नेपाल टेलिकम अनलिमिटेड अफर: मात्र ५५ रुपैयाँमा तीन दिन युट्युब र फेसबुक

काठमाडौं । नेपाल टेलिकमले संविधान दिवसको अवसरमा अनलिमिटेड युट्युब, अनलिमिटेड फेसबुक र एड–अन प्याक उपलब्ध गराउन आवश्यक तयारी पुरा गरेको छ । असोज २, ३ र ४ गते अनलिमिटेड युट्युब तथा अनलिमिटेड फेसबुक प्याक छुट्टाछुट्टै रु. ५५ प्रति प्याकमा खरिद गरी खरिद गरिएको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । साथै, अनलिमिटेड युट्युब र अनलिमिटेड फेसबुक प्याकमध्ये कुनै एक प्याक खरिद गर्ने ग्राहकले एड–अन प्याकको रुपमा रु. १५ मा १ जीबी डाटा प्याक खरिद गरी डाटा प्रयोग गर्न सकिने सुविधा समेत उपलब्ध हुने टेलिकमले जनाएकाे छ । यो प्याक पनि खरिद गरेको मितिबाट ३ दिनसम्म प्रयोग गर्न सकिनेछ । हाल समर अफर अन्तर्गत २८ दिनको समयावधि हुने १ जीबी पर डे डाटा प्याक रु. ८५० मा उपलब्ध भइरहेकोमा संविधान दिवसको अवसरमा यसमा ३४.७ प्रतिशतको भारी छुट प्रदान गरिएको छ । सो अनुसार यो प्याक २०७७ असोज २, ३ र ४ गते जम्मा रु. ५५५ मा उपलब्ध हुनेछ । संविधान दिवसका अवसरमा उपलब्ध गरिएका यी अफरहरु *१४१५*११# डायल गरी प्राप्त गर्न सकिनेछन् । साथै, ग्राहकवर्गको सहजताका लागि नेपाल टेलिकम एपबाट समेत यी प्याकहरु खरिद गर्न सकिने व्यवस्था गरिएको छ ।

हायर मी नेपालकाे माेबाइल एप सञ्चालनमा, गुगल प्लेस्टोरबाट डाउनलोड गरी सजिलै रजिष्ट्रर्ड गर्न सकिने

काठमाडाैं । हायर मी नेपालले आज (असाेज १ गते)बाट मोबाईल एप औपचारीक रूपमा लन्च गरेको छ। व्यक्तिगत प्रयोगकर्तालाई विज्ञापनहरू हेर्न, कम्पनीमा सम्पर्क गर्न, सम्पर्क पछि अन्तरवार्ता गर्न तथा जब निर्धारण गर्न धेरै सजिलो हाेस् भन्ने उद्देश्यले संस्थाले उक्त एप लन्च गरी सञ्चालनमा ल्याएकाे हाे । जसकाे लागि उनीहरूले पहिले गुगल प्ले स्टोरबाट डाउनलोड गर्नुपर्ने हुन्छ । रोजगारदाता र रोजगारी खोज्नेलाई एउटै प्लेटफर्ममा सम्पर्क गराउने उद्देश्यले गत साउन १ गतेबाट हायरमी नेपालको अनलाईन बेबसाईट प्रारम्भ भएको थियो । दुई महिनाको अवधिमा रोजगारी दिने कम्पनी तथा रोजगारी खोज्ने व्यक्तिहरूबाट रजिष्ट्रेशनमा राम्रो रेस्पोन्स आएको संस्थाले जनाएकाे छ । रोजगारी खोज्नेहरूको लागि यो पोर्टलमा २४ किसिमको च्वाईस हुनेछ । चाहेको क्षेत्रमा रजिष्ट्रर्ड हुन सक्नेछन् । विभिन्न पत्र-पत्रिकामा प्रकाशित विज्ञापन हेर्न सक्नेछन् । कम्पनीहरूले सोझै राखेको विज्ञापनमा निवेदन दिन सक्नेछन् । क्षेत्र अनुसार कम्पनीहरूले उम्मेद्वारलाई सोझै सम्पर्क गर्न सक्नेछन् । अन्तरवार्ता लिन सक्ने सुविधा पनि उपलब्ध रहेको छ । कम्पनीका अनुसार अब छिट्टै जनशक्ति व्यवस्थापन तथा उम्मेद्वारले दिने अन्तरवार्तामा दक्ष बनाउने गरी आवश्यकता टिप्स र सामाग्री यसैबाट हेर्न सकिने गरी उपलब्ध गराइनेछ । यो डिजिटल प्लेटफर्म र एप निःशुल्क रूपमा प्रयोग गर्न सकिनेछ । कम्पनीले अबको दुई वर्षमा पाँच लाख व्यक्ति र कम्पनीलाई रजिष्टर्ड गर्न लगाई पचास हजारलाई रोजगारीको सुविधा उपलब्ध गराउने लक्ष्य लिएको छ । सम्बन्धित समाचारः रोजगारी दिने ‘हायर मी नेपाल’को साइट सञ्चालनमा, सित्तैमा रजिष्टर्ड गराउन सकिने ५० हजारलाई रोजगारी दिने कार्यक्रम गर्दै हायर मी नेपाल, साउनबाट सञ्चालन हुने  

आइपीओ जारी गर्ने तयारीमा वर्ल्डलिंक

काठमाडौं । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनी ऐनमा ५ करोड रुपैयाँभन्दा बढी चुक्ता पुँजी भएको दूरसंचार सेवा प्रदायक कम्पनीले पनि आइपीओ जारी गर्नै पर्ने व्यवस्था छ । सोही व्यवस्था अनुसार वर्ल्डलिंकले आइपीओ जारी गर्न लागेको हो । आइपीओ जारी गर्नको लागि प्रालिमा दर्ता भएको वर्ल्डलिंक पब्लिक कम्पनीमा रुपान्तरण भएको छ । गत वर्ष नै कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भएको अध्यक्ष दिलिप अग्रवालले जानकारी दिए । पब्लिकमा गएसँगै कम्पनीले आइपीओ जारी गर्ने गृहकार्य थालेको हो । आइपीओ जारी गर्नको लागि प्रक्रिया पूरा गर्न नै ३ वर्ष लाग्ने भएकोले सो अवधि भित्रमा आइपीओ जारी गरिसक्ने अध्यक्ष अग्रवालले जानकारी दिए । ‘आइपीओ जारी गर्नको लागि प्रक्रियागत कामहरु सुरु भएका छन्, गत वर्ष हामी पब्लिक कम्पनीमा रुपान्तरण भयौं, प्रक्रिया पूरा गर्न ३ वर्ष जति लाग्छ, सो अवधिभित्रमा वर्ल्डलिंकले आइपीओ जारी गर्छ,’ कम्पनीको २५औं वार्षिकोत्वसको अवसरमा सम्बोधन गर्दै अध्यक्ष अग्रवालले भने । उनले कति रकम बराबरको आइपीओ जारी गर्न लागिएको भन्ने बारमा भने केही खुलाएनन् ।