करोडौं खर्च गरेर बनेका १९ विमानस्थल बिजनेसविहिन, राजनीतिक पहुँचका आधारमा निर्माण गर्दा समस्या

काठमाडौं । निर्माण सम्पन्न गरेर तयार अवस्थामा रहेका १९ विमानस्थल अहिले बन्द छन् । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार विभिन्न जिल्लामा निर्माण गरिएका १९ वटा विमानस्थल अहिले बन्द रहेका छन् । यी मध्ये केहीमा उडान भएर बन्द भएका छन् भने केही निर्माण सम्पन्न भए पनि परीक्षण उडानसमेत हुन सकेका छैनन् । विभिन्न कारणले लामो समयदेखि बन्द भएका विमानस्थल सञ्चालनमा सरकारले चासो नदेखाउँदा उडानविहीन भएका हुन् । अहिले ति विमानस्थल गौचरणमा परिणत भएका छन् । केन्द्र, प्रदेश र स्थानीय गरी तीन तहमा सरकारी पहुँच हुँदासमेत सरकारको करोडौंको लगानी खेर गएको छ । ठूला नेताको दबाब र निर्वाचन एजेन्डाका रूपमा विमानस्थल निर्माण भएका कारण पनि यस्तो अवस्था आएको जानकारहरु बताउँछन् । सरकार परिवर्तनसँगै कतिपय विमानस्थलमा परीक्षण उडान हुने गरे पनि नियमित उडान नहँुदा सरकारको करोडौँ लगानी डुबेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा विमानस्थल निर्माण गर्दा हिमाली क्षेत्रमा न्यूनतम ४५ करोड, पहाडमा ३५ करोड र तराईमा ५० करोड रुपैयाँ खर्च हुन्छ । विमानस्थलमा कतिखर्च हुन्छ भन्ने यकिन छैन । क्षेत्रफल र घनत्वका आधारमा खर्च निर्धारण हुन्छ । प्राधिकरणले २०६९ मा नौ करोड रुपैयाँ खर्च गरेर हिमाली जिल्ला मनाङको हुम्डे विमानस्थलको रन–वे कालोपत्रे गरेको थियो । तर, विमानस्थल हाल प्रयोगविहीन भएको छ । कालोपत्रे गरेको केही दिनमै परीक्षण उडान भएपनि हालसम्म नियमित उडान नभएको प्राधिरकणले जनाएको छ । ६ सय मिटरको धावनमार्ग रहेको हुम्डे विमानस्थल कालोपत्रे गरिएसँगै बढाएर नौ सय मिटर बनाएको छ । बरु कालोपत्रे हुनु अघि पोखराबाट सातामा दुई दिन नेपाल वायुसेवा निगमले उडान भर्दै आएको थियो । गण्डकी प्रदेश सरकारले पुनः उडान सुरु गर्ने भन्दै परीक्षण उडान गरेतापनि नियमित उडान सुरु हुन सकेको छैन । तीन हजार तीन सय ३० मिटर उचाइमा रहेको हुम्डे विमानस्थलमा २०३९ असोजबाट उडान सुरू गरिएको थियो । २०१६ बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल गौचरनमा परिणत भएको छ । विमानस्थल निर्माण भएको १९ वर्षपछि २०३५ बाट उडान बन्द भएको विमानस्थल पुनःसंचालन हुन सकेको छैन । त्यस्तै, २०१७ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल २०६७ मंसिरदेखि २०६९ मंसिरसम्म दुई वर्ष उडान बन्द भएको थियो । बन्द भएको विमानस्थलमा २०६९ को मंसिरबाट पुनः सञ्चालनमा ल्याइए पनि त्यसले पूर्णता पाउन सकेन । सातामा तीन वटा उडान भर्ने योजनाअनुसार पुनः सञ्चालनमा आएको विमानस्थल अहिले बन्द छ । कुन–कुन विमानस्थल बन्द ? उडानविहीन भएका १९ विमानस्थलमध्ये सन् १९८६ मा सञ्चालनमा आएको दार्चुला विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याइएको बाग्लुङ विमानस्थल, सन् १९७३ सालमा सञ्चालनमा ल्याइएको रुकुम चौरजहाजी विमानस्थ हाल बन्द छन् । सन् १९७३ बाट सञ्चालनमा आएको ढोरपाटन विमानस्थल, २०७६ पुस ७ गते परीक्षण उडान गरिएको खिजी चण्डेश्वरी विमानस्थल र विस २०७५ जेठ २५ गते परीक्षण उडान गरिएको गुल्मी रेसुङगा विमानस्थल सञ्चालन हुन सकेको छैन । सन् १९७६ बाट सञ्चालनमा आएको जिरी विमानस्थल, सन् २००३ बाट सञ्चालनमा आएको काङगेलडाँडा विमानस्थल, सन् १९७३ बाट सञ्चालनमा आएको महेन्द्रनगर विमानस्थलमा पनि अहिले बन्द छन् । सन् १९८१ बाट सञ्चालनमा आएको मनाङको हुम्डे विमानस्थल, सन् २०१४ बाट सञ्चालनमा आएको मसिनेचौर (डोल्पा) विमानस्थल, सन् १९६० बाट सञ्चालनमा आएको गोर्खाको पालुङटार विमानस्थल, सन् १९६६ बाट सञ्चालनमा आएको मेघौली विमानस्थल, सन् १९८४ बाट सञ्चालनमा आएको टीकापुर विमानस्थलमा पनि अहिले उडान हुन सकेको छैन । स्याङबोचे विमानस्थल, लाङटाङ विमानस्थल, डोल्पा, रुम्जाटार र रोल्पा विमानस्थलमा पनि प्रयोगविहीन भएका छन् । प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीका अनुसार नेपालभर ठूला साना गरी ५७ वटा विमानस्थल छन् । जसमा ३४ वटा विमानस्थलको धावनमार्ग कालोपत्रे गरिएको छ भने पाँच विमानस्थल निर्माणको चरणमा रहेका छन् । मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती थुप्रै छन् । अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन । भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न नसकेको अधिकारीको भनाइ छ । व्यवसायिक आवश्यकता भन्दा राजनीतिक दबावमा विमानस्थल निर्माण हुँदा परीक्षण उडान समेत नभएर विमानस्थल ग्राउण्डेडको अवस्था आएको नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अधिकारीहरु नै बताउँछन् । गुल्मीमा २०६३ सालमा तत्कालिन पर्यटन मन्त्री प्रदीपकुमार ज्ञवालीले विमानस्थल आयोजनाको शिलान्यास गरेका थिए । पर्यटन मन्त्रालय आफ्नो जिम्मेवारीमा रहेको मौकामा ज्ञवालीले आफ्नो जिल्लामा विमानस्थल निर्माण गरेका हुन् । जुन राजनीतिक पुहुँचकै आधारमा तय भएको विमानस्थल हो । राजनतिज्ञहरुले हवाइ उडान पनि पहुँचकै आधारमा गर्ने र पछि यात्रु नपाएर उडान नै बन्द गर्नु परेका थुप्रै उदाहरणहरु छन् । हवाई नीतिमै खोट क्यानका महानिर्देशक अधिकारी बिना अध्ययन नै हवाई नीतिको ड्राफ्ट तयार बनाइएको बताउँछन् । ‘पहाडमा सामान्यतया ३० नोटिकल मायल, तराईमा ४० नोेटिकल माइलमा विमानस्थल बनाउन पाइने छैन भनेर उल्लेख गरिएको छ, त्यसलाई सामान्यता भनिएको भन्दै एउटै जिल्लामा ५ वटासम्म विमानस्थल बनाईएको छ’, उनले भने । क्यानको तथ्यांक अनुसार खोटाङ जिल्लामा मात्रै ५ वटा विमानस्थल निर्माण भएका छन् । थामखर्क, लामिडाँडा, खानिडाँडा, नजिकै ओखलढुगांको रुम्जाटार, खिजिचण्डेश्वरी, काडेलडाँडा, फाप्लु र लुक्ला विमानस्थल खोटाङको वरपर पर्छन् । उनले यी विमानस्थल ४० नोटिकल माइल भित्र नपर्ने भन्दै नीतिमा उल्लेख भएको कुरालाई आधार बनाएर राजनीतिक पहुँचका भरमा विमानस्थल निर्माण गरेर राज्यको ठूलो लगानी खेर फालिएको बताए । ‘पहुँचका भरमा बनाइएका कुनै विमानस्थलमा जहाज जानै सक्दैनन्, जान सक्ने विमानस्थलमा वायुसेवा कम्पनीले चासो दिदैनन्’, उनले भने,

आन्तरिक पर्यटनको गन्तव्य बन्यो बागलुङ

गुल्मी । शुक्रबार गुल्मीको मुसिकोट नगरपालिका ४ दजाकोटको पशुपति निम्न माध्यामिक विद्यालयको शैक्षिक अवलोकन भ्रमणको समूह बागलुङदेखि पर्वत जोड्ने नेपालकै सबैभन्दा लामो पुलमा आइपुग्यो । सोही दिन यस क्षेत्रमा विभिन्न स्थानबाट आमा समूह र सहकारीका समूहका पनि भ्रमण टोलीहरु आइपुगेका थिए । मङ्सिर सुरु भएपछि यहाँ शैक्षिक तथा अध्यययन अवलोकन गर्न आउनेहरुको सङ्ख्या बढेको छ । पछिल्लो पाँच वर्षमा बागलुङ बजार आसपासमै थपिएका तीन प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका कारण विभिन्न जिल्लाबाट यहाँ घुम्न आउने विद्यालय, सहकारी, आमा समूह, भजन समूह र क्याम्पसका विद्यार्थी तथा आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । कोरोना महामारीका कारण केही समय थलिएको यहाँको पर्यटन गतिविधि पछिल्लो समय भने चलायमान हुन थालेको छ । बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको अदुवाबारी जोड्ने पाँच सय ६७ मिटर नेपालकै लामो ‘गण्डकी गोल्डेन व्रिज’मा यतिबेला आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ । टिकटकमा देखेको पुल प्रत्यक्ष रुपमा देख्दा खुसी लागेको शैक्षिक भ्रमणमा आएका गुल्मीका अभिषेक शर्माले बताए । ‘सामाजिक सञ्जालमा देखेको नेपालकै लामो पुल कस्तो होला भन्ने थियो, यही पुल हेर्न हामी यहाँसम्म आएका हौँ’, उनले भने, ‘लामो पुलसँगै बागलुङ कालिका मन्दिर, पञ्चकोट, शालग्राम सङ्ग्रहालयको भ्रमण गर्दा निकै खुसी लाग्यो ।’ पछिल्लो पाँच वर्षमा बागलुङ बजार क्षेत्रमा तीन वटा पर्यटकीय गन्तव्य थप भएकाले पर्यटक बढेको कालिका मल्टिप्यालेसका सञ्चालक अर्जुन चोखालको भनाइ छ । ‘पहिले कालिका मन्दिर दर्शनका लागि मात्रै आन्तरिक पर्यटक आउथे भने अहिले गण्डकी गोल्डेन ब्रिज, शालग्राम सङ्ग्रहालय र पञ्चकोट पर्यटकीय गन्तव्यका रुपमा थपिएपछि पर्यटकको चाप बढी भएको हो’, चोखालले भने । पर्यटक बढेपछि यहाँका होटलको व्यवसाय पनि बढेको छ । हाल यहाँ गुल्मी, म्याग्दी, पोखरा, चितवन, बुटवल र काठमाडाैँ लगायतका स्थानबाट शैक्षिक भ्रमणमा आउने गरेका छन् । हाल बागलुङ नगरपालिका–६ पञ्चकोटमा ४० करोड रुपैयाँमा लगानीमा पर्यटकीय पूर्वाधार र मन्दिर निर्माण भइरहेको छ । साथै बागलुङ नगरपालिका ४ कुडुँले फेदीमा श्रीधराचार्य शालग्राम सङ्ग्रहालयमा सवालाख शालग्राम भूमिगत रुपमा सङ्ग्रहालय बनाइएको छ । रासस  

तनहुँको ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाइँदै

तनहुँ । आँबुखैरेनी गाउँपालिका कार्यालयले पृथ्वीराजमार्ग खण्डमा पर्ने ऐना पहरालाई पर्यटकीय गन्तव्य बनाउन लागेको छ । आँबुखैरेनी वडा नं २ र ४ को सिमानामा रहेको ऐना पहरामा ऐना पार्क बनाएर पर्यटन प्रवद्र्धन गर्न लागिएको हो । चालू आर्थिक वर्षमा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरेर आर्कषक पार्क बनाउन लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । बहुबर्षीय योजनाअन्तर्गत गाउँपालिकाको आफ्नै स्रोतमा साहसिक खेल, सिसाको ब्रिज, जीपलाइन, स्वीमिङ पुल, ढुङ्गामा आर्कषण मूर्ति निर्माणलगायतका संरचनाका लागि डिपिआर गरी प्रक्रिया अघि बढाइएको उनले बताए । कूल पाँच करोड रुपैयाँ लाग्ने अनुमानअनुरुप गौरवको आयोजनामा राखेर काम गर्न लागेको गाउँपालिका कार्यालयले जनाएको छ । पृथ्वीराजमार्ग भएर दैनिक सयौँं सवारीसाधान गुड्ने हुँदा पर्यटकलाई आर्कषण गर्न सकेको अवस्थामा आयआर्जन गर्न सकिने प्रचूर सम्भावना देखिएको छ । त्यसैगरी गाउँपालिकाले वडा नं ६ को हिलेखर्क र वडा नं १ को गिरौनचौरलाई नमूना पर्यटकीय गाउँ घोषणा गरी बजेट विनियोजन गरेको छ । दुई वडाका गाउँलाई तीस लाख रुपैयाँका दरले  साठी लाख बजेट विनियोजन गरेर प्रक्रिया अघि बढाइएको छ । कार्यविधि बनाएर मौलिक प्रकृतिका घरको संरक्षण गरिने अध्यक्ष चुमानले जानकारी दिए । उक्त स्थानमा अब बन्ने घर पनि मौलिक किसिमका हुनेछन् । उनले भने, ‘त्यहाँ रहेका घुमाउने घर गुरुङ समुदायको कलासंस्कृति पर्यटकका लागि आर्कषण बन्नसक्ने विश्वास गरेका छौँ ।’ रासस