पर्यटन पूर्वाधारले आकर्षक बन्दै ‘तीनधारे झरना’
धुलिखेल । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–२ काफलडाँडामा रहेको पर्यटकीयस्थल ‘तीनधारे झरना’ मा पर्यटन पूर्वाधारको थप गरिएसँगै आकर्षक बन्दै गएको छ । पर्यटकको आगमन बढ्दै गएपछि यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गर्न शौचालय, कपडा फेर्न कोठा र माथि डाँडाबाट सुन्दर झरनाको दृश्य अवलोकन गर्न विश्रामस्थल र रेलिङलगायत संचरना निर्माण गरिएको हो । पहाडी भूगोलको आकर्षक झरना, रमणीय र मनमोहक ठाउँ र हरियाली शान्त वातावरण भएकाले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेकाले आवश्यक पूर्वाधार थप गरिएको रोशी–१ का वडाध्यक्ष श्रीदास लामाले बताए । यहाँ पर्यटकको आगमन बढ्न थालेसँगै पर्यटकले व्यवस्थापनमा ध्यान दिन स्थानीय सरकारलाई सुझाव दिएपछि मोटरबाटो, पैदलमार्ग र झरना क्षेत्रमा थप पूर्वाधार निर्माण भइरहेको उनले जानकारी दिए । ‘कोरोना महामारीकोे बेलामा मानिसलाई घरमा मात्रै बसेर उकुसमुकुस भएको थियो । उक्त समयमा आन्तरिक पर्यटक यहाँसम्म पुग्न थालेपछि ओझेलमा परेको झरनाको प्रचारप्रसार भएको हो,’ वडाध्यक्ष लामाले भने, ‘सोही बेलादेखि यहाँ पर्यटकको आगमन बढ्न थालेको हो ।’ पर्यटकको आगमन बढ्न थालेपछि सुविधाका लागि स्थानीय सरकारले पूर्वाधार निर्माण र संचरनाको व्यवस्थापन गर्दै आएको उनको भनाइ छ । झरना क्षेत्रमा पहिलाको भन्दा पूर्वाधार निर्माण गरी व्यवस्थित गरिएको वडाध्यक्ष लामाले बताए । ‘अहिले यहाँसम्म पुग्न मोटरबाटोको सहजता, खाने–बस्ने र रमाइलो गर्न चाहनेका लागि सुविधासम्पन्न होटल सञ्चालनका साथै अन्य आवश्यक पूर्वाधार निर्माणले यस गन्तव्यलाई थप आकर्षक बनाएको छ,’ उनले भने, ‘झरनास्थल सुन्दर र बाटो सहज हुनाका साथै पछिल्लो समयमा थप्दै गरिएका संरचनाहरुले पर्यटकलाई सहज बनाउँदै लगेको छ ।’ महाभारत गाउँपालिका–५ का सुवार जिम्बाले झरना सुन्दर, रमणीय र आकर्षक रहेको भन्दै एकपटक यहाँ पुगेकालाई यहाँको सुन्दरताले लोभ्याइरहने बताए । ‘यहाँ एक पटक पुगिसकेकालाई पटकपटक जान मन लाग्छ । पर्यटकीय क्षेत्रका रूपमा स्थापित भइसकेकाले स्थानीय सरकारले थप व्यवस्थापनमा ध्यान दिन आवश्यक छ,’ उनले भने । सडकलाई थप व्यवस्थित गर्नुपर्ने, झरना परिसरमा मूर्ति, हस्तकलाका सामग्रीसहित सुन्दर बनाउन सकिने सुवारको सुझाव छ । झरना पर्यटकको रोजाइमा परेसँगै ‘समुदाय प्रहरी साझेदारी’ अवधारणाअन्तर्गत जिल्ला प्रहरी कार्यालयले उत्प्रेरणा अभिवृद्धि कार्यक्रम सञ्चालन गरी इलाका प्रहरी कार्यालय मंगलटारको समन्वयमा आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले झरना क्षेत्रमा सरसफाइ गरेको छ । सोमबार प्रहरीको टोलीले सो क्षेत्रमा अवलोकन भ्रमण गरी झरना वरिपरिको क्षेत्रमा सरसफाइ गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । समुदायमा नयाँ सन्देश प्रवाह गर्न तथा सबैको रोजाइमा परेको झरनामा प्रहरी कर्मचारीलाई पनि उत्प्रेरणा प्रदान गर्दै सरसफाइ गरिएको उनले बताए । रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले झरना क्षेत्रमा पर्यटकको सहजताका लागि थप पूर्वाधारहरु निर्माणको चरणमा रहेको बताए । ‘हामीले पर्यटकलाई स्नान कक्ष, कपडा फेर्ने कक्ष, शौचालय र विश्रामस्थल निर्माण गरेका छौँ । ती संरचना यथाशीघ्र सञ्चालनको तयारी भइरहेको छ,’ उनले भने, ‘पर्यटक झरनामा रुझेर मनोरञ्जन लिने, पौडी खेल्ने भएकाले यहाँ भएको पोखरीलाई थप व्यवस्थापन गर्न प्राविधिक अध्ययन गरिरहेका छौँ ।’ जिल्ला सदरमुकामबाट करिब ३० किलोमिटरको दूरीमा रहेको सो ठाउँ प्रचारमा आएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको अध्यक्ष लामाले बताए । ‘यहाँ पुग्नेहरूले झरनामा छुट्टै आनन्द मिल्ने गरेको अनुभूति सुनाउने गर्दछन्,’ उनले भने । पर्यटकको सङ्ख्यामा वृद्धि भएसँगै काफलडाँडामा स्थानीयले घरबास (होमस्टे) सञ्चालनमा ल्याएका छन् । स्थानीयले यहाँ उत्पादित कृषिजन्य वस्तु घरबासमा आउने पाहुनालाई खुवाउने गर्दछन् भने बिक्रीसमेत गर्न थालेका छन् । विसं २०२८ मा तत्कालीन नेपाल पर्यटन विभागमा सूचीकृत भएको झरना यसअघि ओझेलमा परेको थियो । अहिले यो झरना आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ । रासस
भौतिक संरचनाले कुरूप बन्दै पर्यटकीयस्थल मझुवागढी
खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा र कालिका भगवती देवीको मन्दिर छ । चारैतिर हरियाली जंगलले घेरिएको मझुवागढीमा घुमफिर गर्ने, वनभोज खाने, अध्ययन भ्रमण गर्ने, साहित्यिक तथा सांगीतिक कार्यक्रम गर्नेलगायत व्यक्ति तथा समूह पुग्ने गरेका छन् । प्राकृतिक रूपमै अग्लो डाँडामा रहेको मझुवागढीमा विसं १८०४ सम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । किरात ऐतिहासिकस्थल मझुवागढीको उत्तरी दिशामा बारुद ढुंगा र हतियार निर्माण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फूलपातीडाँडा, राँगा आहल र दमाहा ढुंगा रहेको छ । त्यस्तै, गढीको बीच भागमा मौली रहेको छ । तत्कालीन समयमा रणवीर राजाका रैतीहरूले दसैँ मान्नका लागि ल्याएका राँगा बोका राख्ने ठाउँलाई मौली भन्ने गरिन्थ्यो । मौलीभन्दा अलिक अगाडि पूजाआजा गर्ने ठाउँ छ । यसको केहीमाथि राजाको दरबार र कोट गार्ड ९सुरक्षाकर्मी० बस्ने ठाउँ छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाउँ छभने गढीवरिपरि बंकर घेरासमेत रहेको छ । मझुवागढीको केही तल कालिका भगवती मन्दिर छ । भगवती मन्दिरमा दैनिकजसो बाख्राको पाठी बलि दिने गरिन्छ । बुद्धेश्वर गुफामा रामनवमी, बालाचतुर्दशी, शिवरात्रि, हरितालिका तिजलगायत चाडपर्वमा ठूलो मेला लाग्ने गर्दछ । धार्मिक तथा पर्यटकीयस्थल मझुवागढीमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको छ । मझुवागढीमा हरेक वर्षको उँभौली र उँधौली चाड अर्थात् वैशाखे र मङ्सिरे पूर्णिमामा तीन चुल्हाको पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवाको अर्थ माझ अर्थात् बीच भन्ने बुझिन्छ । मझुवागढीको पश्चिम दिशामा महुरेगढी, हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा पर्छ । त्यस्तै, पूर्वमा चुइचुम्मागढी दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ याम्खामा पर्छ भने दक्षिणमा खाम्तेल गढी हाल हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा पर्दछ । चारैतिर गढी नै गढीले घेरिएको मझुवागढी बीचमा पर्ने भएकाले उक्त ठाउँको नाम मझुवागढी भनिएको जानकार बताउँछन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल, वडा नं ४ खाल्ले र वडा नं ५ लफ्याङको सिमानामा पर्ने मझुवागढी पछिल्लो समय कुरूप बन्दै गएको छ । प्राकृतिक रूपमै पर्यटकीय क्षेत्र रहेको मझुवागढीलाई पर्यटन प्रवर्द्धनको नाममा अनावश्यक भौतिक संरचना निर्माण गर्दा कुरूप बन्दै गएको हो । धार्मिक तथा पर्यटकीय क्षेत्रको संरक्षण गर्नुपर्नेमा त्यसलाई असर गर्नेगरी भौतिक संरचना बनाएर अनुत्पादक क्षेत्रमा लगानी गरेको जनाउँदै आलोचना सुरु भएको छ । कोशी प्रदेश सरकार तथा नगरपालिकाको साझेदारीमा कालिका भगवती देवीको मन्दिरभन्दा केही तल अवस्थित बुद्धेश्वर गुफा नजिकै सिमेन्टको कङ्क्रिट प्रयोग गरेर भौतिक संरचना निर्माण गरेपछि आलोचना सुरु भएको हो । समपूरक अनुदानअन्तर्गत कोशी प्रदेशको ६५ प्रतिशत र नगरपालिकाको ३५ प्रतिशत गरी १ करोड ३६ लाख ८४ हजारमध्ये ९६ लाख ६६ हजार २ सय ८९ रुपैयाँ लागतमा ठेक्कामार्फत बुद्धेश्वर गुफा अगाडि टावर निर्माण गरिएको छ । निर्माणाधीन टावरका लागि २०८१ साल असार २४ गतेसम्म सक्नेगरी निर्माण कम्पनीले २०८० साल माघ ९ गते सम्झौता गरेको थियो । निर्माणाधीन आयोजनाको ७५ लाख ७ हजार ४ सय ९६ रुपैयाँ भुक्तानी भएको नगरपालिकाका सूचना अधिकारी मोहनकुमार भट्टराईले जानकारी दिए । मझुवागढी सौन्दर्यकरणका चालु आर्थिक वर्षमा पनि कोशी प्रदेश सरकारले १ करोड रुपैयाँ रकम विनियोजन गरेको नगरपालिकाले जनाएको छ । अघिल्लो स्थानीय सरकारले विभिन्न ठाउँमा टावर, आँखा पोखरी, देवीथानलगायत अन्य अनुत्पादक क्षेत्रमा लगानी गरेको र वर्तमान स्थानीय सरकारले पनि बुद्धेश्वर गुफा अगाडि टावरलगायत संरचना निर्माण गरेको उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजु लयालुले आरोप लगाए । ‘सम्पदा नै संंकटमा पर्नेगरी टावर बनाइएको छ । टावर बन्दैमा पर्यटन प्रवर्द्धन हुन्छ भन्ने धारणा गलत हो । त्यसमाथि पनि सिमेन्टको कङ्क्रिट प्रयोग गरेर बनेको संरचना बनाइएको छ । त्यो अझै गलत हो,’ उनले भने, ‘अहिले बनाइएको टावरले त दिक्तेल बजारतिरको दृश्य छलिएको छ । पहिले देवीथान क्षेत्रको जहाँबाट हेर्दा पनि दिक्तेल बजार देखिन्थ्यो । अहिले पूर्वी–दक्षिणबाट हेर्दा टावरले छलिएको छ । टावर त देखिनुको लागि होइन र ? कहाँ के गर्ने भन्ने बुझ्नुपथ्र्यो । प्राकृतिक संरचना भत्काउनुअघि पुरातत्वक विभागसँग अनुमति लिनुपर्छ । यो विषयमा नगरपालिकाले चासो दिएन । अहिले बनेका संरचनाले पुस्तौँसम्म असर गर्छ ।’ मझुवागढी आसपासका क्षेत्रमा भ्यूटावर, धर्मशाला, प्रतिक्षालय, खानेपानीको ट्यांकीलगायत करोडौँका संरचना निर्माण भइरहेका छन् । दिक्तेलबजारस्थित हाटडाँडाबाट नै सिमेन्ट र बालुवा प्रयोग गरेर कङ्क्रिटको पदमार्ग निर्माण गरिएका छन् । नगरप्रमुख तीर्थराज भट्टराईले भने पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले पर्यटकलाई आकर्षित गर्न मझुवागढी आसपासका क्षेत्रमा भौतिक संरचना बनाइएको दाबी गरेका छन् । ‘मझुवागढीलाई पर्यटन प्रवर्द्धन गर्दै नगरको आम्दानीको स्रोत बनाउने उद्देश्यले पर्यटकलाई आकर्षित गर्ने संरचना बनाइएको हो । सुविधासम्पन्न भौतिक संरचना निर्माण गर्नु अनुत्पादक क्षेत्रमा लगानी गर्नु होइन,’ उनले भने, ‘भौतिक पूर्वाधार अभाव रहेको मझुवागढी क्षेत्रमा सुविधासम्पन्न संरचना निर्माण भइरहेका छन् । निर्माणाधीन संरचना सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटक आउने र नगरको आन्तरिक आम्दानीको स्रोत वृद्धि हुने भएकाले अनुत्पादक भन्न मिल्दैन ।’ मझुवागढी क्षेत्र किरात ऐतिहासिकस्थल तथा धार्मिक पर्यटकीय क्षेत्र भएकाले संवेदनशील भएर संरचना बनाउनुपर्ने जिल्लावासीको सुझाव छ । तर, नगरपालिकाले प्राकृतिक संरचना भत्काउनुका साथै करोडौँ रकम खर्चेर सिमेन्टको कङ्क्रिट तथा फलामे डण्डी र जस्तापाता प्रयोग गरेर धमाधम भौतिक संरचना निर्माण गरिरहेको छ ।
जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको बलि
काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको ८ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । समुन्द्री सतहदेखि चार हजार छ सय मिटर उचाइमा रहेको खयरभारानी तालमा जनैपूर्णिमा पर्वको मेला भर्न गएका भक्तजनले चढाएको भेटी र पाउद्वार गाउँमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको सो रकम विभिन्न सङ्घ संस्थालाई सहयोग गरिएका जनाइएको छ । पाउद्वार टोल विकास संस्थाका अध्यक्ष हरिप्रसाद तिलिजाले खयरमा सङ्कलन भएको ४ लाख ४९ हजार ६४५ रुपैयाँ भेटी, गाउँमा भएको सांस्कृतिक कार्यक्रममा सङ्कलन भएको २ लाख ६८ हजार ८८५ रुपैयाँ र दाताहरुले गरेको १ लाख ३५ हजार रुपैयाँ विकास निर्माण, संस्कृति संरक्षण, खेलकुद र स्वास्थ्य क्षेत्रमा परिचालन गरिएको बताए । ‘गाउँभेलाको निर्णयअनुसार सांस्कृतिक कार्यक्रमको पुरस्कार, खयरभारानीको पुजा व्यवस्थापनलगायत शीर्षकमा ३ लाख १७ हजार ९५५ रुपैयाँ खर्च भएको थियो, खर्च कटाएर बेचेको ५ लाख ३४ हजार ५७५ रुपैयाँ विभिन्न सङ्घसंस्था र योजनाका लागि उपलब्ध गराएका हौँ,’ उनले भने । पाउद्वारको कोतलेखोरेदेखि चिमीका जोड्ने सडक निर्माणका लागि २ लाख ५० हजार रुपैयाँ, पाउद्वार माविलाई ७० हजार रुपैयाँ, पाउद्वार आमा समूहलाई ४५ हजार रुपैयाँ, भलिबल खेल कोषमा ३० हजार रुपैयाँ, टोलविकास समितिलाई २९ हजार ५७५ रुपैयाँ, पुख्र्यौली नृत्य समूहलाई ३० हजार रुपैयाँ, खयरभारानी युवाक्बलाई २५ हजार रुपैयाँ, गिबाङ टोललाई २५ हजार रुपैयाँ, पाउद्वार ढल निकासका लागि २५ हजार रुपैयाँ र पाउद्वार स्वास्थ्य इकाइका लागि १० हजार रुपैयाँ सहयोग गरिएको तिलिजाले जानकारी दिए । खयरभारानीमा यही भदौ ३ गते लागेको जनैपूर्णिमा मेलामा २३८ वटा भेडाको पाठा र साढेको बलि चढाएका थिए । खयरभारानीमा मागेको वर पूरा भएपछि भेडाको पाठा र साढे बलि चढाउने चलन छ । अन्नपूर्ण हिमशृङ्खलामा पर्ने बराह शिखर हिमालको फेदमा रहेको खयरभारानीमा जनैपूर्णिमाका दिन पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ । प्राकृतिक हिसाबले सुन्दर र रमणीय खयरभारानी ताल, त्यहाँबाट देखिने हिमाल, भेडा र चाँैरीगाईको गोठ र पहाडी भूगोलको दृष्यले पर्यटकलाई लोभ्याएको छ ।