गोरखामा बन्यो चेपाङ सङ्ग्रहालय

गोरखा । गोरखाको सहिद लखन गाउँपालिकामा चेपाङ समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि चेपाङ सङ्ग्रहालय निर्माण गरिएको छ । चेपाङ समुदायको बाहुल्यता रहेको वडा नं ४ स्थित डाँडागाउँमा लोप हुन लागको उक्त समुदायको वेषभूषा तथा कला संस्कृतिको संरक्षणका लागि सङ्ग्रहालय निर्माण गरिएको वडाध्यक्ष यमबहादुर थापाले जानकारी दिए । आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा वडा कार्यालयले विनियोजन गरेर सङ्ग्रहालय निर्माणको काम सम्पन्न भएको उनले बताए । ‘स्थानीयले निःशुल्क उपलब्ध गराएको जग्गासहितको क्षेत्रमा सङ्ग्रहालय निर्माण गरिएको हो’, उनले भने, ‘उपभोक्ता समितिमार्फत निर्माण गरिएको सङ्ग्रहालय चेपाङ समुदायको संस्कृति झल्कने खालको घर निर्माण भएको छ ।’ सङ्ग्रहालयमा अल्पसङ्ख्यक चेपाङ जातिको वेषभूषा, परम्परागतरूपमा प्रयोग गर्ने सामग्री राखिने उनले बताए । ‘पछिल्लो समय चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने सामग्री लोप हुने अवस्थामा छ’, वडाध्यक्ष थापाले भने, ‘आगामी पुस्ताले ती सामग्री र संस्कृतिका बारेमा जान्न र बुझ्नसमेत नपाउने अवस्था भइसकेकाले त्यसको संरक्षण स्थानीयस्तरबाटै भए पनि गर्नुपर्छ भन्ने उद्देश्यले सङ्ग्रहालय निर्माण गरिएको हो ।’ सहिद गाउँपालिकाको डाँडागाउँ चेपाङ समुदायको मात्र बसोबास रहेको ठाउँ हो । ‘उक्त स्थानमा चेपाङको मात्र बस्ती छ, अन्य जातिको बसोबास नै छैन’, उनले भने, ‘ढाडेगाउँ, डाँडागाउँ, तेस्रेगाउँमा सबै चेपाङ समुदायमा बस्दै आएका छन् ।’ निर्माण सम्पन्न गरिएको सङ्ग्रहालयको संरक्षणको जिम्मेवारी पनि चेपाङ समुदायलाई दिइएको उनले जानकारी दिए । सङ्ग्रहालयमा चेपाङ समुदायले परम्परागतरूपमा प्रयोग गर्ने वेषभूषा, भाङग्रा, जङ्गलमा गिट्ठा टिप्न जाँदा प्रयोग गर्ने सामग्री, चमेरो मार्न प्रयोग गर्ने सामग्रीलगायतका सबैखालका परम्परागत सामग्री राखिने उनको भनाइ छ । सङ्ग्रहालयमा हरेक वर्ष चेपाङ समुदायले वर्षमा एकपटक मनाउने न्वागी पर्वका दिन सोही स्थानमा कार्यक्रमको आयोजना गरी मनाउने तथा समुदायको क्षमता विकासका लागि छलफल तथा बैठक गर्नका लागि प्रयोग हुने वडाध्यक्ष थापाको भनाइ छ । ‘चेपाङहरूको परम्परागत वेषभूषामा महिलाका लागि गुन्युचोलो, पुरुषका लागि दौरा–कछाड र त्यसमा जाली भरिएको स्टकोट हो । साथमा पछाडिपट्टि कम्मरमा काठको खुर्पीठ्याक भिरिएको हुन्छ । त्यसको संरक्षण पनि सङ्ग्रहालयमार्फत अब हुन्छ’, उनले भने । त्यस्तै परम्परागत चेपाङ समुदायको गरगहनाका रूपमा मुगा, हारेमालालाई लिइन्छ । यस्ता गरगहना लगाउने परम्परा पनि विस्तारै उक्त समुदायबाट लोप हुँदै गएको छ । आफ्नो परम्परा र संस्कृतिको लोप हुन नदिन स्थानीय सरकारको पहलमा सङ्ग्रहालय बनेपछि चेपाङ समुदाय पनि खुसी भएको स्थानीय जगबहादुर चेपाङले बताए । रासस

सगरमाथा आरोही शेर्पालाई आइएफआरसीका महासचिव चपागाईँद्वारा बधाई

सोलुखुम्बु । सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ टैकुब निवासी मिङमार शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । यही जेठ २ गते उनले सगरमाथाको आरोहण गरेको नेपाल रेडक्रस सोसाइटीले जनाएको छ । आरोही शेर्पाले आरोहणका क्रममा सगरमाथाको चुचुरोमा रेडक्रसको झण्डा फहराएका थिए । सगरमाथा आरोहण गर्न जाने क्रममा शेर्पालाई नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बु शाखाले रेडक्रसको झण्डा हस्तारण गरेको थियो ।   सोहीअनुरुप उनले आरोहणपश्चात् रेडक्रसको झण्डा फहराएको जनाइएको छ ।यसैबीच रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ आइएफआरसीको महासचिव तथा प्रमुख कार्यकारी अधिकृत जगन चापागाईँले सगरमाथा आरोही मिङमार शेर्पालाई विशेष बधाई एवं धन्यवाद दिएका छन् । गत वैशाख २८ गते दोस्रो कार्यकालमा लागि चयन भएका महासचिव चापागाईँले सामाजिक सञ्जालमा भनेका छन्, ‘म अरोही शेर्पाले सगरमाथा चुम्न गर्नुभएको अथक प्रयास, मेहनत र उच्च साहसको हृदयदेखि नै सरहना गर्दछु ।  यसक्रममा आरोही शेर्पाले रेडक्रसको झण्डा सगरमाथामा फहराएकामा विशेष बधाई एवं धन्यवाद दिन चाहन्छु । यसले मानवीय सेवामा अहोरात्र तल्लीन रेडक्रसका स्वयंसेवकलाई अझ ऊर्जा, उत्प्रेरण र आत्मविश्वास बढ्ने छ ।’   मानवता, निष्पक्षता, तटस्थता, स्वाधिनता, स्वयंसेवा, एकता र विश्वव्यापकताजस्ता रेडक्रसका आधारभूत सिद्धान्तलाई थप बलियो बनाउने उनले प्रतिबद्धतासमेत जनाएका छन् । आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डलका प्रमुख अजमत उल्लालले सगरमाथा आरोही शेर्पालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, “रेडक्रसकर्मी स्वयंसेवकले प्रदर्शन गर्ने सेवारुपी भावना, समर्पण, दया, सहयोग र समुदायप्रतिको उत्तरदायित्वलाई अझ सुदृढ बनाउनुपर्छ ।”

आजदेखि सम्पदा बस सञ्चालनमा आउने

काठमाडौं । नेपाल पर्यटन बोर्डको अगुवाइमा आजदेखि ‘हफ अन हफ अफ बस’ सञ्चालनमा आउने भएको छ । बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) डा.धनञ्जय रेग्मीले विश्व सम्पदा सूचीमा सूचीकृत काठमाडौँ उपत्यकाभित्रका सम्पदाहरूमा सम्पदा घुम्ती बस सेवाका रूपमा ‘हफ अन हफ अफ बस’ सञ्चालन हुन गइरहेको जानकारी दिए । पर्यटनमन्त्री सुदन किरातीको विशेष चासोमा समयमा सम्पदा बस सञ्चालनमा आउन लागेको उनले बताए । विश्वका प्रायःजसो पर्यटन क्षेत्रमा यस्तो बस सेवा सञ्चालनमा रहेको उनको भनाइ छ । नेपालमा लामो समयसम्म चर्चा चले पनि यस पटक बोर्डले घाटामै भए पनि सञ्चालन गर्न लागेको हो । बोर्डका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा दुईवटा इलेक्ट्रोनिक साझा बस सम्पदा बसका रूपमा सञ्चालन हुनेछन् । ललितपुर महानगरपालिकाबाट सुरु हुने ‘हफ अन हफ अफ बस’ सेवाले काठमाडौँ दरबार स्क्वायर, नारायणहिटी दरबार सङग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भूसम्म घुम्ती सेवा सञ्चालन हुनेछ । ‘२ वटा बस प्रत्येक ठाउँमा आधा घन्टादेखि ४५ मिनेटमा सञ्चालन हुनेछ, केही दिन निःशुल्क चलाएर त्यसपछि शुल्कको व्यवस्था गरिनेछ,’ उनले भने ।