पर्यटकका पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा । धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर नदी क्षेत्रमा रहेको अक्कर भिर र लोभलाग्दा फाँट यहाँका अर्को आकर्षण हो । तर पर्याप्त पर्यटनको सम्भावना बोकेको नदी क्षेत्रलाई बेलाबखत स्वतः हुने जलयात्रा (र्याफ्टिङ), फिसिङ, क्याम्पफायर, वनभोजबाहेक जिल्लाका स्थानीय तहले तमोर नदी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा प्रयोग गर्न सकेका छैनन् । जिल्लाको छथर जोरपाटी,सहिदभूमि,साँगुरीगढी, चौबिसे गाउँपालिका सहित धनकुटा नगरपालिका भएर तमोर नदी बगेको छ । होटल एशोसिएसन भेडेटारको तथ्याङ्कानुसार भेडेटार र तमोर नदी नजिक रहेको नमस्ते झरनामा दैनिक एक हजार पाँच सयदेखि दुई हजार पाँच सयसम्म पर्यटक आउने गरेका छन् । तर पूर्वकै पर्यटकीय नगरी भेडेटार र झरनाको नजिकै कोशी राजमार्गस्थित धरान–धनकुटा सडकको पहुँचमा रहेको तमोर नदी क्षेत्रमा पर्यटकको आगमन ज्यादै न्यून छ । स्थानीय सरकारले यसको उपयोग गर्ने नीति तथा कार्यक्रम नल्याउँदा अथाह पर्यटनको सम्भावना बोकेको तमोर क्षेत्र पर्यटकविहीन बनेको धनकुटा नगरपालिका वडा नं १० मूलघाटका होटल व्यवसायी मोहन बान्तावाको भनाइ छ । पचास लाखको लागतमा गएको एक दशकअघिबाट तमोर नदी क्षेत्रमा आउने पर्यटकलाई लक्षित रिसोर्ट सञ्चालन गर्दै आएका उनले पर्यटकको आवागमनमा वृद्धि नहुँदा व्यवसाय छाड्ने अवस्थामा पुगेको जानकारी दिए । साँगुरीका अध्यक्ष जितेन्द्र रुम्दाली राई पर्याप्त लगानीको अभाव हुँदा नदीजन्य पर्यटन र यसमा आधारित पर्यटन गतिविधिको सम्भावना त्यसै टरेर गएको बताए । अहिले भारतको जोगवनीबाट चीनको ओलाङ्चुगोला जोड्न सुनसरीको चतराबाट धनकुटा हुँदै पाँचथरसम्म तमोर करिडोर निर्माणाधीन रहेको छ । यस करिडोरको पूर्णतासँगै अबका दिनमा तमोर क्षेत्रमा पर्यटकको आवागमन क्रमशः बढ्ने चौबिसेका अध्यक्ष राजकुमार लिम्बूको भनाइ छ । तमोर क्षेत्रलक्षित पालिकाको कुनै ठोस योजना नभए पनि तमोर करिडोर भएर आउने पर्यटकलाई लक्षित गरेर सो क्षेत्रका पर्यटकीय गन्तव्यको प्रवर्द्धनमा पालिकाले लगानी गरिरहेको उनले जानकारी दिए । तमोर नदी क्षेत्रमा पर्यटक आएर घुम्ने उचित सडक सञ्जाल नहुँदा पनि पर्यटकको आवागमनमा कमी आएको सहिदभूमिका अध्यक्ष मनोज राईले जानकारी दिए । पर्यटक आइहाले पनि नदी क्षेत्रमा घुम्ने, बस्ने र रमाउनका लागि यहाँ हुनुपर्ने आन्तरिक व्यवस्थापन गर्न नसक्दा तमोर नदी क्षेत्रमा पर्यटक भित्र्याउन नसकिएको उनले बताए ।

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

सिरहा । बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहाका अध्यक्ष विकास सारडाले जानकारी दिए । ‘एकातिर कर्जाको ब्याजदर बढ्नु र अर्कातिर उद्योग व्यवसायमा मन्दी आउनुले यहाँका उद्योग व्यवसाय थप मारमा पर्दै गएका छन्’, उनले भने, ‘वित्तीय क्षेत्रको दोहोरो ब्याजदर वृद्धिबाट प्रभावित व्यवसायी समस्यामा परे । यसको निराकरणका लागि सरकारलगायत सबै क्षेत्रको ध्यान जाओस् ।’ सङ्घले सोमबार लाहानमा एक अन्तक्र्रिया कार्यक्रम गरी उद्योग व्यवसाय धरासायी हुँदै गएकामा जिल्लास्थित प्रमुख जिल्ला अधिकारी तथा जिल्लाका विभिन्न सुरक्षा निकायका प्रमुखमार्फत सरकारको ध्यानाकर्षण समेत गराएको छ । होटल व्यवसाय सञ्चालन तथा सहजीकरणका लागि सबै क्षेत्र र तहबीच समन्वय र सहकार्य हुनुपर्नेमा सिरहाका प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताए । त्यस्तै नेपाल–भारत खुला सिमानाका कारण हुने अवैधानिक क्रियाकलापलाई रोक्न प्रशासन र आम नागरिकले हातेमालो गरी यसको न्यूनीकरण गर्नुपर्नेमा जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी उपरीक्षक सन्तोष आचार्यले बताए । वित्तीय क्षेत्रको ब्याजदर वृद्धिले व्यवसाय क्षेत्रमा सिर्जना गरेको समस्या समाधानका लागि सरकारले पहल नगरेका कारण पछिल्लो समय यहाँका होटल तथा व्यवसाय ओरालो लाग्न थालेको होटल तथा पर्यटन व्यवसायी सङ्घ सिरहाका अध्यक्ष रामकुमार गुप्ता, मदिरा व्यवसायी सङ्घ सिरहाका अध्यक्ष वीरेन्द्र साहलगायतले धाराण राखे । रासस ।

सुनसान अन्नपूर्ण पदमार्गमा देखिन थाले पर्यटक

लमजुङ । चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान रहेको यस पदमार्गमा यतिबेला दैनिक २५/३० जनाको हाराहारीमा विदेशी पर्यटक आउने गरेको मनाङको धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका इञ्चार्ज भूपेन्द्र गुरुङले बताए । उनले विगतमा दैनिक पाँचभन्दा बढीसम्म पर्यटक आउने गरेकामा अब अब विस्तारै बढ्दै जाने अपेक्षा रहेको बताए । चिसो मौसमका कारण पर्यटक नआउँदा सुनसान बन्दै गएको यस पदमार्गमा पर्यटक आउन थालेसँगै पर्यटन व्यवसाय चल्न थालेको उनको भनाइ थियो । चिसो छल्नका लागि मनाङवासी बाहिरी जिल्ला गए पनि उनीहरुसमेत विस्तारै आउने क्रममा छन् । मस्र्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले पर्यटकको आगमन ठप्प भएसँगै आफूहरु फुर्सदिलो बने पनि यतिबेला पर्यटक आगमन आउन थालेसँगै व्यस्त हुन थालेको बताए । पर्यटकको आगमन हुँदा धेरै थोरै भए पनि आम्दानी हुन थालेको छ । यस याममा पहिला इजरायली नागरिक सबैभन्दा बढी आउने गरे पनि यस वर्ष इजरायली र हमासबीचको युद्धका कारण इजरायली पर्यटक नदेखिएको उनले बताए । पर्यटक बढ्दा दैनिक ६० हजारभन्दा बढी हाराहारीमा व्यापार हुँदै आएको उल्लेख गर्दै पर्यटन व्यवसायी गुरुङले मार्च ३ गतेदेखि अप्रिल अन्तिमसम्मै पर्यटकले उनको होटल बुकिङ गरिसकेका छन् । पर्यटन व्यवसायीहरू मेखबहादुर गुरुङ, खुसीराम गुरुङ, देवीजङग गुरुङ, चेतबहादुर गुरुङ, बगबहादुर गुरुङ पूर्णबहादुर गुरुङ, राजमान गुरुङलगायत यस पदमार्ग आसपासमा सयौँ सङ्ख्यामा रहेका होटल व्यवसायीले अहिले काम पाउन थालेका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङको चौतारा क्षेत्रका होटल व्यवसयामा समेत आम्दानी हुन थालेको छ । यस पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँच वटा जिल्ला जोडिएको छ । विदेशी पर्यटक हिमाल र पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज तथा प्राकृतिक सुन्दरता हेर्न र मनाङबाट थोराङ भञ्ज्याङ उक्लेर मुस्ताङ हुँदै पोखरा जान अन्नपूर्ण पदमार्गमा आउँछन् । यहाँ आउने पर्यटक विशेष गरेर थोराङपास, लार्केपास, र कांलापासका साथै विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताल अवलोकनका लागि आउने गरेको पाइन्छ । त्यस्तै यस क्षेत्रमा पर्ने अग्लाअग्ला हिमशृङ्खला अन्नपूर्ण दोस्रो, तेस्रो र चौथोलगायत गङ्गापूर्ण, जुलू पिक, पिसाङ पिक, नीलगिरि र तिलिचो पिकजस्ता हिमाल नजिकैबाट अवलोकन गर्न पर्यटक आउने गरेको मनाङवासीले बताए । लमजुङ बेँसीसहरबाट सुरु भई अन्नपूर्ण पदमार्गको यात्रा धारापानी र मनाङहुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, घोरेपानीबाट पोखरा पुगेर सम्पन्न हुन्छ । पाँच हजार चार सय १६ मिटरको उचाइमा रहेको थोराङ भञ्ज्याङलाई पर्यटकहरूले पास गर्ने गर्दछन् । पदयात्राका सौखिनका पारखीका लागि यस पदमार्ग महत्वपूर्ण मानिन्छ । विगतमा १८ दिनसम्म यात्रा हुने यस पदमार्गको यात्रा भने सडक विस्तारले छोटिएसँगै व्यवसायमा समेत असर परे पनि पर्यटकको आगमनले व्यवसाय चल्दा आम्दानीको बाटो भइरहेको पर्यटन व्यवसायीहरूले बताए । रासस