अप्रत्याशित बढे मुस्ताङमा विदेशी पर्यटक, ४ महिनामा ५१ हजार भित्रिए

काठमाडौं । मुस्ताङमा सन् २०२५ को चार महिना ५१ हजार ८९६ विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार सन् २०२५ को जनवरी १ देखि अप्रिल अन्तिमसम्म उक्त सङ्ख्यामा विदेशी पर्यटक मुस्ताङ भित्रिएका हुन् । एक्याप जोमसोमका कार्यालय प्रमुख राजेश गुप्ताले मुस्ताङमा विदेशी पर्यटकको आगमन अप्रत्याशित रुपले वृद्धि भइरहेको बताए । सन् २०२५ को चार महिनामा सार्क राष्ट्रका ४३ हजार १५१ र अन्य राष्ट्रका ८ हजार ७४५  विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् । सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म कुल विदेशी पर्यटक सङ्ख्याको ८३ प्रतिशत सार्क राष्ट्रको र १७ प्रतिशत अन्य राष्ट्रका पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२५ को जनवरीमा चार हजार ३४६, फेबु्रअरीमा पाँच हजार ३३०, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ विदेशी पर्यटक मुस्ताङ भित्रिएका थिए । सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म विदेशी पर्यटकको तथ्याङ्क हेर्दा सन् २०२५ को जनवरीदेखि अप्रिलसम्म (३६.६६) प्रतिशतले विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।  सन् २०२४ को सुरुआती चार महिनामा ३७ हजार ९७४ विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेकामा सन् २०२५ को सुरुआती चार महिनामा ५१ हजार ८९६ जनाले मुस्ताङको भ्रमण गरेका छन् ।  मुस्ताङको ऐतिहासिक, धार्मिक, संस्कृति तथा सामाजिक सभ्यता अवलोकन गर्न उल्लेख मात्रामा विदेशी पर्यटक मुस्ताङ आउने गरेको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । मुस्ताङमा बढी मात्रामा भारतीय पर्यटक आउने गरेका छन् । हिन्दू तथा बौद्धमार्गीहरूको साँझा धार्मिक तीर्थस्थल मुक्तिनाथको दर्शनका लागि छिमेकी देश भारतका विभिन्न स्थानबाट पर्यटक आउने गरेका छन् ।  मुस्ताङमा मुक्तिनाथ मन्दिरको दर्शनसँगै उपल्लो मुस्ताङको कोरलानाका, छोसेर गुफा, लोमान्थाङ दरबार, निफुक गुम्बा, लोघेकर (घर) गुम्बा, चराङ गुम्बा, लुरी गुम्बा, दामोदरकुण्ड, चिउसी गुफा, मुस्ताङ गेट, नुन खानी, कागबेनीधाम, ढुम्बाताल, जोमसोम बजार, मार्फा गाउँ, सेकुङ ताल र टिटी ताललगायतको पर्यटकीय गन्तव्य रहेकाले पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको घुमफिरको गन्तव्य बनेको हो । 

वायुसेवा निगमलाई पुनर्संरचना गरिने, हवाई सेवा पहुँचयोग्य बनाइने

काठमाडौं । सरकारले राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) लाई पुनर्संरचना गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नेपाल वायुसेवा निगमको पुनर्संरचना गरिने घोषणा गरेका हुन् । नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक तथा नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई संसदको चालु अधिवेशनबाट पारित गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । राष्ट्रपति पौडेलले नागरिक उड्डयन नियमनलाई प्रभावकारी बनाउँदै हवाई सेवा सुरक्षित, सुलभ र पहुँचयोग्य बनाइने उल्लेख गरे । उनले हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाउनुका साथै आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवं विस्तार गरिने बताए । नेपाललाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिने उद्देश्य लिएको सरकारले योग ध्यानमार्फत सकारात्मक सोचको अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षकस्थलका रूपमा प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा समावेश गरिएको छ । यस्तै पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारका रूपमा विकास गरिने जनाइएको छ । पर्यावरणमैत्री पर्यटनमा जोड सरकारले दिगो, आय तथा रोजगारीमूलक, प्रविधि र वातावरणमैत्री पर्यटन नीति अवलम्बन गरेको छ । सार्वजनिक–निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुर्‍याइने नीति तथा कार्यक्रममा उल्लेख छ । पर्यटकीय पूर्वाधारमा मौलिकता र नवप्रवर्तनलाई प्रोत्साहित गराइने राष्ट्रपति पौडेलले जानकारी दिए । ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गरिनुका साथै सांस्कृतिक सम्पदाहरूको संरक्षण, प्रवर्द्धन र उचित व्यवस्थापन गरिने जनाइएको छ ।

नेपाललाई पर्यटनको हब बनाउने घोषणा, सम्भाव्यता अध्ययन गरेर मात्रै विमानस्थल निर्माण

काठमाडौं । सरकारले नेपाललाई योग तथा ध्यान पर्यटनको केन्द्र बनाउने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैै यस्तो बताएका हुन् ।  उनले पर्यटनलाई रोजगारी र समृद्धिको आधारका रूपमा विकास गर्ने बताएका हुन् । उनले अब सम्भाव्यताको आधारमा मात्र विमानस्थल बनाउने घोषणा समेत राष्ट्रपतिले गरे । यस्तै, उनले रेल तथा जल यातायात विकास गरी ढुवानी लागत घटाउने घोषणा गरेका छन् । अत्यावश्यक वस्तु तथा सेवा आपूर्ति सहज बनाउन भण्डारण क्षमता, मूल्य निर्धारण र गुणस्तर नियन्त्रणमा जोड दिइने नीति तथा कार्यक्रममा उल्लेख छ ।