आन्तरिक पर्यटन प्रवर्द्धन गर्न पदयात्रा
भक्तपुर । आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका-७ ले पदयात्रा कार्यक्रम आयोजना गरेको छ । राष्ट्रिय युवा सङ्घ पर्यटन विभागको आयोजनामा आज बिहान ९ बजेबाट सुरु भएको पदयात्रा कार्यक्रम नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरे। उनले नगरपालिका क्षेत्रका डाँडा आफैँमा ‘भ्यूटावर’ रहेको चर्चा गर्दै यहाँबाट काठमाडौँ उपत्यकाका साथै विभिन्न हिमश्रृंखला देख्न सकिने बताए । अनन्तकुण्डको ऐतिहासिक एवं धार्मिक महत्वबारे चर्चा गर्दै उनले राजा अंशु बर्माले रानी बिरामी हुँदा यहीँबाट पानी लगेर छर्किएपछि निको भएको किम्बदन्ती रहेको सुनाए । उनले प्रताप मल्लले रानी पोखरी निर्माण गर्दा पनि यहीँ कुण्डको पानी लगेर हालेको इतिहास रहेको समेत बताए । ‘यसअघि म सांसद छँदा यस क्षेत्रमा पदमार्ग निर्माणका लागि बजेट विनियोजन गरेको थिएँ’, उनले भने ‘यो क्षेत्र धार्मिक पर्यटनका दृष्टिले पनि महत्वपूर्ण छ ।’ यस क्षेत्रमा जङ्गल सफारी गर्दै जङ्गली जनावर, चराचुरुङ्गी नियाल्न पनि सकिने उनले बताए । रातोपाटीबाट सुरु भएको पहिलो चरणको पदयात्रा अनन्तकुण्ड, अनन्तलिङ्गेश्वर, महादेव खोला, कैलाश भ्यूटावर, होमस्टेहुँदै रिसालडाँडा पुगेर पूरा हुने आयोजकको भनाइ छ । सूर्यविनायकबाट घ्याम्पेडाँडा, रानीकोट, बाघ भैरब, मानेभन्ज्याङ, पनौती कुशादेवीसम्म र सूर्यविनायकबाट रिसालडाँडा हुँदै पोखरी थुम्कासम्म जान सकिन्छ । पदयात्रा उद्घाटन कार्यक्रममा बागमती प्रदेश सदस्य किरण थापाले यहाँको पर्यटन विकासका लागि तीन तहकै सरकारले विगतमा लगानी गरेको बताउँदै अब यस क्षेत्रलाई पर्यटन पूर्वाधार र विकासका लागि थप बजेट ल्याएर काम गर्ने जिम्मेवारी आफूमा आएको बताए । कार्यक्रममा युवा सङ्घ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेपाल पर्यटन बोर्डका उपाध्यक्ष चन्द्र रिजाललगायतले यहाँको पर्यटकीय गन्तव्य पहिचान गर्दै आन्तरिक पर्यटक बढाउन सकिने बताए । यस पदमार्गमा यात्रा गर्दा मृग, बँदेल, खरायो, कालिजलगायतका जङ्गली जनावर तथा पशुपक्षी अवलोकन गर्न सकिन्छ भने एक हजार आठ सय मिटरको उचाइमा पुगेपछि १७ वटा हिमाल र उपत्यकाका तीन वटै सहरको दृश्यावलोकन गर्न सकिन्छ ।
जहाज कोलकाता डाइभर्ट हुँदा निगमको २७ लाख चैट, पाइलटलाई तालिम दिन नमान्दाको क्षति
काठमाडौं । मलेसियाको क्वालालम्पुरबाट नेपाल आउँदै गरेको वायु सेवा निगमको जहाज कोलकाता डाइभर्ट हुँदा निगमलाई करिब २७ लाख रुपैयाँ बराबर नोक्सान भएको छ । शुक्रबार बिहान निगमको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्न नसक्दा भारतको कोलकाता डाइभर्ट हुँदा २७ लाख २७ हजार बढी नोक्सान भएको हो । कोलकाता जाँदा डेढ घण्टा र फर्कदा डेढ घण्टागरी ३ घण्डा जहाज उडाउँदा सञ्चालन खर्च २१ हजार डलरभन्दा बढी लाग्ने निगमका एक क्यापटेनले जानकारी दिए । उनका अनुसार १ घण्टामा सकिने आरएनपी–एआर एप्रोच प्रणालीको तालिम नहुँदा नोक्सानीमा गएको निगममाथि थप व्ययभार थपिएको छ । २१ हजार डलर खर्च हुँदा नेपाली २७ लाख २७ हजार व्ययभार निगममाथि थपिएको हो । शुक्रबार बिहान काठमाडौं विमानस्थलको भिजिविलिटी १६ सय मिटरमा झरेको थियो । निगमको जहाज ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सक्थ्यो । तर, मलेसियाबाट काठमाडौं आएको जहाजले उक्त भिजिविलिटीमा अवतरण गर्न नसक्ने बताएपछि भारतको कोलकाता डाइभर्ट गरिएको विमानस्थल कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन् । ‘अन्तर्राष्ट्रिय उडान गर्ने वायुसेवा कम्पनीले ११ सय मिटर भिजिविलिटीमा अवतरण गर्न सकिने ननप्रिसिजिन अप्रोच प्रणालीमा आधारित आरएनपी–एआर एप्रोच विधि अपनाएर अवतरण हुन सक्थ्यो तर निगमका चालकदलले आरएनपी–एआर एप्रोच प्रणालीमा अवतरण गर्न नसक्ने बताउँदै डाइभर्टको अनुमति मागे’, उनले भने, ‘पाइटलको तालिम नहुँदा अवतरणा गर्न नसकि डाइभर्टको अनुमति मागे ।’ ११ सय भिजिविलिटीमा अवतरण गर्न सकिने भएपनि शुक्रबार उडान भरेको निगमको एयरबस ३२० (न्यारोवडी) का क्यापटेन राकेश खुस्वाले जहाज अवतरण गर्न २८०० भिजिविलिटी आवश्यक पर्ने निगम स्रोतले जनाएको छ । स्रोतका अनुसार निगम व्यवस्थापनले समयमा नै तालिम नदिँदा सहज रुपमा अवतरण गर्न सकिने जहाज समेत डाइभर्ट गर्नुपर्ने बाध्यता भयो । क्यापटेन खुस्वा निगमकै एयरबस ३२० मा कोपाइटलबाट केही समय अघिमात्रै क्यापटेन भएका थिए । क्यापटेनको तालिन लिन जाँदा एकैपटकमा हुने तालिम समयमा नहुँदा समस्या हुने गरेको ति क्यापटेनले बताए । कोपाइटल हुँदा उनले सो तालिन लिएपनि क्यापटेन भएपछि तालिन लिएका छैनन् । आरएनपी–एआर एप्रोच तालिम निगमले इन्डोनोसियामा गर्दै आएको छ । क्यापेटन खुस्वाजस्तै निगमका अन्य ६ जना क्यापटेनको उक्त तालिन नलिएको जनाइएको छ । आरएनपी–एआर एप्रोच तालिम ६/६ महिनामा लिनुपर्छ । उक्त तालिमका लागि १ हजार डलर खर्च हुने निगमले जनाएको छ । उक्त खर्च निगम आफैले व्यहोर्छ । निगमको अपरेशन विभागका प्रमुख रवीन्द्र आरके शेरचनले कार्यकारी अध्यक्षले बोल्ने अनुमति प्रवक्तालाई मात्रै दिएको भन्दै उक्त विषयमा बोल्न नमिल्ने बताए ।
टर्मिनल भवन नहुँदा मुगुको ताल्चा विमानस्थलमा समस्या
मुगु । टर्मिनल भवन निर्माण नहुँदा मुगुको ताल्चा विमानस्थलमा सेवा प्रवाहमा समस्या भएको छ । सम्झौताअनुसार आर्थिक वर्ष २०७८/७९ मै निर्माण सम्पन्न हुनुपर्ने भए पनि हालसम्म पूरा हुन नसक्दा सेवा प्रभावमा समस्या भएको छ । ओमबुद्ध इन्टरनेशनल कन्स्ट्रक्सनले समयमै काम सम्पन्न नगर्दा टर्मिनल भवन अधुरै रहेको हो । विसं २०६० देखि कच्ची धावनमार्गमा हवाई सेवा सञ्चालनमा आएको हो । विसं २०७२ मा पाँच सय ७० मिटर लम्बाइ र २० मिटर चौडाइको धावनमार्ग कालोपत्र गरिएको हो । टावर र टर्मिनल भवन भने हालसम्म बन्न सकेको छैन । ओमबुद्धले टर्मिनल भवन निर्माण गर्न २०७६ असोजमा ३० महिना भित्र सम्पन्न गर्नेगरी रु आठ करोड ६५ लाखको सम्झौता गरेको थियो । नागरिक उड्डयन प्राधिकरणका इञ्जीनियर महेश नेपालीका अनुसार हालसम्म ६० प्रतिशत मात्र काम भएको छ । नागरिक उड्डयन कार्यालय ताल्चाका प्रमुख रामोन भट्टराईले भवन नबन्दा सेवा प्रवाहमा समस्या भएको बताए । ‘ताल्चामा अहिले पुरानो काठकै भवन र टहरामा जोखिम मोलेर सेवाप्रवाह भइरहेको छ’, उनले भने । सामान्य हावाहुरी चल्दा पनि सेवा प्रवाहमा समस्या हुने गरेको छ । ओमबुद्ध कन्स्ट्रक्सनका सञ्चालक भोजराज खड्काले भौगोलिक विकटताका कारण समयमा सामान ढुवानी नहुनु र कोरोनाका कारण निर्माणमा ढिला भएको बताए ।