बुध्द एयरले अब काठमाडौं-सुर्खेत उडान एटीआर ७२ बाट गर्ने, भाडा कति ?
काठमाडौं । बुध्द एयरले आउँदो डिसेम्बर १६ देखि काठमाडौं–सुर्खेत उडान एटीआर–७२ जहाजबाट गर्न लागेको छ । अहिले बुध्द एयरले यस गन्तव्यमा एटीआर– ४२ जहाजबाट उडान सेवा सञ्चालन गर्दै आएकोमा अब भने एटीआर–७२ बाट गर्ने भएको हो । यात्रुहरुको बढ्दो माग र सुविधाका लागि बुध्द एयरले यस गन्तव्यमा पनि एटिआर ७२ जहाजबाट उडान भर्न लागेको कम्पनीले जनाएको छ । यस जहाजको उडानबाट यात्रुहरु अधिक लाभान्वित हुने बुध्द एयरले विश्वास लिएको छ । हाल सञ्चालनमा रहेको एटिआर–४२ उडान बाट यात्रुहरुको माग अनुरुप सिट संख्या उपलब्धता कम रहेको तथ्यलाई आत्मसात गर्दै एटिआर ७२ मार्फत उडान सञ्चालन गर्न लागेको बताइएको छ । सानो जहाजको सञ्चालन खर्च उच्च हुनेहुँदा भाडादरमा यसको प्रत्यक्ष प्रभाव पारेको छ । एटीआर–७२ बाट उडान गर्दा यात्रु सिट संख्या र सञ्चालन खर्च कम हुने हुँदा यसको प्रत्यक्ष लाभान्वित यात्रुहरुले पाउनेछन् । ठूला जहाजको उडानमा कम भाडादरका सिटहरु पनि उपलब्ध हुनेछन् । यस गन्तव्यमा न्यूनतम भाडादर ७ हजारबाट शुरु हुने र माग अनुसार दैनिक २ उडान पनि बुध्द एयरले भर्ने बताइएको छ । यसबाट त्यहाँका स्थानीय यात्रुहरु थप लाभान्वित हुने बुध्द एयरले प्रेस विज्ञप्तिमार्फत् जनाएको छ । १६ तारिखदेखि अब दैनिक बिहान १० बजे काठमाडौँबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौँको तालिका बुध्द एयरले जारी गरेको छ ।
कमलामाई मन्दिरको उत्पत्तिस्थलको पर्यटन प्रवद्र्धनमा जोड
कमलामाई । कमलामाई नगरपालिकाले कमलामाई मन्दिरको उत्पत्तिस्थल क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न उच्च प्राथमिकता दिने भएको छ । प्रचार प्रसारको अभावले प्रख्यात मन्दिरको उद्गमस्थल ओझेलमा परेको जनाउँदै नगरपालिकाले पर्यटन प्रवद्र्धनमा जोड दिएको हो । गौमती र कमला खोलाको सङ्गमस्थल कनपा–५ मा कमलामाई मन्दिर अवस्थित छ । यसको उत्पत्तिस्थल कमलामाई नगरपालिका–८ माईशीर हो । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा चहलपहल बढेको भए पनि यसको उद्गमस्थलबारे कतिपय बेखबर छन् । यहाँ पनि मन्दिर बनाइएको छ । प्राकृतिक देवीदेवताहरूको शिला छन् । कमलामाई देवीले पानी पोखेको ठाउँबाट उम्रिएको पानी माईपोखरीमा जम्मा गरिएको छ । मन्दिर क्षेत्र पहाडले घेरिएको छ । चुरे क्षेत्रको सबैभन्दा अग्लो ठूलडाँडा यहीस्थल नजिक छ । ऐ्तिहासिक, धार्मिक, प्राकृतिक सुन्दरता मनोरम र रमणीय छ । ऐतिहासिक धार्मिकस्थलको संरक्षणमात्र होइन विकास र प्रवद्र्धन गरेर आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने लक्ष्य रहेको नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले बताए । उनले भने, ‘यहाँसम्म आउने बाटो कालोपत्र हुने प्रक्रियामा छ । निर्माणाधीन धर्मशाला सम्पन्न गरेर वनभोजस्थल अझ व्यवस्थित बनाउँछौँ, नमूना ठाउँ बनाएर यस क्षेत्रमा पर्यटक भित्र्याउने योजना छ ।’ हिन्दू धर्मलम्बीहरूले अतिविश्वास गर्ने धार्मिकस्थलमा पर्दछ, कमलामाई मन्दिर । बिपी राजमार्ग निर्माणसँगै यातायातको सुविधा पुगेपछि माईस्थानमा रहेको मन्दिरमा नेपाल र भारतका भक्तजन दर्शनका लागि आउँछन् । तर मन्दिरको उत्पतिस्थल माईशीरमा धेरैजसो पुग्दैनन् । यहाँको सौन्दर्यता, ऐतिहासिकता र धार्मिकताका बारेमा प्रचार–प्रसार कमी भएको उनले सुनाए । नगरप्रमुख पोखरेलका अनुसार माईशीरमा हलुवावेद, जुनार, सुन्तला प्रशस्त पाइन्थ्यो । हलुवावेद लोप भए पनि अमिलो जातका फलफूल अझै पाइन्छ । माईशीर क्षेत्रमा जुनार, सुन्तला, कागतीलाई व्यावसायिक खेतीका रुपमा विस्तार गरी पर्यटकीयस्थलका रूपमा विकास गरिने नगरको लक्ष्य छ । यस क्षेत्रमा खानेपानी र सिँचाइको चरम समस्या भएकाले लिफ्ट खानेपानी योजनाअन्तर्गत समस्या समाधान गरिने र यहाँका नागरिकको जीवनस्तर उकास्ने उनको भनाइ छ । ‘यस वर्ष प्रदेश सरकारको २५ लाखमा नगरबाट पैसा थपेर खानेपानी र सिँचाइको व्यवस्था गछौँ । त्यसपछि फलफूलको नमूना ठाउँका रूपमा विकास गदैँ लैजान्छौँ’, उनले भने, ‘विकासका हिसाबले पिछडिएको तर परिर्वतनको सम्भावना प्रचुर भएको यस ठाउँलाई धार्मिकसँगै पर्यटकीय क्षेत्र बनाउने लक्ष्य छ ।’ इतिहासकारका अनुसार श्री ३ चन्द्रशम्शेरको पालमा विसं १९६४ मा फौदसिंहले माईशीरमा मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा कीर्तिमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माईस्थानमा मन्दिर निर्माण गर्न लगाउनुभएको स्थानीय ज्येष्ठ नागरिक बताउँछन् । कमलमाई मन्दिर धार्मिक पर्यटकीयस्थलका रूपमा विकास हुँदै गएको स्थानीय कुमार मग्रातीले बताउनुभयो । शुद्ध मनले दर्शन गरेमा मनले चिताएको पुग्ने विश्वासले कमलामाई देवीको दर्शन गर्न आउने भक्तजनको सङ्ख्या बढ्दो छ । ‘हिउँद मौसममा यस ऐतिहासिक तथा धार्मिकस्थलमा वनभोज खान आउनेको भीड हुन्छ । कहिले त वनभोज खान आउनेले बगर नै छपक्कै ढोकेका हुन्छन्’, उनले भने । कमलामाई मन्दिरमा दर्शन गर्दा मनले चिताएको पूरा हुने, शान्ति छाउने जनविश्वास रहेको पुजारी चन्द्र दासले बताए । उनले कमलामाई देवीको पवित्रस्थल शक्तिशाली भएको धारणा राखे । कमलामाई मन्दिरको उद्गमस्थल माईशीरमा भए पनि त्यसको ऐतिहासिक धार्मिकता माईस्थानमा जोडिएकाले दुवै स्थलमा सत्यता र उत्तिकै महत्व रहेको कमलामाई मन्दिरमा ४३ वर्षदेखि पुजारीका रूपमा रहेका विष्णुप्रसाद कोइरालाले बताए । उहाँका अनुसार प्रत्येक वर्ष माघे सङक्रान्तिका दिन दुवै स्थलमा ठूलो मेला लाग्दै आएको छ । मेलामा नेपाल र भारतका भक्तजन उपस्थित बढी हुन्छन् । पहिला मन्दिरमा जाने झोलुङ्गे पुल नहुँदा बर्खायाममा भक्तजनको उपस्थित हुँदैन थियो । मन्दिरमा आवातजावत गर्न सजिलो र मन्दिर व्यवस्थित हुँदै गएपछि दर्शनार्थी बाह्रै महिना आउने गर्छन् । एकपटक दर्शन गर्न आएका दर्शनार्थी चिताएको पूरा भयो भनेर पटक–पटक आउने गरेका पनि उनले सुनाए । ‘माघ र फागुनमा कम्तीमा पनि सात–आठ हजार पशुपक्षीको काटमार हुन्थ्यो, रगतको खोलै बग्थ्यो । अहिले एक हजारको पनि काटमार हुँदैन, नरिवल फुटाउने, परेवा उडाउने गर्दछन्’, उनले भने, ‘काट्मार गरेर पशुबलि दिइन विस्तारै बन्दै गर्नुपर्छ ।’ युवापुस्ता मन्दिरमा दिइने बलि प्रथाविरुद्ध भए पनि बूढापाकाले छोड्न नसकेकाले बलिप्रथा अत्य भने भइनसकेको बताए ।
बाँकेमा धार्मिक पर्यटकीय क्षेत्रको विकास हुँदै
बाँके । बाँकेको राप्तीसोनारी र नरैनापुर गाउँपालिकामा रहेका मठमन्दिरलाई नेपालगञ्जसँग जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गरिने भएको छ । ति गाउँपालिकामा रहेका भुवरभवानी, बाबाबर्फानी सन्तानेश्वर हुँदै नेपालगञ्जको बागेश्वरी मन्दिरलाई जोडेर धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजना अघि सारिएको छ । यसले जिल्लाका ग्रामिण क्षेत्रका धार्मिक केन्द्र र नेपालगञ्जमा रहेको बागेश्वरी मन्दिर लगायतका केन्द्रलाई जोडेर पर्यटकीय गन्तव्यको रुपमा बिकास गरिने योजना छ । प्रतिनिधिसभा सदस्यमा निर्वाचित सूर्य ढकालले अबको पाँच वर्षभित्र सन्तानेश्वर महादेव मन्दिर क्षेत्रलाई व्यवस्थित बनाइने र राप्तिसोनारी गाउँपालिकाको भुवरभवानी, नेपालगञ्जको बागेश्वरी मन्दिर र नरैनापुरको सन्तानेश्वर र बाबाबर्फानी मन्दिरलाई जोडेर धार्मिक पर्यटनको रुपमा विकास गरिने जानकारी दिए। ‘धार्मिक पर्यटनको प्रचुर सम्भावना देखिन्छ तर त्यसका लागि नीति र योजना चाहिन्छ’ उनले भने । समानुपातिकतर्फका प्रदेशसभा सदस्य वसन्ती अधिकारीले सबैका आस्थाका रुपमा रहेका सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर धार्मिक एवं पर्यटकीय गन्तब्य बन्दै गएको बताए। उनले यस क्षेत्रको विकासका लागि पर्यटन प्रवद्र्धनको कार्यक्रम अघि बढाइने जानकारी दिए । तराईको पहाड भनेर चिनिने सन्तानेश्वर महादेव मन्दिर दर्शनका लागि नरैनापुर ६ कोहलाबाट उत्तरपूर्व जङ्गलको अप्ठेरो बाटोलाई छिचोल्दै पहाड चढेर पुग्न सकिन्छ । यस क्षेत्रबाट तराईको रमणीय दृश्वावलोकन समेत गर्न सकिन्छ । धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको चुरेको टाकुरामा अवस्थित सन्तानेश्वर महादेवको दर्शन गर्न बाँके जिल्लाबाट मात्र नभइ अन्य विभिन्न जिल्लाबाटसमेत दर्शन गर्न आउने स्थानीय सोहनलाल यादवले बताए । करिब तीन घण्टाको पहाडी बाटो छिचोल्दै प्रतिनिधिसभा सदस्य ढकालसहित ५० भन्दा बढीको टोली दर्शनका लागि त्यहाँ पुगेको थियो । सन्तानेश्वर मदिरको दर्शनपछि ढकालले त्यहाँका पूजारी योगानन्द गिरीसङ्ग कुरा गर्दै आफूले यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि उल्लेख्य काम गर्ने र पर्यटकीय सम्भावना बोकेको मन्दिरमा जाने बाटो सहज बनाउन पहल थाल्ने बताए । उनले त्यस क्षेत्रको विकासका लागि होमस्टेको अवधारणा ल्याउने योजना बनाउने जानकारी दिए। नेपालगञ्जबाट करिब ३७ किलोमिटर पूर्वदक्षिणमा रहेको नरैनापुरको कोहलादेखि ८ किलोमिटर उत्तर पूर्व पहाडमा सो मन्दिर रहेको छ । यस मन्दिरमा सन्तान नभएकाहरुले यहाँ पुगेर दर्शन गर्दा सन्तान लाभ हुने र सन्तान भएपछि त्यहाँ पुगेर आफ्नो सन्तानको लागि गरेको मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको पुजारी योगानन्द गिरीले बताए ।