पर्यटनमन्त्रीसँग सीएनआई पर्यटन समितिको छलफल, पर्यटन क्षेत्रको विकासमा काम गर्ने प्रतिबद्धता
काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) अन्तर्गतको पर्यटन समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेसँग छलफल गरेको छ । आइतबार मन्त्रीलाई बधाई तथा शुभकामना दिँदै समितिले पर्यटन क्षेत्रको विकास र सुधारका लागि युरोपसँगको सिधा हवाई सम्पर्क पुनः स्थापित गरिनुपर्ने, राष्ट्रिय ध्वजावाहकलाई प्रतिस्पर्धी बनाइनुपर्ने, पर्यटन ऐन र नीति ल्याईनुपर्नेमा जोड दिएको छ । यस्तै हवाई दुर्घटना न्यूनीकरण, दुई वटा नयाँ अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, नेपाल पर्यटन बोर्ड, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन समय सम्बन्धमा पनि सुझाव दिएको छ । परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिँदै परिसंघका उपाध्यक्ष राजबहादुर शाहले पर्यटन क्षेत्र विकास र लगानीको सम्भावना बढी भएको क्षेत्र भएकोले यस क्षेत्रको विकासका लागी नयाँ नीतिहरू ल्याउन जरुरी रहेको बताए। पर्यटन क्षेत्रका समस्याबारे जानकारी गराउँदै उनले समाधानका उपायसमेत सुझाए । छलफलमा समिति सदस्य रवीचन्द्र सिंहले आगामी नोभेम्बर ८ देखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको समयावधि १४ घण्टाबाट बढाएर १६ घण्टा बनाउन आग्रह गरे। पर्यटकीय मौसम भएकाले सो मितिदेखि राति १० बजेसम्म सञ्चालन हुने भनिएको समयावधि बढाएर राती १२ बजेसम्म गर्न उनले आग्रह गरेका हुन् । उनले सरकारले यस वर्ष १६ लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको तर नेपालको हवाई टिकटको मूल्य धेरै भएकोले लक्ष्यअनुरुप पर्यटकहरु भित्र्याउन गाह्रो हुने बताए। यस्तै उनले हवाई टिकटमा लगाइएको मूल्य अभिवृद्धि करलाई पुनरावलोकन गर्न जरुरी रहेको बताए । समिति सदस्य अशोक पोख्रेलले पर्यटन विकासका लागि नेपालले पहुँच वृद्धि गर्नु जरुरी रहेको बताए। जसका लागि नेपालबाट युरोप जान आउनका लागि सहजीकरण गर्न नेपाललाई युरोपियन युनियनको सुरक्षा सूचीबाट हटाउन प्रभावकारी पहल आवश्यक रहेको बताए । राष्ट्रिय ध्वजावाहकलाई बलियो बनाउनुपर्ने, नेपाल पर्यटन बोर्डलाई यसको उद्देश्यअनुरूप अगाडि बढाउनुपर्नेमा उनले जोड दिए । सो अवसरमा मन्त्री पाण्डेले पर्यटन क्षेत्रको समस्या समाधानका लागि कामको प्राथमिकता हेरेर अगाडि बढ्ने बताए । २०८३ भदौसम्ममा पोखरा र भैरहवा एयरपोर्टको समस्या समाधान हुने गरी काम गरिरहेको उनले बताए । पर्यटन ऐन तयारी अवस्थामा रहेकाले चाँडै आउने समेत जानकारी गराए। नेपाल एयरलाइन्सलाई सबल बनाउने विषयमा थप छलफल तथा सल्लाह सुझाव लिँदै अगाडि बढ्ने पनि मन्त्री पाण्डेले बताए । सो अवसरमा परिसंघ पर्यटन समिति सभापति पम्फा धमला, सदस्यहरू हिक्मत सिंह ऐर, तिलक लामा, दीपकराज जोशीलगायतले सुझावसहित बधाई तथा शुभकामना व्यक्त गरे ।
ललितपुरको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाःसहितको आर्ट भिलेज बन्दै
काठमाडौं । ललितपुर गोदावरीको छम्पीमा विश्वकै ठूलो भैरवको ख्वापाः (मुखाकृती) सहितको ‘नेपाल आर्ट भिलेज’ निर्माण सुरु भएको छ । पञ्चधातु प्रयोग गरी निर्माण गरिने भैरवको ख्वापाः ७२ फिट अग्लो, ५८ फिट चौडाइ र ६५ टन तौलको हुने परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले जानकारी दिए । ख्वापाः लाई पाँच तलाको आरसिसी भवनमा फ्रेम बनाएर एसेम्बल गरिनेछ । भवनको अगाडिपट्टी ख्वापाः र भवनभित्र कला संग्रहालय स्थापना हुनेछ । विश्वकै ठूलो भैरवको ख्वापाः निर्माण हुने भएकाले यसलाई गिनिज बुकमा नाम लेखाउन सकिने विश्वास गरिएको छ । कुल २३८ रोपनी क्षेत्रफलमा फैलिने परियोजनाको पहिलो चरणमा ५२ रोपनी क्षेत्रमा भैरवको ख्वापाः तथा अन्य सम्पदा र १८६ रोपनी क्षेत्रफलमा कलाग्राम रहनेछ । ‘भैरवको ख्वापाःको अवलोकनसँगै भैरवसँग सम्बन्धित जानकारी अध्ययन गर्न पाइनेछ,’ प्रवक्ता महर्जनले भने, ‘भवन परिसरमा भगवान गणेशका १६ प्रकारका मूर्ति तथा ६४ वटा विभिन्न भैरवका मूर्ति समेत राखिनेछन् ।’ मुखाकृतिको ४२ फिटको उचाईमा भएको भैरवको आँखा (भैरव दृष्टि) बाट काठमाडौं उपत्यका तथा मनोरम हिमश्रृङ्खलाको अवालेकन गर्न सकिनेछ । ख्वापाः परिसरमा विभिन्न समुदायको रैथाने परिकार उपलब्ध हुने भोजनस्थल तथा सभा कक्ष निर्माण गरिनेछ । परम्परागत जीवनशैली झल्काउने देवीदेवताका मठमन्दिर, ढुङ्गेधारा, पोखरी र बगैँचा जस्ता भौतिक कलायुक्त सम्पदा, प्रदर्शनी कक्ष, सभागृह, रंगमञ्च, हेलिप्याड, पुरातन बस्ती, वृद्धाश्रम, विवाहमण्डप, योग केन्द्र, भ्वय् छें (ब्याङ्क्वेट), टेन्ट क्याम्प, साहसिक एवं मनोरञ्जनात्मक खेलकूद, स्वीमिङपुल लगायतको समेत सुविधा हुने बताइएको छ । परियोजनालाई कला नगरीका रुपमा विकास र प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ । महर्जनका अनुसार त्यहाँ निर्माण हुने हरेक पूर्वाधारमा कला देख्न पाइनेछ । वरिष्ठ कलाकार स्व. राजकुमार शाक्यको नेतृत्वमा ख्वापाः निर्माण सुरु भएको थियो । हाल शाक्यका सुपूत्रद्वय स्वरुप र सौरभ शाक्य नेतृत्वको कलाकार टोलीले उक्त जिम्मेवारी लिएको छ । प्रसिद्ध मूर्तिकार राजेश अवालेको परिकल्पनामा विसं २०७४ मा जग्गा एकीकरणरसंकलन गरी सुरु भएको परियोजनाको २०७७ सालमा विधिवत् रूपमा शिलान्यास गरिए पनि संस्थापक अध्यक्ष तथा प्रसिद्ध कलाकार राजकुमार शाक्यको निधनका कारण निर्माण प्रक्रिया केही समय सुस्ताएको थियो । हाल भैरव ख्वापाः निर्माण कार्य तीव्र गतिमा भइरहेको नेपाल आर्ट भिलेज प्रालिका अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । विभिन्न क्षेत्रका ऊर्जावान कलाप्रेमी, व्यापारी, सामाजिक उद्यमी एवम् समाजका अग्रज एवम् प्रबुद्ध व्यक्तित्व समेतको संलग्नतामा परियोजना सुरु गरिएको शाक्यको भनाइ छ । कम्पनीका सञ्चालकमा अध्यक्ष राजेन्द्र शाक्यसहित राजेश अवाले, रुपक मान महर्जन, जीवन रत्न शाक्य, मदन मान महर्जन, उर्मिला शाक्य र सानुछोरी शाक्य छन् । परियोजना नेपाली कलासंस्कृतिकको जगेर्ना, परम्परागत सीप, कौशलको उजागर, प्रचारप्रसार तथा पर्यटन प्रवर्द्धन लागि आवश्यक योजना तथा कार्यक्रम तय गरी अनुसन्धान र विकास गर्ने उद्देश्यले सुरु गरिएको परियोजनाका संस्थापक सदस्य एवं प्रवक्ता रूपकमान महर्जनले बताए । यो ललितपुरको एकान्तकुनाबाट भैँसेपाटी-बुङ्गमति हुँदै १०।५ किलोमिटर, एकान्तकुनाबाट चुनिखेल हुँदै १३ किलोमिटर र सातदोबाटोबाट चापागाउँ हुँदै १५ किलोमिटरको दुरीमा छ । हाल त्यहाँ पुग्ने सडकमार्ग स्तरोन्नतिका लागि सम्बन्धित निकायमा पहल भइरहेको र काम अघि बढाइएको जनाइएको छ । ललितपुरबाट हेटौँडा जोड्ने कान्ति लोकपथको टिकाभैरवबाट तीन किलोमिटरको दुरीमा पुग्न सकिन्छ । हाल यस क्षेत्रमा सडक र खानेपानीका लागि केन्द्र र प्रदेश दुवै सरकारबाट समेत बजेट विनियोजन भइसकेको जनाइएको छ । आवास क्षेत्र परियोजनाअन्तर्गत नेपाली वास्तुकला शैलीमा आवास भवन निर्माण गरिनेछ । आवास क्षेत्रलाई व्यापारिक, पुरातन शैलीको घरबास र निजी निवास निर्माण गरिनेछन् । व्यापारिक क्षेत्रमा कम्पनीको नियमअनुसार व्यापार व्यवसाय सञ्चालन गर्न सकिनेछ । परम्परागत घरबास कार्यक्रमलाई पर्यटन प्रवर्द्धन हुने गरी सञ्चालन गरिनेछ । कलाग्राम परम्परागत कला, सीप र प्रविधिसहितको कलाग्राम स्थापना गरिनेछ । कलाग्राममा नेपाली सांस्कृतिक सम्पदाको जगेर्ना, हस्तकला उत्पादन र प्रदर्शन तथा आन्तरिक र बाह्य पर्यटनलाई बढावा दिने उद्देश्य लिइएको छ । कलाग्राममा हस्तकलाका परम्परागत हस्तकलाका आठ विधिहरू सुनचाँदीका गरगहना, थं ज्याः (तामा पित्तल र काँसका भाँडाकुँडा तथा मूर्तिहरू) थ्व ज्याः, मा ज्याः (तामा पित्तलका पत्रका भाँडकुँडा तथा मूर्तिहरू), काष्ठकला, प्रस्तर कला, पौवा कला, चा ज्याः (माटाका भाँडाकुँडा) र नः ज्याः (विभिन्न हातहतियार तथा आवश्यक घर घरानामा उपयोग हुने फलामका सरसामान) लाई प्राथमिकता दिइ तालिम केन्द्र सञ्चालन पनि गर्ने योजना छ । भविष्यमा नेपाल भरका अन्य हस्तकलाका विधा पनि समावेश गर्ने लक्ष्य छ । वनस्पति उद्यान केन्द्र परियोजनालाई प्राकृतिक रूपमा समेत उपयोगी बनाउन ग्राममा वनस्पति उद्यान केन्द्र पनि बनाइनेछ । केन्द्रमा लोपोन्मुख र बहुउपयोगी वनस्पति संरक्षण र सम्बर्द्धनको उद्देश्य लिइएको छ । दिगो विकासका लागि प्राकृतिक सम्पदाको महत्वबारे जनचेतना फैलाई प्रकृतिमैत्री विकास, जैविक विविधता संरक्षण, नवीकरणीय ऊर्जा प्रयोगमा जोड, थोपा सिँचाइ प्रणाली, वृक्षारोपण, माटो परीक्षण, बागवानी व्यवस्थापन जस्ता विषयमा परामर्श सेवा प्रदान गरिनेछ । वातावरणसम्बन्धी अगुवाद्वारा कार्यशाला तथा सेमिनार सञ्चालन गरिनेछ । विद्यालय तथा विश्वविद्यालयका विद्यार्थीका लागि जीवन्त प्रयोगशाला (लाइभ ल्याबोरेटोरी) केन्द्रका रूपमा उद्यानको विकास गरिनेछ । प्रकृति आगन्तुकलाई ‘जंगल पथ’बाट जंगल परिक्रमा गराउने व्यवस्था गरिनेछ । परिक्रमाका क्रममा वन्यजन्तु, पशुपंछी तथा वनस्पतीको विविधता अवलोकन गर्ने अवसर मिल्ने छ । यस क्षेत्रमा पदयात्रा, साइक्लिङ, क्याम्पिङ र क्याम्पफायरका लागि स्थान पहिचान र विकास गरिनेछ ।
गोसाइँकुण्डमा पुग्यो राष्ट्रिय ग्रिडको बिजुली, बन्यो झिलिमिली
काठमाडौं । रसुवास्थित प्रसिद्ध तीर्थस्थल गोसाइँकुण्डमा पहिलो पटक राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट ४ हजार ३ सय ८० मिटर उचाइमा रहेको गोसाईकुण्डमा शुक्रबार ग्रिडको विद्युत पुर्याएको छ । वत्ति पुगेसँगै गोसाइँकुण्ड क्षेत्र झिलिमिली भएको छ । धार्मिक एवम् पर्यटकीय गन्तव्य गोसाइँकुण्डमा जनैपूर्णिमा दिन लाग्ने मेलाको पूर्वसन्ध्यामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्याइएको हो । अहिलेसम्म गोसाइँकुण्ड क्षेत्र र त्यहाँ पुग्ने पैदल बाटोमा पर्ने केही स्थानका पर्यटन व्यवसायीले सौर्य ऊर्जाबाट विद्युत प्रयोग गरिरहेका थिए । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धार्मिक एवम् पर्यटकीय क्षेत्रलाई उज्यालो बनाउने अभियानअन्तर्गत गोसाइँकुण्डमा राष्ट्रिय प्रसारण लाइनको विद्युत पुर्याइएको बताए। कार्यकारी निर्देशक घिसिङले भने, ‘प्राधिकरणमा जागिर सुरुगर्नासाथ मैले प्यूठानस्थिति धार्मिक एवम् पर्यटकीय स्थल स्वर्गद्धारीमा विद्युत् पुर्याएको थिएँ, अहिले देशलाई पूर्ण रुपमा उज्यालो बनाउने अभियानअन्तर्गत पूर्ण विद्युतीकरणको अन्तिम यात्रामा सुस्ता, गोसाइँकुण्ड,अन्नपूर्ण आधार शिविर, माथिल्लो मुस्ताङ, विभिन्न ठाउँमा रहेका गुम्बा, मस्जिद, मन्दिर जस्ता धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक क्षेत्रमा राष्ट्रिय ग्रिडको विद्युत् पुर्याइरहेका छौं ।’ रसुवाको सदरमुकामबाट गोसाईकुण्डतर्फ जाने बाटोमा पर्ने चन्दनबारीसम्म यसअघि नै राष्ट्रिय ग्रिड पुगेको थियो । चन्दनबारीबाट करिब ८ किलोमिटर ११ केभी लाइन लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र हुँदै गोसाईकुण्डमा पुर्याइएको छ । यसका लागि निकुञ्जसँगको समन्वयमा २ सय वटा पोल राखिएका छन् । पोल, ट्रान्सफर्मरलगायतका उपकरणहरु मानिस र खच्चडले ढुवानी गरिएको थियो । गोसाइँकुण्डमा विद्युत् आपूर्तिका लागि १५ केभिए क्षमताको वितरण ट्रान्सफर्मर जडान गरिएको छ । वर्खायाम सकिएर मौसममा सुधार आउनासाथ ५० केभिएको ट्रान्सफर्मर राखिने छ । वर्खाका कारण ठूलो क्षमताको ट्रान्सफर्मर ढुवानी गर्न नसकेपछि हाललाई बुद्धमन्दिर र गोसाइँकुण्डमा १५/१५ केभीए क्षमताका ट्रान्सफर्मर राखी विद्युत् आपूर्ति दिइएको प्राधिकरण धुन्चे वितरण केन्द्र प्रमुख सञ्जिव भट्टराईले बताए । भट्टराईले गोसाइँकुण्ड जाने बाटोमा पर्ने जोलाङपाटी, लौरीबिना र बुद्धमन्दिरमा ५०/५० केभीएको वितरण ट्रान्सफर्मर राखिने बताए । जोलाङपाटी र लौरीबिनामा केही होटलहरू सञ्चालित छन् । मेलाका यात्रुहरूलाई लक्षित गरी त्यस क्षेत्रमा छाप्राहरू बन्ने गरेका छन् । गोसाइँकुण्डमा विद्युत् पुर्याउन गत वर्षको असोजमा ठेक्का सम्झौता भएको थियो । उक्त कार्यको अनुमानित लागत करिब ३ करोड रुपैयाँ रहेको छ ।