‘ग्रीन मोबिलिटी फर टुरिज्म प्रोस्पेरिटी’ विषयक अन्तर्क्रिया गर्दै स्पार्क कार
काठमाडौं । स्पार्क कारले शुक्रबार ‘ग्रीन मोबिलिटी फर टुरिज्म प्रोस्पेरिटी’ विषयक अन्तर्क्रिया आयोजना गर्ने भएको छ । कम्पनीले पर्यापर्यटनमा विश्वको अवस्था, पर्यापर्यटन तथा नवीकरणीय ऊर्जाको क्षेत्रमा नेपालले गरेका काम, यसको चुनौती र सम्भावना लगायतमा छलफल हुने स्पार्क कारका कार्यक्रम संयोजक अमरदीप भट्टराईले बताए । स्पार्क कारले आयोजना गरेको यस कार्यक्रममा विशेष गरी नेपाल विश्वमा कार्बन कम उत्सर्जन गर्ने मुलुकका रूपमा रहेकाले अझै यसलाई बढाउनका लागि नवीकरणीय ऊर्जा र यसको सम्भावनाबारे बृहत अन्तर्क्रिया गर्न लागिएको हो । अन्तर्क्रियामा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्ति बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, गभर्नर महाप्रसाद अधिकारी, साइमेक्स इंक प्रालिका सीईओ साहिल श्रेष्ठ, वातावरणविद् भुषण तुलाधरबीच छलफल हुनेछ । जसको संयोजन पत्रकार जगदिश खरेलले गर्नेछन् । कार्यक्रममा पर्यटन क्षेत्रका सरोकारवालाहरू, सरकारी, गैरसरकारी, कुटनीतिक नियोग, बहुराष्ट्रिय कम्पनी, कर्पोरेट तथा वातावरणविद् लगायतका प्रतिनिधि सहित २ सय जना सहभागी रहनेछन् । अन्तर्क्रिया कार्यक्रममा नविकरणीय ऊर्जाको पूर्वाधार विकास कुन अवस्थामा छ, यसको सामाजिक अवस्था, नेपालमा यसको चुनौतिलाई कसरी चिर्ने, चुनौतीलाई पार लगाउन निजी क्षेत्र, सरकार, विज्ञ वा सरोकारवालाहरूको भूमिका कस्तो आवश्यक हुन्छ भन्ने बारे छलफल हुने भट्टराईले बताए । स्पार्क कारले हरित वातावरण बनाउन सहयोग गर्ने सन् २०३५ सम्ममा कम्पनीको सबै सेवाका लागि विद्युतीय सवारी मात्रै प्रयोग गर्ने लक्ष्य राखेको छ । नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा स्पार्क कारले आयोजना गरेको यस कार्यक्रमलाई विवाईडी, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु बैंक तथा हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले सहयोग गरेको छ ।
चार्टर्ड उडानबाट भियतनामका २१८ पर्यटक नेपाल आए
काठमाडौं । रुप्से होलिडेजले चार्टर्ड फ्लाईटबाट २१८ भियतनामी पर्यटक नेपाल ल्याएको छ । यती ठूलो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी तिर्थयात्रीहरुको एकैपटक आगमन भएको पहिलो पटक हो । १८० तिर्थालु भियतनामको हनोईबाट रुप्से होलिडेजले व्यवस्थापन गरेको चार्टर्ड फ्लाईटबाट सोझै काठमाडौं अवतरण गरेका हुन् भने अरु यात्रुहरू रसिया, युरोप र अमेरिकाका विभिन्न गन्तब्यहरूबाट काठमाडौं आइपुगेका भियतनामी नागरिकहरू नै हुन् । १८० भियतनामी पर्यटकलाई लिन गएको हिमालय एअरलाईन्सको एअरबस ए३२० जहाज रुप्से होलिडेज्ले चार्टर्ड गरेको थियो । जसमा नेपाली पर्यटक समेत भियतनाम भ्रमणका लागि भियतनामको हनोई पुगेका छन् । नेपाल र भियतनाम विच चार्टर्ड फ्लाईट मार्फत सोझो हवाई सम्बन्ध स्थापना गर्दै दुईतर्फी पर्यटन प्रबर्धनमा अग्रसर भएको रुप्से होलिडेजले नेपाललाई बौद्ध धर्मालम्बिको धार्मिक पर्यटकीय गन्तब्यको रुपमा स्थापित गर्न गरेको प्रयासको चौतर्फी सह्राना गरिएको छ । ७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएका यी भियतनामी बौद्ध धर्मालम्बीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्नुका साथै पूर्वमा रहेको हलेसीको समेत दर्शन तथा भ्रमण अवलोकन गर्नेछन् । पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बाहरूमा ६ दिन र हलेसीमा १ रात बिताउने छन् । ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गर्ने यी यात्रुले नेपालबाट फर्किदा नेपालमा जन्मिएका बुद्धको सन्देश बोकेर जाने निश्चित छ । त्यसैले पनि यो समूहको भ्रमणलाई अन्तरराष्ट्रिय धार्मिक पर्यटनका क्षेत्रमा महत्वपूर्ण उपलब्धिको रूपमा लिइएको छ । भियतनामबाट नेपाल आएका यी पर्यटकहरूले नेपालमा लक्जरी धार्मिक पर्यटनको नयाँ सम्भाव्यता खोलेका छन् । जहाजै चार्टर नेपाल आएका यी पर्यटकहरू हायात प्लेस, लेमन ट्रि प्रिमियर, दुसित प्रिन्सेस लगायतका पाँच तारे होटलमा बसेका छन् भने उनीहरूको आरामदायीताको पूर्ण ख्याल राख्दै लक्जरी कार तथा टुरिस्ट बस मार्फत सेवा प्रदान गरिएको छ । रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुली प्राप्त यो सफलता प्रति खुसी व्यक्त गर्दै भन्छन्, ‘यस प्रयत्नले नेपाल भियतनाम द्वयदेशीय पर्यटनमा नयाँ सम्भाव्यताको ढोका मात्र खुलेको छैन नेपालमा नयाँ अथाह पर्यटकीय सम्भाव्यता रहेको समेत पुष्टि भएको छ ।’
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
सङ्खुवासभा । मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको मृत्यु भएको छ । सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिक ६० वर्षीय जोनी सालिबाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेका अनुसार मकालु गाउँपालिका–२ मा ८ हजार ३ सय ५० को उचाइमा पुगेका फ्रान्सेली नागरिक सालिबा अचानक बिरामी परेका थिए । उनको उद्धार गरी ल्याउने क्रममा बोटोमै बुधबार बिहान ३ बजे मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए । पर्वतारोही सालिबाको शव हेलिकप्टरमार्फत काठमाडौं लैजाने तयारी भइरहेको स्नोवी होराइजन टे«क्स एक्स्पिडिसनका प्रबन्धक निर्देशक बोधराज भण्डारीले बताए। उनीसँगै गएका अन्य फ्रान्सेली नागरिक भने सकुशल रहेका छन् । घटनास्थल सदरमुकाम खाँदबारीबाट १२ दिनको पैदल दूरीमा पर्दछ । एक साताअघि मकालु हिमाल आरोहण गरी फर्किने क्रममा सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–४ का ५४ वर्षीय ल्हाक्पा तेन्जे शेर्पाको मृत्यु भएको थियो ।