वायुसेवा निगमलाई गौरव गर्न लायक संस्था बनाउँछु : मन्त्री किराती
काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मुलुकको एक मात्र राष्ट्रिय ध्वजाबाहकमा देखिएको विकृति तथा विसङ्गतिलाई हटाएर गौरव गर्न लायक संस्थाको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा पद तथा गोपनियताको शपथ लिएपछि सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै मन्त्री किरातीले निगमलाई निगम जस्तो बनाउने बताएका हुन । उनले हवाई सुरक्षामा विशेष ध्यान दिने बताउँदै हवाई उडानलाइ व्यवस्थित र सुरक्षित बनाउनका लागि काम गर्ने बताए । मन्त्री किरातीले आफन्त, भनसुन र नातागोताका आधारमा कुनै पनि काम नहुने स्पष्ट पारे । आफूले कानुन, विधि र नियमअनुसार नै सबैसँग सहकार्य गर्दै अगाडि बढ्ने उनले बताए । कोरोना कहरपछि समस्यामा परेको पर्यटन क्षेत्रलाई उकास्न आफू लागिपर्ने उल्लेख गर्दै उनले मुलुकको आर्थिक उन्नतिको केन्द्रमा रहेको पर्यटन क्षेत्रको उन्नयनमा लागिपर्ने स्पष्ट पारे । म जहाजको ककपिटमा छु, एकैचोटी जहाज उडाउँदैनौँ, सबै जाँच गरेर मात्रै अब पर्यटन मन्त्रालय अगाडि बढ्छ, जातीय, क्षेत्रीय एवम् नातागोताले अब काम गर्दैन’, उनले भने । यही माघ १ गते मात्रै ठूलो हवाई दुर्घटना भएको र सम्बन्धित मन्त्रालय भएकोले छानबिन समितिलाई सहयोग गर्ने काम हुने उनले बताए । हवाई सुरक्षामा विशेष पहल गर्दै थप सुरक्षित बनाउने गरी सबै निकायसँगको समन्वयमा काम गर्ने मन्त्री किरातीको भनाइ छ । नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य किराती मुलुकको ४० औँ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका छन् ।
ताप्लेजुङ-भद्रपुरमा उडान थप, भाडा कति ?
फुङ्लिङ। ताप्लेजुङमा सीता एयरले बुधबारदेखि काठमाडौँ–ताप्लेजुङ–काठमाडौं र ताप्लेजुङ–भद्रपुर–ताप्लेजुङ उडान भर्ने भएको छ । ताप्लेजुङमा पर्यटक तथा तीर्थयात्रीहरूको चहलपहल बढ्ने समय भएसँगै उडान थप गरिएको हो । सुकेटार विमानस्थलमा नेपाल एयरलाइन्स र सीता एयर गरी दुई कम्पनीले उडान गर्ने भएको छ । सुकेटार विमानस्थलबाट साताको सोमबार, बुधबार र शुक्रबार गरी तीन दिन उडान गर्ने तालिका रहे पनि सीता एयरले बुधबार भने दुईपटक उडान गर्ने कार्यालय प्रमुख सिरी खड्काले बताए । उनका अनुसार बुधबार ताप्लेजुङबाट झापाको भद्रपुर र काठमाडौँका लागि दुईपटक उडान हुनेछ । यस्तै हप्ताको चारपटक काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गरिरहेको निमगको जहाजले पनि सातामा एकपटक ताप्लेजुङ–विराटनगर उडान गर्ने तयारी गरिहेको ‘स्टेशन इन्चार्ज’ लोकेन्द्र हाङ्गाम लिम्बूले बताए । प्रदेश नं १ को राजधानीलाई लक्षित गरी कम्तीमा सातामा एक दिन ताप्लेजुङ–विराटनगर उडान गर्ने तालिका बनिरहेको उहाँले जानकारी दिए । इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलबाट समेत नेपाल वायु सेवा निमगको ट्वीनअटर जहाजले उडान भर्ने तालिकासँगै ताप्लेजुङ–विराटनगरको उडान तालिका पनि तय हुने उनको भनाइ छ । यस पहिले सीता एयरले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान गर्दै आएकामा वर्षायामको सिजनमा भिजिबिलिटी कम भएका कारण उडान स्थगन भएको थियो । मौसम सफा हुने पर्यटकको चहलपहलसमेत वृद्धि हुने भएकाले उडानलाई निरन्तरता दिइएको बताइएको छ । सीता एयरले ताप्लेजुङबाट भद्रपुरका लागि पाँच हजार तीन सय ८५ र काठमाडौँसम्मका लागि नौ हजार दुई सय ८५ भाडादर निर्धारण गरिएको इन्चार्ज खड्काले जानकारी दिए ।
पर्यटकीय गन्तव्य बन्दै लुकुम गाउँ, दैनिक १०० पर्यटक आउने
ढोरपाटन । अग्लो पहाड । पहाडको फेदमा छ लुकुम गाउँ । बाक्लो बस्ती, आफ्नै भाषा र रीतिरिवाज यस गाउँको पहिचान हो । छेउमा रहेका अग्ला धुपीका रुखहरूले गाउँको सुन्दरतालाई थप बढाएको छ । एक दशक अगाडिसम्म लुकुम गाउँ सुनसान थियो । जब मध्यपहाडी लोकमार्गले जोडियो, तब गाउँमा विकासका लहर छाउनुका साथै पर्यटकीय गन्तव्य बन्न थाल्यो । लोकमार्गले गाउँलाई जोडेपछि दुर्गम ठाउँ सुगममा परिणत त हुने नै भयो, त्यसमाथि गाउँको सुन्दरता र परम्परा आगन्तुकका लागि महत्वपूर्ण गन्तव्यसमेत बन्यो । लोकमार्गले नजोडिँदा ओझेलिएको लुकुम गाउँ अहिले एकाएक चर्चामा आएको छ । सडकले गाउँलाई पर्यटकीय गन्तव्य बनाउनुका साथै स्थानीयवासीलाई सहजतासमेत प्रदान गरेको छ । पूर्वीरुकुमको भूमे गाउँपालिका–१ मा पर्ने लुकुम गाउँमा अहिले दैनिक सयौँ आन्तरिक पर्यटक पुग्ने गर्दछन् । तीन वर्ष अगाडि लोकमार्ग कालोपत्र भएपछि लुकुम गाउँ धेरैको रोजाइमा परेको छ । सडकको सहज पहुँच तथा रुकुम र बागलुङबाट नजिक पर्ने हुँदा बागलुङ, पूर्वीरुकुम तथा पश्चिम रुकुमबाट दैनिक सयौँ पर्यटक लुकुम गाउँमा घुम्न आउने गरेको स्थानीय श्रीप्रसाद पुनमगरले बताए । पुनमगर भन्छन्, ‘सडक आएपछि त निकै सजिलो भयो, पहिले यहाँ यही गाउँमात्रै थियो, अहिले तल बजार बन्दै छ, बाटो पनि राम्रो बनेको छ, अहिले धेरै ठाउँबाट मान्छे घुम्न आउँछन्, हाम्रो पुरानो गाउँमा डुल्ने, घुम्ने र फोटो खिचेर जान्छन्, यो गाउँ हाम्रो पुर्खादेखि नै यस्तै थियो, यहाँ धेरैजसो पुराना घरमात्रै छन्, यही घर अहिले धेरैले मन पराए ।’ लोकमार्गले जोडिएपछि गाउँले मुहार फेरेको पुनमगर बताउँछन् । उनले पहिले आफूहरू नयाँ ठाउँमा सामान किनमेल गर्न पुगेको भन्दै अहिले धेरै मान्छे आफ्नै गाउँमा घुम्दै आउँदा खुसी लागेको बताए । गाउँलाई पर्यटनसँग जोड्न लोकमार्गले ठूलो भूमिका खेलेको उनको भनाइ छ । ‘पहिले हामीहरू नुन, तेल र चामल ल्याउन एक साता लगाएर दाङ तुल्सीपुर पुग्थ्यौँ, त्यतिबेला त्यो ठाउँमा जाँदा यहाँका गाउँलेलाई धेरै समस्या थियो, तर नयाँ ठाउँ देख्दा रमाइलो लाग्थ्यो’, पुनमगरले भने, ‘अहिले बाहिरी मान्छे हाम्रो गाउँमा आउँदा रमाइलो लाग्यो भन्छन्, केही मान्छेहरू त एक–दुई दिन बसेर घुमेर जान्छन् ।’ स्थानीय सुनकुमारी पुनमगर सडकले गाउँलेको जनजीवनमा ठूलो परिवर्तन ल्याएको बताउँछिन् । पुरानो गाउँ अहिलेका युवायुवतीका लागि आकर्षक गन्तव्य बनेको भन्दै गाउँ घुम्न आउनेले स्थानीयस्तरमा उत्पादन भएका सामान किनेर लैजाने गर्दा गाउँलेको आयआर्जनमा टेवा पुगेको उनको भनाइ छ । ‘यो बाटो नआउँदा गाउँमा बाहिरी मान्छे कमै आउँथे, यहाँका मान्छे सामान किनेमले गर्न, केटाकेटी पढ्न र व्यापार व्यवसाय गर्न दाङ जान्थे, गाउँमा उत्पादन भएका सिमी, आलु बाहिर जान पाउँदैनथ्योु, उनले भनिन्, ‘अहिले बाहिरबाट घुम्न आउनेले पनि सिमी किनेर लैजान्छन्, अरु ठाउँको भन्दा स्वादिलो हुन्छ भन्छन्, गाउँमा बुनेका कोक्रो, डालो, नाङ्लोसमेत किनेर लान्छन् ।’ अर्का स्थानीय आसबहादुर विकले गाउँबाट बाहिरिनेको सङ्ख्यामा कमी आएको बताए । उनले लोकमार्गले गाउँ नजोडिँदा गाउँमा बूढापाकामात्रै हुने गरेको स्मरण गर्दै अहिले बजार गएर व्यापार व्यवसाय गर्ने पनि गाउँमै फर्किएको बताए । उनले गाउँलेको मुख्य पेसा पशुपालन र कृषि भएको भन्दै आफूहरूका कामलाई पनि बाहिरबाट आउने मान्छेले निकै चासो दिएर हेर्ने तथा सिक्ने गरेको बताए । गाउँलाई अझ थप व्यवस्थित र सरसफाइमा ध्यान दिनसके धेरै पर्यटक भित्र्याउन सकिने विकको भनाइ छ । उनले भने, ‘यो सडकमा दैनिक धेरै गाडी गुड्छन्, त्यसमध्ये अधिकांश गाडी यही गाउँ अगाडि रोकिएर फोटो खिच्ने, गाउँ घुम्ने गर्छन्, उनीहरूलाई हाम्रो काम, रहनसहन पनि निकै मन पर्दोरहेछ, धेरैजसोले घरमा आएर तान बनाइ, रौँ प्रशोधन गरेको हेर्छन्, कोही त बारीमा पनि पुगेर काम गरेको हेर्ने गर्छन् ।’ बागलुङबाट घुम्न गएका मिलन बुढामगरले लुकुम गाउँ निकै रमाइलो भएको हुँदा आफू चारपटक घुम्न गएको बताउँछन् । एकैनासले चिटिक्क मिलेर बनेका घर र यहाँका स्थानीयगवासीको मौलिक संस्कृति र रहनसहन मनपर्ने हुँदा आफू पटक–पटक लुकुम गाउँ घुम्न जाने गरेको उनले बताए । अहिले लोकमार्ग कालोपत्र भएपछि यहाँ आउन धेरै समय नलाग्ने बुढामगर बताउँछन् । ‘पहिले बागलुङबाट रुकुम कमै मान्छेहरू पुग्थे, बाटो सहज थिएन, पैदल हिँडेर पुग्न पनि गाह्रै थियो, अहिले साढे दुई घण्टामै निसीखोलाबाट लुकुम आइन्छ, बिदा भयो भने घुम्न आउने ठाउँ नै लुकुम हो मेरो’, उनले भने, ‘यो गाउँ आन्तरिक पर्यटकका लागि मात्रै होइन, विदेशीका लागि पनि निकै आकर्षक बन्न सक्छ, यहाँका स्थानीयवासीले विदेशी आउने वातावरण मिलाउन सके यो ठाउँ देशकै उत्कृष्ट गन्तव्य बन्न सक्छ जस्तो लाग्छ ।’