वसन्त ऋतुसँगै यो वर्षको सगरमाथा आरोहण शुरु

काठमाडौं । यस वर्षको वसन्त ऋतुमा आजदेखि सगरमाथा आरोहण सुरु भएको छ । आरोहणका लागि दक्ष कामदार ९आइसफल डाक्टर०ले आज दिउँसो सगरमाथाको चुचुरोसम्म ‘रोप फिक्सिङ’ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो । प्रतिकूल मौसमका कारण तीन सातायता आरोहणको प्रतिक्षामा रहेका आरोही खुसी भएका छन् । सगरमाथाको दोस्रो शिविरमाथिको बाटो बनाउने जिम्मा पाएको इमाजिन नेपाल ट्रेक एन्ड एक्सपिडिसन कम्पनीका अनुसार आइसफल डाक्टरले आज दिउँसो १ बजेर ५२ मिनेटमा सगरमाथाको चुचुरोसम्म बाटो खोलेर आरोहण खुलेको सन्देश दिएका छन् । ‘सगरमाथा समिटसम्मको रुट फिक्सिङ सक्यो, दिउँसो १ बजेर ५२ मिनेटमा आठ जना शेर्पा र एक फोटोग्राफर चुचुरोमा पुगे’, कम्पनीका कार्यकारी निर्देशक दावा ग्याल्जे शेर्पाले जानकारी दिए । अहिले धेरै संख्यामा आरोही सगरमाथाको चौथो शिविरमा रहेकाले भोलि विहानसम्म उल्लेख्य आरोही चुचुरोमा पुग्ने अनुमान गरिएको उनको भनाइ छ । ‘इमाजिन नेपालको शेर्पाको टोलीले समिटसम्म बाटो खोलेको छ, भोलि मे १४ देखि २० तारिखसम्म सगरमाथाको मौसम राम्रो रहेकाले धेरै आरोही चुुचुरोमा पुग्नेछन्’, उनले भने । दावा ग्याल्जे शेर्पा दोलखा रोलवालिङका शेर्पा अन्तर्राष्ट्रिय माउन्टेन गाइड समेत हुन् । रोप फिक्सिङ गर्ने समूहका अन्य सदस्यमा सोलुखुम्बु थामेका निमानुरु शेर्पा, लाक्पासोना शेर्पा, पासाङ निमा शेर्पा, लाक्पा तेन्जिङ शेर्पा, फुर ग्याल्जेन शेर्पा,  दावा जङ्बु शेर्पा र सङ्खुवासभाका दीपेन गुरुङ रहेका छन् । ‘प्रतिकुल मौसमका कारण लामो समयदेखि रोप फिक्सिङको काम हुन सकेको थिए, आज मौसम अनुकुल भएसँगै डोरी टाँग्ने पूरा भएपछि आरोहणको सुरु भएको छ’, उनले धेरै आरोही सगरमाथाको चुचुरोतर्फ जाने तयारीमा रहेको जानकारी दिए । यतिबेला सगरमाथाको आधार शिविर र दोस्रो शिविर आसपासमा आरोहणका लागि सयौं संख्यामा आरोही यतिबेला प्रतिक्षारत छन् । उनीहरु मौसम अनुकूलताअनुसार सगरमाथाको शिखरतर्फ अघि बढ्नेछन् । आइसफल डाक्टरले यही वैशाख १० गते नै सगरमाथाको साउथ कोल (चौथो शिविर)सम्म बाटो खुलाइसकेका थिए । मौसम अनुकूल भइदिएको भए वैशाख २१ गतेसगरमाथाको चुचुरोसम्म पुग्ने बाटो खुलिसक्थ्यो । सगरमाथाको दोस्रो शिविरसम्म सगरमाथा प्रदुषण नियन्त्रण समिति (एसपिसिसी) ले बाटो बनाएको थियो । वसन्त ऋतुको सगरमाथा आरोहणका लागि मौसम पूर्वानुमान गरिरहनुभएका एक वरिष्ठ मौसमविद्का अनुसार सगरमाथाको सात हजार ५०० मिटरमाथितिर तीव्र वेगको हावा चलेकाले पूर्वनिर्धारित ससयमा चुचुरोसम्म बाटो खुलाउन कठिन भएको थियो । उक्त क्षेत्रमा वैशाख २० गतेदेखि बिग्रिएको मौसम अहिले केही सुधार आएको हो । प्रतिघण्टा ४० देखि ५० किलोमिटर हावाको वेग चलेकाले आरोहणमा केही ढिलाइ भएको हो । वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार ४४ आरोही समूहका चार सय ६७ आरोहीले आरोहण अनुमति लिएका हुन् । जसमध्ये ९८ महिला र तीन सय ६९ पुरुष छन् । सगरमाथा आरोहणको ७० वर्षे लामो इतिहासमा यो यामको आरोहणमा सबैभन्दा बढी आरोहीको सङ्ख्या हो । आरोहणलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन विभागले सगरमाथा आधार शिविरमा अनुगमन तथा सहजीकरण गर्नका लागि सम्पर्क कार्यालय स्थापना गरेको छ । पर्यटन विभागको विवरणमा सगरमाथा आरोहणका लागि नेपालसहित ६५ देशका नागरिकले अनुमति लिएका छन् । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सगरमाथाको चुचुरोमा पुगेर आरोहणको ढोका खुलाएका थिए । सगरमाथाको चुचुरोमा मानवले पहिलो पटक पाइला टेकेको ७० वर्ष पुगेको छ । सगरमाथा आरोहणको इतिहासमा हालसम्म करिब सात हजार स्वदेशी तथा विदेशीले आरोहण गरेका छन् । तथ्याङ्क अनुसार हालसम्म तीनसय भन्दा बढी आरोहीले सगरमाथा आरोहणका क्रममा ज्यान गुमाएका छन् । पर्वतारोहण सञ्चालक सङ्घ नेपालका अध्यक्ष डम्बर पराजुलीले मौसमलगायतका विभिन्न कठिनाइका बाबजुद पनि आरोहणको ढोका खुलेको बताए। रासस ।

सरकारबाटै हेपिएको रेल्वे कम्पनी, सम्झौताको १९ वर्षमा पनि पाएन पैसा

काठमाडौं । विभिन्न सात वटा मन्त्रालयले रेल्वे कम्पनीमा सेयर लगानीको सम्झौता गरेर छोडेको पाइएको छ । सरकारका विभिन्न मन्त्रालय तथा मातहतका निकायले कम्पनीको सेयर खरिद गर्ने सम्झौता गरेर सेयर नै नलिई छोडेको कम्पनीले जनाएको छ । रेल्वे कम्पनीसँग २०६१ सालमा नै अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तथा रेल विभाग, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग, उद्योग विभाग, र महालेखा नियन्त्रक कार्यालयले सेयर लगानीका लागि सम्झौता नै गरेका थिए । सम्झौता भएको १९ वर्ष हुँदा समेत उक्त मन्त्रालय तथा विभागले सेयर खरिदमा कुनै चासो नदेखाएको रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरंजन कुमार झाले जानकारी दिए । उनका अनुसार लामो समयसम्म प्रतिवद्धता गरेर सेयरमा लगानी नगर्दा रेल्वे कम्पनीमा समस्या थपिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले १५ करोड र बाँकी विभाग तथा मन्त्रालयले साढे सात/साढे सात करोड गरी ६० करोड रुपैयाँ लगानी गर्ने सर्त राख्दै सम्झौता गरेका थिए । प्रतिवद्धता अनुसार उक्त रकमका लागि ताकेता गर्दा कुनै पनि निकायले चासो नै नदिएको झाले बताए । ‘सुरुवातमा यसको लागि कत्तिको पहल भयो थाहा भएन, उहाँहरूले आफ्नो पक्षबाट गर्नु भयो होला, म आएको दिनदेखि यसका लागि पहल गरिरहेको छु, हाम्रो प्रवर्धक पत्रमा नै उहाँहरूले कबुल गरेकै आधारमा सेयर पुँजी भरिएको थियो, तर पैसा आएन,’ उनले भने । प्रतिवद्धता अनुसारको रकम आएपछि व्यवसायीक प्लान बनाउने योजना रहेको बताउँदै झाले रकम नहुँदा योजना बनाउनै नसकिएको बताए । सेयर बापतको पैसा आएमा सरकारी बजेटको तत्तका अवश्यकता नरहेको उनको भनाइ छ । ‘ती मन्त्रालय तथा निकायले कम्पनीमा सेयर लगानी गर्ने भनेर लिखित प्रतिबद्धता नै गरेका थिए, यस विषयमा अर्थ मन्त्रालयमा पनि कुरा उठाइरहेका छौं, अर्थलाई आगामी बजेट २०८०÷८१ को बजेटमा उनीहरूले पाउने रकम कटौंती गरी कम्पनीलाई दिनुहोस् भनी रहेका छौं,’ उनले भने । सो रकम आएपछि रेल्वे कम्पनी सक्षम हुने र आउँदा बजेटबाट रेल्वे कम्पनीलाई छुट्टै बजेटको आवश्यकता नपर्ने उनले उल्लेख गरे । सरकारले दिएन पैसा सरकारले नेपालमा नै रेलका लागि आवश्यक जनशक्ति उत्पादन नहुँदा सम्मका लागि भन्दै भारतबाट आवश्यक म्यानपावर ल्याएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गर्दै भारतबाट आवश्यक जनशक्ति ल्याउने र उनिहरुका लागि सेवासुविधा (तलब) सरकारले नै भुक्तानी गर्नेगरी सहमित दिएका थिए । मन्त्रिपरिषद्को निर्णय अनुसार आवश्यक जनशक्ति भारतबाट ल्याईएको थियो । उक्त जनशक्तिका लागि भुक्तानी गर्नुपर्ने रकम अहिलेसम्म अर्थमन्त्रालयबाट नपाएको झाले बताए । ‘सरकारले निर्णय अनुसार रकम निकासाका लागि हामीले अर्थ मन्त्रालयमा अनुरोध गरेका थियौँ, तर अहिलेसम्म रकम पाएका छैनौँ’, उनले भने, ‘सरकारले रकम नदिएपछि रेलको आम्दानीबाट नै हामीले भुक्तानी गरिरहेका छौँ ।’ वार्षिक ८ करोड आम्दानी नेपालमा रेल सञ्चालनमा आएको डेढ वर्ष भन्दा बढी समय भइसकेको छ । रेल सञ्चालनमा आएतापनि आम्दानी भन्दा खर्च नै बढी भएको छ । ‘रेलको अहिले वार्षिक आम्दानी ८ करोड रुपैयाँ छ, आम्दानी सँगसँगै खर्च पनि उतिकै छ, अहिले आम्दानीको दोबर खर्च छ,’ उनले भने । रेलको आम्दानीले कर्मचारीलाई तलब खुवाउन पुग्ने भएतापनि रेलको मर्मत सम्भारका लागि ठूलो रकम खर्च भएको उनको भनाई छ । ‘रेलको मर्मत सम्भार भारतमा मात्रै हुन्छ, मर्मतसँगै वासिङ लगायतका काममा बढी खर्च हुन्छ’, उनले भने, ‘आवश्यक पूर्वाधार निर्माण तथा अन्य सेवा थप हुँदा आम्दानीले मात्र कम्पनीको खर्च धान्न सकेन ।’ रेल्वे कम्पनीमा अहिले ११० जना कर्मचारी छन् । फुल फेजमा रेल चलाउँदा २१० भन्दा बढी कर्मचारीको आवश्यकता पर्ने पनि कम्पनीले जानकारी दिएको छ । सोको लागि कम्पनीले लोकसेवाको मध्यमबाट कर्मचारी नियुक्ति गर्ने उनले बताए । उनका अनुसार हाल रेल मर्मत सम्भार गर्ने वर्कसप नेपालमै खोल्ने गृहकार्य भइरहेको छ । निकट भविष्यमा कार्गो रेल सञ्चालन गर्ने योजना रहेको पनि उनले बताए । ‘रेललाई नाफामा लाने हाम्रो कोसिस जारी छ, यसको लागि हामीले आवश्यक कामहरू गरिरहेका छौं, रेलका पूर्वाधारहरू यही बनाई, दक्ष जनशक्ति यही उत्पादन गर्यो भने रेल नाफामा लम्कन्छ,’ उनले भने ।

लगातार किन भइरहेको छ जहाज अवतरणमा समस्या ?

काठमाडौं ।  यही वैशाख २७ गते भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गर्‍याे । काठमाडौं विमानस्थलमा दिउँसो ‘मिस एप्रोच’ भएपछि उक्त जहाजले ओभरसुट गरेर सिमरामाथिको आकाशमा करिब एकघण्टा आकाशमा फन्को लगाउने ‘होल्ड’ भएर पुनः अवतरणको प्रयास गर्‍याे । जहाज अवतरण हुन नसकेपछि भारतको बनारस डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ । त्यसदिन एयर इण्डियासहित अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका थिए । फ्लाई दुबई र इन्डिगो एयरको जहाज पनि लखनउ डाइभर्ट भएको थियो । विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार उक्त दिन ‘टेल वीन’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको थियो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेको विमानस्थलको भनाइ छ । त्यस्तै वैशाख १६ गते दिउँसो नयाँ दिल्लीबाटै काठमाडौं आएको एयर इण्डियाको जहाजले ओभरसुट गरेको थियो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार उक्त जहाज ‘अनस्टेवल एप्रोच’ भएकाले ओभरसुट गरेको हो । यसरी एक महिनामै एयर इण्डियाको जहाजले दुई पटक ओभरसुट ग¥यो । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाही एप्रोच प्रोफाइल नमिलेर, जहाज हाई अल्टिच्युट भएर आउँदा पनि ओभरसुट गर्नुपरेको विज्ञहरु बताउँछन् । जहाज ओभरसुट र होल्ड हुँदा सुरक्षाका हिसाबले निकै जोखिम हुने टिप्पणी हुँदै आएको छ तर, जहाज ओभरसुट र होल्ड हुँदा जोखिम नभई थप सुरक्षित हुने उनीहरुको भनाइ छ । नेपाल वायुसेवा गिनम (नेपाल एयरलाइन्स) का एक वरिष्ठ पाइलटका अनुसार ‘अनस्टेवल एप्रोच’ का कारण जहाजले ओभरसुट गर्छन । ‘ओभरसुट सबभन्दा बढी सुरक्षित हो, ओभरसुटलाई त हामीले ‘इन्करेज’ गर्नुपर्छ’, उनले भने, ‘ओभरसुटलाई अनस्टेवलाइज एप्रोच भन्छ, ९० प्रतिशत धावनमार्गमा हुने दुर्घटना ओभरसुटका कारण हुन्छन् ।’ नेपालमा ओभरसुटलाई नकारात्मक रुपमा लिने गरिएपनि संसारभर ओभरसुटलाई सकारात्मक रुपमा लिइन्छ, र सम्बन्धित मुलुकको ‘एभिएसन अथ्योरिटी’ले कारबाही गर्दैनन् तर, नेपालमा ओभरसुट भएपछि नियामक निकालये स्पष्टीकरण लिने गरेको ती वरिष्ठ पाइलटको भनाइ छ । जहाज अनस्टेवल एप्रोच भएर तथा कहिलेकाहीँ एप्रोच प्रोफाइल नमिलेर ओभरसुट हुन्छ । कहिलेकाहीँ धावनमार्गमा केही वस्तु देखिएमा पनि जहाज ओभरसुट गरिन्छ । विसं २०७९ वैशाख १ गते भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा परीक्षण उडान भरेर काठमाडौं फर्किएको नेपाल एयरलाइन्सको ‘वाइड बडी’ जहाज अवतरण हुनैलाग्दा ओभरसुट गरेको थियो । पाइलटले धावनमार्गमा प्लास्टिकको सामान देखेपछि एटिसी टावरलाई जानकारी गराएर जहाज ओभरसुट गरी पुनः अवतरण गरेका थिए । ‘पहिला म्यान्डेटरी एप्रोच पनि भनिन्थ्यो ओभरसुटलाई तर, अहिले आएर सम्भावित जोखिम न्यूनीकरणका हिसाबलाई यसलाई सकारात्मक रुपमा लिइन्छ, त्यसैले अहिले संसारमा ओभरसुटको विषयलाई लिएर प्रश्न नै नगर्ने भन्ने प्रवृत्ति बनिसकेको छ’, उनले भने । जोखिम मोलेर अवतरण गर्नुभन्दा ओभरसुट गर्नु बढी सुरक्षित भएकाले जहाजले ओभरसुट गर्ने गरेको वरिष्ठ पाइलटको भनाइ छ । विमानस्थलका प्रवक्ता सिटौलाको भनाइमा टिआइएमा दक्षिणतर्फबाट मात्रै ठूला जहाज अवतरण हुने भएकाले जहाज होल्ड हुने र ओभरसुट हुनेगरेको छ । जसका कारण विमानस्थललाई चाप परेको छ । एयर ट्राफिक जाम पनि हुन्छ । विशेष गरी चैत वैशाख महिनामा धावनमार्गको दक्षिणतर्फबाट बढी हावा चल्ने भएकाले टिआइएमा जहाजले ओभरसुट गर्ने र होल्ड हुने गरेका छन् । कतिपय अवस्थामा कम्पनीको नियम अनुसार पनि जहाजले ओभरसुट गर्छन् । यसरी ओभरसुट गरेको जहाजले एक राउन्ड लगाएर करिब २० मिनेटको समयावधिमा पुनः अवतरण गर्ने गरेको विमानस्थलले जनाएको छ । सिमरामाथिको आकाशबाट काठमाडौँ विमानस्थलमा एप्रोच लिनुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय उडानका जहाजले काठमाडौँ विमानस्थलमा अवतरण गर्दा सिमरामाथिको आकाशबाटै एप्रोच लिने गरेका छन् । यसरी ओभरसुट भएका जहाजका कारण एप्रोचका लागि विभिन्न गन्तव्यबाट आइरहेका अन्य जहाज होल्डमा पर्छन् । यसले अन्तर्राष्ट्रिय विमानस्थलमा एयर ट्राफिक जाम पनि बढाउने गरेको छ । आन्तरिक उडानका जहाजलाई पनि चाप पर्छ । अहिले पनि अन्तर्राष्ट्रिय विमानस्थमा दैनिक एक घण्टासम्म जहाज होल्ड हुने गरेका छन् । विमानस्थलको चापले आन्तरिक उडानका जहाजलाई पनि समस्या हुने गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) अति व्यस्त विमानस्थलमा पर्छ । यो विमानस्थल स्थापनाको करिब ७२ वर्षपछि थप दुई अन्तर्राष्ट्रिय विमानस्थल भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । हाल मुलुकमा तीन अन्तर्राष्ट्रिय विमानस्थल छन् । कूल ९२ लाख यात्रु क्षमताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई यात्रुको सङ्ख्या बर्सेनि बढिरहेको छ । यो विमानस्थलको विकल्पको रुपमा पनि गौतमबुद्ध विमानस्थललाई लिइएको थियो । उक्त विमानस्थलमा अत्याधुनिक उपकरणयुक्त छ । मौसम खराबी भएको अवस्थामा काठमाडौँ विमानस्थलमा अवतरण गर्न नसकेका जहाज भैरहवा विमानस्थलमा सहजै अवतरण गर्नसक्ने गरी यान्त्रिक प्रणाली जडान गरिएको छ । तथापि यो विमानस्थलको भरपुर उपयोग हुन सकेको छैन । काठमाडौँ विमानस्थलमा अवतरण हुन नसकेका जहाज र होल्ड भएका कतिपय जहाजले गौतमबुद्ध विमानस्थल अवतरण गरेका हुँदैनन । डाइभर्ट भएका अन्तर्राष्ट्रिय उडानका जहाज अझै पनि भारतको बनारस, लगनऊ, कोलकात्ता जाने गरेका छन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि टिआइएमा चाप कम हुने अनुमान गरिएको थियो । तर, तीन अन्तर्राष्ट्रिय विमानस्थल भएपनि टिआइएको उडान चाप उत्तिकै छ । दुई विमानस्थलले विजनेश पाएका छैनन् । दैनिक एक घण्टा होल्ड यही वैशाख १९ गते कतार एयरवेजको जहाज करिब एक घण्टा होल्ड भयो । दोहाबाटै काठमाडौँ आएको नेपाल एयरलाइन्सको जहाजले तीन फन्का मारेको थियो । भारतको नयाँदिल्लीबाट आएको इण्डिगो एयर पनि केहीबेर होल्डमा बसेको थियो । कतिपय मौसमको खराबीले र कुनै कम्पनीको नियमअनुसार ‘भिजिबिलिटी’ हेरेर मात्रै अवतरण गदर्छन् । टिआइएमा दैनिक आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक तीन सयभन्दा बढी उडान हुने गरेको छ । अन्तर्राष्ट्रियमा तीन नेपालीसहित २९ एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् । आन्तरिकतर्फ ११ हेलिकोप्टर कम्पनीसहित २० हवाई सेवा प्रदायक कम्पनीले सेवा सञ्चालन गरिरहेका छन् । रासस