चितवन राष्ट्रिय निकुञ्जमा हालसम्मकै धेरै पर्यटक भित्रिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको चैत मसान्तसम्म दुई लाख २१ हजार पाँच सय तीन पर्यटक निकुञ्ज भित्रिएका छन् । यो सङ्ख्या हालसम्मको सबैभन्दा बढी हो । अझै आव सम्पन्न हुन तीन महिना बाँकी रहँदै सबैभन्दा बढी पर्यटक भित्रिएका हुन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्ज भित्रिएका पर्यटकमध्ये एक लाख ५९ हजार सात सय आठ नेपाली, ३९ हजार चार सय पाँच विदेशी, २२ हजार तीन सय ९० सार्क राष्ट्रका पर्यटक छन् । चालु आवमा १९ करोड आठ लाख ४३ हजार आठ सय ४४ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७८/७९ मा एक लाख ९० हजार चार सय ५८ पर्यटक निकुञ्ज भित्रिएका छन् । यो आवमा रु ११ करोड ४९ लाख ९७ हजार चार सय १३ राजस्व सङ्कलन भएको छ । यसैगरी आव २०७७/७८ मा ९८ हजार नौ सय २८ पर्यटक भित्रिँदा तीन करोड ५० लाख ८३ हजार तीन सय ७६ रुपैयाँ राजस्व सङ्कलन भएको छ । आव २०७६/७७ मा एक लाख ८२ हजार चार सय ३५ पर्यटक निकुञ्ज प्रवेश गरेका छन् । सो आवमा १९ करोड ९२ लाख ५५ हजार छ सय ८१ रुपैयाँ राजस्व सङ्कलन भएको छ । तिवारीका अनुसार निकुञ्ज स्थापनासँगै आव २०३१/३२ बाट निकुञ्जमा पर्यटकको तथ्याङ्क राख्न थालिएको हो । त्यस वर्ष आठ सय ३६ पर्यटक निकुञ्ज घुमेको तथ्याङ्क छ । यसबाट एक लाख ४० हजार दुई सय ९८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । दोस्रो वर्ष अर्थात् आव २०३२/३३ मा दुई हजार दुई सय छ पर्यटक निकुञ्ज छिरेका थिए । जसले दुई लाख एक हजार चार सय २१ रुपैयाँ राजस्व बुझाएका थिए । पर्यटकको सङ्ख्याका हिसाबले हालसम्मकै यो वर्ष बढी हो । आन्तरिक पर्यटकको सङ्ख्या बढी भएकाले राजस्वको हिसाबले भने आव २०७५/७६ मा सङ्कलन भएको २९ करोड ४४ लाख ६६ हजार छ सय ४० रुपैयाँ अहिलेसम्मको सबैभन्दा बढी हो । निकुञ्ज प्रवेश गर्ने नेपालीले एक सय ५० रुपैयाँ, सार्क देशकाले एक हजार रुपैयाँ र अन्य देशकाले दुई हजार रुपैयाँ राजस्व बुझाउने गर्दछन् । तिवारीले भने, ‘पहिले–पहिले विदेशी पर्यटक निकै धेरै हुँदा राजस्व बढी हुन्थ्यो, अहिले नेपाली पर्यटक बढी हुने भएकाले राजस्व कम पर्यटकको सङ्ख्या बढेको छ ।’ सशस्त्र द्वन्द्व, भूकम्प, नाकाबन्दी, कोभिड महामारीलगायतका कारण पर्यटकको सङ्ख्या बढ्न सकेको थिएन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुर क्षेत्रमा भएका भौतिक पूर्वाधारका कारण पनि पर्यटकको आगमन बढाउन सहयोग पुगेको बताए । सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष मनाउने तयारीमा रहेको भन्दै उनले निकुञ्ज प्रवेश गर्ने पर्यटकको सङ्ख्या बढ्दै गर्दा यहाँको आर्थिक गतिविधि बढ्ने बताए । मेघौलीलाई बागमती प्रदेशको र पटिहानीलाई सङ्घको पर्यटकीय गन्तव्य घोषणा गरेर पर्यटकीय पूर्वाधार निर्माणमा महानगरको ध्यान गएको उनको भनाइ छ । रत्ननगर नगरपालिकाका प्रमुख प्रल्हाद सापकोटाले पर्यटन क्षेत्रमा विविधिकरण गरेर पर्यटकको बसाइ लम्ब्याउनुपर्ने बताए । अहिलेसम्मकै बढी पर्यटक निकुञ्ज प्रवेश हुनु सुखद् भएको भन्दै उनले थप पर्यटक भित्र्याउन व्यवसायीले समेत योजना ल्याउनुपर्ने बताए । उनले भने, ‘पर्यटक भित्र्याउन गरिने कार्यक्रममा नगरपालिका सधैँ सहकार्य गर्न तयार छ ।’ चितवन देशकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ अन्यत्र जिल्लाबाट राजधानी प्रवेश र बाहिरिने क्रममा समेत छोटो समयका लागि घुमफिर गर्ने पर्यटकसमेत बढी हुने गर्दछन् । यद्यपि अन्यत्रको तुलनामा यो सङ्ख्या निकै न्यून हो । हालै जिल्लामा प्याराग्लाइडिङ, क्रुजसीप र गैँडाकोटमा मौलाकालि केवलकार सञ्चालनमा आएसँगै यहाँको पर्यटकीय गतिविधि बढ्ने अपेक्षा गरिएको छ । यहाँ आउने पर्यटकको पहिलो रोजाइ जङ्गल सफारी हुने गर्दछ । यससँगै धार्मिक, ऐतिहासिक, सांस्कृतिक गतिविधिमा पर्यटक रमाउने गर्दछन् । रासस

सगरमाथा आरोहणमा इतिहासकै बढी आरोही

काठमाडौं । हिमाल आरोहणका लागि वसन्त ऋतु उपयुक्त समय मानिन्छ । हिमाल आरोहण आफैमा साहसिक कार्य भए पनि मौसमका दृष्टिले यो तुलनात्मक रुपमा अनुकुल मानिन्छ । त्यसैले हिमाल आरोहण गर्न चाहने आरोहीहरुको सङ्ख्या वसन्त ऋतुमा बढी हुने गरेको छ । आरोहणका लागि यतिखेर उल्लेख्य सङ्ख्याका आरोहीहरु सगरमाथा क्षेत्रमा पुगिसकेका छन् । पर्यटन विभागबाट आरोहण अनुमति लिएका उनीहरु यतिबेला सगरमाथाको पहिलो, दोस्रो र तेस्रो आधार शिविरमा अनुकूल मौसमको प्रतिक्षामा छन् । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो बनाइसकेका छन् । सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) गरेपछि आरोहण सुरु हुन्छ । वसन्त ऋतुको यो यामको सगरमाथा आरोहणका लागि हालसम्मकै सबैभन्दा बढीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार यस पालीको वसन्त ऋतुमा सगरमाथा आरोहणका लागि हालसम्म ४३ आरोही समूहका चार सय ६६ आरोहीले अनुमति लिएका छन् । उनीहरुमध्ये ९८ महिला र तीन सय ६८ पुरुष छन् । जुन सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । सगरमाथा आरोहणका लागि सन् २०२२ मा ४४ समूहका ३२३ र सन् २०२१ मा ४२ समूहका ४०९ जनाले अनुमति लिएको पर्वतारोहण शाखाका शाखा अधिकृत विज्ञान कोइरालाले बताए । नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने हालसम्मकै बढी आरोहीले अनुमति लिएका हुन् । सगरमाथाको उत्तरी मोहोडाबाट पनि चुचुरोमा पुग्न सकिन्छ । कोरोना महामारीपछि तिब्बतबाट आरोहण रोकिएकाले अहिले नेपालमा आरोहीको सङ्ख्या बढेको हुनसक्ने अध्यक्ष शेर्पाको भनाइ छ । सन् २००७ देखि पर्यटन विभागको सम्पर्क अधिकृत भएर काम गरेका ज्ञानेन्द्र श्रेष्ठले आरोहणमा गएका आरोही र उनीहरुका सहयोगीको सगरमाथा आधार शिविरमा ओइरो लागेको बताए । इमाजिन नेपाल ट्रेक एन्ड एक्सिपिडिसन कम्पनीले सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको छ । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । दोस्रो शिविदेखि सगरमाथाको चुचुरोसम्म पर्वतारोहण सञ्चालक सङ्घले बाटो बनाउँदै आएको छ । इमाजिन नेपालका कार्यकारी निर्देशक दावा ग्याल्जेन शेर्पाका अनुसार अहिले सगरमाथाको चौँथो शिविरसम्म बाटो बनिसकेको छ । पछिल्लो तीन दिनदेखि सगरमाथा क्षेत्रमा मौसम खराबीले बाक्लो हिउँ परिरहेकाले आरोहण अघि बढ्न सकेको छैन । आइसफल डाक्टर सगरमाथाको दोस्रो शिविरमा आराम गरिरहेका छन् । मौसम अनुकुल हुने वित्तिकै चुरोसम्म डोरी टाँग्ने काम सुरु हुने निर्देशक शेर्पाले बताए । साउथ कोलबाट चुुचुरोसम्म बाटो खुलाउन झण्डै एक दिनको समय लाग्ने उनको भनाइ छ । रासस

प्रधानमन्त्रीले गरे मौलाकाली केबलकारको औपचारिक उद्घाटन

काठमाडौं । मौलाकाली केवलकार औपचारिक रुपमा सञ्चालनमा आएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार गैडाकोट–१ मा रहेको मौलाकाली केवलकार बटम स्टेशनमा ताम्रपत्र अनावरण गर्दै केवलकार सञ्चालनको औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले शिथिल अर्थतन्त्रलाई उकास्न मौलाकाली जस्ता पर्यटकीय पूर्वाधारको महत्व रहने उल्लेख गर्दै सरकार, निजी क्षेत्रलाई सहजीकरण गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री दाहालले आर्थिक वृद्धि र रोजगारी सृजनामा निजी क्षेत्रको भूमिका ठूलो रहेको बताए । ‘तनहूँ, नवलपुर र चितवन जिल्ला पर्यटकीय हब बन्दै गएको छ, यस क्षेत्रलाई आर्थिक सम्मृद्धिको क्षेत्रको रुपमा विकास गर्नुपर्छ,’ उनले भने । त्यसैगरीगण्डकी प्रदेश प्रमुख पृथ्विमान गुरुङ्गले मौलाकाली केवलकारको निमार्णसँगै यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा सहयोग पुग्ने विश्वास समेत व्यक्त गरे । उद्घाटन समारोहमा, मौलाकाली केबलकारका अध्यक्ष चन्द्र प्रसाद ढकालले देशको शिथिल अर्थतन्त्रलाई उकास्न पर्यटकीय पूर्वाधार निर्माणलाइ तिव्रता दिन र विकासका काम समयमै पुरा हुने वातावरण बनाउन आग्रह गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका ढकालले निजी क्षेत्रले तोकिएको समयमा, तोकिएकै बजेटमा, तोकिएकै गुणस्तरमा काम गर्न सक्षम छौँ भन्ने उदाहरण मौलाकाली केबलकार समेतले प्रस्तुत गरेको बताए । ‘मौलाकाली केबलकार निर्माणकै रफ्तारमा अन्य पर्यटकिय पूर्वाधार र विकासमा काम सम्पन्न हुने हो भने अर्थतन्त्रमा देखिएको शिथिलता स्वतः कम हुदैं जान्छ,’ उनले भने ।  मुलुकका सबै प्रदेशमा कम्तीमा एउटा यस्तै पर्यटकीय पूर्वाधार निर्माणको काम तिव्र पारेको बताउदै बुटबलमा निर्माणाधीन लुम्बिनी केबलकार पनि केही हप्ता भित्रै सञ्चालनमा आउने जानकारी पनि अध्यक्ष ढकालले दिए । ‘मौलाकालिका मन्दिरको साढे चार सय वर्ष पुरानो इतिहास छ, यस मन्दिरबाट दाहिनेतर्फ देखिने देवघाट वैदिक सनातन धर्ममा पवित्र भूमि हो, नारायणी, देवघाट र त्रिवेणीजस्ता देवभूमि र तपोभूमि सहितका सम्पदाहरुको ऐतिहासिक गरिमा र महिमालाई सबै नेपाली समक्ष पुर्याउन केबलकार सहितका नयाँ पर्यटकीय संरचनाले सघाउ पुग्ने विश्वास लिएका छाैं,’ उनले भने । करिब १,२०० मिटर लम्बाइको केवलकारमा १४ वटा गोण्डोला रहेका छन् । फेदिबाट केवलकार चढेपछि ५ मिनेटमा मन्दिर नजिकै रहेको टप स्टेशनसम्म पुग्न सकिन्छ । माथिल्लो स्टेशनसँगै बनिरहेको होटलमा ६० कोठा, ब्याङ्क्वेट हल, स्विमिङ्ग पुल र रेष्टुरेन्ट रहेका छन् । परियोजनको लागत करिब २ अर्ब रुपैयाँ रहेको छ ।