नयाँ दिल्ली र मालेबीच विवादले माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटक एक तिहाइले घटे

माले । गत वर्षको तुलनामा यो वर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको संख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्यांकलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटक संख्यामा पनि कमी देखिएको हो । सन् २०१९ को मार्च सम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए । पर्यटन मन्त्रालयको सन् २०२३ को तथ्यांकअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए । माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो वर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । गत वर्षको तुलनामा यो सङ्ख्या १३ हजार ८३० ले कम हो । गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो । यद्यपि, यो वर्ष भारतीय पर्यटकको सङ्ख्या ६ प्रतिशतका साथ सूचीको छैटौं स्थानमा रहेको छ । माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवर्द्धनका लागि गन्तव्यका रूपमा विकास गर्न आह्वान गरेका थिए । नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो । तीनै जना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ । यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए । माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एण्ड टुर अपरेटर्स (माटाटो) ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो तर उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन । सन् २०२१र०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ । एजेन्सी

नागस्तम्भ निर्माणपछि काभ्रेको बस्नेत गाउँमा धार्मिक पर्यटक बढे

काभ्रेपलाञ्चोक । जिल्लाको बनेपा नगरपालिका–५ बस्नेत गाउँलाई धार्मिक पर्यटकीयस्थल बनाउन स्थानीय जुटेका छन् । अरनिको राजमार्गबाट करिब तीन किलोमिटर भित्र पर्ने पालेको सामुदायिक वन नजिकै रहेको बस्नेत गाउँलाई धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थानीय जुटेका हुन् । गाउँको माथिल्लो सिरानमा रहेको पुरानो महादेव मन्दिर र नागको स्तम्भ निर्माण गरिने स्थानीय बताउँछन् । महाशिवरात्रिको अवसर पारेर यहाँका स्थानीयले शुक्रबार होम गरी नागको पूजा गरेका छन् । गाउँको विकासका लागि ‘बस्नेत गाउँ बिरुवा पाटो गट्टीखेल तथा संरक्षण मञ्च’ गठन गरी सबैलाई एकजुट बनाउँदै पर्यटन प्रवर्द्धनमा स्थानीय जुटेका मञ्चका अध्यक्ष हरिभक्त शाहीले बताए । ‘यसअघि नै यहाँ नागको मन्दिर थियो’, उनले भने, ‘संरक्षणको अभावमा भग्नावशेषमा परिणत भएकामा अहिले गाउँले एकजुट भएर नागको स्तम्भ तथा महादेव मन्दिर निर्माणमा जुटेका छौं ।’ गाउँको माथिल्लो भागमा हरियाली वन, तल सुन्दर बस्ती र बीचमा भागमा मन्दिर निर्माण गरी आवश्यक संरचनासमेत निर्माण गरिने मञ्चका अध्यक्ष शाहीले बताए । बनेपा बजारबाट नजिकै रहे पनि प्रचारप्रसारको कमी हुँदा ओझेलमा परेकाले यहाँ आवश्यक पूर्वाधार निर्माण गरी संरक्षण तथा पर्यटन प्रवर्द्धनमा लागेको स्थानीय भीमप्रसाद दाहालले बताए । पर्यटकीयस्थलका रूपमा विकास भएमा यहाँको सडक विस्तार हुनुका साथै व्यापार व्यवसाय चलायमान हुँदा आर्थिकस्तर पनि वृद्धि हुने अपेक्षा लिइएको उनको भनाइ छ । पहिला वस्तुभाउका लागि घाँस र दाउरा खोज्न जाने वन क्षेत्रको संरक्षण गर्दै पर्यटकीयस्थलका रूपमा विकास गर्न सबैको सहयोगबाट मन्दिरका साथै आवश्यक पूर्वाधार निर्माण गर्न लागिएको स्थानीय कृष्णबहादुर महतले बताए । स्थानीय अमृतबहादुर थापाले भने, ‘पहिला मानिसले यहाँ बसोबास गरी खेतीपाती गर्दथे । खेतीका लागि बारीको पाटा खन्ने क्रममा यस ठाउँमा नागको बास थियो । नाग बसेको ठूलो ढुङ्गा फुटाउँदा नागलाई लागेर कुप्रो भएपछि सोही बेलादेखि यहाँ नागको पूजा गरिँदै आएको कथन छ ।’ सोही समयदेखि यहाँ खेती गर्न छोडिएको भन्दै अहिले अहिले युवापुस्ता धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गर्न जुटेकामा उनले खुशी व्यक्त गरे । केही वर्षअघिसम्म यहाँका स्थानीयले गाईबस्तु जङ्गलमा चराउन लैजाँदा यहाँको नाग स्तम्भमा गोठ र आईतबारे पूजा गर्दै आएका स्थानीय वृद्धा हरिप्रसाद दाहालले बताए । पछिल्लो समय युवापुस्ताले परम्परालाई छोड्दै गएपछि स्थानीय बस्नेतले महादेवको थान रहेको स्थानमा सामान्य पूजा मात्रै गर्दै आएका उनले सुनाए । सोही स्थान नजिकैबाट ढकाल गणशेस्थान हुँदै बगेको पानीले मङ्गलबार नुहाउने गरेमा शरीरको रोग पखालिन्छ भन्ने जनविश्वास अहिले पनि रहिआएको दाहालले बताए । बस्नेत गाउँ पुग्नका लागि बनेपा घोकेचौर हुँदै मोटरबोटाबाट जान सकिन्छ भने आजादडाँडाबाट समेत मोटरबाटो भएर यहाँ पुग्न सकिन्छ । पछिल्लो समयमा घोकेचौरबाट मोटरबाटो स्तरोन्नति भइरहेको छ । ढकाल गणेशस्थानबाट सिँढी निर्माणका लागि आवश्यक योजना बनाइरहेको संरक्षण मञ्चले जनाएको छ । निःशुल्क स्वास्थ्य शिविरबाट १७५ जना लाभान्वित काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ मङ्गलटारमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरमा एक सय ७५ जना लाभाविन्त भएका छन् । रोशी गाउँपालिका र भद्रदल गणको संयुक्त आयोजना तथा मेथिनकोट अस्पतालको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । वडा नं ९ स्थित मङ्गलटार स्वास्थ्य चौकीमा महाशिवरात्रि तथा अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सञ्चालन गरिएको उक्त शिविरमा एक सय ७५ ले स्वास्थ्य परीक्षण गराएका स्वास्थ्य चौकीका प्रमुख निशा बरालले जानकारी दिए । सामान्य उपचार गर्नेमा ६७, स्त्रीरोगसम्बन्धी ५१, हाडजोर्नी ९७, सामान्य सर्जरी १६ तथा अन्य स्वास्थ्य सेवा लिनेमा २६ जना रहेका छन् । शिविरमा रोशी–७, ८, ९, १०, ११ र १२ तथा तेमाल गाउँपालिका–८ का स्थानीयले सेवा लिएका थिए । उक्त शिविरमा निःशुल्क औषधिसमेत वितरण गरिएको थियो । शिविरमा गाउँपालिकाका अध्यक्ष दिनेश लामा, उपाध्यक्ष मिमबहादुर वाइबा, भद्रदल गणका प्रमुख, मेथिनकोट अस्पतालका अध्यक्ष कृष्णप्रसाद खनाल, अस्पतालका निमत्त सुपरिटेन्डेन्ट डा मधुकर दाहाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमख गङ्गालाल श्रेष्ठलगायतको उपस्थिति थियो । सो अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्षसहित १२ जनाले रक्तदान गरेका थिए । रासस

अस्ट्रेलियन पर्वतारोही एलीले बिनाअक्सिजन अन्नपूर्ण-१ हिमाल आरोहण गर्ने

काठमाडौं । अस्ट्रेलियाकी महिला पर्वतारोही तथा पूर्वगाइड एली पेपरले यही वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ हिमाल आरोहण गर्ने भएकी छन् । उनले २०२६ भित्र विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू अक्सिजनको प्रयोग नगरी आरोहण गर्ने लक्ष्य रहेको बताइन् । आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एली पेपरले विश्वको १० औँ अग्लो ९८,०९१ मिटर० उचाइको अन्नपूर्ण–१ को आरोहण गर्न लागेको बताइन् । अन्नपूर्ण–१ आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्येको एउटा हिमाल हो । उनी आफ्नो सपना पूरा गर्न तयारीका लागि हाल आफ्नो टिमसहित काठमाडौं आएकी हुन् । अन्नपूर्ण–१ को आरोहण उनले हिमाल आरोहण कम्पनी सेभेन समिट ट्रेक्समार्फत गर्न लागेकी जानकारी दिइन् । बिना अक्सिजन हिमाल आरोहण गर्ने यात्राको सुरुवात भने उनले सन् २००७ मा तिब्बतको माउन्ट चोयु हिमालबाट गरेकी थिइन् । पेपरले उनको लक्ष्यअन्तर्गत भने हालसम्म विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरू मध्ये दुई वटा हिमाल अक्सिजनको प्रयोग नगरी सफल आरोहण गरी सकेकी छन् । सन् २०२३ को जुलाई १५ तारिखका दिन विश्वको १२औँ अग्लो (८,०५२ मिटर) को ब्रोडपिक र विश्वको पाँचौँ अग्लो (८,१६३ मिटर) को मनासलु हिमाल सन् २०२३ को सेप्टेम्बर २८ तारिखमा सफल आरोहण गरी सकेको उनले जानकारी दिइन् । ब्रोडपिक बिना अक्सिजन सफल आरोहण गर्ने उनी पहिलो अस्ट्रेलियाली महिला बनेकी थिइन् । यससँगै ४८ वर्षीय पेपरले चुनौतीहरूको सामना गरिरहेका महिलाहरूलाई आफ्नै चुनौतीहरू पार गर्दै त्यसलाई जित्न, प्रोत्साहित गर्ने लक्ष्य राखेकी बताइन् । उनले भनिन, ‘मेरो आफ्नै आरोहण शैलीका कारण मैले तोकेको समयमा नै आफ्नो लक्ष्य हासिल गर्ने कुरामा म विश्वस्त छु । मैले मेरो सम्पूर्ण जीवन यसका लागि शारीरिक रूपमा मात्र होइन, मानसिक, भावनात्मक, आध्यात्मिक रूपमा तालिम दिएको छु । यही सबै कुराले मलाई यो गर्न प्रेरित गरेको छ ।’ उनको हिमाल आरोहणमा २३ वर्षको अनुभव रहेको छ । यो वसन्त ऋतुमा नेपालको अन्नपूर्ण–१ सहित तीन वटा हिमालहरू आरोहण गर्ने योजना रहेको उनले बताइन् । विश्वमा हालसम्म छ जनाले मात्र अक्सिजन बिना आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरू आरोहण गरेका छन् । त्यसमध्ये पनि विश्वका आठ हजार मिटरभन्दा अग्ला सबै १४ हिमालहरूको मुख्य चुचुरोमा पुगेका भने दुई जना पुरुष मात्र हुन्, उनीहरूलाई त्यसको लागि १६ वर्ष लागेको थियो । विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालअन्तर्गत सगरमाथा, केटु, कञ्चनजङ्घा, ल्होत्से, मकालु, चोयु, धौलागिरि, मनासलु, नाङ्गा पर्वत, अन्नपूर्ण–१, गाशरब्रम–१, ब्रोडपिक, गाशरब्रम–२, शिशापामा पर्दछन् ।