दश महिनामा पाँच लाख ७३ हजार बढी पर्यटक मुस्ताङ भित्रिए
मुस्ताङ । चालु आर्थिक वर्ष २०८२/८३ को दश महिनामा पाँच लाख ७३ हजार ९७७ जना पर्यटक मुस्ताङ भित्रिएका छन् । चालु आवको साउनदेखि वैशाखसम्म आन्तरिक तथा बाह्य गरी उक्त सङ्ख्यामा पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दश महिनामा चार लाख २० हजार ८६ आन्तरिक र एक लाख ५३ हजार ८९१ जना बाह्य पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । आन्तरिकतर्फ दुई लाख १९ हजार ८१७ पुरुष र दुई लाख २६९ जना महिला पर्यटक मुस्ताङ भित्रिएका जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । यसैगरी बाह्यतर्फ ९० हजार ९५७ पुरुष र बाँकी महिला पर्यटक मुस्ताङ भित्रिएका प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे । म्याग्दी र मुस्ताङको सिमाना थासाङ गाउँपालिका-४ घाँसास्थित प्रहरी चेक पोस्टमा प्रविष्ट भएको प्रहरी तथ्याङ्कअनुसार सबैभन्दा कम साउनमा १९ हजार ७९१ र सबैभन्दा बढी वैशाख महिनामा एक लाख पाँच हजार ५०३ जना आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बस्यालका अनुसार चालु आवको साउनदेखि वैशाख महिनासम्म कोरला सडकको म्याग्दी हुँदै एक लाख ३१ हजार ६७२ वटा विभिन्न प्रकारका सवारीसाधन मुस्ताङ भित्रिएका छन् । वसन्त ऋतुको आगमनसँगै अनुकूल पर्यटकीय याम चैत र वैशाख महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका उनको भनाइ छ । यसैगरी हिउँदयाम अघिको असोजमा ७५ हजार ५९९ र कात्तिकमा ८३ हजार ७६६ आन्तरिक तथा बाह्य पर्यटक मुस्ताङ भित्रिएको प्रहरी तथ्याङ्कले देखाएको छ । बर्खायामको सुरुवाती समयको अनुकूल याममा मुस्ताङ भ्रमण गर्नेको घुइँचो बढ्ने गरेको हो । अनुकूल यामको मौका छोपेर उल्लेख्य सङ्ख्यामा भारतीय पर्यटक र नेपाली पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन गर्न आउने गरेका प्रहरी चेक पोस्टमा प्रविष्ट तथ्याङ्कले देखाएको छ । मुस्ताङ भित्रिएका बाह्य पर्यटकको सङ्ख्यामध्ये ८० प्रतिशत बढी भारतीय पर्यटक हुने गरेका प्रहरी निरीक्षक बस्यालको भनाइ छ । गत आर्थिक वर्षमा सात लाख पाँच हजार ७७९ जना पर्यटकले मुस्ताङको भ्रमण गरेका थिए । गतवर्ष भित्रिएका पर्यटकमध्ये पाँच लाख ५५ हजार ३२६ जना आन्तरिक र एक लाख ५० हजार ४५३ जना बाह्य रहेका प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । चालु आवको भदौमा जेनजी युवाको आन्दोलन, अमेरिका(इजराइल र इरानबीचको मध्यपूर्वको द्वन्द्वका कारण मुस्ताङको पर्यटनमा आशिंक असर पुगेको उनको बुझाइ छ । बर्सेनि बढ्दो क्रममा पर्यटन आगमन रहेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ मा अवस्थित पवित्र धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरको दर्शन गर्ने उद्देश्यले भारतीय र नेपाली पर्यटक मुस्ताङ आउने गर्दछन् । यसका साथै कागबेनीधाममा श्राद्ध र तर्पण गर्ने, कोरला नाका र लोमान्थाङको अवलोकन गर्ने उद्देश्यले मुस्ताङमा पर्यटकको उपस्थित हुने गरेको हो । यहाँको पृथक प्रकारको भूगोल, जैविक विविधता, प्राचीन कला संस्कृति, रहनसहन, हिमाली सौन्दर्यता र यहाँको विशेष प्रकारको मौलिकताका कारण मुस्ताङमा पर्यटकीय आकर्षण बढ्दै गएको सरोकार भएकाहरूले बताएका छन् । रासस
५ हजारले दर्शन गर्ने अनुमान, ३ सय बढी पुगिसके
काठमाडौं । हिमालको काखमा अवस्थित पवित्र तीर्थ गोसाइँकुण्डमा गङ्गादशहरा पर्वको अवसर पारेर वार्षिक विशेष मेला सुरु भएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीका लागि श्रद्धा, आस्था र मोक्ष प्राप्तिको केन्द्र मानिने यस तीर्थमा भगवान शिवको दर्शन तथा स्नान गर्न देश-विदेशबाट भक्तजनहरू पुग्न थालेका छन् । जेठ ३ गतेदेखि सुरु भएको मेला जेठ १२ गतेसम्म सञ्चालन हुने छ । चन्दनबारीका होटल व्यवसायी सुब्बा लामाका अनुसार हालसम्म ३ सयभन्दा बढी तीर्थयात्री कुण्ड क्षेत्रमा पुगिसकेका छन् भने यस वर्ष करिब ५ हजार भक्तजन आउने अनुमान गरिएको छ । शिवको तपोभूमि: शास्त्रमा वर्णित गोसाइँकुण्ड पुराणहरूमा वर्णन भएअनुसार देवता र दानवबीच भएको समुद्र मन्थनबाट निस्किएको घातक कालकूट विषले सम्पूर्ण सृष्टि विनाश हुने अवस्था सिर्जना भएको थियो । सृष्टिको रक्षा गर्न भगवान शिवले उक्त विष कण्ठमा धारण गरे । जसकारण उहाँ नीलकण्ठ नामले प्रसिद्ध भए । विषको ताप सहन नसकेपछि भगवान शिव शीतल स्थानको खोजी गर्दै हिमालय क्षेत्रमा आउनुभएको धार्मिक विश्वास छ । त्रिशूलले हिमालको पहरामा प्रहार गर्दा निस्किएको पवित्र जलबाट बनेको दिव्य कुण्ड नै गोसाइँकुण्ड भएको जनविश्वास रहिआएको छ । यही कारणले यस कुण्डको जललाई पाप नास गर्ने, मन शुद्ध गर्ने तथा मोक्ष प्रदान गर्ने पवित्र जल मान्नेहरू पनि छन् । धार्मिक मान्यताअनुसार गङ्गादशहरामा स्नान गर्दा दश प्रकारका पाप नाश हुन्छन् । जनै पूर्णिमामा स्नान गर्दा जन्मजन्मान्तरका दोष समाप्त हुने विश्वास छ । जीवनमा एकपटक गोसाइँकुण्ड दर्शन गरे मोक्ष प्राप्त हुने मान्यता रहिआएको छ । कठिन यात्रा, दिव्य अनुभूति, समुन्द्र सतहदेखि करिब १४ हजार १०० फिट उचाइमा अवस्थित यो तीर्थ पुग्न श्रद्धा, धैर्य र साहस आवश्यक पर्छ । काठमाडौंबाट बालाजु बसपार्क हुँदै शिवपुरी, छहरे, ढुङ्गे, बेत्रावती, कालिकास्थान पार गरी धुन्चे पुगेपछि पैदल यात्रा सुरु हुन्छ । धुञ्चेबाट शिवमन्दिर, त्रिशूली नदी किनार, चन्दनबारी (सिङ्गगोम्पा), चोलाङपाटी, लौरीविनायक, गणेश गौँडा हुँदै तेर्सो ककरो भिर पार गरेपछि अन्ततः पवित्र गोसाइँकुण्ड दर्शन हुन्छ । यात्रुहरूको अनुभवअनुसार उकालो चढ्दा सास फेर्न गाह्रो भए पनि कुण्डमा स्नान गरेपछि सम्पूर्ण थकान हराएर नयाँ उमङ्ग प्राप्त हुने अनुभूति मिल्छ । धार्मिक सेवा र यात्रु व्यवस्थापन बढ्दो यात्रु चापलाई मध्यनजर गर्दै होटल व्यवसायीहरूले आवश्यक खाद्यान्न ढुवानी गरिसकेका र खान-बस्नको उचित व्यवस्थापन गरिएको होटल व्यवसायी लामाले बताए । जेठ ९ देखि १२ गतेसम्म कुण्ड क्षेत्रमा विशेष पूजाका लागि पुजारीको व्यवस्था गरिने गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए । यात्राका क्रममा समस्या परे नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलले उद्धार सेवा निरन्तर सञ्चालन गर्ने जिल्ला प्रहरी प्रमुख अशोक थापाले बताए । स्वास्थ्य र सुरक्षित यात्रा सुझाव लौरीविनायकभन्दा माथि उचाइका कारण लेक लाग्ने सम्भावना रहने भएकाले स्वास्थ्यकर्मीले निम्न सावधानी अपनाउन आग्रह गरेका छन् । धुन्चेमा एक रात बस्दै शरीरलाई वातावरणसँग मिलाएर जान उपयुक्त हुने स्थानीयले बताएका छन् । अदुवा, कागती, लसुन, बिरेनुन साथमा लैजाने, चिकित्सकको सल्लाहअनुसार औषधि प्रयोग गर्ने, हतार नगरी बिस्तारै उकालो चढ्ने, पैदल यात्रा गर्न नसक्ने ज्येष्ठ नागरिकका लागि काठमाडौँ विमानस्थलबाट हेलिकोप्टर सेवा पनि उपलब्ध रहेको जनाइएको छ । प्रकृति संरक्षण पनि धर्मकै अङ्ग यात्राका क्रममा वन्यजन्तुलाई नतर्साउन, वनस्पति नकाट्न र फोहर तोकिएको स्थानमा मात्र व्यवस्थापन गर्न सबै यात्रुमा अनुरोध गरिएको छ । हिमालयको संरक्षण नै भगवान शिवप्रतिको सच्चा श्रद्धा भएको धार्मिक तथा वातावरणीय सन्देश रहेकाले सोहीअनुसार आग्रह गरिएको लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहले बताए । आस्था, प्रकृति र अध्यात्मको सङ्गम धार्मिक विद्वानहरूका अनुसार भगवान शिवले सम्पूर्ण प्राणीजगत्को रक्षा गर्न विषपान गरेको स्मरण स्वरूप भक्तजनले जीवनमा कम्तीमा एकपटक भए पनि गोसाइँकुण्ड दर्शन गर्नुपर्ने मान्यता रहिआएको छ । कठिन हिमाली यात्रा, शुद्ध हिमजल, मन्त्र उच्चारणको गुन्जन र गहिरो श्रद्धाले भरिएको वातावरणले गोसाइँकुण्डलाई केवल ताल मात्र नभई आत्मशुद्धि, आस्था र आध्यात्मिक जागरणको तीर्थ बनाएको छ । गङ्गादशहराको पावन अवसरसँगै गोसाइँकुण्ड हाल भक्तिभाव, विश्वास र धार्मिक उत्साहले भरिएको पुरोहित उपेन्द्र मिश्रले बताए ।
पोखराबाट हुन सकेन नियमित अन्तरराष्ट्रिय उडान
राम थापा गण्डकी । छिमेकी केही देशमा ‘चार्टर’ उडानबाहेक पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान हुन सकेको छैन । झण्डै २२ अर्ब रूपैयाँ ऋणमा बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थल आन्तरिक उडानमा मात्र सीमित छ । सन् २०२३ को जनवरी १ मा यस विमानस्थलको उद्घाटन भएको थियो । सन् २०२५ मार्चमा निजी वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले पहिलोपटक पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरू गरे पनि त्यो लामो समय टिक्न सकेन । गत मार्च २३ बाट हिमालय एयरलाइन्सले पोखरा–ल्हासा उडान सेवा बन्द गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले बताए । 'यात्रु सङ्ख्या न्यून भएको भन्दै हिमालय एयरलाइन्सले एक वर्षमै पोखरा–ल्हासा उडान सेवा बन्द गरेको छ', उनले भने, 'छिटपुट रूपमा चार्टर उडानबाहेक अहिले पोखराबाट नियमित रूपमा कुनै पनि अन्तरराष्ट्रिय उडान हुन सकेको छैन ।' मङ्गलबार पहिलोपटक पोखराबाट भारततर्फ मेडिकल चार्टर उडान भएको महाप्रबन्धक निरौलाले बताए । मुक्तिनाथ दर्शन गरेर फर्किने क्रममा बिरामी पर्नुभएका भारतको मध्यप्रदेश, भोपालका शम्भु दयाल श्रीवास्तवलाई मेडिकल चार्टर उडानमार्फत भारत पठाइएको उनको भनाइ छ । उनका अनुसार श्री एयरलाइन्सको जहाजले मङ्गलबार दिउँसो ३ः९ मिनेटमा भोपालका लागि उडान भरेको थियो । भारतका केन्द्रीय कृषि तथा ग्रामीण विकासमन्त्री एवं मध्य प्रदेशका पूर्वमुख्यमन्त्री शिवराज सिंह चौहान र बिरामीका परिवारको समन्वयमा श्री एयरलाइन्सले उक्त मेडिकल चार्टर उडान गरेको महाप्रबन्धक निरौलाले बताए । 'पहिलोपटक पोखरादेखि भारतका लागि चार्टर उडान भएको हो, यसले पोखरादेखि भारतका विभिन्न सहरमा नियमित उडानका लागि अनुमति लिन र आवश्यक कूटनीतिक पहल थाल्न नेपाल सरकारलाई सहज हुने देखिन्छ', उनले भने । भारत सरकारले अनुमति दिएमा नेपाली एयरलाइन्स कम्पनीहरूलले भारतका विभिन्न गन्तव्यमा उडान भर्न सक्ने महाप्रबन्धक निरौलाले बताए । पोखरादेखि चीन, भुटानलगायत देशमा यसअघि चार्टर उडान भए पनि भारतमा पहिलोपटक चार्टर उडान भएको हो । पोखराबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि सरकार र सम्बद्ध निकायले प्रयास गर्दै आए पनि त्यसले सार्थक रूप लिन सकेको छैन । पोखरामा अन्तरराष्ट्रिय विमानस्थल बनाउने ५० वर्षअघिको योजनाले सार्थकता पाए पनि विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन नसकेको हो । पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले पोखरादेखि नियमित अन्तरराष्ट्रिय उडान सुरू गर्न सङ्घ सरकारले कूटनीतिक पहल थाल्नुपर्ने बताए । 'निजी क्षेत्र, स्थानीय तह, प्रदेश सरकारलगायतले यो विषय उठाउँदै आएका छन्', उनले भने, 'पराराष्ट्र मामिलासँग जोडिएको र कूटनीतिक विषय भएकाले सङ्घ सरकारले नै यसमा निर्णायक पहल लिनु आवश्यक छ ।' भारतसँगको सीधा हवाई मार्गमा पोखरालाई जोड्न सके पोखरासहित सिङ्गो मुलुकले पर्यटन र व्यापारबाट फाइदा लिनसक्ने उनको भनाइ छ । अध्यक्ष कार्कीले पोखरामा अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि पोखरेलीले ठूलो मेहनत र सङ्घर्ष गर्नुपरेको सुनाए । पोखरादेखि हुने आन्तरिक उडान भने धेरै सहज हुँदै गएको उनको भनाइ छ । 'पहिले पोखराबाट दिउँसो ३ः०० बजेपछि उडान हुँदैनथ्यो, अहिले रात्रिकालीन उडान पनि भइरेहको छ', अध्यक्ष कार्कीले भने, 'नियमित अन्तरराष्ट्रिय उडान हुन सकेमा देशले ठूलो लाभ पाउँथ्यो, अर्बौं खर्चेर बनाइएको विमानस्थल घाटामा चलाउनुपर्ने अवस्थाको अन्त्य हुनेथियो ।' पर्यटकीय राजधानीसमेत रहेको पोखरा अन्तरराष्ट्रिय हवाई सञ्जालमा जोडिएर ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रने आशमा रहेका पर्यटन व्यवसायी पनि विमानस्थलबाट अन्तरराष्ट्रिय उडान नहुँदा निराश छन् । यस विमानस्थल बनेपछि पोखराको पर्यटनमा झण्डै एक खर्ब रूपैयाँ लगानी थपिएको पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले बताए । पोखराबाट नियमित अन्तरराष्ट्रिय उडानका लागि पहल गर्न पर्यटन व्यवसायीलगायतले पटक–पटक सङ्घ सरकारसमक्ष आग्रह गरे पनि हालसम्म कुनै परिणाम निस्कन नसकेको उनको भनाइ छ । सङ्घ सरकारले कूटनीतिक पहलमार्फत विभिन्न देशमा अन्तरराष्ट्रिय उडान हुने वातावरण निर्माण गर्नुपर्ने पूर्वअध्यक्ष श्रेष्ठले बताए । 'विमानस्थल उद्घाटन भएको साढे तीन वर्ष बितिसक्दा पनि नियमित अन्तरराष्ट्रिय उडान हुन नसक्नु विडम्बना हो', उनले भने, 'पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान नभएसम्म पर्यटकीय राजधानीका रूपमा पोखराले यथोचित लाभ लिन सक्दैन ।' सरकारले शीघ्र कूटनीतिक पहल सुरु गरेर नियमित अन्तरराष्ट्रिय उडान सुरु गर्नुपर्ने उनको भनाइ छ । अन्तरराष्ट्रिय उडान नहुँदा विमानस्थललाई हेरेर लगानी गरेका पर्यटन व्यवसायीसमेत मारमा परेका छन् । पोखराको पर्यटन क्षेत्रमा करिब रु छ खर्बको लगानी रहेको अनुमान छ । पछिल्लो समय पनि तारे होटल धमाधम बनिरहेका छन् । विमानस्थललाई हेरेर लगानी गरेका होटल व्यवसायी पनि चिन्तित छन् । सरकारले जतिसक्दो चाँडो पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गरोस् भन्ने उनीहरूको माग छ । व्यवसायीहरूले पोखराबाट अन्तरराष्ट्रिय उडान गर्न आवश्यक नीति, नियममा सहजीकरण गर्नुपर्ने, भारत र चीनका मुख्य सहरमा उडान गर्न राष्ट्रियस्तरका हवाई कम्पनीहरूलाई अनुमति दिनुपर्नेलगायत माग राख्दै आएका छन् । पोखराबाट नियमित अन्तरराष्ट्रिय उडान राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सबाट सुरु गर्नुपर्ने कतिपयको भनाइ छ । पोखरा र सिङ्गो गण्डकी प्रदेशको समृद्धिको आधार मानिएको पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन सके पर्यटकीय राजधानी पोखराले पर्यटनमा ठूलो फड्को मार्ने देखिन्छ । स्वदेशी वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौं, भरतपुर, भैरहवालगायतका गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् । सरकारले आगामी आव २०८३/०८४ को नीति तथा कार्यक्रममा पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अन्तरराष्ट्रिय वायुसेवा प्रदायकलाई आकर्षित गर्न कूटनीतिक पहल गर्ने जनाएको छ । हवाई पूर्वाधार विकास, अन्तरराष्ट्रिय विमानस्थलहरूको पूर्ण सञ्चालन र आधुनिकीकरण गरी भरपर्दो र प्रतिस्पर्धी हवाई सेवा विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । रासस