टेलिकम शताब्दी वर्ष मनाउने तयारीमा, कर्मचारी युनियन विरोधमा

काठमाडौं । नेपाल टेलिकम (एनटीसी) ले आफ्नो सयौँ वार्षिक उत्सव मनाउँने तयारी तामझामका साथ गरिरहेको छ । यही बेला टेलिकमकै कर्मचारी युनियन (एनटीसीडब्लुयू) भने नाराबाजीमा उत्रिएको छ । टेलिमकले आफ्नो एक शताब्दीको उत्सव मनाउने अन्तिम तयारीमा जुटदा कर्मचारी युनियन भने खिन्न देखिएको हो । आईतबार भद्रकालीस्थित नेपाल टेलिकमको केन्द्रिय कार्यालयमा ठूलै खैलाबैला सुन्न सकिन्थ्यो । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीको कार्यालय अगाडी युनिएनका कर्मचारीहरु भेला भएर आफ्नो माग प्रस्तुत गरे । युनियनमा करिब २ कर्मचारी छन् । कर्मचारीको हक हित रक्षा र नेपाल टेलिकमको भलाईका लागि आफूहरु आन्दोलित भएका युनियनका महासचिव राजेन्द्र जोशीले बताए । ‘संस्थागत सुधारको लागि हामीले आवश्यक कुराहरु सुनुवाई होस भन्दै खबरदारी गर्न चाहेका हौँ,’ महासचिव जोशीले बिकासन्युजसँग भने । यस्तो छ कर्मचारी युनियनको माग फोरजी लाइट, एफटीटीएच, जस्ता आयोजनाहरु कम्पनीले लिएको लक्ष्य अनुरुप लागत मुल्य नबढ्ने गरी समयसीमा भित्र सम्पन्न गर्नुपर्ने युनियनको माग छ । यस्तै, घट्दो राजस्व दरलाई रोकी यसको वृद्धि गर्न ठोस कार्यक्रम ल्याउनु पर्ने पनि युनियनको माग छ । हचुवाको भरमा तोकिएको जिएसएम सेवाको नवीकरण शुल्कलाई नीति बनाएर वैज्ञानिक ढंगले लागू गर्नुपर्ने, आयोजनाहरुको थर्ड पार्टी इभ्यालुयसन गरिनु पर्ने माग गरिएको छ । कर्मचारी भर्ना गर्दा विज्ञापन खुलाई वृत्ति विकासको सुनिश्चितता गर्नुपर्ने, सेयर बिहीन कर्मचारीहरुको लागि सेयर उपलब्ध गराउनु पर्ने, पेन्सन बिहीन कर्मचारीको लागि पेन्सन सुविधाको व्यवस्था गर्नुपर्ने, निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन (सीबीए) र बोर्डमा कर्मचारी प्रतिनिधिको निर्वाचनको मिति घोषणा गर्नुपर्ने पनि युनियनको माग छ । युनियनले अवधि पुग्ने कर्मचारीहरुको विशेष बढुवाको अविलम्ब निर्णय गर्न, संशोधन प्रक्रियामा रहेको कर्मचारी विनियमावली स्थापित भएको वृत्ति विकास, सेवा सुविधा तथा ट्रेड युनियन अधिकार कायम गर्दै कम्पनीको समृद्धि एवम् कर्मचारीहरु प्रोत्साहित हुने गरी लागू गर्नुपर्ने, सावधिक जीवन बीमाको सीमा बढाउनु पर्ने लगायतका माग युनियनको छ ।

एनसेललाई पुँजीगत लाभकर नबुझाउँदासम्म थप फ्रिक्वेन्सी नदिन संसदीय समितिको निर्देशन

काठमाडौं । दूरसंचार सेवा प्रदायक कम्पनी एनसेललाई थप फ्रिक्वेन्सी नदिन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्देशन दिएको छ । नेपाल दूरसंचार प्राधिकरणले १८०० व्याण्डको ९ मेगाहर्ज फ्रिक्वेन्सी दिन लागेको थियो । एनसेलको सेयर खरिद विक्री प्रक्रियामा सरकारलाई बुझाउनु पर्ने पुँजीगत लाभकर बाँकी रहेको कारण समितिले यस्तो निर्देशन दिएको हो । आज (१९ माघ) बसेको समितिको बैठकले सरकारलाई तिर्नुपर्ने पुँजीगत लाभकर तिरेपछि मात्रै एनसेललाई सो फ्रिक्वेन्सी दिन निर्देशन दिएको छ । प्राधिकरणले नयाँ फ्रिक्वेन्सी दिने प्रक्रिया अगाडि बढाइरहेको समयमा समितिको यस्तो निर्देशन आएको हो । प्राधिकरणले एनसेललाई नयाँ फ्रिक्वेन्सी दिनको लागि कर प्रशासनसँग आवश्यक समन्वय पनि गरिसकेको छ । केही दिन अगाडि मात्रै प्राधिकरणले ठूला करदाता कार्यालयमा पत्राचार गर्दै एनसेलले तिर्नु बुझाउनु पर्ने कर तिरेनदिएको जानकारी मागेको थियो । प्राधिकरणले मागेको जानकारीमा ठूला करदाता कार्यालयले किस्ताबन्दीमा कर तिर्ने सुविधा माग गरेको र सोही अनुसार किस्ताबन्दी रुपमा कर तिरिरहेको विवरण सहितको जानकारी प्राधिकरणलाई गराएको थियो । एनसेलले पुँजीगत लाभकर वापत बुझाउनु पर्ने कुल २२ अर्ब ४४ करोड ९७ लाख ९५५ रुपैयाँ ५ पैसाबाट हालसम्म ४ अर्ब ५० करोड रुपैयाँ बुझाएको छ । उसले बुझाउन बाँकी रहेको १८ अर्ब १८ करोड रुपैयाँ चालु आर्थिक वर्षको अन्त्यसम्ममा किस्तामा बुझाउन माग गर्दै ठूला करदाता कार्यालयमा निवेदन दिएको छ ।

जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने

काठमाडौं । जनकपुरधामलाई नेपालकै पहिलो क्यासलेस शहर बनाउने अभियानको थालनी भएको छ । विश्वका विकसित शहरहरु क्यासलेस भईरहेको अवस्थामा जनकपुरधामलाई पनि क्यासलेस शहरको रुपमा विकसित गर्ने अभियानको निमित्त पैसा कार्डको औपचारिक सुरुवात भएसँगै उक्त अभियान शुरु हुन लागेको हो । उक्त अभियानको लागि आइएमई ग्रुपद्वारा प्रवद्र्घित आइएमई डिजिटल सोलुसन लिमिटेड र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामवीच साझेदारी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जनकपुरमा हालै आयोजित एक विशेष कार्यक्रमकाबीच ‘आइएमई पे’का तर्फबाट सीइओ विकास कुमार नाहाटा र युकेएड सक्षम एक्सेस टु फाइनान्स प्रोग्रामका तर्फबाट टिम लिडर निर्मल दाहाल सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौतापछि आइएमई डिजिटल सोलुसनले जनस्तरसम्म वित्तीय पहुंच पुर्याउनका लागि विभिन्न कार्यक्रम कार्यान्वयन गर्नेछ । उक्त कार्यक्रमहरु जनकपुरलाई क्यासलेस बनाउन केन्द्रित रहनेछ । कार्यक्रमको प्रमुख अतिथि मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई क्यासलेस शहरको रुपमा विकसित गर्नका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए । आइएमईको सीईओ सुमन पोखरेलले बदलिँदो समयमा क्यासलेस आजको आवश्यकता रहेको बताए । उनले जनकपुरधाम क्षेत्रमा यसका लागि चुनौती रहे पनि ठूलो सम्भावना रहेको बताए । पोखरेलले यसकालागि सम्बन्धित सबै निकायबाट सहयोगको अपेक्षा समेत गरेका थिए । त्यसैगरी, आइएमई डिजिटल सोलुसनका सीईओ विकास कुमार नाहाटाले मानिसहरुलाई डिजिटल वित्तिय प्रणालीमा समाहित गर्न सकियो भने नोट र सिक्का जस्ता भौतिक रुपमा भुक्तानी गर्नुपर्ने झन्झटबाट मुक्त गर्न सकिने छ । यो वित्तीय समावेशीकरणले मानिसहरुलाई बैंक खातामा परम्परागत फारम बिनानै बैंकिगमा जडान गर्न मद्दत गर्दछ । आइएमई पैसा कार्ड जनकपुरवासीको जनजीवनको अभिन्न अङ्ग बन्ने र यसले जनकपुरलाई क्यासलेस बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको विश्वास छ ।