नेपाल चेम्बर अफ कमर्श र क्रोएसियाको निजी क्षेत्रबीच सहकार्यसम्बन्धी समझदारी
काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र क्रोएसियाको व्यावसायिक प्रतिनिधिमण्डलबीच व्यापार र पर्यटन क्षेत्रमा सहकार्य गर्ने विषयमा समझदारी भएको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनका क्रममा दुवै संस्थाबीच व्यापार सहजीकरण एवं पर्यटन क्षेत्रमा लगानी गर्ने सम्बन्धमा समझदारी भएको चेम्बरले जनाएको छ । सम्मेलनमा चेम्बरले जलविद्युत्, होटललगायत क्षेत्रका एक दर्जन योजना ‘सो–केस’मा राखेको छ । सो अवसरमा चेम्बर अफ कमर्श र क्रोएसियाका व्यावसायिक प्रतिनिधिमण्डलबीच नेपालमा लगानीको वातावरण, प्रतिफल, उपभोक्ता बजार, कानुनी पाटोलगायत विषयमा छलफल भएको चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए । रासस
एक अर्ब बढी लागतमा रारामा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा
काठमाडौं । कर्णाली प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा पहिलो लक्जरी रिसोर्ट बन्ने भएको छ । रारा ताल क्षेत्रमा बन्ने उक्त रिसोर्टमा अष्ट्रेलियाको एक्सपर्ट ग्रुपले लगानी गर्ने भएको हो । आइतबारबाट सुरु भएको तेस्रो लगानी सम्मेलनमा संस्कृति पर्यटन तथा उड्डयन मन्त्री हितबहादुर तामाङ तथा सचिव दीपक काफ्लेको उपस्थितिमा लगानीसम्बन्धी सहकार्यका लागि एक्सपर्ट ग्रुपका तर्फबाट बद्रि अर्याल र सञ्जीव शर्मा तथा रारा होल्डिङ्स रिसोर्ट प्राइभेट लिमिटेडका तर्फबाट अभिषेकविक्रम शाहले हस्ताक्षर गरे । पहिलो चरणमा ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी गर्ने गरी उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं ९, मुर्माटपमा ८० रोपनी क्षेत्रफलमा बन्ने यो रिसोर्टमा पहिलो चरणमा करिब ७० करोड र दोस्रो चरणमा करिब ४० करोड रुपैयाँबराबर लगानी गरिने शाहले जानकारी दिए । डेढ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको रिसोर्ट स्थानीय स्रोतसाधनको प्रयोग र त्यहाँको संस्कृति झल्किने गरी निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदनसमेत बनिसकेको शाहले बताए । उनका अनुसार यो परियोजना कर्णाली प्रदेशकै पहिलो लक्जरी रिसोर्ट भएको र परियोजना निर्माण सुरु गर्न सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । उनले छिट्टै निर्माण प्रक्रियालाई तीव्रता दिने र आगामी १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको पनि जानकारी दिए । समुद्र सतहदेखि ३ हजार ७०० मिटर उचाइमा निर्माण हुने यो रिसोर्टबाट रारा ताल र त्यस क्षेत्रका हिमालहरूको उत्कृष्ट दृश्य देखिनुका साथै आसपासका क्षेत्रहरूको दृश्यावलोकन समेत गर्न सकिने बताइएको छ । ८० रोपनी जमिनमा बन्ने उक्त होटलको लागत १ अर्ब १० करोड रुपैयाँ हुनेछ । उक्त रिसोर्टमा १०० सिटको हल र हेलिप्याडको पनि सुविधा हुनेछ । एक्सपर्ट ग्रुपको अष्ट्रेलिया र नेपालमा शिक्षा र जलविद्युत क्षेत्रमा लगानी रहेको छ । यस सम्झौतासँगै, एक्सपर्ट ग्रुपले पर्यटन क्षेत्रमा पनि लगानी विस्तार गरेको छ ।
होटल क्षेत्रमा छिर्यो शाखः समूह, हङकङको बोअर ग्रुपसँग मिलेर २ अर्ब लगानी गर्दै
काठमाडौं । स्टिल तथा पेन्टसको व्यवसाय गर्दै आएको शाखः समूह होटल क्षेत्रमा पनि प्रवेश गरेको छ । शाखः समूहले कपिलवस्तुको गोरूसिंगेमा स्थापना हुने सुविधासम्पन्न वेलनेस होटल परियोजना सञ्चालनका लागि हङकङको बोअर ग्रुप अफ होटल चाइनासँग सम्झौता गरेको छ । काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलनमा दुई पक्षबीच करिब २ अर्ब नेपाली रुपैयाँ (१० करोड चिनियाँ युआन ) बराबरको लगानी सम्झौता भएको हो। अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्याकारी अधिकृत सुशील भट्टको उपस्थितमा सम्झौता आदान प्रदान भएको छ । सम्झौता भएको यो रकम जग्गाबाहेकको हो । लुम्बिनीमा आउने पर्यटकलाई मध्येनजर गर्दै शाखः समूहले यो परियोजना निर्माण गर्न लागेको हो ।