वसन्त ऋतुमा एक हजार १८१ ले लिए हिमाल आरोहणको अनुमति
काठमाडौं । यसवर्षको वसन्त ऋतुमा विभिन्न हिमाल आरोहणका लागि अनुमति लिने विदेशीको सङ्ख्यामा वृद्धि भइरहेको छ । पर्यटन विभागका अनुसार सन् २०२६ को वसन्त ऋतुमा हिमाल आरोहणका लागि ७९ देशका एक हजार १८१ आरोहीले अनुमति लिएका छन् । विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । हालसम्म सगरमाथा आरोहणका लागि ५५ देशका ४९४ आरोहीले अनुमति लिएका छन् । सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै १०९ चिनियाँ नागरिकले अनुमति लिएका छन् । यसबाहेक सगरमाथाकै लागि अमेरिकाका ७७, भारतका ६१, बेलायतका ३२, रसियाका १८, अष्ट्रेलियाका १५, जापानका १४, नेपालका १२, ब्राजिलका १० जनाले अनुमति लिएको सूचना अधिकारी गौतमले बताए । यसबाहेक, ल्होत्सेका लागि १४३, आमादब्लमका लागि १११, नुप्त्सेका लागि ५६, हिम्लुङका लागि ४६, कञ्चनजङ्घाका लागि ३६, धवलागिरिका लागि ३० जनाले अनुमति लिएका छन् । यसबाहेक अन्य हिमाल आरोहणका लागि पनि अनुमति जारी भएका छन् । पर्यटन विभागले छ हजार ५०० मिटरभन्दा माथिका हिमाललाई आरोहणका लागि अनुमति दिँदै आएको छ । पाँच हजार ८०० देखि छ हजार ५०० सम्मका हिमाल आरोहणको अनुमति भने नेपाल पर्वतारोहण सङ्घ (एनएमए)ले दिने गरेको छ । विभागले यस वर्ष विभिन्न हिमाल आरोहणका लागि अनुमति प्रदान गरेबापत एक अर्ब २५ करोड ८४ लाख ६० हजार ५५४ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । विभागले सबैभन्दा सगरमाथाबाट एक अर्ब सात करोड ८६ लाख ९१ हजार ४७५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ । त्यसबाहेक, ल्होत्सेबाट छ करोड ३६ लाख २७ हजार ७००, आमादब्लमबाट एक करोड ६६ लाख नौ हजार २००, कञ्चनजङ्घाबाट एक करोड ६० लाख ८१ हजार ६५०, धवलागिरि प्रथमबाट एक करोड ३४ लाख ५४ हजार ५५०, अन्नपूर्ण प्रथमबाट एक करोड २० लाख ४९ हजार १७५ रुपैयाँ राजस्व सङ्कलन भएको छ । विभिन्न हिमाल आरोहण सुरु भइसकेकामा सगरमाथाको आरोहण भने यही वैशाख ३१ गतेबाट सुरु भएको छ । डोरी टाँग्ने र बाटो बनाउने काम सम्पन्न भएसँगै आरोहीहरूले आरोहण गर्ने क्रम जारी छ । पछिल्लो समय विश्वको सर्वोच्च शिखर सगरमाथालगायत नेपालका हिमालमा आरोहणमा विदेशीहरूको आकर्षण बढेको हो ।
गौतमबुद्ध विमानस्थलमा ३ बैंकका एटीएम राखिने, भाडा १.९२ लाख रुपैयाँ
काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा फरक फरब बैंकका तीन वटा एटीएम मेशिन सञ्चालन गरिने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक आगमन (डोमेस्टिक अराइभल) भवन बाहिर एटीएम लाउन्ज सञ्चालन गरिने भएको हो । विमानस्थल नागरिक उड्डयन कार्यालय सिद्धार्थनगर, रूपन्देहीले बैंकहरूलाई एटीएम सेवा सञ्चालनका लागि ठेक्का प्रक्रियामा सहभागी हुन आह्वान गरेको छ । कार्यालयका अनुसार आन्तरिक आगमन भवन बाहिर प्रत्येक एटीएमका लागि २ वर्गमिटर क्षेत्रफलका दरले जम्मा ३ वटा फरक-फरक बैंकका एटीएम राखिनेछ । यसको ठेक्का अवधि ५ वर्ष रहनेछ । प्रति एटीएम न्यूनतम ठेक रकम १ लाख ९२ हजार ९६० रुपैयाँ तोकिएको छ । विमानस्थल सेवा शुल्क नियमावली, २०७८ अनुसार बढाबढ प्रक्रियाबाट ठेक्का बन्दोबस्त गरिने कार्यालयले जनाएको छ । नेपाल राष्ट्र बैंकबाट ‘क’ वा ‘ख’ वर्गको इजाजत प्राप्त इच्छुक बैंकहरूले २१ दिनभित्र तोकिएको दस्तुर बुझाएर बोलपत्र फारम खरिद गर्न सक्नेछन् ।
बजेट कार्यान्वयन प्रगति : पर्यटन मन्त्रालयका ४६ कार्यक्रम सम्पन्न, १४ बाँकी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आर्थिक वर्ष २०८१/८२ को बजेट कार्यान्वयनअन्तर्गत ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न गरेको छ । महालेखा परीक्षकको वार्षिक ६३ वार्षिक प्रतिवेदनअनुसार मन्त्रालयले कुल ६० कार्यक्रममध्ये ४६ वटा माइलस्टोनका कार्यक्रम सम्पन्न गरेको हो । मन्त्रालयले २०८१/८२ को बजेट वक्तव्य कार्यान्वयन गर्न ६० माइलस्टोनका कार्यक्रम स्वीकृत गरेको थियो । बाँकी १४ कार्यक्रम भने अझै सम्पन्न हुन बाँकी रहेको छ । बजेट वक्तव्यको बुँदा नं.६५ मा चालु आर्थिक वर्षमा सोह्र लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालन गर्ने, नयाँ गन्तव्यको पहिचान तथा मौजुदा गन्तव्यको विकास र प्रवर्द्धनका लागि पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गरिने, पर्यटकलाई एकद्वार प्रणालीमार्फत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने र पर्वतारोहण अनुमति प्रणालीलाई स्वचालित प्रविधिमा आधारित बनाइने उल्लेख गरिएको छ । तर महालेखाको रिपोर्टले पर्यटकीय गन्तव्यको प्रोफाइल तयार तथा एकद्वार प्रणाली स्थापना भएको नदेखिएको उल्लेख गरेको छ । साथै पर्यटक आगमन सङ्ख्या ११ लाख २८ हजार अर्थात् लक्ष्यको तुलनामा प्रगति ७०.५ प्रतिशत मात्र रहेको देखिएको छ । बजेट वक्तव्यको बुँदा नं.६८ मा भौगोलिक रूपमा निकट रहेका तराई, पहाड र हिमाली क्षेत्रका पर्यटकीय स्थलमा परिपथ विकास गर्दै लगिने र बुद्ध परिपथ, शिव परिपथ, रामायण परिपथ, किराँत सांस्कृतिक परिपथको मार्ग निर्धारण गरी पर्यटन प्रवर्द्धन गर्ने उल्लेख भई अध्ययन प्रतिवेदन प्राप्त भएपनि पर्यटन प्रवर्धनसम्बन्धी अन्य कार्यक्रम सञ्चालन भएको नदेखिएको महालेखाको रिर्पोट छ । त्यस्तै, बजेट वक्तव्यको बुँदा नं.६९ मा सातै प्रदेश समेटिने गरी चुरे, पहाडी र हिमाली क्षेत्रका प्रमुख गन्तव्यस्थलमा पर्यापर्यटन प्रवर्धनका लागि टाकुरा पर्यटकीय गन्तव्य तथा मनोरञ्जन पूर्वाधारसहितका इको हिल स्टेशन निर्माण गरिने र मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रमा होटल स्थापना गर्न सरकारी जग्गा लिजमा उपलब्ध गराइने, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा यस्ता स्थानमा पहुँच मार्ग, विद्युत सेवा, खानेपानी सेवा पुर्याउने व्यवस्था मिलाइने उल्लेख भएकोमा विस्तृत परियोजना प्रतिवेदन तयारीसम्बन्धी कार्यमात्र सम्पन्न भएको देखिएको छ । बाँकी अन्य काम हुन सकेको छैन । बजेट वक्तव्यमा उल्लेख भएका कार्यक्रमहरू कार्यान्वयन गर्नुपर्ने महालेखाले औंल्याएको छ ।