मनास्लु र अन्नपूर्णलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने

दोर्दी (लमजुङ) । गोरखाको उत्तरी क्षेत्र मनास्लु र अन्नपूर्ण क्षेत्रलाई जोडेर नयाँ पदमार्ग निर्माण गरिने भएको छ । पर्वतीय पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (टान) र गोरखा तथा लमजुङका चार स्थानीय तहबीच नयाँ पदमार्ग निर्माण गर्ने समझदारी भएको हो । लमजुङको दोर्दी गाउँपालिकामा बुधबार भएको छलफलमा गोरखाको अजिरकोट गाउँपालिका र लमजुङका दूधपोखरी, दोर्दी र मस्र्याङ्दी गाउँपालिकालाई जोड्ने गरी ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ निर्माण गर्ने सम्झौता भएको टानका द्वितीय उपाध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । सम्झौतापत्रमा टानका अध्यक्ष नीलहरि बाँस्तोला, अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटा, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ र दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार उक्त पदमार्ग निर्माणका लागि प्रत्येक स्थानीय तहले आवश्यक वजेट विनियोजन गर्ने र त्यसको प्राविधिक तथा प्रवद्र्धनात्मक संयोजन टान गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएको टानका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रामचन्द्र सेढाईले जानकारी दिए । सम्झौतासँगै अब नयाँ पदमार्गको खोजी गरी प्रोफाइल तयार गर्ने, पदमार्ग विकासका लागि योजना तयार गर्ने, योजना तथा डिपिआर तयार गर्ने, नयाँ पदमार्गको प्रवद्र्धनका लागि ब्रोसियर, वृत्तचित्र र पर्यटन पदयात्रा नक्सा तयार गरी शुभारम्भ गरिनेछ । विगत ४५ वर्षदेखि पर्वतीय पर्यटन क्षेत्रमा काम गर्दै आएको टानले यसअघि धादिङको रुविभ्याली तथा गोरखाका चुमभ्यालीको समेत नयाँ पदमार्ग खोजेर पर्यटन प्रवद्र्धन गरिसकेको छ । कार्यक्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष अधिकारीले टानसँगको समन्वयनमा लमजुङ तथा गोरखाका उत्तरी गाउँपालिकासँग सहकार्य गरेर तत्काल काम सुरु गर्ने बताए । उनले पदमार्ग पूर्वाधार विकासका लागि प्रदेश तथा केन्द्रीय सरकारसँग समेत हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । अजिरकोट गाउँपालिकाका प्रमुख देवकोटाले अजिरकोटको भच्चेक बजारलाई नयाँ पदमार्गको प्रवेशद्वार तथा हिल स्टेशनका रुपमा विकास गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए । मस्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले नयाँ पदमार्गलाई छिमेकी जिल्ला मनाङसँग जोड्ने गरी सहकार्य गरिने बताए । दूधपोखरी गाउँपालिकाका अध्यक्ष धनप्रसाद गुरुङले राइनासकोटलाई नयाँ पदमार्गसँग जोड्नका लागि राइनास नगरपालिकासँग सहकार्य गरिने उल्लेख गरे । नयाँ पदमार्गभित्र अजिरकोट, नागेपोखरी, दूधपोखरी, लिपे लेक, मेमे पोखरी, बराहपोखरी, ठूलागीताललगायत प्राकृतिक तथा सांस्कृतिक क्षेत्र पर्दछन् । रासस

८ जना पर्वतारोही धौलागिरिको चुचुरोमा

काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौँ अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन् । धौलागिरि गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने ८ हजार १६७ मिटर अग्लो सो हिमाल बुधबार उनीहरुले आरोहण गरेका हुन् । यो हिमालमा सेभेन समिट टे«क्सका ५ जना र पाइएर एडभेन्चरमार्फत ३ जनाले आरोहण गरेका हुन् । पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए । सेभेन समिट टे«क्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ, भारतका जीतेन्द्र रामदा कवारे, नेपालका छेपाल शेर्पा र जाङव्बु शेर्पाले बुधबार बिहान धौलागिरि हिमालको सफल आरोहण गरेका हुन् । पायनियर एडभेन्चरले आफ्नो कम्पनीमार्फत सतीश रवीन्द्र गोगिनेनी, पासाङ शेर्पा र दावा दोर्ची शेर्पाले धौलागिरिको चुचुरोमा पुगेका जनाएको छ । धौलागिरिमा यो सिजनको पहिलो आरोहण जेठ १ गते बिहान ७ ः०० बजे पोल्याण्डका आरोहीद्वय वार्टेक जिम्सी र ओसवाल्ड रोड्रियोले गरेका आरोहणको व्यवस्थापन गरेको सेभेन समिटका प्रबन्ध निर्देशक थानेश्वर गुरागाईले बताए । आरोहणबाट फर्केपछि वार्टेकले ४ हजार ७ सय मिटर उचाइको वेस क्याम्पमा स्कीसमेत खेलेका थिए । धौलागिरि प्रथम हिमालको चुचुरो चुम्ने स्पेनी ८४ वर्षीय ज्येष्ठ पर्वतारोही कार्लोस सोरिया फोन्टेनको सपना अधुरै रहने भएको छ । बुधबार बिहान धौलागिरि हिमालको तेस्रो शिविरबाट चुचुरोमा पुग्न उक्लने क्रममा कार्लोस अचानक दुर्घटनामा परी घाइते भएपछि उनको धौलागिरिको चुचुरोमा पाइला राख्ने १४ औँ प्रयास असफल बनेको हो । दुर्घटनामा परेका कार्लोसलाई शेर्पाहरुको सहयोगमा क्याम्प तीनमा झारिएको छ । कार्लोसको फेसबुक पेज अनुसार बधुबार राति धौलागिरि चुचुरोमा पुग्ने क्रममा दुर्घटनामा परी टिबियामा चोट लागेको र शेर्पाहरुले उद्धार गरी क्याम्प तीनमा झारेको तथा होलिकप्टरबाट उद्धार प्रयास भइरहेको उल्लेख छ ।

महासंघको पर्यटन तथा हवाई समितिको सभापतिमा देशबन्धु बस्नेत चयन

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पर्यटन तथा हवाई समितिमा देशबन्धु बस्नेत (अजित) चयन भएका छन् । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधान बमोजिम उनलाई उक्त समितिको सभापतिमा चयन गरेका हुन् । नेपालको पर्यटन क्षेत्रमा १ दशकदेखि सक्रिय बस्नेत महासंघको कार्यकारिणी सदस्यमा २ पटक निर्वाचित भइसकेका छन् । यसअघि महासंघको एनआरएन तथा द्धिराष्ट्रिय फोरमका सभापति हुँदा विभिन्न देशका द्विराष्ट्रिय संघ र गैर आवासीय नेपाली संघसंस्थालाई चलायमान बनाएर नेपालमा विदेशी लगानी भित्र्याउन अहम भुमिका निर्वाह गरेका बस्नेतको नियुक्तीसँगै पर्यटन क्षेत्रमा समेत ठूलो योगदान दिने विश्वास लिइएको महासंघले जनाएकाे छ । साथै, उनको कार्यकालमा आगामी दिनमा थप अन्य मुलुकसँग सिधा हवाई उडान गरी विदेशी पर्यटक भित्र्याउनका समेत सहयोग पुग्ने सरोकारवालाहरु बताउँछन् । प्रमाणपत्र वितरण कार्यक्रममा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अहिलेको अवस्थामा पर्यटन समितिको सभापतिमा बस्नेतको चयनसँगै नेपाललाई अन्तरराष्ट्रिय स्तरमा प्रवद्र्धन गरी विदेशी पर्यटक भित्र्याएर डलर आर्जन गर्न थप सहयोग पुग्ने बताए । नेपालमा स्टार स्तरका होटल तथा रिसोर्ट संचालनमा ल्याउन लागेका बस्नेतले पर्यटन प्रवद्र्धनका लागि होटलका विभिन्नि विश्वप्रशिद्ध ब्राण्ड भित्र्याएका छन् । उनले काठमाडौं र इटहरीमा एकै पटक संचालनमा ल्याउने गरी २ ओटा पाँच तारे होटलको निर्माणकार्य अन्तिम चरणमा पुर्याएका छन् । यस्तै, उनले पर्यटकीय एवं धार्मिक स्थल मनकामनामा समेत ५० रोपनी क्षेत्रफलमा पाँच तारे स्तरकै सरोवर प्रिमियम ब्राण्डमा सरोबर होटल्स एण्ड रिसोर्ट संचालनमा ल्याउन लागेका छन् । पेशाले इन्जिनियर रहेका उनी नेपालका लागि जाम्बियाका वाणिज्य दूत हुन । साथै, उनी सार्क चेम्बर अफ कमर्सका समेत कार्यसमिति सदस्य हुन् । एवी होल्डिङ्सका अध्यक्ष रहेका उनले आफ्नो नेतृत्वमा परियोजना र पूर्वाधार विकास, होटल पर्यटन, उत्पादन, स्वास्थ्य, रियल स्टेट र पोर्टफोलियो अन्तरगत विभिन्न परियोजनामा लगानी गर्दै आएका छन् ।