हावाहुरीले हुम्लामा हवाई सेवा अवरुद्ध

हुम्ला । हिमाली जिल्ला हुम्लामा हवाई सेवा हावाहुरीले अवरुद्ध भएको छ । बिहीबारदेखि जिल्लामा हावाहुरी चल्दा आज पनि हवाई सेवा अवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी दिएको छ । नेपालगञ्ज र सुर्खेतबाट नियमित उडान भर्ने निजी जहाजले हावाहुरीका कारण आफ्नो सेवा अवरुद्ध भएको जनाएका छन् । जिल्लाको एकमात्रै अन्तर जिल्ला जोड्ने यातायात हवाई सेवा भए पनि दुई दिनदेखि जिल्ला बाहिर जानका लागि उडान हुन नसक्दा हातमा टिकट लिएर बसेका यात्रु सिमकोटमै रोकिएका छन् । हवाई सेवा बन्द हुँदा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आउने यात्रुसहित कार्गो सामान रोकिएका छन् । हुम्लादेखि नेपालगञ्ज र सुर्खेत जाने यात्रु तथा नेपालगञ्ज र सुर्खेतदेखि सिमकोट आवतजावत गर्ने यात्रुसहित अन्य सामग्री ढुवानी हुन नसकेको सिमकोट विमानस्थलले जनाएको छ । यसैगरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कम्पनीको ढुवानी अनुदानको खाद्यान्न, दैनिक उपभोग्य सामान, तरकारी र कार्गोको सामान पनि ढुवानी हुनसकेको छैन । घाम लागेपछि दिनहुँ बिहान ८/९ बजेपछि मात्र उडान हुँदै आएकोमा बिहीबारदेखि हावाहुरी चल्दा हवाई सेवा अवरुद्ध हुन पुगेको हो । नेपालगञ्जबाट हुम्लाका लागि तारा, समिट एयरका जहाजले उडान भर्दै आएका छन् । नेपालगञ्जबाट हुम्ला पुग्न जहाजलाई करिब ४५ मिनेट समय लाग्छ । हवाई उडान नहुँदा दैनिक उपभोग्य सामग्री ढुवानी रोकिएको छ । यात्रु सिमकोटमै अलपत्र परेका छन् । नेपागञ्जमा हुस्सु लागेका कारणसमेत हुम्लामा उडान हुन नसकेको हो ।

पर्यटकीय गन्तव्य बन्यो बागलुङको तिलाचन ताल

बागलुङ । बागलुङको निसीखोला र रोल्पाको सुनछहारीको शिरमा छ तिलाचन ताल। चिसो मौसम, सिरसिर हावा र शान्त वातावरण यहाँको विषेशता हो। उच्च पहाडी क्षेत्र भए पन यहाँ समथर भू–भाग छ। तलतिर घना जङ्गल। यहाँबाट देखिने मनमोहक दृश्य साँच्चिकै मन लोभ्याउने छन्। दुई जिल्लाको सङ्गमस्थलमा रहेको तिलाचन ताल आधा दशक अगाडिसम्म ओझेलमा थियो। ताल उच्च पहाडको शिरमा हुँदा बागलुङ र रोल्पाका सीमा क्षेत्रका स्थानीयबाहेक बाहिरी मान्छे यहाँ पुग्न सकेका थिएनन्। खासगरी यो ठाउँलाई गोठालाको बसोबास गर्ने र चरन क्षेत्रका रूपमा लिइन्छ। तीन वर्ष अगाडि मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि मात्रै तिलाचन ताल चर्चामा आएको हो। तालमा बागलुङ, पूर्वीरुकुम र रोल्पाको सिमाना पातिहाल्नेबाट आधा घण्टाको पैदलयात्रामा पुग्न सकिने हुँदा पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षण बढेको हो। ताल रोल्पामा परे पनि बागलुङबाट नजिक पर्छ। ताल सुनछहारी गाउँपालिका–१ मा पर्छ तर त्यतापट्टितिरबाट सडक सञ्जालले नजोडिँदा रोल्पालाई अपायक पर्छ। तालसँग बागलुङको निसीखोला गाउँपालिका–६ जोडिएको छ। बागलुङतिरबाट राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग पुगेको हुँदा तालमा पुग्न सहज छ। लोकमार्गका कारण दैनिक पर्यटक निसीखोला हुँदै जाने हुँदा पातीहाल्नेमा व्यापार व्यवसायसमेत बढ्न थालेको छ। यस ताललाई पहिले गोठालाले ‘तिलाचन दह’ भन्ने गरेको निसीखोला गाउँपालिका–६ का भेडापालक टीकराम घर्तीमगरले बताए। उनले लोकमार्गको स्तरोन्नतिपछि यस ठाउँमा बाहिरी मान्छे आउन थालेको भन्दै पछिल्लो समय यहाँ आउनेको सङ्ख्या बढेको बताउँछन्। टीकाराम भन्छन्, ‘तिलाचन क्षेत्र भेडाबाख्रा चराउने ठाउँ हो, बर्खाको चार महिना पूरै यहीँ बिताउँथ्यौँ, अहिले पनि असार साउनतिर यतै बस्छौँ, हामी यही तालको पानी खान्छौँ।’ उनी सडकका कारण गोठालाको बसोबास गर्ने ठाउँ र पानी भर्ने दह पर्यटकीय गन्तव्य बन्दै गएको बताउँछन्। अहिले पनि यहाँ दुई जिल्लाका गोठालाले वस्तुभाउ चराउँदै आएको घर्तीमगरको भनाइ छ। उनले विकासले गति लिँदै गएपछि यस ठाउँले मुहार फेर्दै गएको बताए। अहिले गोठालाको दैनिकीसमेत फेरिँदै गएको घर्तीमगर बताउँछन्। ‘जमाना फेरिए, मोटर गाडी आउन थाले, पहिले हामी घरबाट खर्चपर्च लिएर तालसम्म आउन चार घण्टा पूरै लाग्यो, अहिले पातीहाल्नेसम्म आधा घण्टामा, त्यहाँबाट तालसम्म हिँडेर आधा घण्टा लाग्छ’, उनले भने, ‘ताललाई व्यवस्थित बनाइएको छ,  तालको छेउमा पहिले ढुङ्गा राखेर पूजा गर्थे, अहिले मन्दिर निर्माण गरिएको छ।’ स्थानीय देवीकुमारी बुढामगरले पछिल्लो तालमा आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको बताइन्। बुढामगर बिदाको दिन अझ बढी मान्छे घुम्न आउने गरेको बताउँछिन्। केही दिनयता चिसो बढेका कारण आगन्तुक घटेको बुढामगरको भनाइ छ। चैतदेखि भदौसम्म पातीहाल्ने र तिलाचन तालमा आन्तरिक पर्यटकको भीडभाड हुने उनले बताइन्। ‘केही दिनभयो चिसो धेरै बढेको छ, त्यही भएर होला मान्छे कम भएको, पानी परेर हिउँ प¥यो भने तालसम्म त मान्छे पुग्न सक्दैनन्, पातीहाल्नेसम्म हिउँ खेल्न आउँछन्, बाटो सजिलो छ, अहिले त बर्खामा पनि धेरै मान्छे तालमा पुगे, ताल वरपर त्रिपाल लगाएर एक–दुई दिन बास पनि बस्ने गर्थे’, उनले भनिन्, ‘यहाँ त बाह्रै महिना मान्छे आउन थालेका छन्।’ तालको छेउमा तिलाचन ताल बरहा मन्दिर छ। यस मन्दिरमा पूजाआजा गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ। सुनछहारी गाउँपालिका रोल्पाका सूचना अधिकारी रमेश गिरीले तिलाचन ताललाई पर्यटकीय गन्तव्य बनाउन काम गरिरहेको बताए। अघिल्लो वर्ष लुम्बिनी प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँबाट ताल सरसफाई र मन्दिर निर्माण गरेको बताए। गाउँपालिकाले यो ताललाई पालिकाको मुख्य पर्यटकीय गन्तव्यका रूपमा राखेको गिरीको भनाइ छ। ‘तालको छेउमा अहिले मन्दिर निर्माण भएको छ, मन्दिर निर्माण र ताल संरक्षणका लागि गत वर्ष १० लाख रुपैयाँको काम भएको छ, पालिकाले यसको संरक्षणका लागि जुटिरहेको छ’, सूचना अधिकारी गिरीले भने, ‘ताल पहिलेदेखि नै चर्चित थियो, गाउँपालिकाले पनि प्रचार–प्रसार र प्रवद्र्धन गरिराखेको छ, यहाँ बागलुङबाट लोकमार्ग हुँदै धेरै पर्यटक आएको पाइएको छ।’ निसीखोला गाउँपालिका–६ का अध्यक्ष हेमबहादुर बुढामगरले तिलाचन तालमा जाने आगन्तुकलाई लोकमार्गले सहज बनाइदिएको बताए। उनले केही वर्ष अगाडिसम्म स्थानीयबाहेक बाहिरी मान्छे तिलाचन तालमा नपुगेको भन्दै प्रचार–प्रसारले गर्दा टाढा–टाढाबाट यहाँ घुम्न र फोटो खिच्न आउने गरेको बताए। अध्यक्ष बुढामगरले हिउँदमा हिउँ खेल्न र बर्खामा गर्मी छल्नमा लागि मान्छे घुम्न आउने गरेको बताउँछन्। उनी भन्छन्, ‘तिलाचन ताल निकै सुन्दर छ, अग्लो पहाडको टुप्पोमा यति राम्रो तालमा पुग्न जोकोही चाहन्छन्, पहिले त माथिल्लो गाउँबाहेक बाहिरी मान्छे त्यहाँ आउँदैनथे, पुग्ने सम्भावना पनि थिएन, अहिले प्रचारप्रसारले घुम्न आउनेको सङ्ख्या बढेको छ।’ ताल क्षेत्रबाट धौलागिरि, अन्नपूर्णलगायतका हिमशृङ्खालको सहजरूपमा अवलोकन गर्न सकिन्छ। यहँबाट बागलुङ, रोल्पा, पूर्वीरुकुम, प्युठान, गुल्मीलगायतका ठाउँ देखिन्छन्। तालमा पर्यटक बढे पनि यहाँसम्म पुग्ने पदमार्ग भने अव्यवस्थित छ। आगन्तु पशुचौपाया हिँड्ने साँघुरो गोरेटोमार्फत तालमा पुग्ने गरेका छन्।

सिन्धुपाल्चोकको गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची–९ गुफाडाँडामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । विसं २०७५ मा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकाे जलवायु सम्मेलनपछि एकाएक चर्चा चुलिएको गुफाडाँडामा पर्यटन प्रवद्र्धनका लागि आवश्यक पूर्वाधार निर्माण हुन थालेपछि गुफाडाँडा जलवायु उद्यान पर्यटकको आकर्षक गन्तव्यस्थल बन्न थालेको छ । मेलम्ची नगरपालिका–९ मा अवस्थित गुफाडाँडा जलवायु उद्यान आकर्षक र मनमोहक छ । यहाँबाट विभिन्न हिमशृृङ्खलासँगै धुलिखेल, नगरकोटलगायत उच्च पहाडी भेगको दृश्यावलोकन गर्न सकिन्छ । स्वच्छ हावापानी, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्व र जडीबुटीका हिसाबले पनि गुफाडाँडा भूःस्वर्गजस्तै छ । प्रथम राष्ट्रिय जलवायु सम्मेलन पूर्व चौँरीखर्क मात्रै रहेको ठाउँमा जलवायु सम्मेलनपश्चात पर्यटकीय गन्तव्यको विकाससँगै गुफाडाँडा जलवायु उद्यान घुम्न पर्यटकको घुइँचो लाग्ने गरेको छ । यहाँको वातावरणमा रमाउन पाउँदा खुसी लागेको काभ्रेपलाञ्चोकका आशाकाजी श्रेष्ठले बताए । चौताराबाट आएकी बिन्दु सापकोटा दोस्रो पटक घुम्न आएको बताउँछिन् । लामाहरू ज्ञान प्राप्तिका लागि गुफा बसेका कारण गुफाडाँडा भनिएको किंवदन्ती रहेको पछिल्लो समय आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले बताए । विभिन्न सङ्घसंस्थाको बैठक, गोष्ठीलगायतका कार्यक्रमसमेत गुफाडाँडा जलवायु उद्यानमा आयोजना हुन थालेपछि चहलपहल बढेको छ । गुफाडाँडाको प्रचार–प्रसारसँगै स्थानीयको आयआर्जनमा पनि टेवा पुगेको मेलम्ची नगरपालिका–९ का युवराज पुरी बताउँछन् । पर्यटक पर्खाइमा बसेको डाँडामा पुग्न भने बर्खायाममा सकस हुने गरेको छ । यहाँ होटेल तथा होमस्टेको अभाव छ । पर्यटन प्रवद्र्धनका लागि गुरुयोजना बनाएर यो क्षेत्रमा चिया बगान, वनभोजस्थल, भ्यूटावर, रिसोर्ट, खेलमैदान, संस्कृति झल्किने सङ्ग्रहालयलगायत स्थापना गर्ने उद्देश्य रहेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको भनाइ छ । रासस