माग पूरा नभए होटेल तथा पर्यटन श्रमिकहरूले आन्दोलन गर्ने
काठमाडौं । होटेल तथा पर्यटन व्यवसायमा सेवा शुल्क अन्त्यसँगै श्रमिकहरू पलाएन हुने अवस्थामा पुगेपछि पुनः कानुन बनाई सेवा शुल्कलाई व्यवस्थित गर्न माग राख्दै राष्ट्रियस्तरका तीनवटा ट्रेड युनियनहरूले हानलाई ६ बुँदे ज्ञापनपत्र बुझाएका छन्। सेवा शुल्क कानुनी रूपमा प्राप्तिको निम्ति राष्ट्रिय स्तरका तीनवटा ट्रेड युनियनहरू नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ, अखिल नेपाल होटेल क्यासिनो तथा रेस्टुराँ मजदुर संघ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा हानलाई ज्ञापनपत्र बुझाएका हुन् । सेवाशुल्क लिँदा उपभोक्ता ठगिएको भन्ने व्याख्या गरियो तर अहिले होटेल तथा पर्यटन व्यवसायीले मेनुमा नै थप शुल्क लिएर श्रमिकहरूलाई भने वास्ता नगर्दा देशभरका लाखौँ मजदुरहरूको रोजीरोटीमा भने हानी पुगेको भन्दै उनीहरूले हानलाई सेवा शुल्क लगायत विभिन्न ६ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएको नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघका महासचिव सन्तोष थापाले जानकारी दिए । उनका अनुसार नेपालको होटेल तथा पर्यटन व्यवसायमा काम गर्ने श्रमिक सेवा शुल्क नपाउने भएपछि विदेश पलायनको अवस्थामा पुगेको बताउँदै यस्तै अवस्था हुने हो भने नेपालको होटेल तथा पर्यटन व्यवसाय नै धरापमा भएकाले आफूहरूले एक साथ हानलाई माग सम्बोधनका लागि ज्ञापनपत्र बुझाएको जानकारी दिए । श्रम ऐन २०७४ को दफा १० (क) र श्रम नियमावली २०७५ को नियम ३ बमोजिम नियमित रोजगारी भनिन्छ भनी परिभाषित गरेको अवस्थामा कोभिड १९ पछाडि होटेल क्षेत्रमा करार रोजगार सम्झौता वा श्रमिक आपूर्तिकर्तामार्फत शतप्रतिशत श्रमिक तथा कर्मचारी नियुक्ति गर्ने गरेको छ यसको अन्तका लागि आफूहरूले ज्ञापनपत्र बुझाएको उनले जानकारी दिए । नेपाल पर्यटन तथा होटेल सम्बद्ध श्रमिक संघ अखिल नेपाल होटेल क्यासिनो तथा रेष्टुँरा मजदुर संघ र नेपाल स्वतन्त्र होटेल क्यासिनो तथा रेस्टुरेन्ट मजदुर युनियनले संयुक्त रूपमा पर्यटन तथा होटेल क्षेत्रमा काम गर्ने श्रमिकको हकहितका लागि जस्तो सुकै आन्दोलन गर्न समेत तयार भएको थापाले बताए । पहिलो चरणमा होटेल संघ नेपाललाई छ बुँदे माग दाबीसहित ज्ञापन पत्र बुझाएका छौँ र यसको सवालमा सुनुवाइ नभएमा होटेल तथा मजदुर श्रमिकहरूले देशभर आन्दोलनको घोषण गर्नु समेत उनले जानकारी दिए। होटेल तथा पर्यटन क्षेत्रमा सर्भिस चार्ज मार्फत मेनुको १० प्रतिशत थप रकम लिइने गरिएको थियो। उक्त थप लिइएको १० प्रतिशतबाट ७२ प्रतिशत मजदुरहरूलाई दामासाही रूपमा वितरण गरिँदै आएको थियो । राम्रो चल्ने होटेल तथा पर्यटन व्यावसायिक संस्थाका कर्मचारीले एक महिनामा सर्भिस चार्जबाट ५० हजार सम्म थप सेवा सुविधा पाउँदै आएका थिए । उक्त सर्भिस चार्ज हट्दा हाल उक्त मजदुरले न्यूनतम तलब अर्थात् १७ हजार ३०० देखि माथि मात्र तलब पाउँदा श्रमिकले घर चलाउन नै धौ धौ भएको र विदेश पलाएन हुन बाध्य भएका छन् ।
‘मार्किङ पोल’ ढलेपछि मनास्लु पदमार्गमा पर्यटकलाई समस्या
गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रअन्तर्गत माथिल्लो मनास्लु पदमार्गका विभिन्न ठाउँमा राखिएका ‘मार्किङ पोल’ ढलेपछि पर्यटक र पथप्रदर्शकलाई हिँडडुल गर्न समस्या भएको छ । बाटो देखाउन पदमार्गमा राखिएका ‘मार्किङ पोल’ कतै ढलेका र कतै भाँचिएका कारण लार्के बजारदेखि माथि हिमपात परेका बेला गन्तव्यमा पुग्न पर्यटक र पथप्रदर्शकलाई कठिन हुने गरेको हो । ‘हिमपातका बेला पदमार्ग पत्ता लगाउन पथप्रदर्शकले ‘मार्किङ पोल’को सहायता लिनुपर्छ’, लामो समयदेखि मनास्लु क्षेत्रमा पथप्रदर्शकका रुपमा काम गर्दै आएका सूर्य खनालले भने, ‘तर लार्के बजारमाथि राखिएका मार्किङ पोल ढलेको, भाँचिएको र अक्षर मेटिएको अवस्था छ ।’ हिमपात नपरेका बेला बाटो देख्न सकिने भएकाले आवतजावत गर्न गाह्रो नहुने भए पनि हिमपातले बाटो पुरिएका बेला ‘मार्किङ पोल’ बिनाअनुमानका भरमा जोखिम मोलेर पर्यटकलाई पथप्रदर्शकले हिँडाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । धर्मशाला, लार्केपासदेखि भिम्ताङसम्मका पदमार्गमा मार्किङ पोल अस्तव्यस्त रहेको उनले बताए । पछिल्लो समय विदेशी पर्यटकको अत्यधिक रोजाइमा पर्दै आएको मनास्लु पदमार्गमा दैनिक सयौँ विदेशी पर्यटकले पदयात्रा गर्ने गर्दछन् । ‘मनास्लु पदमार्ग आफैँमा पनि जोखिमयुक्त पदमार्ग नै हो’, उनले भने, ‘जोखिमपूर्ण यात्रा गर्नुपर्ने पदमार्गमा झनै ‘मार्किङ पोल’ नहुँदाको कठिनाइ पथप्रदर्शकलाई थपिएको छ ।’ पदमार्गमा राखिएका मार्किङ पोल बीचको दूरीसमेत निक्कै टाढाटाढा रहेको छ । ‘पथप्रदर्शकलाई हिमपातका बेला बाटो पहिल्याउने साहारा भनेकै ‘मार्किङ पोल’ हो’, पथप्रदर्शक खनालले भने, ‘जसको सहायताले बाटो खोज्दै हिँड्नुपर्छ त्यहीँ नभएपछि समस्या हुने नै भयो ।’ पोल ढलेको विषयमा पटकपटक कार्यालयलाई जानकारी गराइएको भए पनि बेवास्ता गरेको उनको भनाइ छ । “’बजेट अभाव भएको भए पनि ढलेका पोललाई यथास्थानमा गाड्ने तथा अक्षर मेटिएको बोर्डमा लेख्ने काम मात्र गरे पनि निक्कै सहज हुने थियो’, अर्का पथप्रर्दशक किशोर न्यौपानेले भने । मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) का सूचना अधिकारीसमेत रहनुभएका संरक्षण अधिकृत भुवनराज ओझाले ढलेका पोल पुनःगाड्ने तथा भाँचिएका पोलको ठाउँमा नयाँ पोल राख्ने तयारी भइरहेको जानकारी दिए । उनले मार्किङ पोलको सहायताले हिउँ परेका बेला पर्यटक र पथप्रदर्शकले बाटो पहिचान गरेर हिँड्नुपर्ने भएकाले मार्किङ पोल अनिवार्य रहेकोसमेत बताए । ‘कार्यालयबाट कर्मचारी खटाएर कुन ठाउँमा कति मार्किङ पोल आवश्यक पर्छ, भनेर डाटा निकाली सकेका छौँ’, उनले भने, ‘भाँचिएको र दूरी टाढा रहेका ठाउँमा नयाँ पोल राख्ने र ढलेका पोल उठाएर साविकै ठाउँमा गाड्ने गरी काम सुरु गर्न लागिएको छ ।’ अधिकृत ओझाले आउँदो असार मसान्तसम्म सबै काम सम्पन्न गर्ने बताए । भौगोलिक जटितलाका कारण ढलेका पोल उठाउन र भाँचिएको पोलको ठाउँमा नयाँ राख्न ढिलाइ भएको उनले दाबी गरे । माथिल्लो मनास्लु पदमार्गको जगतदेखि मनास्लु आधार शिविरसम्म ८१ ‘मार्किङ पोल’ रहेका छन् । रासस
तुम्लिङटार विमानस्थलमा दुई सातापछि उडान
खाँदबारी । विमानस्थल वरपरको डाँडामा फैलिएको तुवालो हटेपछि हिमाली जिल्ला सङ्खुवासभाको तुम्लिङटार विमानस्थलमा दुई सातापछि बुधबार उडान भएको छ । यही वैशाख १० पछि तुम्लिङटारको ‘भिजिविलिटी’ एक किलोमिटरमात्रै भएपछि उडान प्रभावित हुँदै आएको थियो । विमानस्थलमा उडानका लागि कम्तीमा पाँच किलोमिटर वरपरको डाँडा देखिनुपर्छ । विमानस्थल खुलेपछि बुद्धएयरको एटिआर ७२ विमानले १६ दिनपछि उडान भरेको हो । उडान भएसँगै सडक यातायातबाट जान नसकेका सङ्खुवासभा र भोजपुर जिल्लाका वृद्धवृद्धा र बिरामीलाई फाइदा पुगेको छ ।