एक वर्षमा ६ लाख विदेशीले गरे नेपाल भ्रमण

काठमाडौं । सन् २०२२ मा ६ लाख विदेशीले नेपाल भ्रमण गरेका छन् । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको एक वर्षको तथ्यांक अनुसार विभिन्न देशबाट हवाई मार्गहुँदै ६ लाख १४ हजार १४८ जना विदेशी नेपाल भित्रिएका हुन । बोर्डको तथ्यांक अनुसार सबैभन्दा धेरै अक्टोबर महिनामा ८८ हजार ५८२ विदेशी नेपाल भित्रिएका छन् । तथ्यांक अनुसार जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६, मार्चमा ४२ हजार ६, अप्रिलमा ६१ हजार ५८९, मे मा ५३ हजार ६०८, जुनमा ४६ हजार ९५७ र जुलाईमा ४४ हजार ४६२ जना विदेशी हवाई मार्ग हुँदै नेपाल आएका हुन । यस्तैगरी, अगष्टमा ४१ हजार ३०४, सेप्टेम्बरमा ५८ हजार ३१४, अक्टोबरमा ८८ हजार ५८२, नोभेम्बरमा ७२ हजार ६५३ र डिसेम्बरमा ६७ हजार ९३२ जना विदेशी नेपाल आएका छन् । तथ्यांक अनुसार एक वर्षमा सबैभन्दा धेरै विदेशी भारतबाट आएका छन् । भारतबाट २ लाख ९ हजार १०५ जना नेपाल आएका हुन । यस्तै, अमेरिकाबाट ७७ हजार ९, युकेबाट ४४ हजार ७८१, अष्टेलियाबाट २६ हजार ८७४ र बंगलादेशबाट २५ हजार ३८४ विदेशी नेपाल भित्रिएका छन् । सन् २०२० मा २ लाख ३० हजार विदेशी नेपाल आएका थिए भने २०२१ मा १ लाख ४९ हजार मात्र विदेशी आएका थिए । कोरोना महामारीमा कमी आएपछि नेपाल भित्रने विदेशीको संख्यामा बृद्धि हुन थालेको छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सरकारले सघाउने

पोखरा । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सघाउने बताएका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले विमानस्थलमा आवश्यक अन्य पूर्वाधार निर्माणका लागि सरकारले भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । राष्ट्रको आजको आवश्यकता राजनीतिक स्थायित्व र सामाजिक न्याय भएको उनको भनाइ थियो । ‘विकास, समृद्दि र सुशासन आजको आवश्यकता हो’, मन्त्री पौडेलले भने । अर्थतन्त्रमा केही समस्या भए पनि काबूभन्दा बाहिर नरहेको उल्लेख गर्दै उनले यसलाई लयमा फर्काउने विश्वास व्यक्त गरे । मन्त्री पौडेलले नवनिर्मित विमानस्थललाई चितवन, भैरहवालगायतका गन्तव्यसँग जोड्नुपर्ने बताए ।

एक वर्षमा मुस्ताङमा ६६ हजार पर्यटकले भ्रमण गरे

म्याग्दी । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार पर्यटकले भ्रमण गरेका छन् । सन् २०२२ मा ६५ हजार नौ सय ४० विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)  इलाका कार्यालय जोमसोमले जनाएको छ ।  ‘कोरोना महामारी घट्नु, यातायात सुविधा, नयाँ गन्तव्यको पहिचान, प्रर्वद्धनात्मक गतिविधि र स्तरीय होटलको सुविधासँगै मुस्ताङमा पर्यटक आगमन बढेको हो’, उनले भने ‘पछिल्लो पाँच वर्षयताकै धेरै पर्यटक यसपाली आएका छन् ।’ उनका अनुसार अठतालीस देशका पर्यटक मुस्ताङ घुम्न आएका हुन् ।  कोरोना महामारी अघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्याङ्क छ । सन् २०२१ मा दुई हजार तीन सय पर्यटक भित्रिएकोमा छ सय दुईजना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए । सन् २०२० मा दुइ हजार तीन सय ४७ पर्यटक मुस्ताङ आएका थिए ।  विसं २०२२ मा मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार सात सय २४ पर्यटक सार्क राष्ट्रका छन् । उन्नाइस हजार दुई सय छ जना तेस्रो मुलुकका हुन् भने १३ हजार छ सय २५ पर्यटक मनाङ हुँदै थोराङ्ला पास गरेर मुस्ताङ आएका छन् ।  यसैगरी तीन हजार दुई सय १२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन् । कागबेनी देखि कोरला नाकासम्मको उपल्लो मुस्ताङको अर्धनिषेधित भूगोलमा भ्रमण गर्न विदेशीले सात दिनका लागि पाँच सय डलर शुल्क तिर्नुपर्छ । गण्डकी प्रदेशका लमजुङ, कास्की, मनाङ, मुस्ताङ र म्याग्दीमा समेटिएको एक्याप क्षेत्रको भ्रमण गर्न सार्क मुलुककालाई प्रतिव्यक्ति एक हजार तथा तेस्रो मुलुककालाई प्रतिव्यक्ति तीन हजार शुल्क तोकिएको छ ।  उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन् । मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, धुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीयस्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ । पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटल व्यवसायी र मजदूरलाई राहत मिलेको लोमान्थाङका घरबास सञ्चालक टासी गुरुङले बताए।