हिमालय एयरलाइन्सले कुवेतमा पुनः उडान सुरु गर्ने

काठमाडौं । हिमालय एयरलाइन्सले आउँदो अगस्ट २० देखि कुवेतमा आफ्नो सिधा उडान पुनः सुरु गर्ने भएको छ । कुवेतमा कार्यरत र बसोबास गर्ने नेपालीहरूको अत्यधिक मागलाई सम्बोधन गर्दै एयरलाइन्सले आफ्नो सीधा उडान पुनः सुरु गर्न लागेको हो । यो सिधा उडानले दुई राष्ट्रका नागरिक–नागरिकबीचको सम्बन्धलाई मजबुत बनाउने, पर्यटन र व्यापारलाई प्रवर्द्धन गर्ने कम्पनीको विश्वास छ । ग्राहक अनुभवलाई सुदृढ बनाउन कम्पनीले कुवेतका लागि जनरल सेल्स एजेन्ट पार्टनरको रूपमा सिजर्स ट्राभल ग्रुपलाई नियुक्त गरेको छ । सुरुमा सातामा एक उडान मात्र गर्ने कम्पनीले माग भएसँगै थप्दै लैजाने योजना छ । पहिलो उडान काठमाडौंबाट मध्यरात १२ बजेर ४० मिनेटमा उड्ने जहाज स्थानीय समयअनुसार कुवेत बिहान ३ बजेर १५ मिनेटमा पुग्नेछ । त्यसैगरी कुवेतबाट स्थानीय समय बिहान ४ बजेर १५ मिनेटमा उडान भर्ने र स्थानीय समयअनुसार बिहान ११ बजेर ५० मिनेटमा काठमाडौं अवतरण हुने कम्पनीले जनाएको छ ।

नेपाल र भियतनामबीच दुई चार्टर उडान हुँदै

काठमाडौं । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न दुई चार्टर उडान हुने भएको छ । काठमाडौंको हात्तीसारस्थित रुप्से होलिडेजले भियतनामसँग पर्यटक आदनप्रदान गर्न थप दुईवटा चार्टर उडान हुने भएको बताएको हो । नेपाल र भियतनामबीच पर्यटक आदनप्रदान गर्न यसअघि पनि पटकपटक चार्टर उडान हुँदै आएको कम्पनीले जनाएको छ । अब दसैँलगत्तै थप दुई चार्टर उडान हुन लागेको रुप्से होलिडेजले जनाएको छ । आउँदो असोज ३० गते (अक्टोबर १६ बाट ५) का दिन नेपालबाट भियतनाम र भियतनामबाट नेपाल पर्यटक आदनप्रदान गर्न चार्टर उडान हुने कम्पनीले बताएको छ । भियतनामबाट नेपाल आउने भियतनामी पर्यटकलाई भक्तपुर, नगरकोट, काठमाडौं दरबार स्क्वायर, पाटन दरबार स्क्वायर, स्वयम्भू र बौद्धनाथको दर्शन गराउने गरी कार्यक्रम तय भएको छ । त्यसैगरी, नेपालबाट भियतनाम घुम्न जाने पर्यटकका लागि पाँच दिनको टुर प्याकेज तयार गरिएको छ । भियतनामको राजधानी हानोई आसपासका पर्यटकीय गन्तव्यमा नेपाली पर्यटकलाई घुमाइने गरी तयारी भएको छ । नेपाल र भियतनामबीच सिधा उडान नहुने भएकाले चार्टर उडानमार्फत भ्रमण गराउन लागिएको कम्पनीले जनाएको छ । अन्य देश भएर भियतनाम जानु पर्दा धेरै खर्च हुने भएकाले चार्टर उडान गर्न लागिएको र दुवै देशबाट पर्यटक आउने र जाने भएकाले उडानको खर्च कम हुँदा टुर प्याकेज पनि सस्तो कायम गरिएको कम्पनीको भनाइ छ । भियतनाम भ्रमणका लागि सबै शुल्क जोडेर एक लाख ९ हजार ९९९ रुपैयाँको प्याकेज रहेको छ । यो भ्रमण शुल्क मासिक पाँच हजारको किस्ताबन्दीमा समेत रहेको कम्पनीले जनाएको छ । जसमा १२ महिना, १८ महिना वा २४ महिनाको मासिक किस्ताबन्दी सुविधा छ । उक्त मूल्यमा भियतनामको दुईतर्फी हवाई टिकट, भिसा लेटर, एयरपोर्टबाट पिकअप तथा ड्रप, ब्रेकफास्टसहित होटेलको कोठा, स्थानीय टुरका लागि हुने खर्च, गाइड तथा यातायातको खर्च समावेश गरिएको रुप्से होलिडेजले जनाएको छ । भियतनाम टुरका क्रममा नेपाली पर्यटकलाई भियतनामको राजधानी हानोई आसपासका विभिन्न पर्यटकीय गन्तव्यमा घुमाइने बताइएको छ । पहिलो दिन हानोई पुगेर यहाँ थ्री स्टार होटलमा राखिनेछ । दोस्रो दिन उत्कृष्ट पर्यटकीय गन्तव्य निन बिन टापुमा भ्रमण गराउने कम्पनीको भनाइ छ । भ्रमणको तेस्रो दिन अर्को उत्कृष्ट गन्तव्य हा लोङ बेुमा क्रुज सफारी हुने छ । भ्रमणको चौथो दिन ट्रेनस्ट्रिट भिजिट र हानोईको सिटी टुर गराई पाँचौँ दिन नेपाल फर्काइने कम्पनीले जनाएको छ ।

झोलुंगे पुलले बढाए पर्यटक

ढोरपाटन । झोलुंगे पुलको जिल्ला भनेर चिनिने बागलुङमा बर्सेनि नयाँ पुल थपिरहेका छन् । झोलुंगे पुलको सङ्ख्या थपिएसँगै पर्यटन आगमनसमेत बढ्दै गएको छ । जिल्लामा पछिल्लो दुई वर्षमा ४१ वटा झोलुंगे पुल निर्माण भएका छन् । आर्थिक वर्ष २०७९/८० मा २५ र २०८०/८१ मा १६ वटा झोलुंगे निर्माण भएका हुन् । पुल बनेपछि जोखिम मोलेर यात्रा गर्ने हजारौँ नागरिकलाई सहज हुनुका साथै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बनेको छ । बागलुङ र पर्वत जोड्ने गरी कालीगण्डकी नदीमाथि लामो झोलुंगे पुल बनेपछि दैनिक बागलुङ आउने पर्यटक बढेका छन् । विसं २०७७ देखि बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ जोड्ने गरी निर्माण भएको पाँच सय ६७ मिटर लामो पुलले आन्तरिक मात्रै नभई बाह्य पर्यटक तान्न थालेको छ । ‘सिंगल स्पान’ मा निर्माण भएको यो पुल नेपालकै लामो भएको दाबी गरिँदै आइएको छ । गतवर्ष गत यसै वर्ष बागलुङ नगरपालिका–४ उपल्लाचौ गौरीधामदेखि पर्वतको जलजल गाउँपालिका–८ नाङ्लिबाङ ओडारे जोड्ने गरी ५२३ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको थियो । यी दुवै पुलका कारण पर्यटक बढेको जानकार बताउँछन् । जिल्लाको ग्रामीण क्षेत्रमा निर्माण भएका पुलले आन्तरिक पर्यटकलाई आकर्षित गर्ने गरेको छ । जिल्ला सदरमुकाम बागलुङ बजार नजिकै बनेका दुई लामा झोलुंगे पुलले पहिले बागलुङ कालिका मन्दिरसम्म आएर फर्कने पर्यटकलाई बजारसम्म तान्ने गरेको छ । बजारसम्म मात्रै नभई यहाँका धार्मिक तथा पर्यटकीयस्थलसम्म पुर्याउन मद्दत पुर्याएको छ । पुल सञ्चालनमा आएपछि मुस्ताङको मुक्तिनाथ र म्याग्दीको गलेश्वर जाने पर्यटक पनि बागलुङमा आउन थालेको पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिए । पुलले गर्दा पछिल्लो समय बागलुङमा ३० प्रतिशत पर्यटक आगमनमा वृद्धि भएको उनको भनाइ छ । ‘पुलले बागलुङको पहिचानलाई उचोँ बनाएको छ, बागलुङ नगरपालिकाले ‘पहाड र पुलको नगर, सांस्कृतिक धरोहर’ नारासहित पर्यटन प्रवर्द्धन सुरु गरेको छ,’ खड्काले भने, ‘पुलले टाढा–टाढा मानिसलाई पनि यसले जोड्ने काम गरेको छ ।’ बागलुङको १० वटै स्थानीय तहमा दर्जन बढीको हारहारीमा झोलुंगे पुल छन् । एउटै पालिमा धेरै सङ्ख्यामा बनेका पुलले ग्रामीण क्षेत्रका नागरिकलाई वारपारमा सहज बनाई दिएको तमानखोला गाउँपालिका–२ का नरबहादुर विकले बताए । यसैवर्ष तमानखोलाको भयरबोङ्गामा बनेको पुलले स्यानीयलाई वारपारमा सहज बनाउनुका साथै आन्तरिक पर्यटक आउन थालेको उनको भनाइ छ । यहाँ पुल बनेपछि गाउँलेको जीवनस्तर नै बदलिएको उनले सुनाए । विकले भने, ‘यो पुल नहुँदा एक गाउँदेखि अर्को गाउँमा पुग्न झण्डै दुई घण्टा लाग्थ्यो, अहिले पाँच मिनेटमै पुगिन्छ, पुलले हाम्रो दैनिकी त बदली दियो नै बाहिरबाट मान्छेहरू घुम्न आउन थालेका छन्, घुम्न आएका मान्छेले गाउँमा उत्पादन भएका वस्तुहरु किनेर लैजाने गर्छन्, पुलसम्म आउने सडकलाई व्यवस्थित गरेर प्रचार गर्न सकियो भने धेरै पर्यटक यहाँ आउने देखिन्छ ।’ बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजार नजिकै दुई वर्ष अगाडि निर्माण भएको लामो झोलुंगे पुलमा पनि आन्तरिक पर्यटक सङ्ख्या बढिरहेको छ । पुलमा वारपार गर्ने स्थानीयभन्दा फोटो भिडियो खिच्ने र रमाउने सङ्ख्या धेरै हुने ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए । तमानखोलामाथि बिसमर र घोँसाखानी गाउँलाई जोड्ने गरी निर्माण भएको यो पुल अहिले आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको हो । पुलमा दैनिक दुई यस बढी आन्तरिक पर्यटकले वारपार गर्ने गरेका छन् । बुर्तिबाङ–बोङ्गादोभान सडकखण्डको माथि पट्टी निर्माण भएको पुलले पनि यात्रुलाई आकर्षित गर्ने उनले बताए । पुल दुई सय ४३ मिटर लामो छ । पुल नबन्दा खोला वारपार गर्न करिब एक घण्टा लाग्ने गरेकामा अहिले तीन मिनेटमै आउजाउ गर्न सकिन्छ । पुल निर्माणपछि ढोरपाटन नगरपालिका–३ को पुर्कोट, घोँसाखानी, सामा, बिसमरलगायतका गाउँका हजारौँ नागरिकलाई सहज भएको छ ।