोठ र धर्मशालाका नाममा उल्लेख भएको छ । पशुपतिनाथलाई फूल चढाउने बगैँचा मासेर संरचना निर्माण परम्परादेखि पशुपतिनाथलाई फूल चढाइने भण्डारखाल बगैँचालाई समेत प्रभावित पार्ने गरी मारवाडी सेवा समितिले संरचना बनाएपछि भत्काउन बाध्य हुनुपरेको कोषले जनाएको छ । नापीमा उल्लेख भएको भन्दा पनि बढी जग्गा हाल धर्मशाला र गौशालाका नाममा मारवाडी समुदायले उपयोग गरिरहेका छन् । कोषअन्तर्गत श्री पशुपतिनाथ अमालकोट कचहरीका नाममा कायम रहेको र मारवाडी सेवा समितिका नाममा उक्त जग्गाको मोही दर्ता रहेको भन्ने भ्रमपूर्ण प्रचार भइरहेको कोषका प्रवक्ता अधिकारीले बताए । सो जग्गाका विषयमा कोष सञ्चालक परिषद्को २०६० जेठ ९ गतेको निर्णयअनुसार पशुपति गौशाला धर्मशाला सञ्चालनका लागि त्यसै वर्ष जेठ १२ गते सम्झौता भएको थियो । समितिले त्यसविपरीत संरचना निर्माण गरेको भन्दै कोषले त्यस्ता संरचना भत्काउन कात्तिक ४ गते सार्वजनिक सूचना जारी गरेको थियो । तोकिएको ३५ दिनभित्र कानूनविपरीत निर्माण भएका संरचना नहटाएपछि कोषले आज डोजर प्रयोग गरेर साङ्केतिकरुपमा संरचना भत्काउन सुरु गरेको हो । गौशाला धर्मशालामा सम्झौताविपरीत भएका काम सम्झौताको बुँदा नं ४ मा गौशाला धर्मशाला सञ्चालन गर्दा प्रचलित नियम तथा स्वीकृत मापदण्डविपरीत हुने कुनै काम दोस्रो पक्षले गर्ने छैन भनी उल्लेख गरिएको छ । साविक बनेको धर्मशालाको संरचनामा तला थप गर्न स्वीकृत माग भएकामा कारबाही हुँदै जाँदा पुरातत्व समेतबाट सहमति लिइ संरचना बनाउनुपर्नेमा समितिले आफूखुसी काम गरेको कोषले जनाएको छ । समितिले कोषको मापदण्डविपरीत १८०९६ वर्गफिटको नक्साबमोजिमको संरचना गरेको छ । संरचनाको उचाइ ३२।३ छ । विश्वसम्पदा सूचीमा सूचिकृत पशुपति क्षेत्रमा संरचना निर्माण गर्दा प्राचीन स्मारक संरक्षण ऐन २०१३ को पालना गर्नुपर्नेमा समितिले बेवास्ता गरेको छ । यो काम कोष ऐन, २०४४ को दफा १७ ९३० ९५० को विपरीतसमेत रहेको छ । विसं २०६० मा भएको सम्झौताको बुँदा नंं ५ मा समितिले कोषलाई प्रत्येक आर्थिक वर्षमा रु ५१ हजार सहयोग रकम उपलब्ध गराउँदै जाने उल्लेख गरिएको छ । दुवै पक्षको सहमतिमा सो रकममा संशोधन गरिने पनि सम्झौतामा उल्लेख छ । संशोधनका लागि समितिलाई छलफलमा बोलाउँदा नआएको कोषका कार्यकारी निर्देशक डा। घनश्याम खतिवडाले बताए। २० वर्षसम्म सो रकम संशोधन नगरिएकामा महालेखापरीक्षकको कार्यालयले पनि संशोधनको सुझाव दिँदै आएको छ । १५ वर्षअघि नै संसद्को सार्वजनिक लेखा समितिले छ महिनाभित्र गौशाला धर्मशाला कोष आफैँले सञ्चालन गर्न दिएको निर्देशन पनि पालना भएको छैन । पशुपतिनाथमा पर्व पर्वमा छोडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न समितिले सहयोग गर्नुपर्नेमा त्यसो नगरेको कोषको भनाइ छ । विसं २०६० को सम्झौताको बुँदा नं। ६ मा प्रत्येक महिनाको पूर्णिमाका दिनमा डामेर छाडिएका साँढेलाई समितिले संरक्षण गरेर गौशालामा राख्नुपर्नेमा त्यसो नगरेको पनि प्रवक्ता अधिकारीले बताए। संरक्षित क्षेत्रमा कानूनबमोजिम मात्र तला थप गर्ने सम्झौता पनि २० वर्षअघि दुवै निकायबीच भएको थियो । सम्झौताको ७ नं बुँदामा यो विषय उल्लेख गरिएको छ । विसं २०३८ मा निर्माण गरिएको धर्मशालामा तला थप गर्न कोष तथा पुरातत्व विभागको सहमति लिइएको छैन । धर्मशालाको उत्तरतिर कुनै पनि निकायको स्वीकृति नलिइ भवन निर्माण गरेकाले त्यसलाई भत्काउन कोष लागिपरेको छ । समितिले सम्झौता उल्लङ्घन गरेमा कोषले रद्द गरी छुट्टै व्यवस्था गर्न सकिने बुँदा नं ८ मा लेखिएको छ । संस्थालाई सेवामुखीभन्दा आर्थिक उपार्जनको थलो बनाएकाले तत्काल सम्झौता रद्द गरी नयाँ व्यवस्था गरिने कोषले जनाएको छ । कोषका सदस्य सचिव डा मिलनकुमार थापा आइतबार नै समितिसँग भएको सम्झौता रद्द गरी थप प्रक्रिया कानूनअनुसार अघि बढिने बताउँछन्। ‘पशुपतिनाथको सम्पत्तिमा समितिले कब्जा जमाउँदै आएको छ, नाथको सम्पत्ति कसैको स्वार्थसिद्धिका लागि प्रयोग गर्न दिँदैनौं, पशुपतिको सम्पत्ति रक्षाका लागि कोषले कानूनबमोजिम सबै प्रक्रियामा अघि बढ्छ’, उनले भने ।

मनकामना केबलकार २५ वर्षमा प्रवेश, एक वर्षमा १० लाखले घुमे

काठमाडौं । मनकामना दर्शन प्रालिले सञ्चालनमा ल्याएको मनकामना केबलकार  २५ औं वर्षमा प्रवेश गरेको छ । २०५५ साल मंसिर ८ गतेदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ७० लाख यात्रुलाई सेवा दिइसकेको जानकारी कम्पनीले दिएको छ । केबलकार सञ्चालनमा आएसँगै यस क्षेत्र प्रमुख पर्यटकीय गन्तव्य क्षेत्र बन्ने पुगेको कम्पनीनको भनाइ छ । केबलकारको सञ्चालनसँगै यस क्षेत्रको विकास हुनुका साथै विश्व सामु मनाकामनाको ख्याति प्रचार प्रसार भएको कम्पनीनको भनाइ छ । कम्पनीका अनुसार विश्व प्रख्यात अष्ट्रियाको डोपेलमेयर कम्पनीको प्रविधिबाट सञ्चालित यस केबलकारबाट विश्वस्तरीय सेवा प्रदान गरिंदै आएका कम्पनीको दावी छ । कम्पनीले केबुलकारका संस्थापक स्व. लक्ष्मण बाबु श्रेष्ठकाे सम्झनामा लामो समय देखि चितवनको ईच्छाकामना गाउँपालिका र गोरखाको शहिद लखन गाउँपालिकामा प्रत्येकलाई कूल आम्दानीको ११ प्रतिशत रकम शिक्षा, स्वास्थ्य, धार्मिक, मठ, मन्दिरको जिर्णोद्वार लगायत विकास निर्माणका कार्य आदिमा सहयाेग गर्दै आएकाे छ । हाल रहेको एनालग सिस्टमलाई कम्पनीले पहिलाे चरणमा डिजिटल प्रविधिमा स्तरोन्नति गरिसकेकाे र २५ औं वार्षिक उत्सवको अवसरमा पूर्ण रुपले डिजिटल प्रणालीमा रुपान्तरण गरी देशकै पहिलो डिजिटल केबुलकार हुने जनाएकाे छ ।