पर्यटन प्रवर्द्धनमा कालिकादेखि विध्ववासिनीसम्म साइकलयात्रा

  पोखरा। पर्यटन प्रवर्द्धनका लागि बागलुङ कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली सुरु भएको छ । साइकल सिटी पोखराको आयोजना र बागलुङ नगरपालिका, उद्योग वाणिज्य सङ्घ र शालिग्राम सङ्ग्रहालयलगायतका संस्थाको समन्वयमा साइकल र्‍याली को आयोजना गरिएको हो । साइकल र्‍यालीको गण्डकी प्रदेशका पर्यटन, उद्योगा, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्माले बागलुङ कालिका मन्दिरमा उद्घाटन गरे । उनले पर्यावरणको रक्षा र पर्यटन प्रबद्र्धनका लागि र्‍यालीको महत्वपूर्ण सन्देश रहेको बताए । साइकल र्‍यालीले वातावरण संरक्षणमा चेतनामूलक सन्देश प्रवाह गर्दै बागलुङ र पोखरालाई पर्यटनका माध्यमबाट नजिक बनाउने बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताए । पोखरामा हुँदै गरेको मेयरकप साइकल दौड प्रतियोगिताका अवसरमा पोखरा आउने पर्यटकलाई बागलुङसम्म आउने वातावरण बनाउन र्‍यालीका लागि अनुरोध गरिएको बागलुङ नगरपालिकाले जनाएको छ । ‘साइकल र्‍यालीको बागलुङमा मिलेर व्यवस्थापन गरेका र्छौं’, बागलुङ नगरपालिकाका कार्यबाहक नगर प्रमुख कोपिलामणि शर्माले भने, ‘पोखरा आउने पर्यटकलाई बागलुङमा पनि घुम्ने ठाउँछन् भन्ने सन्देश र्यालीले दिनेछ ।’ साइकल र्‍यालीमा काठमाडौँ, सिन्धुपाल्चोक, बाँके, रुपन्देही, सुनसरी, नुवाकोट, धादिङ, स्याङ्जा, तनहुँलगायतका जिल्लाबाट दुई सय जना यात्रीको सहभागिता छ । पोखरादेखि सिधैँ मुस्ताङ जाने पर्यटकले यसपछि बागलुङको बाटो रोज्न सक्ने विश्वास लिइएको छ । विदेशी साइकल पर्यटक तथा अन्तरिक पर्यटनलाई आमन्त्रण गर्दै ‘थोपा थोपा इन्धन बचाउ’ भन्ने नाराका साथ पोखरामा आयोजना गरिएको प्रतियोगिताको सन्देश बागलुङबाट दिइएको हो । साइकल र्‍याली बागलुङ कालिकाबाट सुरु भइ पर्वतको कुश्मा बजार हुँदै पोखराको विन्धवासिनी मन्दिर पुगेर समापन हुनेछ । रासस

कुहिरो र हुस्सु हटेपछि उडान नियमित

काठमाडौं । बिहीबार बिहानदेखिको प्रतिकूल मौसमका कारण ठप्प भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक तथा बाह्य उडान अहिले नियमित सुरु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठकुरका अनुसार आज बिहानैदेखि लागेको बाक्लो हुस्सु र कुहिरोका कारण केही समय उडान तथा अवतरण बन्द भए पनि अहिले उडान तथा अवतरण पुनः सुरु भएको हो । कुहिरो र हुस्सु हटेपछि अहिले विमानस्थलमा जहाज उडान तथा अवतरण भइरहेका उनले बताए । मौसम खुलेपछि मात्रै उडान अवतरण सुरु भएको विमानस्थलले जनाएको छ । कुहिरो र हुस्सुका कारण केही विमान होल्डमा रहेकाले अहिले मौसम खुलेपछि उडान अवतरणमा केही ढिलाइ हुनसक्ने विमानस्थलले जनाएको छ ।

हुस्सुका कारण बिहानैदेखि आन्तरिक उडान प्रभावित

काठमाडौं । बिहीबार बिहानैदेखि लागेको बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित बनेका छन् । बिहानैदेखि लागेको हुस्सु र बाक्लो कुहिरोका कारण तराईका अधिकाशं विमानस्थलमा हुने उडान तथा अवतरण प्रभावित बनेकोे हो । काठमाडौं, बिराटनगर, भैरहवा, जनकपुर, पोखरा, सिमरा, नेपालगन्ज लगायतका शहरमा बिहानैदेखि हवाई उडानहरु प्रभावित बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । बिहानै देखि उडान प्रभावित हुँदा दिनभरको उडानमा असर पर्ने कार्यालयले जनाएको छ । आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीले बिहानैदेखि उडान प्रभावित बनेको भन्दै उडान डिले हुन सक्ने भन्दै सूचना जारी गरेका छन् ।