मौलिक उत्पादनलाई विश्व बजारमा पु‍र्याउन उन्नति र मेरियट बिजनेस काउन्सिलबीच  साझेदारी

काठमाडौं । नेपालको परम्परागत सीप, महिला उद्यमशीलता तथा स्थानीय स्तरमा उत्पादित हस्तकला (ह्याण्डीक्राफ्ट) लाई अन्तर्राष्ट्रिय आतिथ्य (हस्पिटालिटी) बजारसँग जोड्ने उद्देश्यका साथ उन्नति र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाबीच एक रणनीतिक साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।

उन्नति चौधरी फाउन्डेसन अन्तर्गतको एक विशेष पहल हो, जसले नेपाली परम्परागत सीप र हस्तनिर्मित उत्पादनलाई बजारसँग जोड्ने कार्य गर्दै आएको छ ।

राजधानीमा आयोजित एक विशेष समारोहका बीच चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरी र मेरियट बिजनेस काउन्सिल, दक्षिण एसियाका तर्फबाट किरण एन्डीकोटले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सो हस्ताक्षर समारोहमा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, मेरियट इन्टरनेशनलका अध्यक्ष डेभिड मेरियटलगायत दुवै संस्थाका वरिष्ठ प्रतिनिधिहरूको गरिमामय उपस्थिति रहेको थियो ।

यस सहकार्यको मुख्य उद्देश्य नेपाली हस्तकला, महिला उद्यमी तथा समुदायमा आधारित उत्पादक समूहहरूले उत्पादन गरेका स्थानीय सामग्रीहरूलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्नु हो । 

सम्झौताअनुसार मेरियट र यससँग आबद्ध होटलहरूमा नेपाली रैथाने उत्पादनहरूको प्रदर्शन तथा प्रयोग गर्ने सम्भावनाहरूको खोजी गरिनेछ । यस पहलले नेपाली मौलिक हस्तकलाका सामग्रीलाई अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा स्थापित गर्न मद्दत गर्नुका साथै स्थानीय समुदायका लागि आर्थिक अवसरहरू सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

सहकार्य अन्तर्गत उन्नतिले आफ्नो प्रिमियम ब्राण्ड ‘सिया’मार्फत होटल सञ्चालन तथा कर्पोरेट उपहारका लागि उपयुक्त उत्पादनहरूको विकास तथा छनोट गर्नेछ । यसका साथै योग्य हस्तकला निर्माता र महिला नेतृत्वमा सञ्चालित उद्यमहरूको पहिचान तथा परिचालन गर्ने, उत्पादनको गुणस्तर र मौलिकता सुनिश्चित गर्ने, ब्राण्डिङ गर्ने, प्रवद्र्धनका लागि स्टोरीटेलिङ (कथा प्रस्तुतीकरण) गर्ने तथा यसबाट परेको सकारात्मक प्रभावको मूल्याङ्कन गर्ने कार्य पनि उन्नतिले नै गर्नेछ ।

अर्कोतर्फ मेरियटले आफ्ना होटलहरूलाई आवश्यक पर्ने उत्पादनसम्बन्धी मार्गदर्शन प्रदान गर्नेछ । 

छनोट गरिएका नेपाली उत्पादनहरूलाई आफ्ना होटलहरूमा प्रदर्शन तथा प्रवद्र्धन गर्ने सम्भावनाको खोजी गर्नुका साथै होटल सञ्चालकहरूसँग ती सामग्रीहरूलाई होटल सञ्चालन सामग्री तथा उपकरणमा समावेश गर्ने विषयमा छलफल र सहजीकरण गर्ने भूमिका मेरियटले खेल्नेछ ।

हस्ताक्षर समारोहमा बोल्दै चौधरी फाउण्डेशनका अध्यक्ष निर्वाण चौधरीले नेपालसँग समृद्ध हस्तकला र उद्यमशीलताको परम्परा रहेको उल्लेख गर्दै त्यसले विश्वस्तरमा अझ बढी पहिचान पाउनुपर्नेमा जोड दिए ।

यो साझेदारीले नेपालको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै समावेशी आर्थिक वृद्धिलाई टेवा पुर्याउने लक्ष्य राखेको छ । स्थानीय स्तरमा उत्पादित वस्तुहरूलाई विश्वव्यापी उपभोक्तासम्म पुग्ने अवसर सिर्जना गरेर यस पहलले नेपालको हस्तकला क्षेत्रलाई थप सुदृढ बनाउनुका साथै देशभर दिगो उद्यम विकासलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

दुवै संस्थाले सामाजिक उत्तरदायित्वयुक्त व्यावसायिक अभ्यासलाई प्रवर्द्धन गर्ने, स्थानीय उत्पादकहरूलाई सशक्त बनाउने तथा नवप्रवर्तनशील साझेदारीमार्फत नेपालको विशिष्ट सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा स्थापित गर्ने प्रतिबद्धता समेत पुनः व्यक्त गरेका छन् ।

Share News