अनलाइनमार्फत ९ हजार पदयात्रीले लिए ‘टिम्स’ कार्ड
काठमाडौं । सरकारले पदयात्रामा जाने विदेशी पर्यटकलाई पदयात्री सूचना व्यवस्थापन प्रणाली टिम्स कार्ड र ट्रेकिङ गाइड अनिवार्य गरेसँगै अनलाइनमार्फत टिम्स कार्ड लिने पदयात्री बढेका छन् । नेपाल पर्यटन वोर्ड, ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल टान र पर्यटन क्षेत्रमा आबद्ध मजदुरको संयुक्त सङ्गठनको पहलमा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकलाई टिम्स कार्ड र गाईडबिना पदयात्रामा जान नपाउने नियम लागू गरेसँगै अनलाईनमार्फत टिम्स कार्ड लिने पदयात्रीको सङ्ख्या बढेको हो । टान र पर्यटन बोर्डले संयुक्त प्रदान गर्दै आएको टिम्स कार्डलाई अप्रिल १ देखि अनलाईनमार्फत वितरण गर्न थालेसँगै नौ हजार तीन सय २० पदयात्रीले टिम्स कार्ड लिएका हुन् । यस्तै, सोही अवधिमा एक हजार पाँच सयभन्दा बढी ट्रेकिङ कम्पनी टिम्समा आबद्ध भएका छन् । सरकारले टिम्स कार्ड लिएबापत पदयात्रीसँग दुई हजार रुपैयाँ शुल्क लिँदै आएको छ । टानका अध्यक्ष नीलहरि बाँस्तोला पर्यटकको सहजताका लागि अनलाइनमार्फत टिम्स कार्ड वितरण गरिएको बताउँछन् । ‘पदयात्रालाई सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउनका लागि सरकारले अनिवार्य गाईड र टिम्स कार्डको व्यवस्था गरेको हो’, उनी भन्छन् । अध्यक्ष बाँस्तोला बर्सेनि एक दर्जनभन्दा बढी पदयात्री बिना सूचना एक्लै पदयात्रामा जाँदा हराइरहेको बताउँदै पर्यटकको सुरक्षाकै लागि गाइड अनिवार्य गरिएको बताउँछन् । ‘पर्यटक एक्लै पदयात्रामा जाँदा र हराउँदा नेपाल पदयात्राका लागि सुरक्षित गन्तव्य हैन भन्ने सन्देश विदेशमा गएको छ, यसलाई चिर्न जरुरी छ’, अध्यक्ष बाँस्तोला भन्छन् । टिम्स कार्ड र गाइड अनिवार्य गरेसँगै पर्यटक सुरक्षित हुने, नेपाली पर्यटक गाइडले रोजगारी पाउने, कम्पनीबाट जाँदा कम्पनीले राज्यलाई राजस्व तिर्ने भएकाले सबैलाई फाइदा हुने टानले जनाएको छ । रासस
ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने, रोकिएला बेथिती ?
काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गरिने भएको छ । काठमाडौँ महानगरपालिकाले ठमेल पर्यटन विकास परिषद्सँग सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागेको हो । ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे काठमाडौँ महानगरपालिका महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धिताल तथा ठमेल पर्यटन विकास परिषद्को टोलीले स्थलगत अवलोकनसमेत गरेको छ । ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्माले काठमाडौँ महानगरपालिकाको सहकार्यमा ठमेलभित्रका सडकमा सिसी क्यामरा जडान गर्न लागिएको जानकारी दिए । ‘ठमेलभित्रका कुन चोक तथा सडकमा सिसी क्यामरा आवश्यक छ भन्नेबारे काठमाडौँ महानगरपालिका, नेपाल प्रहरी र ठमेल पर्यटन विकास परिषद्को टोलीले पाँच घन्टा लगाएर स्थलगत अवलोकन गरेको छ, चाँडै नै ठमेलभित्र सिसी क्यामरा जडान हुन्छ,’ उनले भने । नेपालभित्र घुम्न आउने ८० प्रतिशत पर्यटक ठमेल घुम्न आउँछन् । ठमेलभित्र आउने स्वदेशी तथा विदेशी पर्यटकलाई सुरक्षाको अनुभूति दिलाउन सिसी क्यामरा जडान गर्न लागिएको हो । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण धितालले ठमेलभित्र सिसी क्यामरा जडान गर्नेबारे स्थलगत अवलोकन भएको बताए । ठमेलभित्रका सडकमा एक सयभन्दा बढी सिसी क्यामरा जडान गरिने उनको भनाइ छ । काठमाडौँभित्र हुने आपराधिक घटना न्यूनीकरण गर्न चालु आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले उपत्यका प्रहरी कार्यालय रानीपोखरीलाई ६ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । उक्त रकमबाट सिसी क्यामरा खरिद गरी काठमाडौँभित्रका सिसी क्यामरा आवश्यक पर्ने स्थानमा जडान गरिनेछ । काठमाडौँ महानगरपालिका वडा नं १६, १७, २६ र २७ वडामा पर्ने ठमेलभित्र झण्डै तीन हजार घरधनी तथा व्यवसायी आबद्ध छन् ।
‘सरुमा चुल्हो’को ग्रयान्ड ओपनिङ आजदेखि
पोखरा । बिनु-बसन्तीको संयुक्त सञ्चालनमा पोखरा सभागृह मिडटाउनको आडमा रहेको ‘सरुमा चुल्हो’को आजबाट ग्रयान्ड ओपनिङ भएको छ । रेष्टुरेन्टमा कार्यरत मुख्य सेफले १३ जना स्टाफहरुको संयुक्त सहभागितामा रिवन काटेर रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ गरेका हुन् । दुईजनाको झण्डै तीन करोड लगानीमा सञ्चालन भएको रेष्टुरेन्टमा स्वस्थ्कर पकाउने विधि सहित उत्कृष्ट स्वादमा परिकार उपलब्ध गराउने दाबी सञ्चालकले गरेका छन् । रेष्टुरेन्टको ग्रयान्ड ओपनिङ यहि बैशाख ३१ गतेसम्म कायम रहने र सो अवधिमा विभिन्न विशिष्ट परिकारहरुमा विशेष छुटको व्यवस्था रहेको जनाइएको छ । पोखरामै फलेको पहेँलो चामलको भात, स्थानीय उत्पादित तरकारी, रिसिङको कालो दाल लगायत स्वस्थकर र विशिष्ट स्वाद सहितको भोजनको व्यवस्था रहेको सञ्चालिकाहरुले बताएका छन् । रेष्टुरेन्टले नेपाली, इन्डियन, चाइनिज, कन्टिनेन्टल साथै सी फुड पनि अर्डर अनुसार उपलब्ध गराउनेछ । पोखराभित्र घरमै बसेर फुडमुडमार्फत पनि अर्डर गर्न सकिने रेष्टुरेन्टले जनाएको छ ।