भीरमा मह काढेको छायांकन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा
म्याग्दी । भीर महको निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले बताए । टोलीले डोरी (पर्याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताए । लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए । भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ । झण्डै पाँच सयदेखि १ हजार ५ सय मिटर उचाइका पहरामा पुगेर गाउँका मोतिप्रसादसहितको टोलीले मह निकाल्ने गरेका छन् । गाउँपालिका उपाध्यक्ष पुनले धवलागिरिलाई ‘हनी हन्टिङ’का लागि प्रख्यात ठाउँका रूपमा चिनाउन विदेशी टोलीको आगमनले सहज भएको बताए । ग्रामीण पर्यटन प्रवर्द्धनमा मह सिकारले टेवा पुग्ने उनको भनाइ छ । ‘पर्यटन प्रवर्द्धनमा यो टोलीबाट सहयोगको आश्वासन प्राप्त भएको छ, हामीले पनि अबका दिनमा मह सिकारलाई विशेष बनाउनेछौँ’, उपाध्यक्ष पुनले भने ।
थाइ एयरवेजले नेपालमा पुनः सुरु गर्यो उडान
काठमाडौं । थाइल्याण्डको ध्वजावाहक एयरलाइन्स कम्पनी थाई एयरवेजले नेपालमा आफ्नो सेवा पुनः सुरु गरेको छ । कम्पनीले बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै औपचारिकरूपमा सेवा सुरु गरेको जानकारी दिएको हो । थाई एयरवेजले सुन् १९६८ मा बैंककदेखि कलकत्ता-काठमाडौं उडानमार्फत नेपालमा आफ्नो वायुसेवा सुरु गरेको थियो । कोभिड महामारीका कारण मार्च २०२२ मा थाई एयरवेजकाे उडान रोकिएको थियो । थाई एयरवेजले २०२३ अक्टोबर २९ मा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेसलाई नेपालको लागि जेनरल सेल्स एजेन्टको रूपमा नियुक्त गरेर आफ्नो सेवा फेरि सञ्चालन गरेको थियो । हाल एयरवेजले नेपालमा एयरबस ३२० न्यारो बडी एयरक्राफ्ट सञ्चालन गर्दै आएको छ । थाई एयरवेजका डिरेक्टर अफ सेल्स खुन विट किचाथोर्नले भने, ‘काठमाडौं र बैंककबीचको उडान सेवा पुनः सुरु भएको घोषणा गर्न पाउनु हाम्रो लागि सौभाग्य हाे, यो सेवाले नेपाललाई थाइल्याण्डलगायत विश्वका ३० अन्तर्राष्ट्रिय गन्तव्यसँग जोड्नेछ, हामीले सन् १९६८ मा नेपालका लागि पहिलो पटक सेवा सुरु गरेदेखि नै हाम्रो यात्रा सांस्कृतिक र आर्थिक आदान–प्रदानलाई प्रवर्द्धन गर्ने एउटा माध्यम बनेको छ र हामी यो महत्त्वपूर्ण सम्बन्ध पुनः सुरु गर्न पाउँदा खुसी छौँ ।’ उनले विगत ५६ वर्षदेखि नेपालमा सेवा दिएको बताए । हाल थाई एयरवेजले ६० भन्दा बढी गन्तव्यहरूमा एयरबस ३२० न्यारोबडी एयरक्राफ्ट, ७७७ एयरक्राफ्ट, ड्रिमलाइनर ७८७, र एयरबस ३५० एयरक्राफ्टहरू सञ्चालन गर्दै आएको छ । यी विमानहरू आरामदायी सिटको लागि प्रसिद्ध छन् । हाल थाई एयरवेजसँग कुल ७३ विमान छन्, जुसले औसतमा दैनिक १२.८ घण्टा उडान भर्छन् ।
सीता एयरको जहाजले ठक्कर दिँदा कर्मचारी घाइते
मुगु । मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगन्जका लागि उड्ने तयारीमा रहेको सीता एअरको टुइनेटर जहाजको अघिल्लो भागले ठक्कर दिँदा सोही जहाजका मुगु स्टेशन प्रमुख धीरेन्द्र भाम घाइते भएका हुन् । जहाजका चालकलाई विमान उडान संकेत गरिरहेका बेला चालकले बोलाएपछि जहाजतर्फ जाँदै गर्दा जहाजको अघिल्लो भागले ठक्कर दिँदा भाम घाइते भएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । घाइते कर्मचारी भामलाई सीता एयरकै जहाजमार्फत उपचारका लागि नेपालगन्ज लगिएको प्रहरी नायब उपरीक्षक थापाले बताए ।