१० महिनामा १० हजार पर्यटक रारा पुगे

मुगु । रारा ताल घुम्न १० महिनामा १० हजार बढी पर्यटक पुगेका छन् । गत साउनदेखि वैशाख मसान्तसम्ममा १० हजार ३ सय ४१ आन्तरिक पर्यटक, ४३ सार्क मुलुकबाट र १ सय ९५ अन्य विदेशी मुलुकका गरी १० हजार ५ सय ७९ पर्यटकले रारा भ्रमण गरेका हुन् । रारा राष्ट्रिय निकुञ्ज कार्यालय हुटुका सूचना अधिकारी जयहरि धितालका अनुसार दसैँ–तिहार बिदामा सबैभन्दा धेरै आन्तरिक पर्यटक रारा घुम्न आएका हुन् । यसवर्ष सबैभन्दा धेरै कात्तिक महिनामा ३ हजार ४ सय ९२ पर्यटक रारा घुम्न आएका थिए । सबैभन्दा कम साउनमा १ सय २६ जना रारा आएका थिए । चालु आवको वैशाख मसान्तसम्म रारा आउने पर्यटकबाट उठाइएको प्रवेश शुल्क, डुंगा चढेको शुल्क र अन्य शुल्क गरि निकुञ्जले ३० लाख ६३ हजार ७ सय ९१ रुपैयाँ राजस्व संकलन गरेको छ । राजस्वमध्ये २५ लाख ३० हजार पर्यटकबाट र बाँकी ५ लाख ३३ हजार ७ सय ८१ रुपैयाँ दण्ड–जरिवाना, काठदाउरा लगायतबाट संकलन भएको निकुञ्जले जनाएको छ । गत आर्थिक वर्षमा ११ हजार १ सय ९१ स्वदेशी पर्यटकले रारा भ्रमण गरेका थिए । सार्क मुलुकका २६ र अन्य विदेशी १ सय ८३ पर्यटक रारा घुम्न आएका थिए । निकुञ्जले रारा भ्रमणमा आउने आन्तरिक पर्यटकबाट प्रतिव्यक्ति १ सय, सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय र सार्क मुलुक बाहिरका पर्यटकबाट प्रतिव्यक्ति ती३ हजार रुपैयाँका दरले प्रवेश शुल्क उठाउने गरेको छ । डुंगा चढ्ने प्रतिव्यक्ति ५ सयका दरले शुल्क उठाउने गरिएकोमा २० प्रतिशत निकुञ्जको कार्यालयमा, बाँकी रहेको ८० प्रतिशतमा ४०–४० प्रतिशतका दरले डुंगा चालक र मध्यवर्ती क्षेत्र विकास समितिले लिने गरेका छन् । रारा घुम्न आउनेमध्ये हवाई मार्गबाट ७५ प्रतिशत र सडक मार्गबाट २५ प्रतिशत आउने गरेका छन । सडक र हवाईमार्ग भरपर्दो नहुँदा रारामा अझै पर्यटक आगमन उल्लेख्य रूपमा वृद्धि हुन नसकेको स्थानीयवासीको भनाइ छ । रारा क्षेत्रमा पर्यटकलाई सुविधायुक्त होटल र भरपर्दो सडक नहुँदा पर्यटकले बाटोमा सास्ती खेप्नुपरेको गुनासो गर्ने गरेका छन् । कोभिड–१९ ले थलिएको राराको पर्यटन क्षेत्र यो वर्षको १० महिनामा फस्टाएको हो । रारा घुम्न आउने पर्यटकका लागी जेठदेखि असोजसम्म हरियाली हुने भएकाले विभिन्न प्रजातिका फूलहरूले रारा झनै सुन्दर देखिने गर्छ । रारामा वैशाखदेखि भदौसम्म गर्मी छल्न र हरियालीमा घुम्न, असोजदेखि मङ्सिरसम्म बिदा मनाउन, पुसदेखि चैतसम्म हिउँ खेल्न र हिमालयको दृश्यावलोकन गर्न पर्यटक रारा आउने गर्दछन् ।

ठेकेदारले माछा निकाल्न पानी सुकाइदिएपछि पर्यटकीय नाढिमन ताल गौचरनमा परिणत

बरहथवा । सर्लाहीको चन्द्रनगरस्थित ऐतिहासिक पर्यटकीयस्थल नाढिमन ताल गौचरनमा परिणत भएको छ । सदरमुकाम मलंगवा र पूर्वपश्चिम राजमार्गको मध्यभागमा पर्ने चन्द्रनगर गाउँपालिका-७ स्थित उक्त ताल एक वर्षदेखि गौचरनमा परिणत भएको हो। माछापालन गर्न ठेक्का  लिएका ठेकेदारले तालको पानी सुकाएपछि घाँस उम्रिएको छ । गत वर्ष ठेक्का सकिएपछि ठेकेदारले माछा निकाल्ने भन्दै तालको पूरै पानी पम्पसेट लगाएर फालिदिएका थिए । पानी सुकाएपछि गौचरन बनेको तालमा अहिले स्थानीयले पशुचौपाया चराउने गरेका छन् । ताल परिसरमा रहेका भौतिक संरचनासमेत जीर्ण बन्दै गएका छन् । कुनै समय आन्तरिक पर्यटकको पहिलो रोजाइमा पर्ने उक्त ताल अहिले ताल किनार फोहर हुनुका साथै सडक पनि घाँसले भरिएका छन् । ठेकेदारले अदालतबाट ‘स्टेअर्डर’ नै ल्याएर पूरै तालको पानी बाहिर फलिदिएपछि तालको स्वरुप जीर्ण बन्दै गएको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए। ‘विसं २०७५ मा पालिकाले पाँच वर्षका लागि ६ करोड १९ लाख रूपैयाँमा माछापालन गर्न ताल ठेक्का लगाएको थियो,’ उनले भने, ‘ठेकेदारले प्रत्येक वर्ष जाल हानेर माछा निकाल्ने गरेको थियो। ठेक्का सकिने वर्ष अदालतबाट ‘स्टेअर्डर’ ल्याएर ताल सुक्ने गरी पानी निकालेपछि समस्या सिर्जना भएको हो ।’ तालमा बचेको थोरै पानीसमेत स्थानीय किसानले पम्पसेट लगाएर खेतमा लगेपछि पूर्णरुपमा चरन क्षेत्र बनेको स्थानीयको भनाइ छ । पानी सुकेर गौचरनमा परिणत ऐतिहासिक नाढिमन ताल कुरुप देखिन थालेको अध्यक्ष महतोले बताए । एक वर्षदेखि ताल ठेक्का लगाउन नपाउँदा पालिकालाई आर्थिकरूपमा नोक्सानी भएको उनले गुनासो गरे । तालमा पुनःपानी भर्नका लागि पानीको मुहान सरसफाइ गरी नजिकै रहेको अधबारा खोलाको पानी हाल्ने तयारी भइरहेको अध्यक्ष महतोले जानकारी दिए । पानी भरेपछि यसको संरक्षण र प्रवर्द्धनका लागि पालिकाले विशेष रणनीति लिएर अगाडि बढ्ने उनले बताए । तालमा पानी भर्ने अन्य उपाए नभएपछि वर्षासम्म कुरेर आधबारा खोला फर्काउने तयारी भएको गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी महतोले जानकारी दिइन् । ताल सुकेको अवस्थामा तालको ड्यामलगाययत संरचना पुनःनिर्माण तथा मर्मत भइरहेको पालिकाका प्रशासकीय अधिकृत मदनबहादुर थिङले जानकारी दिए । स्थानीयको अतिक्रमणबाट ३२ बिघामा खुम्चिएको ताल क्षेत्रलाई पटकपटक गरी अतिक्रमण हटाएर ३८ बिघामा पुर्‍याइएको पालिकाले जनाएको छ । यस तालको पूरा क्षेत्रफल ५२ बिघा रहेको जानकारहरु बताउँछन् । तालको ठूलो हिस्सा अझै अतिक्रमणमा रहेका स्थानीय प्रविन महतोले बताए । ताल १२ फिटसम्म गहिरो छ । विगतमा यस तालबाट नजिकैका सयौँ हेक्टर क्षेत्रफल खेत सिँचाइ हुने गरेको थियो । बिस्तारै तालमा पानी आउने मुहान अतिक्रमणबाट हराउँदै जानु, संरक्षणमा चासो नहुनु तथा लामो खडेरीले ताल सुक्दै जाँदा जीर्ण बनेको उनको भनाइ छ । तालसँगै सुक्यो चन्द्रनगर ताल सुकेसँगै ताल परिसर तथा चन्द्रनगर बजार क्षेत्र यतिबेला सुनसान बनेको छ । ताल पसिरमा आइपुग्ने जोकोही तालको जीर्ण अवस्था देखेर थकथकाउँदै फर्कने गरेका छन् । विसं २०७२ मा नेपाली सेनाले राष्ट्रपति चुरे तराई(मधेस संरक्षण विकास समितिको परियोजनाअन्तर्गत करोडौँको लगानीमा उक्त तालको सरसफाइ र सौदर्यकरण गरेको थियो । त्यसपछि गुमनाम ताल पर्यटकीय क्षेत्रमा परिणत भएको थियो । ताल परिसरमा घुम्न, वनभोज खान तथा विभिन्न अवसर पारेर मनाउन आउनेहरूको चहलपहल बढेको थियो । पालिकाले मनोरञ्जनका लागि तालमा ‘पाइडल बोट’ (खुट्टाले चलाउने डुंगा) लगायत सामग्री प्रयोगमा ल्याएपछि थप पर्यटक आकर्षित भएका थिए । बिस्तारै पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको तालका कारण स्थानीय व्यापार व्यवसायसमेत फस्टाएको थियो । विगत एक वर्षदेखि तालसँगै यहाँका स्थानीयको आयस्रोत पनि सुक्दै गएको रामझीप्रसाद कापरले बताए । अहिले ताल परिसरमा रहेका पसल, होटल तथा व्यवसायी पलाएन हुने अवस्थामा पुगेका खाजा पसल सञ्चालक रिता देवीले सुनाइन् । ‘पहिला दिनको दुई हजारदेखि तीन हजारसम्म आम्दानी हुन्थ्यो,’ उनले भनिन्, ‘एक वर्षदेखि ऋण गरेर घरको भाडा तिरिरहेका छौँ। एक दिन फेरि नाढिमन तालमा पानी भरिएला र बजार पसल पहिला झै सञ्चालन होला भन्ने आशमा छौँ ।’ रासस

मानसरोवर यात्रा : रसुवागढी नाकामा चहलपहल बढ्यो

रसुवा । चीनमा अवस्थित धार्मिकस्थल मानसरोवरको यात्रा सुरु भएको छ । भगवान् महादेवको वासस्थान मानिने कैलाश पर्वत र मानसरोवर यात्राका लागि काठमाडौंबाट त्रिशूली धुञ्चे, स्याफ्रुवेँसी हुँदै त्यसतर्फ जाने यात्रुहरूका कारण रसुवागढी नाकामा चहलपहल बढेको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख मुरारी निरौलाले पछिल्लो समय दैनिक औसत ४० जना यात्रुहरू मानसरोवर जानका लागि नाकाबाट त्यसतर्फ प्रस्थान गर्ने गरेको जानकारी दिए । उक्त नाकाबाट मानसरोवर साढे नौ सय किलोमिटर टाढा छ । नेपालबाट मानसरोवर जानका लाग रसुवागढी र हुम्लाका हिल्सा नाका भए पनि काठमाडौंबाट नजिक भएकाले रसुवागढीमा बढी यात्रु देखिएको हुनसक्ने प्रमुख निरौलाको भनाइ छ । उनका अनुसार पछिल्लो समय चिनियाँ नागरिकहरू पनि दैनिक ५० को हाराहारीमा नाका हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् ।