नारायणी नदीमा मोटरबोट चढ्नेको भीड, कति लाग्छ शुल्क ?

भरतपुर । नारायणी नदी किनारमा मोटर बोट चढेर मनोरञ्जन लिन आउने आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएको छ । दसैँ तिहार र छठपर्वका समयमा यहाँ पर्यटकको भीड नै लागेको थियो । नदी किनारमा ‘रिभरबीच मोडल’को संरचना निर्माण गरिएपछि यहाँ घुम्न आउने र मोटरबोट चढ्नेको सङ्ख्या बढेको भरतपुर महानगरपालिका–१ का वडा सदस्य मनोज घिमिरेले जानकारी दिए। उनले महानगरपालिकाले नदी किनार क्षेत्रलाई थप व्यवस्थित बनाउँदै लैजाने बताए। विसं २०७६ मा एउटा बाट सुरु भएको मोटरबोट अहिले साना ठूला गरी ३२ वटा दर्ता भएर सञ्चालनमा आएका छन् । मोटरबोट कम्पनीले विभिन्न ‘प्याकेज’मा सेवा दिइरहेका छन् । नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात उद्यान र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन् । एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु अटाउँछन् । यस्तै साना मोटरबोटमा छदेखि १२ जनासम्म यात्रु चढाउने गरिन्छ । छोटो दूरीमा प्रतिव्यक्ति रु दुई सय ५० र लामो दूरीमा प्रतिव्यक्ति एक हजार पाँच सयसम्म तोकिएको छ । त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ । नारायणीमा ४० एचपीको इञ्जिनदेखि दुईसय एचपीको इञ्जिनसम्मका बोट रहेको मोटरबोट सञ्चालक समितिका अध्यक्ष अशेष मल्लले जानकारी दिए । विसं २०७२ मा कालीखोलादेखि गोलाघाटसम्म बोटिङ सञ्चालन गर्न नारायणी किनारको अध्ययन गरिएको थियो । कालीखोलादेखि सानो गढीसम्मका लागि बोटिङ सञ्चालन गर्न आफूहरुले अनुमति पाएको व्यवसायी विजयचन्द्र अधिकारीले बताए । विसं २०७५ बाट आफ्नो कम्पनीले नारायणीमा बोट सञ्चालन गर्दै आएको बताउँदै उनले भने, ‘सुरुवाती चरणमा कोरोनाका कारण व्यवसाय राम्रो नभए पनि गत वर्ष र यस वर्ष मोटरबोट चढ्ने पर्यटक बढेका छन् ।’ चाडपर्वको समयमा नारायणीमा दैनिक पाँच हजार जनासम्मले बोटिङ गर्ने गरेको उनले जानकारी दिए । उनले बिदाको दिनमा घुम्न आउनेको सङ्ख्या बढी हुने गरेको बताए । नारायणी नदी नेपालको मध्यभागमा पर्ने भएकोले यहाँ पछिल्लो समय पर्यटकको आगमन क्रमिक रुपमा बढ्दै गएको व्यवसायी गोविन्द श्रेष्ठले जानकारी दिए । उनले पर्यटकको घुम्ने समय बढाउन थप प्याकेज र सुविधा ल्याउनुपर्ने बताए । पहिलो पटक नारायणी किनारमा बोटिङ गर्दा निकै रमाइलो भए पनि समय निकै कम भएको हेटौँडाबाट आएका विष्णु कालाखेतीले बताए । उनले  परिवारसँग आउँदा प्याकेजको व्यवस्था र मोटरबोटका लागि तिरेको शुल्क अनुसार समय बढाउनुपर्ने बताए ।  पहिले धेरै पटक बोटिङ गरे पनि यो पटक साथीहरुसँग बोटिङ गर्दा निकै रमाइलो भएको भरतपुरकी शान्ता खत्रीले बताए । उनले नारायणीमा बोटिङ गर्दा निकै रमाइलो हुने गरेको अनुभव सुनाए । नदी किनारमा घुम्न आउने अधिकांश आन्तरिक पर्यटक यहाँ जलविहार गर्न रुचाउँछन् । यो यात्रामा यात्रुले नारायणी किनारको दृश्यसँगै नगरवन, गैँडाकोट, रिभरक्विन टापु, मौलाकालिका मन्दिर, हिमशृङ्खलालगायतको दृश्यावलोकन गर्न पाउँछन् । रासस

सिक्लेस र घान्द्रुक जानुअघि जानकारी लिन आग्रह

पाेखरा । दसैँ, तिहार सकिएलगत्तै कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेस पुग्ने पर्यटकको सङ्ख्या ह्वात्तै बढेको छ । जसका कारण स्थानीयलाई गाउँ पुगेका पर्यटक व्यवस्थापन गर्न भ्याइनभ्याइ छ । पछिल्ला समय पोखरा घुम्न आएका पर्यटक लेकसाइडमा मात्र सीमित हुन चाहँदैनन् । वरपरका गाउँबस्ती र थुम्का उनीहरुको रोजाइमा पर्ने गरेको छ । सोही कारण कास्कीका पर्यटकीय गाउँहरुमा ठूलो सङ्ख्यामा पर्यटक पुग्ने गरेका छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं १० र ११ मा पर्ने घान्द्रुकमा शुक्रबार दुई हजारभन्दा बढी पर्यटक पुगेको घान्द्रुक पर्यटक व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले जानकारी दिए । उनका अनुसार शनिबार पनि दुई हजारकै हाराहारीमा पर्यटक पुगेका छन् । ‘पछिल्लो हप्ता घान्द्रुकमा पर्यटक पूर्णरुपमा भरिएका (हाउसफुल)नै भएको थियो’, अध्यक्ष गुरुङले भने ‘धेरै हुँदा हामीलाई व्यवस्थापन गर्न हम्मेहम्मे पर्छ । पाहुनालाई हामीले फर्काएका छैनौँ ।’ घुमघामको सिजनमा यहाँ आउँदा यहाँको बासस्थान, मौसमी अवस्थालगायत आवश्यक विषयमा जानकारी लिएर मात्र आउन उनले सबैलाई आग्रह गरे । ‘घुम्न आएका पाहुनालाई बास छैन भनेर फर्काउन पनि भएन् । हामीले मिलाएर त राखेकै छौँ’, अध्यक्ष गुरुङले भने, ‘पाहुनाको सुविधाका लागि उहाँहरु आफैँले सिजनको समयमा हामीसँग समन्वय गरेर आउनुभयो भने राम्रो हुन्थ्यो ।’ उनका अनुसार घान्द्रुकमा पर्यटक राख्नका लागि ५५ होटल र २२ होमस्टे छन् । पाहुना बढी भएको अवस्थामा गाउँका घरमा व्यवस्थापन गर्न सकिने अध्यक्ष गुरुङको भनाइ थियो । होटल, होमस्टे र घरमा गरी घान्द्रुकमा एक दिनमा दुई हजार दुईसम्म पाहुन राख्ने क्षमता रहेको उहाँले जानकारी दिए । कास्कीकै मादी गाउँपालिका–१ मा पर्ने पर्यटकीय गाउँ सिक्लेसमा पनि पर्यटकको चाप बढेको छ । दसैँ, तिहार सकिएसँगै सिक्लेसमा दैनिक पाँचदेखि छ सयको हाराहारीमा पर्यटक पुग्ने गरेका मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले जानकारी दिए । सिक्लेस हुँदै क्हपुचें हिमताल र कोरी डाँडा जाने पर्यटकका कारण पनि यहाँ पर्यटकको चाप बढेको उनले बताए। वडाध्यक्ष गुरुङले पर्यटकको सङ्ख्या बढी हुँदा व्यवस्थापनमा गाह्रो हुने भएकाले सामाजिक सञ्जालमार्फत जानकारी दिएर आउन आग्रह गरे । ‘सिक्लेसमा आउने आन्तरिक पर्यटकको चाप बढ्दो छ । कतिपय पर्यटक गाउँमा आइसकेपछि बस्नलाई समस्या भएको गुनासो आइरहेको छ’, उनले भने, ‘तसर्थ गाउँमा आउनुभन्दा अगावै बस्न चाहनुभएको होटलरहोमस्टे सञ्चालकसँग सम्पर्क गरेर मात्र आउनुहुन अनुरोध छ ।’ साथै, क्हपुचें र कोरी ट्रेकका लागि सम्बन्धित होटल सञ्चालकसँग सम्पर्क गरेर आउँदा असहजता नआउने उनको भनाइ थियो । रासस

कञ्चजङ्घा क्षेत्रमा दसैँ तिहारको समयमा पर्यटक बढे

फुङ्लिङ । विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा दसैँ तिहारको समय बाह्य पर्यटकको सङ्ख्या बढेको छ । कोरोनाको सङ्क्रमणका कारण  करिब चारवर्ष सुनसान जस्तै बनेको कञ्चजङ्घा क्षेत्रमा यस वर्षको दसैँ तिहारको समयमा भने पर्यटकको सङ्ख्या बढेको हो । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालय घुन्सा चेक पोष्टका पर्यटन सहायक टाँसी तेन्जिङका अनुसार दसैँ र तिहारको समयमा  सय जना विदेशी पर्यटक आएका छन् । यस क्षेत्रमा असोज महिनादेखि पर्यटकको आगमन सुरु हुने गरेको उनले बताए । असोज, कात्तिक र मङ्सिर २ गते सम्ममा छ सय ५० बाह्य पर्यटक कञ्चनजङ्घा क्षेत्र अवलोकन गर्न आएको घुन्सा पर्यटन चेकपोष्ट कार्यालयले जनाएको छ । विगतको तुलनामा यसवर्ष आन्तरिक पर्यटक वृद्धि भएको छ । गतवर्ष असोज, कात्तिक र मङ्सिर महिनामा चार सय ५० बाह्य पर्यटकले यस क्षेत्रको अवलोकन गरेका थिए । आन्तरिक पर्यटकको भने अहिलेसम्म कुनै निकायले तथ्याङक राख्ने गरेको छैन । पर्यटकको आगमनले कञ्चनजङ्घा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएको घुन्साका पर्यटन व्यवसायी पेमा शेर्पाले बताए । स्थानीय समुदाय पर्यटन व्यवसायमा निर्भर हुँदै आएका छन् । वर्षको दुई  याममा यस क्षेत्रमा पर्यटक आउने गर्दछन् । अहिले चिसो मौसम सुरु भएसँगै पर्यटकको आवागमनमा कमी हुँदै गएको पर्यटन सहायक शेर्पाले बताए । रासस