सगरमाथाको चुचुरोमा रिचार्जर एप्सको झण्डा, जति रिचार्ज त्यत्ति नै क्यास व्याक पाइने

काठमाडौं । ग्लोबल कीटेक्नोलोजी प्रालिले मोबाइल एप्स रिचार्जर अपडेटेड भर्सनमा ल्याएको छ । कम्पनीले समय र पैसाको बचतसंगै देशको अर्थतन्त्रलाई मजबुत बनाउने लक्ष्य सहित उक्त सेवाको शुरु गरेको हो । ‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा शुरु गरेको रिचार्जरको लोगो सहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराएकै दिन नयाँ भर्सनमा आएको हो । रिचार्जरको लोगो अंकित झण्डा मे १८ तारिखका दिन २३ वर्षीय साहसी युवक नर्बिन मगरले सगरमाथा शिखरमा फहराएका थिए । मगर आईतबार बेस क्याम्पबाट हेलिकप्टरमा काठमाण्डौं फर्किएका छन् । उनलाई रिचार्जर एप्सको निर्माता कम्पनी ग्लोबल की टेक्नोलोजी प्रालिका अध्यक्ष अलाइभ ग्लाइडर तथा प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरे । नेपालमा ब्राण्डेड अनलाइनशपिंङ हबमा बलियो उपस्थिती जनाउने लक्ष्य सहित ग्लोबल की टेकेनोलोजीले मोबाइल एप्स रिचार्जर सञ्चालनमा ल्याएको हो । यो एप्सबाट सामान खरिद गर्दा शतप्रतिशत क्यास व्याक पाउनका लागि एप्प्लको एप स्टोर तथा गुगलप्ले स्टोरबाट एप्स डाउनलोड गरी खाता खोल्नुपर्ने हुन्छ । यसरी खाता खोल्दा प्रयोगकर्ताले तत्काल एक सय रुपैंया क्यास व्याक पनि पाउने छन् । ‘५ वर्षको रिसर्च पछि तयार पारिएको रिचार्जरको नेपालमा अरु विकल्प छैन भन्ने सन्देश दिनका लागि काम गर्दैछौं ।’ग्लोबल कीटेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले भने । जतिको रिचार्ज त्यति नै क्यास ब्याक दिने पहिलो नेपाली एप्स रिचार्जरमा ब्राण्डेड सामान मात्र उपलब्ध हुनेछन् । रिचार्जरबाट मुभी टिकेट, एयर टिकेट, बस टिकट पाउनुका साथै विभिन्न किसिमका महसुलबार कोड बाट भुक्तानी गर्न सकिन्छ । धेरै वस्तु तथा सेवा पाइने रिचार्जरमा अहिले सम्मकै धेरै पेमेण्ट गेटवे इन्टिग्रेट गर्ने क्रमजारी छ । ई सेवा,आईमी पेलगायतका अधिकांश पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिंग सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथाक्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ । रिचार्जको शतप्रतिशत क्यास व्याकले सपिंगमा टेवा पुर्याउँछ । ‘रिचार्जरका प्रयोगकर्तालाई शतप्रतिशत क्यास व्याकसँगै हरेक ब्राण्डेड सामान सस्तो मूल्यमा उपलब्ध गराउँने लक्ष्यका साथ काम गर्दैछौं । यसका लागि नेपालमा चलन चल्तीमा रहेका १ हजार बढी ब्राण्डसँग सहकार्य गर्दैछौं ।’ ग्लोबल कीटेक्नोलोजीका प्रमुख कार्यकारी अधिकृत निराजन सिंहले भने । ३ बर्ष भित्र नेपालको आन्तरिक व्यापारको २५ प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएको रिचार्जरले डेढ प्रतिशतको मार्जिनमा सेवा उपलब्ध गराउने छ । अहिले परीक्षणका रुपमा सेवा प्रदान गरिरहेको रिचार्जरमा आगामी ६ महिनाभित्र १ हजार ब्राण्ड इन्टिग्रेट भैसक्ने कम्पनीले जनाएको छ ।  

नेपाल टेलिकमको ग्राहक आधार २ करोड नजिक

काठमाडौं । नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । फागुन मसान्तसम्म कम्पनीको डाटा सेवाका प्रयोगकर्ता ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् । डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ । कम्पनीले मुलुकमै पहिलोपटक गत वर्ष देखि शुरु गरेको फोरजी सेवालाई देशैभर विस्तार गर्नका लागि आह्वान गरेको टेण्डर हाल मूल्याङ्कनको अन्तिम चरणमा रहेको छ । कम्पनीको एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्गत मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यका वाहेक), पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ । आयोजना अन्तर्गत मुलुकका अति विकट तथा दुर्गम स्थानहरु मुगुको रारा क्षेत्र, सिन्धुपाल्चोकको चेपेडाँडा, बाग्लुङको तमान खोला, दोलखाको गौरीशंकर, च्छोरोल्पा क्षेत्रको बेदिङ, धादिङको लापा र तिप्लिङ लगायत गोर्खा, मनाङ र मुस्ताङ जिल्लाका अति विकट स्थानमा समेत मोबाइल सेवा विस्तार गरिएको छ । प्रतिफल कम आउने र तुलनात्मकरुपमा लगानी बढी हुने स्थानहरुमा समेत दूरसञ्चार सेवा विस्तार गर्ने क्रमलाई निरन्तरता दिँदै ती स्थानमा हालै उपकरण जडान गरी नेपाल टेलिकमले सेवा सञ्चालनमा ल्याएको हो । मध्य पहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने कार्यका लागि नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता पश्चात् आवश्यक सम्पूर्ण सर्भे कार्य सम्पन्न गरी कम्पनीले माइक्रोवेभ ट्रान्समिसन तथा टावरको छुट्टाछुट्टै बोलपत्र आह्वान गरी टावर निर्माण कार्य सुरु भइसकेको र माइक्रोवेभ ट्रान्समिसनको बोलपत्र मूल्यांकनको अन्तिम चरणमा रहेको छ । साथै प्रदेश १, २ र ३ मा अप्टिकल फाइबर बिछ्याउने कार्यको तीन वटा छुट्टाछुट्टै बोलपत्रहरु, उच्च क्षमताका डिएमडीडब्ल्यु उपकरण र राउटर उपकरणको छुट्टाछुट्टै बोलपत्रहरु तयार गरी अन्तिम स्वीकृतिका लागि सञ्चालक समितिमा पेश भइसकेको छ । कम्पनीले सेवा विस्तारका लागि आवश्यक उपकरण जडान गर्ने कार्यलाई पनि तीव्रता दिएको छ । आर्थिक वर्ष २०७३÷७४ मा मात्रै १,४१५ नयाँ बीटीएस टावर सञ्चालन र ६८९ पुरानो बीटीएस टावर प्रतिस्थापन तथा ३८७ फोरजी बीटीएस समेत गरी कुल २,४९१ बीटीएस सञ्चालन भएका छन् । आर्थिक वर्ष २०७४/७५ को अन्त्य सम्ममा थप २३५ स्थानमा बीटीएस सञ्चालन गर्ने लक्ष्य छ । सो मध्ये ४० बीटीएस सिराहा र सप्तरीमा मात्रै सञ्चालन गर्ने लक्ष्य रहेकोमा १२ वटा सञ्चालनमा आइसकेका छन् भने ३ वटा सञ्चालनको क्रममा रहेका छन् । ७ वटा बीटीएस जडानको क्रममा रहेको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले भनिन् ।

एनसीसी बैंक पुग्यो म्याग्दीको बेनीमा

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले म्याग्दी जिल्लाको बेनी बजारमा नयाँ शाखा कार्यालय स्थापना गरेको छ । उक्त शाखाको उद्घाटन एनसीसी बैंक संचालक समितिका अध्यक्ष उपेन्द्रकेशरी न्यौपानेले गरेका हुन् । अध्यक्ष न्यौपानेले यस शाखा मार्फत बैकिङ्ग सेवा विस्तार गरी यस क्षेत्रको आर्थिक प्रगतिको लागि बैंक सहायक हुने बताएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्यालले यस क्षेत्रमा स्थापना भएको यस शाखाले गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएका छन् । बैंकले यस आर्थिक वर्षको तेश्रो त्रैमासिकसम्ममा ५९ अर्ब १ करोड रुपैयाँ निक्षेप संकलन गरी ५२ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । साथै, सोही अवधिमा बैंकको खूद नाफा ५४ करोड ३१ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सो अवधिको खूद नाफा १६ करोड ७६ लाख रुपैयाँ मात्र रहेको बैंकले जनाएको छ ।