पोखराको ल्यान्डफिल साइटमा फोहोर फ्याँक्न रोक

काठमाडौं ।  पोखराको छिनडाँडामा अवस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको पोखराको ल्यान्डफिल साइटमा आइतबारदेखि फोहोर फ्याँक्न रोक लगाइएको छ । तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडामा अल्पकालीन व्यवस्था मिलाइएको र तत्काल क्षेत्रगत रूपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको पोखरा महानगरपालिकाका प्रवक्ता मोतिलाल तिमिल्सिनाले जानकारी दिए । महानगर कार्यपालिकाले गरेको निर्णयमा लेखनाथ क्षेत्र हेम्जाका लागि हेम्जा, विरौटाका लागि छोरेपाटनलगायत पोखरामा फाल्न मिल्ने खोल्सा खोल्सी छन् । जनवरी १ बाट जसरी पनि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्नुपर्ने भएकाले सो निर्णय गरेको हो । हाल रिठेपानीको डाँडा कटान गरी सो माटोले ल्यान्डफिल साइट छोप्न सुरु गरिएको छ । दीर्घकालीन समयका लागि सम्भावित ठाउँमा वातावरण अध्ययनका लागि प्राविधिक समिति गठन गरिएको प्रवक्ता तिमिल्सिनाले जानकारी दिए । त्यसैगरी वडा नं ३३ का अध्यक्ष रामचन्द्र अधिकारी र दलका नेता तथा प्राविधिक रहेको समिति चयन गरिएको छ जसले दीर्घकालीन रूपमा ल्यान्डफिल साइटको खोजी गर्नेछ । समितिले प्रशोधन केन्द्र स्थापनाका लागि समेत विभिन्न विकल्पमा अध्ययन गर्नेछ । विभिन्न मुलुकमा फोहोरबाट बायोग्यास, विद्युत्, प्राङ्गारिक मल, पाइपजन्य उत्पादन, फर्निचरलगायत विभिन्न सामग्रीसमेत उत्पादन गरिरहेको पाइएकाले पोखरामा पनि यीमध्ये कुनै न कुनै विकल्पलाई व्यावहारिकरूपमा प्रयोगमा ल्याउने तयारी महानगरले गरिरहेको छ । महानगरले तत्कालका लागि राष्ट्रिय गौरवको आयोजना पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भइसकेको र सञ्चालनका लागि अन्तिम तयारी भइरहेको भन्दै यस अवस्थामा फोहोर व्यवस्थापनका लागि चालेका कदमहरूमा आवश्यक सहजीकरणसहित सहयोगका लागि आम नगरवासीसहित सम्बन्धित सरोकारवालाहरूमा अनुरोध समेत गरेको छ । रासस

एक अर्ब ५० करोडको लागतमा मौलाकालिको मन्दिर जान केबलकार निर्माण

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकामा रहेको मौलाकालिका मन्दिर जान अबको तीन महिनाभित्र केबलकार चढ्न पाइने भएको छ । निर्माण कम्पनी मौलाकाली केबलकार प्रालिले आउँदो फागुन महिनाभित्र केबलकार निर्माण सम्पन्न गरी सञ्चालन गर्ने तयारी गरेको छ । गैँडाकोट–१ स्थित ऐतिहासिक महत्त्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जानका लागि केबलकारको निर्माण अन्तिम चरणमा रहेको कम्पनीका व्यवस्थापक गोकुल सावदले बताए । यसका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी एक हजारभन्दा बढी रुख कटान गरिएको थियो । वन मन्त्रालयले दिएको स्वीकृतिका आधारमा सालसहित एक हजार ३८ रुख काटिएको डिभिजन वन कार्यालयले जनाएको छ । आइएमई समूहले गैँडाकोटमा केबलकार सञ्चालनमा ल्याउन लागेको हो । मौलाकाली केबलकार प्रालिले करिब एक अर्ब ५० करोड रुपैयाँको लागतमा आयोजना अगाडि बढाएको हो । यही पुस महिनाबाट सञ्चालनमा ल्याउने तयारीसहित केबलकार निर्माण अगाडि बढाइएको भए पनि कोरोनालगायत विभिन्न कारणले निर्माणमा ढिलाइ भएको कम्पनीले जनाएको छ । केबलकार आयोजनामा ५१ प्रतिशत सेयर मुख्य लगानीकर्ता आइएमई समूह र बाँकी ४९ प्रतिशत लगानी स्थानीयको रहने आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । स्थानीयले कम्तीमा ५० हजारदेखि बढीमा पाँच लाख रुपैयाँसम्म लगानी गर्ने ढकालको भनाइ छ । केबलकारले स्थानीयसहित करिब ४०० व्यक्तिलाई रोजगारी दिने कम्पनीले जनाएको छ । मौलाकाली मन्दिरनजिकै रहेको हेलिप्याडमा ५० कोठाको होटेल, लज पनि निर्माणाधीन अवस्थामा रहेको व्यवस्थापक सावदले बताए । मन्दिरनजिकै रहेको हेलिप्याडमा केबलकारको टपस्टेसन निर्माण हुनेछ भने मौलाकालिका फेदीमा रहेको धारापानीमा बटम स्टेसन हुने उनले जानकारी दिए । ‘हेलिप्याड भएको ठाउँमा टपस्टेसन निर्माण गरे पनि हेलिप्याड समेत निर्माण हुन्छ,’ उनले भने, ‘टपस्टेसनको माथि होटेल र त्योभन्दा माथि हेलिप्याड राख्ने गरी निर्माणको काम भइरहेको छ ।’ केबलकारको एकतर्फी लम्बाइ एक हजार २०० मिटर लामो हुनेछ । यसका लागि ६ टावर निर्माण गरिनेछ । केबलकारमा १४ डब्बा राखेर यात्रु ओसारिने जनाइएको छ । केबलकारमा थप एउटा सामान बोक्ने र अर्को एउटा सर्भिसिङ डब्बा हुनेछन् । एउटा डब्बामा एकपटकमा आठ यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेसनबाट अर्को स्टेसन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ । केबलकार सञ्चालनमा आएपछि प्रतिदिन ६ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केबलकार सञ्चालनमा आएपछि भक्तजन १० मिनेटको यात्रामा मौलाकाली मन्दिर पुग्ने व्यवस्थापक सावदले बताए । अहिले मन्दिर पुग्न एक हजार ८८२ खुड्किला उक्लँदा करिब ४५ मिनेट समय लाग्ने गरेको छ । केबलकारका लागि ५६ रोपनी जग्गा अधिग्रहण गरिएको छ । कम्पनीले त्यसबापत सरकारलाई ५८ रोपनी जग्गा सट्टाभर्ना दिएको छ । कम्पनीले पूर्वी नवलपरासीकै मिथुकरम (दुर्गम पहाडी) गाउँको जग्गा किनेर सरकारलाई दिएको हो । चन्द्रागिरि हिल्स र मनकामना केबलकार निर्माण गरेको अस्ट्रेलियन कम्पनीले नै मौलाकाली केबलकार निर्माणको काम गरिरहेको जनाइएको छ । रासस

गलकोट दरबार जान पक्की मोटरेवल पुल बन्यो

बलेवा । गलकोटे राजाको दरबारसहित गलकोट नगरपालिका वडा नंं ५ जाने पक्की मोटरेवल पुलमा सवारी चल्न थालेका छन् । केही समयअघि निर्माण सम्पन्न भएको यस पुलमा अब नियमित सवारी चल्न थालेका हुन् । गलकोटे राजाको पालामा दरमखोलामा बनेको झोलुङ्गे पुललाई राजाको पुल भनिन्थ्यो । सोही पुल जीर्ण भएपछि केही वर्षदेखि पैदलयात्रीले सास्ती पाएका थिए । भत्केको झोलुङ्गे पुल गत वर्ष बनेर चल्न थालेको छ भने सोही पुलको छेवैमा मोटर चल्ने पुल पनि बनेको हो । यो पुलले गलकोट नगरपालिका वडा नंं ५ र ६ जोड्छ । दरमखोलामाथिको ‘राजाको पुल’ बनेपछि वर्षात्मा पनि यात्रीले सहज यात्रा गर्न पाउने भएका छन् । जीर्ण झोलुङ्गे पुलमा यात्रा गरेकाले सवारीसाधन लिएर यात्रा गर्नसक्ने भएको वडा नंं ५ का अध्यक्ष पवन हमालले बताए । यो पुल बन्नुअघि खोला तर्न नसकेपछि सवारीसाधनले भैँसेस्थित दरमखोलाको पुल तरेर हटिया बजार आउनुपर्ने बाध्यता थियो । यो बाटो कम्तीमा पाँच किमी लामो पर्छ । हरिचौरस्थित गलकोट राजाको दरबार अहिले पनि पर्यटकीय गन्तव्यका रुपमा परिचित छ । त्यसैले दैनिक घुम्न जानेका लागि पक्की पुल उपयोगी भएको हो । खोलाको वारिपारि खेत भएकाले किसानले खेती लगाउनेदेखि भित्र्याउने समयमा पनि पुल अभावले समस्या भोगेका थिए । ‘पहिला काम गर्नुपर्दा घुमाउरो बाटो हिँड्नुपथ्र्यो, अहिले सजिलो भयो’, स्थानीय सरिता निउरेले भने, ‘अहिले हटिया बजार जानु परे पनि पैदलै १५ मिनेटमै पुगिन्छ ।’ गाडी चढेर जानुपरेमा भैँसेस्थित मध्यपहाडी लोकमार्गको पुल तरेर घुम्दा भाडा चर्को तिर्नुपरेको उनले बताए । यसअघि बनेको गौदी खोला पुल पनि नियमित भएकाले हरिचौर र हटिया तथा ताराखोलादेखि हटिया बजारसम्म झर्न र दैनिक आउजाउमा सहज भएको हो । गौँदी खोला पुल ‘नयाँबाटो जुम्ली आचार्य’ संयुक्त निर्माण कम्पनीले साढे तीन करोडमा बनाएको थियो भने दरमखोला पुल जय बाबा गोरखा/ओखलढुङ्गा संयुक्त निर्माण कम्पनीले पाँच करोड नौ लाखमा बनाएको हो । यी दुवै पुल बनेपछि मध्यपहाडी लोकमार्गको हटिया बजारबाट हरिचौरस्थित दरबार र पुरानो सदरमुकाम घुम्न चार किलोमिटर यात्राबाट पुग्न सकिने भएको हो । हटियादेखि हरिचौर पुग्न गौँदीखोला, दरमखोला र खहरेखोला तर्नुपर्छ । खहरे खोलामा भने अझै पुल बन्न बाँकी छ ।