सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन

काठमाडौं । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको बताइएको छ । फिन्टेक एलायन्स नेपालको नेतृत्वमा सुरू गरिएको यो नवीन पहलले (वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानर अन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ । तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेज बहादुर क्षेत्री तथा विश्वभरका प्रमुख सिइओ, सिएक्ओ र फिन्टेक आधिकारीहरूको उपस्थिति रहेको थियो । यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न, र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो ।

अनुमति नलिई इन्टरनेट सेवा सञ्चालन गरे कारवाही गर्ने चेतावनी

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन नगर्न/नगराउन निर्देशन दिएको छ । विभिन्न व्यक्ति तथा संस्थाहरूले प्राधिकरणबाट अनुमति नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको पाइएकाले त्यस्तो कार्य नगर्न निर्देशन दिएको हो ।  नेपालका केही स्थानमा प्राधिकरणबाट अनुमतिपत्र नलिई इन्टरनेट (इमेल सहित) सेवा सञ्चालन गरेको गुनासो प्राप्त भएपछि प्राधिकरणले त्यस्तो कार्य नगर्न आग्रह गरेको हो ।  अनुमति नलिई त्यस्तो कार्य गरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २१ विपरीत हुने भएकाले कारवाही गर्ने प्राधिकरणले चेतावनी दिएको छ । 

ब्ल्याकभ्यू ट्याब मेगा २ नेपालमा सार्वजनिक

काठमाडौं । प्रविधि कम्पनी ब्ल्याकभ्यूले आफ्नो नयाँ ट्याब्लेट, ब्ल्याकभ्यू ट्याब मेगा २, नेपाली बजारमा सार्वजनिक गरेको छ ।  ब्ल्याकभ्यू ट्याब मेगा २ मा १२ इन्चको एचडी आईपीएस डिस्प्ले रहेको छ, जसले १२०० * २००० पिक्सेल रिजोलुसन र ६० हर्ट्ज रिफ्रेस रेट प्रदान गर्छ । यो ट्याब्लेट युनिसक टाइगर टी ६१५ अक्टा-कोर प्रोसेसरद्वारा सञ्चालित छ र यसमा ८ जीबी वा १२ जीबी र्‍याम साथ २५६ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ। स्टोरेजलाई माइक्रोएसडी कार्डमार्फत २ टेराबाइटसम्म विस्तार गर्न सकिन्छ । यो ट्याब्लेटमा ९,००० एमएएचको ब्याट्री छ, जसले १८ वाट फास्ट चार्जिङलाई समर्थन गर्छ। क्यामेराको कुरा गर्दा, यसमा १६ मेगापिक्सेलको रियर क्यामेरा र ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा समावेश छ ।  ट्याब्लेटले एन्ड्रोइड १५ अपरेटिङ सिस्टममा आधारित डोक ओएस ५.० चलाउँछ, जसले प्रयोगकर्तालाई सहज र अद्यावधिक अनुभव प्रदान गर्छ। यसमा डुअल(बक्स स्पिकर, वाइडभाइन एल १ सपोर्ट, र डुअल ४ जी सिम स्लट पनि छन्। नेपालमा यो ट्याब्लेटको मूल्य ३१ हजार ९९९ रुपैयाँ तोकिएको छ । खरिदका लागि दाराज नेपाल र यन्त्र नेपाल मार्फत अनलाइन अर्डर गर्न सकिन्छ । ब्ल्याकभ्यूका नेपाल प्रतिनिधिका अनुसार, यो ट्याब्लेट मनोरञ्जन, काम र अध्ययनका लागि उपयुक्त छ । यो ट्याब्लेटले नेपाली बजारमा किफायती मूल्यमा आधुनिक सुविधाहरू प्रदान गर्ने लक्ष्य राखेको छ ।