कानुन क्षेत्रमा योगदान पुर्‍याउनेलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने

काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले आफ्ना संस्थापक अध्यक्षको स्मृतिमा पुरस्कार स्थापना गरेको छ । कम्पनीले कानुन तथा न्यायका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिलाई ‘स्व सुरेन्द्रबहादुर बस्नेत पुरस्कार’ प्रदान गर्ने भएको छ । हरेक दुई वर्षमा नेपालमा कानुन तथा न्यायका क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई पुरस्कार प्रदान गरिने बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । उक्त प्रयोजनका निम्ति बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनका सचिव अधिवक्ता श्यामकुमार खत्रीले बुधबार सम्झौतामा हस्ताक्षर गरेका छन् । पुरस्कारका लागि बुद्ध एयरले २५ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको छ । कोषबाट प्राप्त हुने ब्याजबाट हरेक दुई वर्षमा एक जनालाई सम्मान गरिने कम्पनीले जनाएको छ । बुद्ध एयरले पहिलो वर्षका लागि थप पाँच लाख रकम पनि प्रदान गरेको छ । सुरेन्द्रबहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश थिए । उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष थिए । उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगको अध्यक्ष भएर पनि सेवा पुर्‍याएको थिए ।

मेलाबाट भएको आम्दानीबाट पर्यटकीय पूर्वाधार निर्माण

म्याग्दी । मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर म्याग्दीको धवलागिरि गाउँपालिका–७ मच्छिममा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । मच्छिमको भूमे युवा क्लबले गत वर्ष श्रीपञ्चमी पर्वका अवसरमा आयोजना गरेको मेलाबाट भएको आम्दानीले मच्छिमको डाँडामा पर्यटकीय पूर्वाधार निर्माण गरेको हो । क्लबका पूर्वअध्यक्ष मिलन छन्त्याल (शेरबहादुर) ले मच्छिमको डाँडामा दृश्यावलोकनस्थल, सार्वजनिक शौचालय र प्रतिक्षालय निर्माण गरिएको जानकारी दिए । ‘मेला सञ्चालन गरेर भएको आम्दानी, दाताको सहयोग र श्रमदान जुटाएर मच्छिम भ्यू स्टेशनमा पूर्वाधार बनाएका हौँ,’ उनले भने, ‘पूर्वाधार निर्माणमा श्रमदानबाहेक करिब रु नौ लाख खर्च भएको छ ।’ मच्छिमको दृश्यावलोकनस्थलबाट मच्छिम र छिमेकी गाउँ, नागबेली परेर बगेको म्याग्दी नदी, धवलागिरि, गुर्जालगायत हिमालको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । त्यहाँ जानकारी र सूचनामूलक बोर्ड राखिएको छ । गर्मीमा शीतल र चिसोमा घाम ताप्दै दृश्यावलोकन गर्न सकिने भएको छ । पानी पर्दा, हावाहुरी चल्दा प्रतिक्षालयमा आश्रय लिन सकिन्छ । यसैगरी शवदाहस्थल बनाएको, खेलमैदान र खानेपानी आयोजना मर्मत गरिएको छन्त्यालले जानकारी दिए । हेम नमूना आवासीय मावि, काफलडाँडा, मच्छिमको भूमे आधारभूत, फलियागाउँको धनजनता माविलाई शैक्षिक सामग्री सहयोग गरिएको छ । गाउँका विपन्नलाई दाल, चामल सहयोग गरिएको छन्त्यालले बताए । युवाहरूलाई फुर्सदको समयमा सामाजिक काम र खेलकुद गतिविधिमा सहभागी गराउँदै आएको छ । मच्छिम गाउँमा एक सय २० घरधुरीको बसोबास छ । अल्पसङ्ख्यक छन्त्याल, दलित, थकाली, क्षत्री र मगर समुदायको बसोबास रहेको छ । गाउँपालिकाको केन्द्र मुना जोड्ने मूल सडकमा पर्ने मच्छिमगाउँ ‘गुरिल्ला’ पदमार्गमा पर्छ ।

क्यान्सरका बिरामीलाई यती एयरलाइन्सको निःशुल्क टिकट, कसरी गर्ने बुकिङ ?

काठमाडौं । यती एयरलाइन्सले क्यान्सरका बिरामीहरूलाई निःशुल्क हवाई टिकट दिने भएको छ । एयरलाइन्सले फागुन २८ गतेबाटै लागू हुने गरी सो निर्णय गरेको हो । बिराट क्यान्सर इन्स्टिट्युटसँगको सहकार्यमा एयरलाइन्सले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत क्यान्सरका बिरामीलाई सहयोग गर्ने उद्देश्यले यो सुविधा ल्याएको हो । यससँगै यो सेवा बिराट मेडिकल कलेज टिचिङ हस्पिटल (बिराट क्यान्सर इन्स्टिट्युट)मा उपचारका लागि यात्रा गर्ने बिरामीको लागि उपलब्ध हुने छ । बिरामीहरुले आफ्नो उपचारका लागि डाक्टरको अप्वाइन्टमेन्ट लिइसकेपछि टिकट बुकिङ्गका लागि अस्पतालको नम्बर ९८५२०४४२६६ मा सिधै सम्पर्क गर्न सक्नेछन् । यात्रुले विमानस्थलमा चेक-इन गर्दा यती एयरलाइन्सको काउन्टरमा अस्पतालद्वारा क्यान्सरको बिरामी प्रमाणित गरिएको परिचयपत्र पेश गर्नुपर्ने छ । विशेषज्ञ चिकित्सकहरुद्वारा क्यान्सरको बिरामी भएको प्रमाणपत्ररपरिचयपत्र लिनका लागि बिरामीहरुले बिराट क्यान्सर इन्टिट्युटमा सम्पर्क गर्न सक्ने कम्पनीले जानकारी गराएको छ ।