पोखरा महोत्सवमा १० करोडको कारोबार

गण्डकी । पोखरास्थित युनाइटेड क्लबद्वारा अमरसिंह खेलमैदानमा आयोजित १३औं संस्करणको पोखरा महोत्सव १० करोडको कारोबार गर्दै सम्पन्न भएको छ । गत पुस २७ गतेदेखि माघ १० गतेसम्म सञ्चालन भएको महोत्सवमा दुई लाख ५० हजार दर्शकले अवलोकन गर्नाका साथै स्टलमा राखिएका विभिन्न सामग्री खरिदबिक्रीबाट १० करोड बराबरको कारोबार भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशमा नयाँ पर्यटकीय गन्तव्यको पहिचान, चिडियाखाना निर्माण, सेती नदीलाई साहसिक पर्यटकीय गन्तव्य बनाउने तथा शिक्षा, स्वास्थ्य र खेलकुदको विकास गर्ने लक्ष्यका साथ क्लबले महोत्सव गर्दै आएको अर्थ व्यवस्थापन समितिका संयोजक सूर्यबहादुर बानियाँले जानकारी दिए । महोत्सवस्थलबाट लेखनाथस्थित पँचभैयामा निर्माणाधीन चिडियाखाना अध्ययन अवलोकनका लागि निःशुल्क बस सेवाको व्यवस्था गरिएको थियो । सो अवधिमा आठसयभन्दा बढी दर्शकले सेवा लिएका थिए । महोत्सवको अर्को आकर्षण घोडचडी थियो । यसबाट पाँच सय जनाले घोडसवारको मज्जा लिनाका साथै एक हजार पाँच सय बालबालिकाले भिआर नाइनडीको मज्जा लिएका थिए । कास्की निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य मनबहादुर गुरुङले महोत्सव समापन समारोहमा युनाइटेड क्लबले महोत्सवको माध्यमबाट सामाजिक सेवामा पु¥याएको योगदानको उच्च कदर गर्दै यस्ता कार्यको अन्य सङ्घ संस्थाले पनि अनुशरण गर्नुपर्नेमा जोड दिए । रासस

होटल रोयल सिंगीको २५ वर्ष पुरा, फेब्रुअरीभर २५ प्रतिशत छुट

काठमाडौं । होटल रोयल सिंगीले २५ वर्ष पुरा गरेकाे अवसरमा विभिन्न सेवाहरुमा छुट अफर ल्याएकाे छ । जनवरी २० मा २५ वर्ष पुरा गरेकाे हाेटलले विभिन्न सेवामा छुट अफर ल्याएकाे हाे । कम्पनीले फेब्रुअरी १ देखि २८ सम्म होटलको लोकप्रिय आउटलेट ‘द बिएलभिडी’मा खाना र पेय पदार्थमा २५ प्रतिशत छुट प्रदान गर्ने जनाएकाे छ । हाेटलले यो अफर ए ला कार्टे लन्च वा डिनरमा बढीमा ८ अतिथिहरुका लागि मान्य हुने बताएकाे छ । यस्तै, फेब्रुअरी महिनाभरि, प्रोन्टो क्याफे (लबी र गार्डेन) मा चिया, कफी र केक बिहान ११ बजेदेखि ७ बजेसम्म २५० रुपैँया र साँझ ५ बजेपछि २५ प्रतिशत छुट दिइने हाेटलले जानकारी दिएकाे छ  । यति मात्र नभएर हाेटलले विवाहको रिसेप्शन बुकिङ गर्ने पहिलो २५ जनालाई २५औं वार्षिकोत्सवको अवसरमा प्रति व्यक्ति २५०० नेटको विशेष दरमा मेनु उपलब्ध गराउने जनाएकाे छ । होटलले २५औं वार्षिकोत्सव विशेष प्याकेज पनि तयार गरेको छ, आफ्नो २५औं वार्षिकोत्सव मनाउने अतिथिका लागि यो प्याकेजको मूल्य प्रति रात र सिंगल अकुपेन्सी मात्र २५ सय नेट रहेको छ ।    

क्यानले निलम्बन गरेका पाइलटलाई निगमको उडान अनुमति, तीन महिनाअघि पनि गरेका थिए गल्ति

काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान)ले उड्डयन नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको क्यापटेनलाई नेपाल वायुसेवा निगमले उडानको सूचीमा राखेको छ । क्यानले कारवाही गरेको क्यापटेन नरबहादुर विश्वकर्मा एनवीलाई काठमाडौं क्वालालम्पुर उडानमा रोखेको पाइएको हाे। मंगलबार राती १ बजे हुने क्वालालम्पुर उडान उनकै नेतृत्वमा हुन लागेको छ । १८/१८ महिनामा हुने सि– चेकका लागि निगमले जहाज मलेसिया लैजान लागेको छ । तर, निगम भने क्यानले एनवी विश्वकर्मालाई कारवाही नगरेको दाबी गरेको छ । निगमका प्रवक्ता अर्चना खड्का निगमले ४ पाइटललाई मात्र कारवाही गरेको भन्दै एनवीको नाम उडान सूचिमा राखिएको बताउँछिन् । ‘गत जनवरी १४ को उडानमा एनवी विश्वकर्र्मा पनि हुनुहुन्थ्यो, तर उहाँले जहाज उडाउनु भएको थिएन, हङकङ उडानमा ३ जना क्यापटेन राख्नुपर्ने भएका कारण उहाँ हङकङ जानुभएको हो, फर्कदा उहाँले जहाज चलाउनुभएको हो’, उनले भनिन् । क्यानका अधिकारी भने निगमले पठाएको पत्रका आधारमा कारवाही स्वरुप उडानमा रोक लगाइएको बताउँछन् । क्यानका प्रवक्ता जगन्नाथ निरौला निगमले पठाएको पत्रका आधारमा कारवाही गरिएको बताउँछन् । ‘हामीलाई निगमले ५ जनाको नाम राखेर पठाएको थियो, उताबाट आएको पत्रअनुसार हामीले ग्राउण्डेड गरेका हौँ’, उनले भने, ‘कारवाही गरिएको मान्छेलाई उडानमा किन राखियो, यो विषयमा बुच्छौँ ।’ एकैपटक ५ पाइटललाई कारवाही निगमले अन्तर्राष्ट्रिय उडान गर्दै आएको ठूला जहाजका ५ जना क्यापटेन एकैपटक निलम्बनमा परेका छन् । छोटो दुरीका गन्तव्यमा उडान गर्ने एयरबस ३२० (न्यारोवडी) जहाजका ३ र एयरबस ३३० वाइडबडीका २ जना गरी कुल ५ जना पाइलट क्यानको कारवाहीमा परेका हुन । काठमाडौं–हङकङ उडानका क्रममा निगमका तीन पाइटलले हङकङ विमानस्थल एटीसीको निर्देशन अवज्ञा गर्दै जहाज अवतरण गरेको भन्दै प्राधिकरण गाउन्डेड (रोक) लगाएको छ । जनवरी १४ मा काठमाडौं–हङकङ उडानमा क्रममा पाइलटहरू उद्धव घिमिरे, नरबहादुर विश्वकर्मा (आईपी) र राजेश कुसवाहलाई प्राधिकरणले ग्राउन्डेड गरेको हो । उनीहरुले नेपाल एयरलाइन्सको जहाज हङकङ विमानस्थलमा अवतरण गर्ने क्रममा त्यहाँको एटीसीको इन्स्ट्रक्सन नमानेको  भन्दै  उडानमा रोक लगाएको हो । तीनजना नै एयरबस–३२० का पाइलट हुन् । गत जनवरी १४ मा उनीहरुले एटीसीको इन्स्ट्रक्सन नमानेको जानकारी हङकङ सिभिल एभिएसनबाट आएपछि क्यानले शुक्रबारदेखि उनीहरुलाई ग्राउन्डेड गरेको हो । यस्तै, क्यानले काठमाडौंबाट जापान उड्ने क्रममा स्टान्डर अप्रेशनल प्रोस्युड्युल पालना नगरेको भन्दै प्रशन्न राना र वाइपी जुवारचनलाई समेत निलम्बन गरेको छ । जहाज विमानस्थलमा अवतरण गर्दा एटीसीको नियम पालना गर्नुपर्ने तथा उसैको निर्देशनअनुसार अवतरण गर्नुपर्ने हुन्छ । तर निगमका पाइलटले त्यसलाई फलो नगरेको पाइएपछि क्यानले कारबाहीका लागि निगमलाई निर्देशन दिएको छ । प्राधिकरणको निर्देशनसँगै निगमले पाँचै पाइलटलाई निलम्बन गर्नुपर्ने र त्यसपछि, प्राधिकरणले ती पाइलटलाई बोलाएर सोधपुछ गरेपछि निलम्बन लम्ब्याउने वा नलम्ब्याउने विषयमा निर्णय हुने प्रवक्ता निरौलाले जानकारी दिए । शुक्रबार नै प्राधिकरणले अर्को निर्णय नहुँदासम्मका लागि तीनै पाइलटलाई उडानमा प्रतिबन्ध लगाउन भन्दै पत्राचार गरेको छ । प्राधिकरणले जोखिमपूर्ण अवतरण गराएको रिपोर्ट आएको र अब उनीहरूसँग बयान लिएर थप निर्णय गर्ने बताइएको छ । निगमका पाइटल भन्छन् : दुर्घटना हुनसक्थ्यो निगमका एक क्यापटेन हङकङ उडानका क्रममा चालकदलका सदस्यले एटीसीको इन्स्ट्रक्सन नमान्दा ठूलो दुर्घटना हुन सक्ने बताएका छन् । ‘हङकङमा एयर चाप धेरै छ, त्यसमा डाँडाकाडा धेरै छन्, एटीसीको इन्स्ट्रक्सन नमान्नु ठूलो दुर्घटना हुनु हो, जहाज उडाउने मान्छेले नै एटीसीको इन्स्ट्रक्सन नबुझेर अवतरण गरेको हुनुपर्छ,’ ती क्याप्टेनले भने । उनले पाइलटहरूले एटीसीले भने अनुसार अल्टिच्युट म्यानेज नगरी जोखिमपूर्ण अवतरण गराएको बताए । तीन महिना अगाडि पनि नियम उल्लंघन निगमकै पाइलटले तीन महिना अगाडि पनि हङकङ उडानमा गल्ती गरेको पाइएको छ । काठमाडौं–हङकङ उडानका क्रममा निगमको एयरबस ३३० (बाइडबडी) जहाजका क्यापटेन प्रशन्न राना र वाइपी जुवारचनले एटीसीको इन्स्ट्रक्सन पालना नगरेको पाइएको थियो । ‘३ महिना अगाडिको घटना निगम र क्यान दुबैले लुकाएका थिए, त्यसबेला कुनै पनि कारवाही नभएपछि हङकङले क्यानलाई पत्र नै पठाएर जानकारी गराएको थियो, तर कुनै पनि कारवाही भएन’, निगम स्रोतले भन्यो, ‘सोेही प्रकृतिको घट्नामा अहिलेपनि ठाकछोप गरिएको थियो, तर हङकङबाट पुनः पत्र आएपछि बाध्य भएर कारवाही गरिएको हो ।’ ३ महिना अगाडी हङकङ अवतरणमा एटीसीको इन्स्ट्रक्सन पालना नगरेका दुई क्यापटेन (प्रशन्न राना र वाइपी जुवारचन) ले नै फेरि गल्ति दोहोर्याएका हुन् । क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारी हाल बंगलादेशमा छन् । उनी स्वदेश फर्किएपछि मात्र ती पाइलटलाई कारवाहीको प्रक्रिया थालिने क्यानले जनाएको छ । ‘हामीले सोमबार उद्धव घिमिरे र राजेश कुसवाहलाई बोलाएर हङकङ उडानका विषयमा सोधखोज गरिसकेका छौँ, बाँकी ३ जनासँग उडानका विषयमा थप छलफल गछौँ, उनीहरुले बताए अनुसार के कारवाही गर्ने विषयमा छलफल हुन्छ’, प्रवक्ता निरौलाले भने ।