सात महिनापछि दुर्घटनाग्रस्त तारा एयरको भग्नावशेष संकलन

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ सानोसरेमा दुर्घटना भएको तारा एयरको जहाजका भग्नावशेष सात महिनापछि सङ्कलन गरिएकोे छ । गत जेठ १५ गते पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज दुर्घटना हुँदा चालक दलका तीनसहित २२ जनाको मृत्यु भएको थियो । भौगोलिकरूपमा विकट र दुर्गम पहाडको खोंच र पाखोमा छरिएका जहाजका पाटपुर्जालाई सङ्कलन गर्न तारा एयरले मङ्सिर १९ गतेदेखि मजदुरको टोली परिचालन गरेको थियो । टोलीको नेतृत्व गरेका इन्द्रसिंह शेरचनले समुद्री सतहबाट चार हजार तीन सय मिटर उचाइको पहाडबाट जहाजका पाटपुर्जा र सामान सङ्कलन गरेर कोवाङ झार्ने काम सकिएको जानकारी दिए। मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा जहाजको भग्नावशेष रहेका थिए । ‘दश–बाह्र जनाले सानुसरेबाट कोवाङमा सामान बोकेर झार्न १० दिन लाग्यो’, उनले भने, ‘विकट, अप्ठ्यारो बाटोमा पहिरो गएर रुखसमेत ढलेका छन् । जहाजका सबै सामान सङ्कलन गरेर कोवाङ ल्याउन करिब १० दिन लाग्ने अनुमान गरेका छौँ ।’ दुर्घटनाग्रस्त जहाजको ब्लयाक बक्स भने त्यतिबेलामै फेला परेको थियो । दुर्घटनाग्रस्त जहाजका पाटपुर्जा र सामान सम्बन्धित कम्पनीले उठाउँछन् । बीमा दाबीका लागि सामान उठाउनुपर्ने हुन्छ । अर्कोतर्फ आकाशबाट सहजै देखिने दुर्घटनाग्रस्त जहाजको भग्नावशेषको दृश्यले नकारात्मक मानसिकताको सिर्जना गर्ने हुँदा पनि सम्भव भएसम्म पाटपुर्जा र सबै सामान सङ्कलन गर्ने गरिन्छ । रासस

ठप्प छ ठमेल, व्यवसायी भन्छन् : दैनिकी चलाउनै गाह्रो

काठमाडौं । दुई वर्ष कोरोनाको महामारीले ग्रस्त बनाएको पर्यटकको आकर्षणको केन्द्र ठमेलमा अहिले पनि व्यापारले गति नलिएको व्यवसायीहरूको गुनासो छ । नोभेम्बरमा सुरु हुनुपर्ने अफसिजन १५ दिन अगाडि नै सुरु भएपछि थप गाह्रो भएको उनीहरूको भनाइ छ । कोरोनाको समयमा मृतप्रायः रहेको ठमेलमा सेप्टेम्बर र नोभेम्बरमा व्यापारले गति लिएको र अहिले भने अफसिजन सुरु भएको ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले बताए । व्यापार नभएकै कारण दुई वर्षदेखि रोकिएको ठमेलको पर्यटन व्यवसाय र त्यसमा आबद्ध व्यक्तिहरूको आर्थिक क्रियाकलाप असाध्यै अप्ठ्यारो अवस्थामा गुज्रिएको उनको भनाइ छ । कोरोना महामारीअघि एक वर्षमा १२ लाख पर्यटक नेपाल भित्रिने गरेकामा कोरोनापछि भने पाँच लाख पर्यटक आएको सरकारी तथ्याङ्क उनले सुनाए । ‘पहिलेको तुलनामा अहिले ५० प्रतिशतमात्रै पर्यटक भित्रिएका छन्’, उनले भने । राज्यबाट ठमेल पर्यटनको विकासका लागि केही सहयोग नभएको भन्दै उनले गुनासो गरे । उपाध्यक्ष धमलाले भने, ‘राज्यले नैतिक र आर्थिक सहयोग नगरे पनि पर्यटन व्यवसायमा आशाको त्यान्द्रा पलाएको छ ।’ धमलाले परिषद्ले अबको दुई वर्षभित्र सुन्दर ठमेल बनाउने लक्ष्य राखेर अहिले होर्डिङ बोर्डको व्यवस्थापनलाई निरन्तरता दिइरहेको बताए । पर्यटकीय क्षेत्रमा हुनुपर्ने न्यूनतम आधारभूत कुरा गरेर थप आधुनिकीकरण गर्ने परिषद्को लक्ष्य रहेको उनले सुनाए । बाह्र वर्षदेखि ठमेलमा पस्मिनाको व्यवसाय गर्दै आएका टीकाराम नेपालले चुनावअघि व्यापार राम्रो भएको सुनाए । ‘चुनावअघि घर फर्कनेले किनमेल गर्दा व्यापार राम्रो भएको थियो’, नेपालले भने, ‘तर अहिले आशालाग्दो व्यापार छैन । भाडा तिर्न पनि गाह्रो भएको छ ।’ पर्यटकले सम्पूर्ण आवश्यक खर्च गरिसकेपछि बाँकी रहेको रकमले नेपाली सामान सम्झनाका लागि लैजाने गरेको उनको भनाइ छ । विदेशीले नेपालमा उत्पादन भएका सबै चिज मन पराउने उनले बताए । नौ वर्षदेखि ठमेलमा हस्तकलाको व्यापार गर्दै आएकी देवकी न्यौपानेले कोरोना महामारीअघि दैनिक १० वटा माला बेचेको र अहिले दुईटा माला पनि बेच्न गाह्रो भएको सुनाइन् । अहिले व्यापार कम हुनुको कारण विश्वव्यापीरूपमा रहेको आर्थिक सङ्कट भएको उनको भनाइ छ । न्यौपानेले पर्यटकको सङ्ख्या कम भएसँगै व्यापार पनि घटेको बताइन् । चुनावअघि व्यापार राम्रो भए पनि अहिले खर्च धान्नै गाह्रो भएको फोटो व्यापारी देवकी भण्डारीले बताइन् । यस वर्ष नोभेम्बरको अन्तिममा सुरु हुनुपर्ने अफसिजन चाँडै सुरु भएको २२ वर्षदेखि ठमेलमा व्यापार गर्दै आएकी भण्डारीको गुनासो छ । पहिलाको तुलनामा यस वर्ष व्यापार ह्वात्तै घटेको भन्दै उनले भनिन्, ‘पहिला दिनको आठदेखि दशसम्म फोटो बिक्री गरिन्थ्यो, अहिले दुई–तीनवटा पनि बेच्न मुस्किल छ, घर चलाउनै गाह्रो भएको छ ।’ कोभिड–१९ को महामारीपछि व्यापारले विस्तारै गति लिन थालेको ट्रेडिङ सपका सञ्चालक सुशील पाण्डेले बताए । नेपालमा यो वर्ष गत वर्षको तुलनामा केही मात्रामा पर्यटक भित्रिएको भन्दै उनले अब फेब्रुअरीबाट व्यापार बढ्ने सुनाए । पाँच वर्षदेखि व्यापार गर्दै आएका पाण्डेले दैनिक १५ देखि ३० हजारसम्म व्यापार हुने सुनाए । अहिले उत्कृष्ट व्यापार नभए पनि दैनिकी चलाउन पुगिरहेको सुनाए । पर्यटन व्यवसायी शिव लामिछानेले पर्यटन क्षेत्र राष्ट्रिय र अन्तर्राष्ट्रियसँग जोडिएको बताए । महामारीपछि ठमेलले पुनःजीवन पाउनेमा आफूहरू आशावादी रहेको भन्दै नेपालको पर्यटनको समग्र विकासका लागि चीन–नेपालको सीमा खुलाउनुपर्नेमा उनले जोड दिए । कोरोना महामारी अगाडिको तुलनामा ३० प्रतिशत पर्यटक मात्र देशमा भित्रिएको मण्डला ह्याण्डीक्राफ्टका सञ्चालक ध्रुव पाण्डेले सुनाए । एयरलाइन्सको टिकट महँगो भएकाले विदेशी नेपाल नआएको पनि उनको टिप्पणी छ । पर्यटक नआउँदा स्वतः व्यापारमा कमी आउने उनको भनाइ छ । कोरोना महामारी अगाडि वार्षिकरूपमा नेपालमा १२–१३ लाख पर्यटक आउने गरेको पनि उनले उल्लेख गर्नुभयो । व्यापारीहरूले सामानको मूल्य आफूखुसी तोक्ने गरेको भन्दै उनले त्यसबारे सरकारले नियमन गर्नुपर्नेमा जोड दिए । रासस

एयर होस्टेसको आन्दोलनका कारण ५ आन्तरिक उडान प्रभावित

काठमाडौं । सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) मा कार्यरत क्याबिन क्रु (एयर होस्टेस) को आन्दोलनका बिहीबारको आन्तरिक उडान प्रभावित बनेको छ । निगममा १५ वर्षदेखि करारमा सेवा गर्दै आएका दुई जना विमान परिचालिकाको करार नवीकरण रोकिएको भन्दै क्याबिन क्रुले हड्तालका कारण बिहीबार तय भएका ५ उडान प्रभावित बनेको हो । एयर होस्टेसकै आन्दोलनका कारण बुधबार र बिहीबारका अन्तर्राष्ट्रिय उडानहरु समेत प्रभावित बनेका छन् । आन्दोलनकै बारण बिहीबार काठमाडौं–ताप्लेजुङका दुई उडान, काठमाडौं–भोजपुर, काठमाडौं–फाप्लु र काठमाडौं–दाङको एक÷एक उडान प्रभावित बनेका हुन । निगम व्यवस्थापनले दुई जना क्याबिन क्रुको करार नवीकरण नगरेको भन्दै एयर होस्टेसहरु आन्दोलनमा उत्रिएका हुन् । यसले आन्तरिक र अन्तर्राष्ट्रिय दुवै तर्फका यात्रु अलपत्र परेका छन् । आन्दोलनरत एयर होस्टेस र निगम व्यवस्थापनबीच बिहीबार भएको वार्तामा समेत झगडा भएको छ । दुई पक्षबीच भएको वार्तामा बीना जानकारी भित्र पसेर ट्रेड युनियनका नेताले एयर होस्टेसलाई हातपात गरेपछि वार्ता रोकिएको छ । दुई पक्षबीच भएको वार्तामा बिना जानकारी भित्र परेर युनियनका नेताले हातपात गरेपछि प्रहरीले युनियनका नेतालाई नियन्त्रणमा लिएको हो ।