निगममा आफूखुशी राजनीतिक नियुक्ती बढ्न थालेपछि योग्यता तोक्दै प्राधिकरण
काठमाडौं । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले नेपाल वायुसेवा निगमको कार्यकारी प्रमुखको न्यूनतम योग्यता तोक्ने भएको छ । निगममा राजनीतिक शक्तिको आडमा योग्यता नै नपुगेका मान्छेलाई कार्यकारी अध्यक्ष वा महाप्रबन्धक नियुक्ती दिदा उनीहरुले उडड्यन नियम मिच्न थालेको भन्दै प्राधिकरणले त्यसलाई नियन्त्रण गर्न नयाँ कार्यविधि ल्याउन लागेको हो । उक्त कार्यविधि एक साताभित्रै सार्वजनिक गर्ने तयारीमा प्राधिकरण रहेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले वायुसेवा कम्पनीमा ‘एकाउन्टेबल म्यानेजर’ (सीईओ) बन्न न्यूनतम योग्यता र अनुभव निर्धारण गर्न लागिएको बताए । ‘अहिले ‘एकाउन्टेबल म्यानेजर’ बन्नका लागि योग्यता तोकिएको छैन्, योग्यता नतोक्ता सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगम र हेलिकप्टर कम्पनीमा अराजक गतिविधिहरु बढ्न थाल्यो, वायुसेवा कम्पनीको अनुगमन तथा निरीक्षण गर्न थप सहज गर्न कार्यविधि लागू गर्न लागिएको हो’, उनले भने । ‘हामीले प्रमुख कार्यकारी अधिकृतको योग्यता, काम, कर्तव्य र अधिकार सम्बन्धि मापदण्ड छिट्टै सार्वजनिक गरेपछि होटल, रेष्टुरेन्ट चलाएकोे व्यक्तिले एयरलाइन्स कम्पनी खोल्ने परिवेशको अन्त्य हुन्छ’, उनले भने । अहिले पनि निजी एयरलाइन्सका एकाउन्टेबल म्यानेजर बन्न प्राधिकरणको सेफ्टी विभागबाट अनुमति भने लिनुपर्छ । तर, कार्यविधि नै बनाएर न्यूनतम योग्यता भने तोकिएको छैन । योग्यता नतोक्दा सरकारी स्वामित्वमै सञ्चालित वायुसेवा निगमको बहालवाला कार्यकारी अध्यक्ष तथा महाप्रबन्धक हटाएर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन पर्यटनमन्त्रीले आफू खुशी नियुक्त गर्ने परिपाटी रहेको छ । आर्थिक अवस्था खस्किएर कर्मचारीलाई नियमित रुपमा तलब समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेको निगमलाई उक्त कार्यविधि लागू भएसँगै ठूलो राहत मिल्ने जानकारहरु बताउँछन् । निगमका पूर्व महानिर्देशक डिमप्रकाश पौडेल नयाँ कार्यविधि लागू भएका निगमको व्यवसायिक छवि पनि उच्च र निगमभित्र सुधार पनि हुने बताए । निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएको व्यक्तिले योजना अनुसार ४ वर्षसम्म ढुक्क भएर काम गर्ने वातावरण बन्ने हो भने निगममा धेरै सुधार हुने उनको विश्वास छ । ‘जति राम्रो काम गरे पनि सरकार परिवर्तन वा पर्यटनमन्त्री हुँदा निगमका अध्यक्ष वा कार्यकारी प्रमुख तारोको रुपमा रहन्छन्, कार्यविधि लागू भएपछि विभिन्न आरोप प्रत्यारोप लगाएर निलम्बन गर्ने परिपार्टीको अन्त्य हुनेछ’, उनले भने । लगानीकर्ताको लगानी सुनिश्चित गर्नकै लागि भए पनि जवाफदेही व्यवस्थापक नियुक्तीका लागि मापदण्ड तोक्न लागिएको प्राधिकरणले जनाएको छ । यसअघि जवाफदेही व्यवस्थापकका रुपमा गर्नुपर्ने कार्य नगरेको भन्दै प्राधिकरणले तीन पटकसम्म निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई स्पष्टिकरण सोधेको थियो ।
सिटि होटलको आईपीओ खरिद गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटि होटलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज बैशाख २८ गते अन्तिम दिन हो । कम्पनीले जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशत अर्थात् १६ करोड ७४ लाख रुपैयाँ बराबरको सेयर बिक्री गरेको हो ।सर्वसाधारणलाई छुट्याइएको १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४ सय कित्ता विदेशमा रोजगारी गरिरहेका नेपालीलाई बिक्री गरी बाँडफाँट पनि गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १६ लाख ७४ हजार कित्ता सेयर बिक्री गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सेयरमा सामूहिक लगानी कोष, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता सेयरमा कर्मचार र बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा २ हजार कित्ता सेयरसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले स्वीकृत प्राप्त सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालय र मेरो सेयरबाट कम्पनीको सेयर खरिद गर्न सक्नेछन् । केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
बुद्ध एयरका सञ्चालक बस्नेतलाई आफ्नै भाइले लगाए आर्थिक घोटालाको आरोप
काठमाडौं । बुद्ध एयरका सञ्चालक विरेन्द्र बहादुर बस्नेतलाई कम्पनीमा आर्थिक घोटाला गरेको आरोप लागेको छ । एक विज्ञप्ती जारी गर्दै बस्नेतलाई उनकै भाइ शिवेन्द्रबहादुर बस्नेतले यस्ताे आरोप लगाएका हुन् । कम्पनीको ४० प्रतिशत सेयरको हिस्सेदार रहेका शिवेन्द्रले कम्पनीका वास्तविक अवस्थाबारे बुझ्न कानुनी रुपमा लिखित सम्बन्धित कागजात माग्दा दाजु विरेन्द्रले हिसाबकिताब नदेखाएको र कार्यालयमा समेत प्रवेश गर्न नदिएको आरोप लगाएका छन् । ‘४० प्रतिशत सेयर स्वामित्वको अख्तियार प्राप्त व्यक्तिको नाताले कानून बमोजिम लिखित रुपमा सम्बन्धित कागजात माग्ने काम भयो, तर हाम्रो त्यो माग अनुरुप कम्पनीबाट कुनै आधिकारिक हिसाब किताब दिइएन, उल्टै हिसावकिताब माग्न थालेपछि विभिन्न बहानामा ४० प्रतिशतको हिस्सेदारमाथी नै विभिन्न आरोप लगाउन थालियो, फलस्वरुप ४० प्रतिशतको हिस्सेदारको अख्तियारप्राप्त व्यक्तिलाई कम्पनीको कार्यालयमा जान समेत दिइएन,’ उनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । पेशाले पाइलट रहेका शिवेन्द्र लामो समयदेखि अमेरिका बस्दै आएका छन् । उनको बुद्ध एयरमा हाल प्रत्यक्ष संलग्नता भने छैन । बुद्ध एयरमा उनीहरुका बुबा सुरेन्द्र बहादुर बस्नेतको ८० प्रतिशत सेयर स्वामित्व र वीरन्द्र बहादुर बस्नेतको नाममा २० प्रतिशत सेयर कायम थियो । पछि सुरेन्द्रले आफ्नो नाममा रहेको ८० प्रतिशत सेयर मध्ये ४० प्रतिशत वीरन्द्रसहित उनको परिवारका सदस्यको नाममा र बाँकी ४० प्रतिशत सेयर शिवेन्द्रका परिवारका सदस्यको नाममा गरिदिएका थिए । पछिल्लो समय वीरेन्द्र बहादुर बस्नेतको नाममा बुद्ध एयरको ६० प्रतिशत र शिवेन्द्र परिवारका सदस्यका नाममा ४० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनीसँग रहेका नौ वटा वीच एअरक्राफ्ट ९०० डी बेच्दा र विभिन्न मितिमा १७ वटा एटीआर विमान खरिद गर्दा ४० प्रतिशतको हिस्सेदारसँग कुनै समन्वय र सहमती नगर्नु आर्थिक घोटाला गरेको अर्को आशंका रहेको शिवेन्द्रले बताएका छन् । यस्तै, आरजु राइस मीलमा बुद्ध एअरको इन्जिनियरलाई फुललाइम स्टाफको रुपमा काम गर्ने जिम्मेवारी दिएको र एअरलाइन्सको इन्जिनियरलाई चामल मिलको जिम्मेवारी दिनुले यसमा अर्को आशंका गर्न बाटो रहेको शिवेन्द्रले विज्ञप्तीमा उल्लेख गरेका छन् । ‘सबै आर्थिक स्थिती हेर्दा कम्पनीले दिएको नाफा, बोनस लगायतबाट हुने आम्दानीको स्रोतसंग सम्पत्ती नमिलेको देखिन्छ, यसबाट पनि आर्थिक रुपमा तलमाथी भएको आशंका हामीलाई लागेको छ, यसरी आर्थिक हिसाव किताबमा तलमाथी पर्न गएको हुन सक्ने र यो कामको लागि कम्पनीको फाइनान्स कन्टोलरको पनि सहयोग वा संलग्नता रहेको हुन सक्ने हाम्रो आशंका छ,’ विज्ञप्तीमा भनिएको छ । [pdf id=408795]