बराहक्षेत्र कुम्भमेलामा ३० लाख पर्यटक भित्र्याउने लक्ष्य
धरान । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतराधाममा यही चैत्र २७ गतेदेखि वैशाख २८ गतेसम्म महाकुम्भ मेला आयोजना हुने भएको छ । पूर्ण महाकुम्भ मेला मूल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गरेर यसपटकको मेलामा ३० लाख पर्यटक आउने आंकलन गरेर सोहीअनुरूप व्यवस्थापन थालिएको जनाएको छ । आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले आन्तरिक तथा बाह्य पर्यटक गरी ३० लाख आउने अपेक्षा गरेर व्यवस्थापनका लागि विभिन्न २६ वटा उपसमिति गठन गरिएको बताए । कुम्भमेला प्रारम्भ हुनुपाँचदिन अघिदेखि मेला सम्पन्न भएको पाँचदिन पछिसम्म चतरा बजार क्षेत्रमा मदिरा र माछामासु बिक्रीमा प्रतिबन्ध लगाइने उनले बताए । उनले भने, ‘१२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलालाई सफल बनाउन कुम्भ क्षेत्रमा मदिरा र माछामासु नबेच्न अनुरोध गरेका छौँ ।’ उनले मेला अवधिभर घरआँगन सफा राख्न पुष्पयुक्त गमलाले पाहुनाको स्वागत गर्न प्रत्येक घरमुलीलाई अनुरोध गरेको तथा सम्भव भएसम्म ‘होमस्टे’का रूपमा आफ्ना निवासलाई तयार गर्न आग्रह गरिएको बताए । मेला मूल आयोजक समितिका उपाध्यक्ष बराहक्षेत्र– २ का वडाध्यक्ष होमप्रसाद गौतमले मेला तयारीसम्बन्धी ८० प्रतिशत काम सम्पन्न भएको जानकारी दिए । उनले कुम्भमेलाले बराहक्षेत्र र धरान तथा आसपासका क्षेत्रको धार्मिक पर्यटन विकासमा सहयोग पुग्ने बताए । हरेक १२ वर्षमा लाग्ने पूर्णमहाकुम्भ मेलाका बेला धरानको विजयपुरमा अवस्थित पिण्डेश्वर महादेवको दर्शन गर्न समितिले आग्रह गरेको छ । भारतका चार स्थान इलाहावाद (उत्तर प्रदेश), उज्जैन (मध्य प्रदेश), नासीक (महाराष्ट्र) र हरिद्वार (उत्तराखण्ड)मा लामो समयदेखि कुम्भमेला आयोजना हुँदै आएको छ । बराहक्षेत्रमा भने २०५९ सालदेखि कुम्भमेला आयोजना हुन थालेको हो । यहाँ प्रत्येक ६ वर्षमा अर्धकुम्भ र १२ वर्षमा पूर्णमहाकुम्भ मेला लाग्ने गरेको छ । सप्तकोशी नदी किनारमा अवस्थित बराहक्षेत्र र धरानको पिण्डेश्वर धाम कुम्भमेलासँग जोडिएकाले यो क्षेत्रमा कुम्भमेला आयोजना हुँदै आएको बताइएको छ । रासस
भरतपुर घुम्न आउने पर्यटकले बाघ हेर्न पाउने
चितवन । भरतपुर भ्रमण वर्षमा घुम्न आउने पर्यटकले बुधबारदेखि सहजै बाघ हेर्न पाउने भएका छन् । चितवन राष्ट्रिय निकुञ्जले निर्माण गरेको वन्यजन्तु उद्धार केन्द्रमा बाघ ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । दुईवटा भाले बाघ केन्द्रमा ल्याएर देखाउन लागिएको हो । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको केन्द्रमा बाघ शुभारम्भ गरी सर्वसाधारणका लागि बाघ देखाइने छ । भरतपुर भ्रमण वर्षमा घुम्न आएका पर्यटकलाई हेर्न सहज हुने र निकुञ्जलाई समेत बाघ व्यवस्थापनमा सहजीकरण हुने गरी बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा थुनेर राखिएका बाघलाई स्थानान्तरण गरेर केन्द्रको खुल्ला खोरमा बाघ देखाउन लागिएको हो । निकुञ्जको मुख्यालय कसरामा चारवटा बाघ रहेका थिए भने सौराहा क्षेत्रमा दुई वटा बाघ रहेका छन् । ती सबै बाघ उद्धार गरी ल्याइएको हो । जिल्लाको माडी, देवनगर, मेघौली, कुमरोज, नवलपुर र बाँकेबाट समस्याग्रस्त बाघ ल्याएर राखिएको थियो । तीनै बाघमध्ये कसरमा रहेका दुइटा भाले बाघलाई देवनगरमा ल्याएर सर्वसाधारणका लागि देखाउन लागिएको हो । भरतपुर महानगरपालिकाको आग्रहमा निकुञ्जले बाघलाई सर्वसाधारण्लाई हर्न मिल्ने गरी देनगरमा ल्याएको हो । महानगर प्रमुख रेनु दाहालले निकुञ्ज घुम्न आउने अधिकांश पर्यटकले बाघ देख्न नपाएको भन्दै अब चाहना राख्ने सबैले देख्न पाउने बताइन् । निकुञ्जभित्र खोरमा थुनेर राखिएका बाघलाई उद्धार केन्द्रमा राखेर पर्यटकलाई देखाउन लागिएको उनको भनाइ छ । उनले भनिन्, ‘पर्यटकलाई केन्द्रमा राखिएका बाघ गैँडाजस्ता जनावर देखाइने छ ।’ यसबाट पर्यटकले हेर्न पाउने र उनीहरूले तिरेको राजस्वले ती जनावर पाल्न सकिने उनको राय छ । महानगरपालिकाले यसको व्यवस्थापनका लागि एक करोड रुपैयाँ खर्च गरेको छ । खोर निर्माण, मचना र सडक निर्माणमा महानगरले सहयोग गरेको हो । भ्रमण वर्षका लागि केन्द्र गन्तव्यस्थलको रूपमा विकास हुने उनले बताइन् ।
रेमिट्यान्स पठाउने श्रमिकलाई विमानस्थलमा हैरानी नदिन गृहमन्त्री लामिछानेको निर्देशन
काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ‘रेमिट्यान्स’ पठाएर देशको अर्थतन्त्रमा योगदान दिने श्रमिकलाई विमानस्थल प्रयोग गर्दा अमर्यादित र अभद्र व्यवहार नगर्न अध्यागमनका कर्मचारीलाई निर्देशन दिएका छन् । उनले अनावश्यक दुःख, कष्ट र हैरानी दिने प्रवृत्ति तत्काल सुधार्न पनि आग्रह गरेका हुन् । अध्यागमन विभागमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सहानुभूतिसहित सकारात्मक व्यवहार गरी आजैदेखि सेवाग्राहीलाई परिवर्तनको अनुभूति गराउन पनि आग्रह गरे । उनले अध्यागमन सुधारका योजना ल्याउन आग्रह गर्दै उक्त योजनामा मन्त्रालयले सक्दो सहयोग गर्ने विश्वास दिए । केही खराब मान्छेका कारण धेरै इमान्दारले दोष पाउने गरेको सन्दर्भ जोड्दै उनले खराबलाई बेलैमा चिनेर इमान्दारलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए । अध्यागमनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार प्रविधिमैत्री बनाई जनशक्तिलाई पर्याप्त तालिम र कार्यस्थललाई स्रोत–साधान सम्पन्न बनाउन केही चुनौती रहेको स्वीकार गर्दै उनले प्रयास जारी राख्न अनुरोध गरे । उनले भने, “हिजोका घटनामा कसैलाई दोषारोपण गर्न चाहान्न, भविष्यमा त्यस्ता घटना र प्रवृत्ति दोहोरिनुहुन्न, दलीय आबद्धताका कारण कसैले संरक्षण गर्छ भन्ने नसोच्नु होला ।” सो क्रममा गृहसचिव एकनारायण अर्यालले सकारात्मक सोचाइ र व्यवहारका साथ सेवा दिन, प्रविधिमैत्री बन्न, मनसायपूर्ण गल्ती नगर्न निर्देशन दिए । कार्यक्रममा विभागका महानिर्देशक कोशहरि निरौलाले विभागको काम–कारबाही, समस्या र चुनौतीबारे जानकारी गराएका थिए ।