सोलारबाट चल्ने जहाजको सफल यात्रा, १० वर्षभित्र सोलार जहाज सबैतिर (फोटो फिचरसहित)

काठमाडौं, १४ साउन । सौर्य उर्जाबाटमात्र चल्ने संसारकै पहिलो सोलार जहाज ‘इम्प्लस–२’ले विश्व परिक्रमा गरेर मंगलबार युएइको अबुधाबीमा अवरतरण गरेको छ । सोलार इम्प्लस एयरप्लेनले ५०९ घण्टामा करिव ४२ हजार किलोमिटर यात्रा पार गरिसकेको छ । नयाँ नयाँ प्रविधिको सफल प्रयोग र अनुसन्धान गर्ने क्रममा विज्ञानले फेरी नयाँ फड्को मारेको छ । सौर्य उर्जाबाट चल्ने सो प्लेनमा पेट्रोलियम पदार्थको प्रयोग शुन्य भएको बैंज्ञानिकहरुले बताएका छन् । सोलर इम्पल्सलाई बनाएका पाइलट आन्द्रे बोर्सबर्ग र पाइलट बरट्र्यान्ड पिकाडले उडाएका थिए । सौर्य उर्जाबाट चलेको प्लेनबाट विश्व यात्रा पुरा गर्न ५०० दिन विताएका थिए । ‘अनुकूल मौसमको पर्खाईमा हामीले लामो समय बितायौ । हाम्रो लक्ष्य पुरा गर्न प्लेन मर्मतमा पनि केही समय वितायौं’ पिकाडले भने । ‘क्याप्टेन पिक्काड र उनको टिमको लागि आज ऐतिहासिक दिन हो’ अबुदुवाईमा जहाज ल्याण्ड गरेपछि संयुक्त राष्ट्र संघका महासचिव वान कि मुनले भने–‘तपाईले सोलार जहाज संसार घुमाएर परीक्षणमा सफल गर्नुभयो, यसलाई दिगो बनाउने यात्रा भने भरखर्रै शुरु भएको छ ।’ ‘यो हवाई इतिहासमा मात्र होइन, उर्जाको इतिहासमा पनि पहिलो र महत्वपूर्ण उपलब्धि हो’ क्याप्टेन पिक्कार्डले भनेका छन् । ‘मलाई विश्वास छ, अबको १० वर्षमा हामीले छोटो र मध्यम दुरीमा चल्ले हवाई यातायातमा इलेक्ट्रीक जहाज देख्न सक्ने छौं, जहाँ इम्प्लसमा जस्तै क्लिन टेक्टोलोजिको प्रयोग हुनेछ’ –पिक्काडले भनेको छन्–‘ती जहाजमा ५० जना यात्रु हुनेछन् र ती जहाजहरु राम्रो नाफामा चल्लेछन् ।’ कसरी चल्छ ? सोलार इम्प्लस २ ले सबैभन्दा लामो यात्रा जापानदेखि हवाईसम्मको ११७ घण्टा ५२ मिनेटमा पार गरेको छ । हवाई इन्धनबाट चल्ले आधुनिक जहाजहरुले उक्त दुरी पार गर्न २२ घण्टा लगाउँछन् । सोलारबाट चल्ने प्लेन करिव ११८ घण्टा कसरी उड्यो होला ? प्लेनको माथिल्लो भागमा सोलार हुन्छ र त्यसबाट व्याट्री बैंकमा सौर्य उर्जा जम्मा हुन्छ । रातीको समयमा ती व्याट्रीले काम गर्छ । यो जहाजमा चार वटा विद्युतीय मोटर्स हुन्छन् । यसको स्पीड प्रति घण्टा ९० किलोमिटर छ र जहाज १२ हजार मिटर (३९००० फीट) माथि जान सक्छ । लाइटवेट सोलर ‘इम्पल्स–२’ पाँच वर्षसम्म उडान भरिसकेको सिंगल सिटे प्रोटोटाइपको ठूलो रुप हो । यो कार्बन फाइबरबाट बनेको छ । यसमा लामो समयसम्म सौर्य उर्जा बचत गर्ने शक्तिशाली ब्याट्री लगाइएको छ । जसले प्लेनलाई उडान भर्दा उर्जा दिने काम गर्छ । सोलर ब्याट्री लिथियम पोलिमर ब्याट्रीबाट रिचार्ज हुन्छ । कम्पनीका अनुसार यो प्लेन ७२ मिटर लामो छ । जुन बोइङ ७४७ भन्दा लामो हो । यो प्लेनको तौल एउटा कारको बराबर करिब २३ सय किलो रहेको छ । यो प्लेनलाई अघिल्लै साल अप्रिलमा सार्वजनिक गरिएको थियो । त्यसपछि गत जुनमा यसलाई पहिलो पटक पश्चिमी स्विट्जरल्यान्मा दुई घण्टा १७ मिनेटसम्म उडाइएको थियो । १३ वर्ष लामो प्रयासपछि यो जहाज बनाउने कार्य सम्पन्न भएको हो । एजेन्सीहरुको सहयोगमा 

चिनिया इलेक्ट्रोनिक्स कम्पनी साओमीले एप्पलको जस्तै ल्यापटप ल्याउँदै

काठमाडौं। चिनियाँ स्मार्टफोन निर्माता कम्पनी शाओमिले अब ल्यापटप पनि बनाउने भएको छ। कम्पनीले बुधवार एक समारोहकावीच ल्यापटप सार्वजनिक गरेको हो।  यद्यपि चीनमा अगस्ट २ मा सार्वजनिक हुने यो ल्यापटप विश्वमा कुन समयमा पाइन्छ भनेर सार्वजनिक गरिएको छैन्। कम्पनीले विश्वको इलेक्ट्रोनिक्स बजारलाई रिसर्च गरेर प्रिमियम मूल्यमा ल्याएको जनाएको छ। १३.३ इन्चको डिस्प्ले भएको ‘एमआई नोटबुक एयर’ नामको यो ल्यापटपमा विन्डोज १० अपरेटिङ सिस्टम राखिएको छ। चीनमा यसको मूल्य पाँचहजार युआन तोकिएको छ। कम्पनीले अझ सस्तोमा सिम्प्लिफाइड भर्सनका रुपमा तीनहजार पाँचसय युआनमा पनि पाइने बताएको छ। एप्पलको जस्तै लुक्स देखिने यो ल्यापटप लेनोभो डेल एचपी लगायतका कम्पनीका ल्यापटपको जस्तै स्पेसिफिकेसन रहेको कम्पनीले जनाएको छ।   कम्पनीले सवैभन्दा धेरै स्पेसिफिकेसन भएको, टिकाउ र कम मूल्य भएको ल्यापटप भनेर चिनाउने जनाएको छ। शाओमिले चाँडै नै कम मूल्य पर्ने रेडमी स्मार्टफोन पनि सार्वजनिक गर्ने जनाएको छ। मिडिया टेक्स फ्लागसिप प्रोसेसर हिलियो एक्स २५ भएको यो स्मार्टफोनलाई १५ सय युआन र दुइहजार युआनका वीच विक्रि गर्ने कम्पनीले जनाएको छ।  

मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना अब तपाईको मोबाइलमा

काठमाडौं, १३ साउन । नेपाल टेलिकम र जल तथा मौसम बिज्ञान विभागबीच जल तथा मौसमजन्य विपद् सम्बन्धी पूर्वसूचना मोबाइल मार्फत एसमएस प्रवाह गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक कार्यक्रममा सो सम्बन्धी सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्य र जल तथा मौसम बिज्ञान विभागको तर्फबाट महानिर्देशक डा. ऋषिराम शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार महाकाली, पश्चिम राप्ती, कन्काई, बबई, कर्णाली, नारायणी, बागमती, कोशी नदी क्षेत्र र हिमाली क्षेत्रका ग्राहकहरुको मोबाइलमा विपद् सम्बन्धी पूर्व सूचना सम्प्रेषणको व्यवस्था मिलाइने छ । यसका लागि नेपाल टेलिकमले सो क्षेत्रका मोबाइल सेवाका ग्राहकहरुको डाटा मौसम विज्ञान विभागलाई उपलब्ध गराउने छ । विभागले ११५५ कोडको प्रयोग गरी विशेष गरी विपद् आउनु पूर्व प्रभावित क्षेत्रका बासिन्दाले प्राप्त गर्न सक्ने गरी समूहगत रुपमा (बुल्क) एसएमएस मार्फत आवश्यक जानकारी पठाउने छ । यस सम्बन्धी सबै सेवा नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने छ । सो सम्बन्धी सम्झौता गर्न आयोजित कार्यक्रममा टेलिकमका प्रबन्ध निर्देशक बुद्धि प्रसाद आचार्यले विपद्को पूर्व जानकारी संप्रेषण गरी क्षति न्यूनिकरण गर्ने कार्यका लागि विगतमा पनि अन्य संस्थाहरुसँग सहकार्य गरेको जानकारी गराउँदै विपद्को पूर्वजानकारीले क्षति न्यूनिकरण गर्न सकिने तथा मानिसको जीवन जोगाउन सकिने भएकोले कम्पनीले मौसम विज्ञान विभागसँग पनि सहकार्य गरेको बताए । उनले मुलुकभर कम्पनीका ग्राहक छरिएर रहेकाले भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । कार्यक्रममा मौसम विज्ञान विभागका महानिर्देशक डा ऋषिराम शर्माले कम्पनीसँग भएको सम्झौतालाई विभागले दक्षतापूर्वक कार्यान्वयन गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । उनले प्राकृतिक विपद्को न्यूनीकरण गर्नु दुवै संस्थाको संयुक्त दायित्व भएकाले पनि भविष्यमा अन्य क्षेत्रमा समेत सहकार्य गर्न सकिने बताए । बर्तमान बर्षाको मौसममा खासगरी बाढी पहिरोका कारण धेरै नेपाली प्रभावित भइरहेको समयमा कम्पनी र विभागबीचको यो सहकार्यले जनधनको क्षति न्यूनिकरण गर्न प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । स्मरणीय छ, नेपाल टेलिकमले गत बर्षको विनासकारी भूकम्प पश्चात पनि नेपाल रेडक्रस सोसाइटीसँग सहकार्य गरी प्राकृतिक विपद्सम्बन्धी पूर्व सूचना संप्रेषण गर्ने व्यवस्था मिलाएको थियो ।