पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग
गण्डकी । पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यका साथ गण्डकी प्रदेश सरकारको सहयोगमा फेवाताल किनारामा भ्यू फेवा, राउन्ड फेवा पदमार्गको काम अघि बढेको छ । फेवा ड्याम साइडस्थित वनस्पति पार्कबाट रानीवन हुँदै अनदुसम्मका लागि पदमार्ग बनाउन सरकारले ५० लाख रुपैयाँ बजेट छुट्ट्याएर काम सुरु गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेशका सचिव कुमानसिंह गुरुङले जानकारी दिए । यस आर्थिक वर्षमा करिब तीन किलोमिटर दूरीको पदमार्ग तयार हुने जानकारी दिँदै उनले उक्त मार्गका १० स्थानमा काठेपुल राख्नुपर्ने देखिएको बताए । हालसम्म लगभग दुई किलोमिटर पदमार्ग तयार भइसकेको उनले जानकारी दिए । यसैबीच निर्माणाधीन पदमार्गको आज मन्त्रालयका प्रतिनिधि एवम् पर्यटन व्यवसायीले स्थलगत अवलोकन गरेका छन् । गण्डकी प्रदेशका पूर्व उद्योग, पर्यटन, वन तथा वातारणमन्त्री दिपेन्द्रबहादुर थापा, मन्त्रालयका सचिव कुमानसिंह गुरुङ, पर्यटन निर्देशनालयका पदाधिकारी, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थीलगायत पर्यटन व्यवसायीले निर्माण कार्यको अवलोकन गरेका हुन् । पोखरा पर्यटकीय राजधानी घोषणा भइसकेको अवस्थामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पर्यटकीय पूर्वाधार आवश्यक रहेका अवस्थामा बन्न लागेको यस पदमार्ग बहुउपयोगी बन्ने टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले बताए । ‘पोखरामा पर्यटकको बसाइ लम्ब्याउने किसिमका पूर्वाधार बन्नु अपरिहार्य छ,’ उनले भने, ‘भ्यु फेवा, राउन्ड फेवा पदमार्ग पोखराको पर्यटनमा महत्वपूर्ण हुने हामीले विश्वास लिएका छौं ।’ पदमार्ग निर्माणसँगै पोखरामा आएका जो कोही पर्यटकले छोटो समयमा हिमाल, ताल, र पोखराबजारको दृश्यावलोकन गर्दै पदयात्रा गर्न पाउने छन् । पोखरालाई आधार बनाएर आसपासका अन्नपूर्ण आधार शिविर पदमार्ग, मर्दी हिमाल पदमार्ग, घोरेपानी, पुनहिल आदि पदमार्गमा यात्रा गर्न जाने पदयात्रीका लागि पनि पूर्वअभ्यासका लागि यो पदमार्ग उपयोगी बन्ने विश्वास लिइएको छ । यस पदमार्गलाई ड्याम साइडदेखि रानीवन, मेवाखोला हुँदै मार्गीसम्म पुर्याउने लक्ष्य लिइएको छ ।
उड्डयन प्राधिकरण, निगम र एयर इन्डियाविरुद्ध आन्दोलन गर्ने पर्यटन मजदुर संघको चेतावनी
काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाई क्षेत्रमा कार्यरत श्रमिकहरूले सरकारको अधिनमा रहेका संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमले शोषण गरिरहेको भन्दै आन्दोलनको चेतावनी दिएका छन् । सोमबार युनियन अफ ट्रेकिङ ट्राभल्स र्याफ्टिङ वर्कर्स नेपाल (युनिट्राभ) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा क्षमता अभिवृद्धि तालिमसँगै पत्रकार सम्मेलन गर्दै नागरिक उड्डयन प्राधिकरण र वायुसेवा निगममा कार्यरत कर्मचारीलाई गरेको शोषणबारे उजागर गर्दै शोषण अन्त्य नभए आन्दोलन थाल्ने चेतावनी दिएका हुन् । त्यसैगरी एयर इन्डिया टाटाले गरेको शोषणको भण्डाफोर गर्दै आन्दोलनमा उत्रिने श्रमिकहरूको चेतावनी छ । यी संस्थाले श्रमिक एवं कर्मचारीलाई तलब भत्तादेखि सबै सेवा सुविधामा विभेद गरेको उनीहरूको आरोप छ । यस्तै कार्यथलोमा मर्यादित ज्यालाको साथै सामाजिक सुरक्षा, व्यवसायजन्य स्वास्थ्य सुरक्षा नभएको उनीहरूले बताएका छन् । यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले श्रमिकहरूले मे दिवसजस्तो श्रमिकको चाड, महिला दिवसदेखि सिपमूलक कार्यक्रममा सहभागी हुन जाँदा उल्टै तलब, भत्ता काट्ने र श्रमिकलाई शोषण गर्ने कार्य भइरहेको भन्दै यसप्रति ध्यानाकर्षण भएको जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणकाे शोषण युनिट्राभले जनाएअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणमा दुई फरक तरिकाबाट श्रमिक राखिएको र त्यसमध्ये आउट सोर्सिङ कम्पनीबाट रोजगारीमा राखिएका श्रमिकलाई कानुनअनुसार पाउनुपर्ने बिदा सुविधा नदिने, ४ वर्षदेखि वृद्धि भएको तलब–भत्ता नदिने, कानुनले दिएको अन्य सेवा, सुविधा पनि नदिने अवस्था रहेको छ । श्रमिकका परिवारमा कसैको निधन भएर बस्नुपरेको बिदासमेत श्रमिकले नपाउने भन्दै उनीहरूले सुत्केरी स्याहार बिदा बस्दा पनि बिदा नदिई तलब काट्ने गरेको गुनासो गरेका छन् । ‘सुत्केरी स्याहारका लागि ३ दिन बिदा बस्दा ५ दिनको तलब काट्ने, ५ दिन बिदा बस्दा आठ दिनको तलब काट्ने जस्ता प्रवृति हुने गरेको छ, यस्ता विषयमा मुख्य रोजगारदाता नेपाल नागरिक उड्डयन प्राधिकरणसँग श्रमिकका समस्याबारे कुरा राख्दा आउट सोर्सिङ कम्पनीलाई राखेर समस्या समाधान गर्नुको साटो उल्टै ठेकेदारको पहरेदारको रूपमा कार्य गरी श्रमिकलाई हप्काउने गरेको छ,’ यूनिट्राभका अध्यक्ष पराजुलीले भने, ‘यसबाट के प्रष्ट हुन्छ भने श्रमिकको पारिश्रमिक कटौति गरेर नागरिक उड्डयन प्राधिकरणका केही कर्मचारीहरु रकमको चलखेल गरी फाइल मिलाएर श्रम ऐन र श्रमिकले पाउनुपर्ने सेवा, सुविधामा कुठाराघात गरिरहेका छन् ।’ यूनिट्राभले यस्ता गलत कार्यको घोर विरोध गर्दै गलत क्रियाकलापको विरुद्धमा उत्रने चेतावनी दिएको हो । नेपाल वायुसेवा निगमतर्फ शोषण यूनिट्राभका अनुसार नेपाल वायुसेवा निगममा पनि श्रम शोषण भइरहेको छ । ‘निगमअन्तर्गत नेपाल वायुसेवा निगमबाटै पारिश्रमिक लिने ट्रान्सपोर्ट ग्राउन्ड ह्यान्डलिङदेखि कार्यालयमा ६ वर्षदेखि २८ वर्षसम्म कन्ट्रयाक्ट, क्याजुअल, ज्यालादारी, करारमा कार्यरत करिब ६०० जना श्रमिकको उपदान, सञ्चयकोष, अरु कर्मचारी सरहको सेवा, सुविधा दिइएको छैन,’ यूनिट्राभको विज्ञप्तिमा उल्लेख छ, ‘कति श्रमिकको जागिरकोक्रममा निधन भइसके पनि ती निधन भएका परिवारका सदस्यले आफ्ना निधन भएका व्यक्तिको सञ्चयकोष, उपदानबापतको केही नपाउने र व्यवस्थापनले थाहा नपाएको भन्दै श्रमिकमाथि शोषण गरिरहेको छ ।’ एयरलाइन्समा भएको विभेद एवं शोषण अन्त्य गर्न माग गर्दै श्रमिकहरूले आफूहरूले सामाजिक सुरक्षा अन्तरगत पाउनुपर्ने मौलिक हकभित्र रहेका सबै सेवा, सुविधा उपलब्ध गराउन र श्रमिकलाई बाँच्न पुग्ने हिसाबले तलब, भता उपलब्ध गराउन माग गरेका छन् । अध्यक्ष पराजुलीले भने, ‘नेपाल एयरलाइन्सभित्र आउट सोर्सिङ कम्पनीद्वारा पनि व्यापक श्रम शोषण भइरहेको छ, निगमले लगभग ४ सय वटा विभिन्न आउटसोर्सिङ कम्पनिबाट श्रमिक आपूर्ति गराएर काम लगाएको छ, ती श्रमिकलाई ४ वर्षदेखि तलब र कुनै प्रकारको सेवा, सुविधा बढाउने काम भएको छैन, तलव वृद्धि बारम्बार माग गर्दा पनि सुनुवाइ भएको छैन, श्रमिकका बारेमा कुरा गर्दा आउट सोर्सिङ कम्पनीले मुख्य रोजगारदाता नेपाल एयरलाइन्सलाई देखाउने, मागपत्र राख्न जाने श्रमिकलाई गर्दै नगरेको गल्ती देखाएर पास खोसिदिने कार्य नेपाल एयरलाइन्सका केही माथिल्लो तहका कर्मचारीबाट हुँदै आएको छ ।’ नेपाल एयरलाइन्समा तलब, सेवा, सुविधा, बिदादेखि सामाजिक सुरक्षाको बारेमा श्रमिकले भनाइ राख्दा प्रतिसोधको भावना राखेर रोजगारीबाट हटाउनेसम्मको धम्की दिने कार्य भइरहेको श्रमिकहरूको गुनासो छ । त्योसँगै श्रमिकले पाउनुपर्ने सेवा, सुविधा नदिइ श्रमिकलाई दिएको भनेर कागज मिलाएर नेपाल एयरलाइन्स एयरपोर्टमा रहेको कार्यालय र आउट सोर्सिङ कम्पनीले मिलोमतो गरेर आर्थिक चलखेल गरिरहेको यूनिट्राभको आराेप छ । एयर इन्डिया टाटाकाे शोषण यूनिट्राभले नेपालमा ४ दशकदेखि पहिला इन्डियन एयरलाइन्स त्यसलगत्तै एयर इन्डिया र हाल नाम परिवर्तन गरेर एयर इन्डिया टाटाको नामबाट उडान भरिरहेको एयर इन्डिया टाटाले व्यापाक श्रम शोषण गरिरहेको जनाएको छ । यूनिट्राभका अनुसार स्थायी कर्मचारी हटाउँदै करार गरेर राख्ने, करार गरेकाहरूलाई सामाजिक सुरक्षा अन्तरगतको उपदान, सञ्चयकोषदेखि बीमा पनि नगरी केही नदिएको र कर्मचारीबीच विभेद गरेको छ । माथिल्लो तहमा कार्यरत कर्मचारीले व्यवस्थापकलाई राइट ह्यान्डको रूपमा सहजता पुर्याउन यलो युनियन बनाएर आफू अनुकुल प्रमोशन, ज्याला वृद्धि गर्ने गरेको यूनिट्राभले जनाएको छ । एयर इन्डिया टाटामा श्रम ऐन नियम विपरित श्रम सम्झौता गरेर काममा लगाएको र यो तत्काल अन्त्य हुनुपर्ने यूनिट्राभको माग छ । हवाई क्षेत्रमा रहेको समस्या तत्काल सम्बोधन नगराइए त्यसको प्रतिरोधमा उत्रने यूनिट्राभको चेतावनी छ ।
मिचाहा झारले ढाकिँदै विश्व रामसार सूचीमा रहेको घोडाघोडी ताल
कैलाली । विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह प्रजातिको बेसरम झारले ढाकिँदै गएको छ । नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभयआरण्य क्षेत्र) का रूपमा परिचित घोडाघोडीतालको उत्तर क्षेत्र र पूर्वी क्षेत्र बेसरम झारले ढाकेको हो । घोडाघोडी तालको सात दशमलव पाँच हेक्टर क्षेत्रफल मिचाह प्रजाति बेसरमले ढाकेको पक्षी संरक्षण संघका सकजकर्ता हिरुलाल डगौराले जानकारी दिए । यसैबीच, उक्त मिचाहा प्रजाति तालको केही भागमा हटाइएको छ । सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट डिभिजन वन कार्यालय पहलमानपुरको वार्षिक कार्यक्रमअन्तर्गत बजेट छुट्याएर मिचाहा प्रजाति बेसरम झार हटाएको डिभिजन वनकार्यलय पहलमानपुरका डिभिजनल वन अधिकृत रामविचारी ठाकुरले बताए । ‘हाल तीन लाख बजेट विनियोजन गरी मिचाहा प्रजाति हटाएका छौं,’ अधिकृत ठाकुरले भने, ‘ताल ढाकिएको सम्पूर्ण क्षेत्रमा हटाउनका लागि बजेट अपुग छ ।’ उनका अनुसार यो सुरुआती चरण हो । हाललाई दुई दशमवलव पाँच हेक्टर क्षेत्रफलमा सफाइ गरिएको छ । आगामी दिनमा स्थानीय तह, सुरक्षा निकाय र संरक्षणमा सक्रिय संघसंस्थाहरूले मिचाह प्रजाति नियन्त्रण गर्ने लक्ष्य राखिएको छ । यसअघि मिचाह प्रजाति हटाउने कार्य सिमसार संरक्षण सदुपयोग आयोजना र चरा सरक्षण नेटवर्क कैलालीले गरेका थिए । पछि बजेट अभावका कारण नियमित गर्न नसकेको चरा संरक्षण नेटवर्क कैलालीका अध्यक्ष दयाराम चौधरीले बताए । उनले भने, ‘बेसरम झार सफाइ गरिएन भने सो क्षेत्र घाँसेमैदानका रूपमा परिणत हुुन जान्छ । हामीले सफाइ सुरु गरेका थियौँ तर बजेटका कारण नियमित गर्न सकेनौं । सात वर्षपछि डिभिजन वन कार्यालय पहलमानपुरले सफाइ सुुरु गरेको छ । यो निकै राम्रो हो ।’ घोडाघोडी ताल सफाइका लागि सिमसार क्षेत्रमा आश्रित १७ जना स्थानीय खटाइएको थियो । घोडाघोडी तालसँगै यसका २३ वटा सहायक ताल पनि संकटमा पर्दै गएका छन् ।