एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर छ : सञ्चारमन्त्री गुरुङ
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले एआईको प्रयोगमा नेपाल दक्षिण एशियामै कमजोर रहेको बताएका छन् । सोमबार प्रतिनिधि सभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गुरुङले एआईको प्रयोगमा नेपाल भूटान भन्दा पनि कमजोर रहेको बताएका हुन् । उनले एआईलाई कसरी प्रयोग गर्ने भन्नेबारे नीति नै नरहेको भन्दै अहिलेको सरकारले एआई सञ्चालनका लागि नीति बनाएको बताए । उनले पोलिसी र स्टाटेजी पास भएपछि एआईको प्रयोग बढ्ने जानकारी दिए । सुशासन कायम गर्नका लागि नागरिक एपको भुमिका महत्वपूर्ण रहेको भन्दै सञ्चार मन्त्रालयले नागरिक एप सञ्चालनको जिम्मेवारी लिएको बताए । ‘एआईलाई कसरी प्रयोग गर्ने भन्ने विषयको पनि पोलिसी केही छैन । पोलिसी बनाएका छौँ हामीले । पोलिसी र स्टाटेजी पास भएपछि त्यो पनि अघि बढाउने र आजको दिनमा हामी साउथ एशियामै सबैभन्दा पछाडि छौँ,’ उनले भने । मन्त्री गुरुङले आम सञ्चार विधेयकमै अनलाइन सञ्चारमाध्यमलाई समेटेर व्यवस्थित गर्नेगरी विधेयक ल्याइने बताए ।
नेपाली बजारमा लन्च भयो ‘रेड्मी नोट फोर्टिन सिरिज’, गुगलको एआई ‘जेमिनी’को पनि सुविधा
काठमाडौं। साओमीले नेपाली बजारमा रेड्मी नोट फोर्टिन सिरिज सार्वजनिक गरेको छ। सोमबार ठमेलस्थित अलफ्ट होटलमा आयोजित पत्रकार सम्मेलनमा गर्दै साओमीले आफ्नो मिडरेञ्ज फोन सार्वजनिक गरेको हो । कम्पनीले सोमबारदेखि नेपाली बजारमा यो सिरिज उपलब्ध गराएको हो । यसमा तीन ओटा फाइभजी मोडेल छन् भने एउटा फोरजी मोडेल रहेको छ । फाइभजीमा रेड्मी नोट फोर्टिन फाइभजी, रेड्मी नोट फोर्टिन प्रो फाइभजी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभजी रहेका छन् । यसैगरी, फोरजी फोनमा रेड्मी नोट फोर्टिन फोरजी फोन रहेका छन् । जसमा रेड्मी नोट फोर्टिन सिरिजमा रेड्मी नोट फोर्टिन, रेड्मी नोट फोर्टिन फाइभ जी, रेड्मी नोट फोर्टिन प्रो फाइभ जी र रेड्मी नोट फोर्टिन प्रो प्लस फाइभ जी गरी ४ मोडलहरू रहेका छन् । यी सबै मोडलहरूमा अत्याधुनिक फिचर, स्टाइलिश डिजाइन र उत्कृष्ट प्रदर्शन क्षमता रहेको कम्पनीले जनाएको छ । हेर्नुहोस् केके छन् विशेषता नोट फोर्टिन प्रो र नोट फोर्टिन प्रो प्लस कम्पनीले यी फोनलाई फ्ल्यागशिप स्तरका फोन भनेको छ । यस फोनको विशेष आकर्षण यसमा भएको एआई फिचर हो । एआईद्वारा सञ्चालित नयाँ क्यामेरा सिस्टमले स्तरीय फोटो खिच्ने कम्पनीले दाबी गरेको छ । यसमा स्तरीय फोटो डेलिभर गर्नका लागि कम्पनीले २०० मेगापिक्सेल प्रो-ग्रेड ओआईएस मुख्य क्यामेरा सिस्टम उपलब्ध गराएको जनाएको छ । यसले स्टेबल भिडिओ खिच्न सक्ने जनाइएको छ । अँध्यारोमा खिचेका फोटोलाई अझ स्तरीय बनाउन साओमीले यसमा स्मार्ट आईएसओ प्रो सिस्टम उपलब्ध गराएको छ । यसमा एआईले फोटो खिच्नेदेखि एडिट गर्ने कामसम्म सघाउने कम्पनीको दाबी छ । एआई फिचरमा एआई अल्ट्रा क्लियर पोर्ट्रेट, एआई ब्युटी, एआई इरेज प्रो, एआई इमेज एक्सपान्सन, एआई बुके, एआई कटआउट लगायतका फिचर राखिएका छन् । पानी र धुलोबाट जोगाउन यी दुई मोडेलले आपी ६८ रेटिङ पाएका छन् । त्यस्तै, यी मोडेलमा १.५ के एमोलेड डिस्प्ले रहेको छ । यी मोडेलमा उच्चतम ३००० निट्स रहेको छ । रिफ्रेसरेटको सन्दर्भमा भने प्रो मोडेलमा १२० हर्ज रिफ्रेस रेट रहेको छ । प्रो प्लस फाइभजीमा स्न्यापड्रागन सेभेन एस जेन थ्री चिपसेट प्रयोग गरिएको छ । त्यस्तै, यो मोडल ८ र १२ जीबी र्याम तथा २५६ र ५१२ जीबी स्टोरेजमा उपलब्ध छ । यस मोडेलमा ५११० एमएएच क्षमताको ब्याट्री दिइएको छ । यसलाई चार्ज गर्नका लागि १२० वाटको हाइपर चार्जर उपलब्ध गराइएको छ । यस मोडेलको सुरुवाती मूल्य ५४ हजार ९९९ रुपैयाँ तोकिएको छ । त्यसैगरी, फोर्टिन प्रोमा मिडियाटेक डाइमेन्सिटी ७ हजार ३०० अल्ट्रा चिपसेट दिइएको छ । यो मोडल ८ र १२ जीबी र्याम तथा २५६ र ५१२ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने ४५ वाटको टर्बो चार्जिङ दिइएको छ । यस मोडेलको सुरुवाती मूल्य ४९ हजार ९९९ रुपैयाँ रहेको छ । नोट फोर्टिन सिरिजअन्तर्गत रेड्मीको बेस भेटियन्सको सुरुवाती मूल्य ३० हजार ९९९ रुपैयाँ तोकिएको छ । यो आठ जीबी र्याम भेरियन्ट र २५६ जीबी इन्टर्नल स्टोर भेरियन्टमा सार्वजनिक गरिएको छ । यसमा १०८ मेगापिक्सेलको ओआईएस क्यामेरा रहेको छ भने १४ वाटको टर्बो चार्जर उपब्ध गराइएको छ । रेड्मी नोट फोर्टिन फाइभ जी रेड्मी नोट फोर्टिन फाइभ जीमा आईपी ६४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स सुविधा रहेको छ । दैनिक प्रयोगमा आउन सक्ने चुनौतीलाई सजिलै सामना गर्न यो डिभाइस सक्षम भएको कम्पनीको दाबी छ । यसमा कोर्निङ गोरिल्ला ग्लास ५ प्रयोग गरिएको छ भने यो मिडनाइट ब्ल्याक, ल्याभेन्डर पर्पल र कोरल ग्रिन कलर भेरियन्टमा उपलब्ध छ । मिडियाटेक डाइमेन्सिटी ७०२५-अल्ट्रा चिपसेटले यस स्मार्टफोनलाई मल्टिटास्किङ, गेमिङ र एपहरूको प्रयोगमा सहज बनाउने कम्पनीले उल्लेख गरेको छ । ८ जीबी २५६ जीबी र १२ जीबी ५१२ जीबी स्टोरेज भेरियन्टमा यो मोडल उपलब्ध छ । यसमा ५११० एमएएच क्षमताको ब्याट्री छ भने त्यसलाई चार्ज गर्न ४५ वाटको टर्बो चार्जर उपलब्ध गराइएको छ । यसमा ओआईएस सहितको १०८ मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ । त्यस्तै, यसमा ८ मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामरा, २ मेगापिक्सेलको म्याक्रो क्यामरा र २० मेगापिक्सेलको फ्रन्ट क्यामरा पाउन सकिन्छ । गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्यूटिफाइ जस्ता एआई फिचर यस मोडेलमा पाउन सकिन्छ । यसको सुरुवाती मूल्य कम्पनीले ३९ हजार ९९९ रुपैयाँ तोकेको छ । रेड्मी नोट फोर्टिन फोर जी यस मोडेलमा मिडियाटेक हेलियो जी ९९- अल्ट्रा प्रोसेसर ६ एनएम प्रोसेसर दिइएको छ । यो मोडल ६ जीबी १२८ जीबी र ८ जीबी २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । १०८ मेगापिक्सेलको एआई क्यामरा सिस्टम रहेको यस मोडेलमा २ मेगापिक्सेलको डेप्थ क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामरा दिएको छ । सेल्फी पारखीका लागि यसमा २० मेगापिक्सेल क्यामेरा दिइएको छ । ५ हजार ५०० एमएएच क्षमताको ब्याट्री भएको यस फोनमा कम्पनीले ३३ वाटको टर्बो चार्जिङ सुविधा दिएको छ । यो फोन एक पटकको चार्जमा १४ घण्टासम्म टिक्ने दाबी कम्पनीको छ । यसमा पनि गुगल जेमिनी थ्री, एआई इरेज, एआई स्काई र एआई ब्युटिफाइ जस्ता एआई फिचर प्रयोग गर्न सकिन्छ । यसको बेस स्टोरेज भेरियन्सको मूल्य २४ हजार ९९९ र ८ जीबी र्याम तथा २५६ जीबी स्टोरेज भेरियन्सको मूल्य २७ हजार ९९९ रुपैयाँ रुपैयाँ निर्धारण गरिएको छ । ग्राहकहरूको अनुभवलाई नयाँपन दिने विश्वास कम्पनीले लिएको छ । सबै नेपाली ग्राहकमा शाओमीको उच्चस्तरलाई विशेष ध्यान दिइएको शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले जानकारी दिए । उनले भने, ‘शाओमीको मुख्य उद्देश्य भनेको स्मार्टफोनले दिन सक्ने अनुभवलाई जतिसक्दो बढाउने रहेको छ । रेड्मी नोट फोर्टिन सिरिज पनि यसबाट अलग छैन । फ्ल्यागशिप-स्तरका क्यामरा, शक्तिशाली प्रोसेसर र उत्कृष्ट टिकाउपनका साथमा आकर्षक डिजाइनमा उपलब्ध यी डिभाइसहरूले नेपाली स्मार्टफोन बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा हामी विश्वस्त रहेका छौं ।’ यस्तै, कार्यक्रममा सञ्चारकर्मी र प्राविधिक विशेषज्ञहरू तथा आधिकारिक डिलरहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
एप्पलमा ‘नवप्रवर्तन’को अभाव र ‘मनपरि नियम’ भएको जुकरबर्गको आरोप
काठमाडौं । मेटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मार्क जुकरबर्गले हालैको एक पोडकास्ट अन्तर्वार्तामा एप्पलको आलोचना गरेका छन् । उनले एप्पलमा नवप्रवर्तनको अभाव भएकाे र मनपरी नियमको आलोचना गरे । ‘एकातिर आइफोन उत्कृष्ट भएको छ, किनकि अब संसारमा लगभग सबैसँग फोन छ र त्यसले धेरै अद्भूत चीजहरूलाई सक्षम बनाउँछ,’ जुकरबर्गले ‘जो रोगन एक्सपेरियन्स’ को एक एपिसोडमा भनेका छन्, ‘तर अर्कोतर्फ … तिनीहरूले त्यो प्लेटफर्म प्रयोग गरेर धेरै नियम राखेका छन् जुन मलाई मनोमानी लाग्छ ।’ ‘मलाई लाग्छ कि एप्पलले केही समयदेखि केही महान आविष्कार गरेकाे छैन । यो स्टिभ जब्सले आइफोन आविष्कार गरेजस्तै हो र अहिले २० वर्षपछि पनि कम्पनी त्यसैगरी बसिरहेकाे छ,’उनले थपे । जुकरबर्गले आइफोनले बिक्री संघर्ष गरिरहेको आफूले सोचिरहेको बताए । उनका अनुसार उपभोक्ताहरूले आफ्नो फोन अपग्रेड गर्न धेरै समय लिइरहेका छन् किनभने नयाँ मोडलहरू अघिल्ला मोडलभन्दा खासै सुधार भएका छैनन् । जुकरबर्गले एप्पलको ३० प्रतिशत डेभलपर शुल्क र तेस्रो पक्ष उपकरणहरूको सीमित पहुँचको पनि आलोचना गरे । उनले भने, ‘उनीहरूले एयरपड्सजस्ता उत्पादनहरू बनाउँछन्, जुन राम्रो छ तर अरू कसैलाई पनि आइफोनसँग सजिलै जडान गर्नसक्ने उपकरण बनाउन पूर्ण रूपमा रोक लगाएका छन् ।’ एप्पलले उपभोक्ताको गोपनीयता र सुरक्षालाई कारण देखाएर आफ्नो नीति बचाऊ गर्ने गरेकोमा जुकरबर्गले भने, ‘यो असुरक्षित छ किनभने तपाईंहरूले यसमा कुनै सुरक्षा निर्माण गर्नुभएको छैन ।’ उनले एप्पलको ‘मनपरी नियमहरू’ हटाइए मेटाको नाफा दोब्बर हुन सक्ने दाबी पनि गरे । एप्पलको भिजन प्रो हेडसेटको आलोचना गर्दै उनले भने, ‘एप्पलले ३ हजार ५०० डलरमा यस्तो केही पठाए जुन हामीले ३०० वा ४०० मा पठाएको भन्दा खराब छ ।’ भिजन प्रो हेडसेटको बिक्री अमेरिकामा निराशाजनक थियो । मेटाले मेटा क्वेस्ट भनिने आफ्नै भर्चुअल हेडसेटहरू बेच्दै आइरहेको छ। जुकरबर्गको यो टिप्पणीले एप्पल र मेटाबीचको प्रतिस्पर्धालाई थप उजागर गरेको छ ।