सिद्धार्थ ग्रुपको चन्द्रौटास्थित रिसोर्टलाई पर्यटन विभागद्वारा ‘चार तारे होटल’को मान्यता

कपिलवस्तु । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा कपिलवस्तुको चन्द्रौटामा अवस्थित ‘सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट’ले ४ तारे होटल स्तरको मान्यता पाएको छ । पर्यटन विभागले होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति गरेको हो । ‘लुम्बिनी प्रदेशमा सञ्चालित उक्त रिसोर्टलाई पर्यटन ऐन अनुसार चार तारा स्तरको होटलमा स्तर वर्गीकरण गरी यो इजाजतपत्र दिइएको छ’ पर्यटन विभागले भनेको छ । २५ विघा क्षेत्रफलमा विस्तारित रिसोर्टमा २० डिलक्स, ६२ वटा सुपर डिलक्स, २ वटा स्विट रुम गरी ८४ वटा रुम रहेका छन् रहेका छन् । साथै साना ठूला गरी पाँच वटा कन्फ्रेरेन्स हल रहेको यस रिसोर्टमा रहेको पोखरीमा मोटरबोट सयर गर्न पाइन्छ । सोही पोखरीमा होटलको ‘फिस फार्म’ समेत रहेको छ । त्यस क्षेत्रमा उच्च सङ्ख्यामा भारतीय पर्यटक भित्र्याउन सफल रिसोर्टले ४ तारा स्तरको मान्यता पाएसँगै सो ब्यापारमा अझ राम्रो गर्ने आशा गरिएको सिध्दार्थ हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले बताए । रिसोर्टमा ज्याकुजी, स्पा लगायत सुबिधा उपलब्ध छन् । हालसम्म ७५ जनाले रोजगारी पाएकोमा अब केही समयमै क्यासिनो सन्चालन पस्चात झण्डै ३८० जनालाई रोजगारी मिल्ने सिईओ न्यौपानेले बताए । रिसोर्टले यसअघि ४४औं विश्व पर्यटन दिवसको अवसरमा ग्रामीण क्षेत्रमा स्थानीय उत्पादन, स्थानीय रोजगारी एवम् एग्रो टुरिजम मार्फत पर्यटन प्रवर्द्धनमा योगदान पुऱ्याए बापत राष्ट्रिय सम्मान पाइसकेको छ । यस्तै यस क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा यस रिसोर्टले ठूलो भुमिका निर्वाह गर्ने रिसोर्टका अध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

संरक्षणको पर्खाइमा ‘चन्द्रपाल थेपे ढापपोखरी’

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ । सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन नसकेको हो । चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएकोे बताए । स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी संकटमा परेको उनको भनाइ छ । सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन । प्रचुर सम्भावना भएर पनि संकटमा परेको संरक्षण समितिका अध्यक्ष भट्टराईले बताए । ‘ढापपोखरी पुग्ने सडक स्तरोन्नति गर्नुपर्ने, पोखरी वरिपरि पदमार्गको स्तरोन्नति गर्नुपर्ने, सेल्फी पार्क बनाउनुपर्ने, पानीको फोहोरा फाल्ने संरचना निर्माण गर्नुपर्ने, डुंगा सञ्चालनका लागि व्यवस्थित बोटघर निमर्ण गर्नुपर्ने, वरीपरी ड्रेन बनाउनुपर्नेलगायतको संरचना र पूर्वाधार निर्माण गर्नुपर्ने आवश्यक छ,’ अध्यक्ष भट्टराइले भने, ‘यसका लागि स्थानीय सरकारको हैसियतले सन्दकपुर गाउँपालिकाले स्वामित्व ग्रहण गरी आवश्यक पहल गर्नुपर्छ ।’ ढापपोखरी स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भए पनि आवश्यक संरक्षणको अभावमा संकटमा परेको समितिका उपाध्यक्ष निरबहादुर फागोको फागोले बताए । ‘पोखरीलाई पर्यटकीय गन्तव्य बनाउनका लागि यसको संरक्षण र प्रवर्द्धनसँगै र प्रचारप्रसार गर्न आवश्यक छ,’ उनले भने, ‘पोखरीको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गर्न सकेमा धेरै पर्यटकको उपस्थिति हुने सम्भावना छ, त्यसका लागि तिनै तहको सरकारको ध्यान जान जरुरी छ ।’ ढापपोखरीलाई पर्यटकीयस्थलका रूपमा विकास गर्नका लागि स्थानीय, प्रदेश र संघीय सरकारसमक्ष योजना प्रस्ताव गरिँदै आएको अध्यक्ष भट्टराईले बताए । सुरुका वर्ष पोखरीको संरक्षण र विकासका लागि केही बजेट आए पनि पछिल्लो चार वर्षदेखि आउनै छाडेको उनको गुनासो छ । ढापोखरीसँगै रहेको गजाधर–धनमाया रंगशाला र मन्दिरलाई समेत पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने योजनाका साथ आफूहरू लागिपरेको भए पनि स्रोतसाधनको अभावमा समस्या रहेको उनले बताए । ढापपोखरी ५० रोपनी क्षेत्रफलमा फैलिएको छ । दुई सय १५ मिटर लम्बाइ र एक सय मिटर चौडाइ रहेको पोखरीको क्षेत्र विस्तार गर्ने पर्याप्त ठाउँ रहेकाले आवश्यकताअनुसार क्षेत्रफल बढाउन सकिने भट्टराईले बताए । विसं २०७२ वैशाख १ देखि स्थानीयले जनश्रमदान गरेर ढापपोखरी निर्माण अभियान सुरु गरेका थिए । दलदल र सिमले भरिएको उपत्यकाजस्तो क्षेत्रमा स्थानीयले निरन्तरको प्रयासपछि पोखरीको निर्माण भएको हो । क्षेत्रको पूर्वी मोहोडामा बाँस, हिलोमाटो र ढुंगाको बाँध बनाएर काम थालिए पनि अहिले मजबुत ड्याम बनाइएको छ । डुंगा सञ्चालन थालिएपछि सन्दकपुर, टोड्के झरना, माबुथाम, हाँगेथाम, चोयाटार, जौबारीलगायत क्षेत्रमा आउने पर्यटक पनि पुग्ने गरेका छन् । इलाम सदरमुकामदेखि करिब २१ किलोमिटर उत्तरमा पर्ने ढापपोखरी पुग्ने पर्यटकका लागि स्थानीयले घरबास सञ्चालन गरेका छन् । ढापपोखरीमा माछापालन थालिएपछि आगन्तुकलाई आकर्षणको केन्द्र भएको छ । तराईमा पाइने सारसलगायत विभिन्न चराचुरुङ्गीसमेत पोखरीमा आउने गरेका छन् ।

नेपालगञ्जको वाटर पार्कमा मोटरबोट सन्चालनमा, कति लाग्छ शुल्क ?

नेपालगञ्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले नेपालगञ्ज स्थित वाटरपार्कमा सेवा विस्तार गरेको छ । १ करोड ८ लाख रुपैयाँ लागतमा तयार गरेर परिक्षणकालिन व्यावसायिक सेवा सुरु गरेको कम्पनीले आउँदो बैशाखमा भब्य उद्घाटन गर्ने तयारी गरेको संचालक बिबि (बिष्णु) ढकालले बताए । खासै प्रयोगमा अनाएको नेपालगञ्जको वाटर पार्क नामक पोखरीलाई मोटरबोट चलाउन योग्य बनाउन करिब दुई महिना समय लागेको ढकालले जानकारी दिए । वाटरपार्कमा पानीको सतह कायम राख्न कम्पनीले नै बोरीङ गरेर प्रयोग गरेको छ । कम्पनीले वाटरपार्कमा मोटरबोट संचालन गरे वापत नेपालगञ्ज महानगरपालिकालाई वार्षिक २५ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए। कति लाग्छ शुल्क ? पर्यटकले मोटरबोट चड्न २ सय पचास रुपैयाँ तिर्नुपर्छ । बाह्रसय बर्गमिटरको तालमा पर्यटकले मोटरबोटमा घुम्दै ४ किलोमिटर दुरी सयर गर्न सक्नेछन् । के छ आगामी योजना ? नेपालगन्जको सोही पार्कमा जेट स्कि, ५ वटा पावरस्पोर्ट्स, फ्लोटीङ रेष्टुरेण्ट, अपोजिट बन्जि, साइक्लिङ, जिपलाइन लगायतको सेवा समेत विस्तार गर्ने योजना रहेको ढकालले जानकारी दिए । यस अघि चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुले तालमा पनि मोटरबोट संचालनमा ल्याउने योजना बनाएको उनले जानकारी दिए ।