एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु
काठमाडौं । एनसेलले आम उपभोक्ताहरुको सुविधाका लागि सोमबारबाट नयाँ नम्बर रेन्ज ९७१ बाट सुरु हुने मोबाइल नम्बर उपलब्ध गराउन थालेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले गत जेठमा एनसेललाई यो नम्बर रेन्जको नम्बरहरु वितरण गर्नका लागि अनुमति प्रदान गरेको थियो । कम्पनीका अनुसार यो नयाँ नम्बर रेन्ज प्राधिकरणको राष्ट्रिय नम्बरिङ् वितरण योजना (नेशनल नम्बरिङ् अलोकेशन प्लान) को नियम अनुरुप जारी भएको हो । प्राधिकरणद्वारा एनसेललाई जारी नम्बर रेन्ज ९८०, ९८१, ९८२, ९७० मार्फत सेवाग्राहीहरुका लागि सेवा प्रदान गर्नका लागि मोबाइल नम्बरहरु अपुग भएकोले नयाँ नम्बर रेन्ज प्रदान गरिएको थियो । 'बजारको अवस्थालाई ध्यानमा राखी नयाँ नम्बर रेन्जको अनुमति प्रदान गरेकोमा हामी प्राधिकरणप्रति आभारी छौं । आवश्यक तयारी पश्चात नयाँ नम्बर रेन्जका नम्बरहरु वितरण थालिएको छ । साधारण सञ्चार सेवा बाहेक डिजिटल कारोबार र विभिन्न सेवाहरु मोबाइलमार्फत नै लिने क्रम बढिरहेको हालको अवस्थामा नयाँ नम्बरहरुले उपझोक्ताका साथै सेवा प्रदायकहरुलाई समेत लाभ प्रदान गर्नेछ,' एनसेलका चीफ कन्जुमर विजनेस अफिसर उपङ् दत्तले भने । नयाँ नम्बरहरु वितरणसँगै एनसेलले प्रत्यक्ष अथवा अप्रत्यक्ष रुपमा मोबाइल प्रणालीमा आवद्ध भई विभिन्न प्रकारका सेवा तथा सुविधा प्रदान गर्ने सरकारी तथा गैर सरकारी संस्था, सेवाप्रदायक कम्पनी, कार्यलय, बैंक तथा वित्तीय संस्थाहरुलाई यो नयाँ नम्बर रेञ्ज आ–आफ्नो प्रणालीमा इन्ट्रिगेटरअपडेट गर्न बाँकी रहेको भए चाँडै गर्ने अनुरोध पनि गरेको छ । चुस्त सेवा प्रवाहका लागि सेवा प्रदायकहरुले आफ्नो प्रणालीमा नयाँ नम्बर रेञ्ज इन्ट्रिगेटरअपडेट गर्न आवश्यक रहेको कम्पनीले जनाएको छ । दूरसञ्चार सेवाहरू बाहेक विविध सेवा, सुविधासँग सम्बन्धित वान टाइम पासवर्ड (ओटीपी) प्राप्त गर्न, मोबाइल एप तथा वेब–आधारित सेवाहरूमा साइन अप गर्न, र विभिन्न डिजिटल कारोबार गर्न मोबाइल नम्बर अत्यावश्यक हुन्छ । सूचना प्रविधिको विकाससँगै डिजिटल भविष्यतर्फ उन्मुख भईरहेको हालको अवस्थामा, मोबाइल नम्बर विभिन्न सेवाहरू सहज र डिजिटल रूपमा लिन महत्वपूर्ण माध्यम बनेको छ ।
डिशहोमको दुईतर्फी भोइस एआई ‘खुशी’ सार्वजनिक
काठमाडौं । डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम) ले नेपालमै पहिलो दुईतर्फी संवादमा आधारित भोइस एआई सेवा ‘खुशी’ सार्वजनिक गरेकाे छ । कम्पनीले ‘खुशी’ मार्फत ग्राहक सेवाको डिजिटल रूपान्तरणलाई नयाँ स्तरमा पुर्याउने दाबी गरेको छ । यसअघि डिशहोमले भर्चुअल प्रिभिलेज कार्डमार्फत होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा र इलेक्ट्रोनिक सामानसहित २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट उपलब्ध गराएको थियो । त्यस्तै, डिशहोम गो ओटीटी प्लेटफर्ममार्फत नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै उद्घाटन खेलमा दुई लाखभन्दा बढी दर्शक एकैसाथ आकर्षित गर्न सफल भएको कम्पनीले जनाएको छ । स्थानीय सन्दर्भलाई ध्यानमा राखेर विकसित गरिएको ‘खुशी’ नेपाली भाषामा प्राकृतिक, मानव–जस्तै आवाजमा संवाद गर्न सक्षम छ । यसले सेवा निष्क्रिय भएका ग्राहकसँग निरन्तर सम्पर्क राखेर पुनःनवीकरणमा प्रेरित गर्ने, प्रतिक्रिया तथा गुनासो सङ्कलन गरी सेवा केन्द्रसम्म पुर्याउने र कुराकानीकै आधारमा भावनात्मक प्रतिक्रिया विश्लेषण गरी प्रतिवेदन तयार गर्ने क्षमता राख्छ । नेटवर्क अवरोध वा अन्य प्राविधिक समस्या देखिएमा ‘खुशी’ डिशहोमको केन्द्रीय प्रणालीसँग एकीकृत भई ग्राहकलाई कलको क्रममा अवरोधको कारण, अनुमानित समाधान समय तथा प्रगतिबारे तुरुन्त जानकारी दिन पनि सक्षम बनाइने कम्पनीको दाबी छ। आगामी चरणमा डिशहोमले ‘खुशी’ लाई ग्राहक पहिचान प्रमाणीकरण, विवरण अभिलेख अद्यावधिक र सेवा तथा प्राविधिक मर्मतको समय व्यवस्थापनमा प्रयोग गर्ने तयारी गरेको छ । फेसबुक मेसेन्जर र वेबच्याटमा प्रयोग भैरहेका सामान्य च्याटबोटमा ‘खुशी’ एकीकृत गर्ने कार्य जारी रहेको र छिट्टै यो सेवा व्हाट्सएप तथा भाइबरमा पनि विस्तार गरिने जनाएको छ । कम्पनीका अनुसार नेपाली भाषामा आधारित संवाद प्रणालीलाई अझ सक्षम बनाउन अन्तर्राष्ट्रिय अनुसन्धान संस्थासँग सहकार्य गरी दीर्घकालीन परियोजना अघि बढाउने तयारीसमेत भइरहेको छ । कम्पनीका प्रवक्ताका अनुसार ‘खुशी’ को सार्वजनिकतासँगै डिशहोम अधिक डिजिटल, छरितो र मानवीय–शैलीअनुकूल ग्राहक सेवा प्रविधितर्फ अघि बढेको छ, जुन नेपालमा भोइस एआईको व्यावसायिक प्रयोगमा नयाँ मापदण्ड बन्ने अपेक्षा गरिएको छ ।
कर र रोयल्टी नतिर्ने २० इन्टरनेट कम्पनीको लाइसेन्स धरापमा, प्राधिकरणले दियो ३५ दिनको अल्टिमेट
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारलाई बुझाउनुपर्ने रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोषको रकम नबुझाउने २० वटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई कारबाहीको चेतावनी दिएको छ । प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै बक्यौता रकम बुझाउन ३५ दिने अल्टिमेटम दिएको हो । प्राधिकरणका अनुसार यी सेवा प्रदायकहरूले विगत केही वर्षदेखि लेखा परीक्षण विवरण बुझाएका छैनन् भने नियमानुसार बुझाउनुपर्ने रोयल्टी र कोषको रकम पनि दाखिला गरेका छैनन् । प्राधिकरणले बक्यौता रकम तिर्न पटक–पटक पत्राचार, इमेल र सार्वजनिक सूचनामार्फत जानकारी गराउँदा समेत यी कम्पनीहरूले कुनै वास्ता गरेका छैनन् । बाध्य भएर सार्वजनिक सूचना मार्फत कारबाहीको प्रक्रिया अगाडि बढाइएको प्राधिकरणले जनाएको छ । प्राधिकरणले सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पूर्ण विवरण र बक्यौता रकम बुझाउन निर्देशन दिएको छ । यदि यो अवधिभित्र पनि रकम दाखिला नगरेमा दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम कारबाही प्रक्रिया अघि बढाइनेछ । ऐनको दफा २८ मा अनुमतिपत्र खारेजीसम्मको व्यवस्था रहेको छ । प्राधिकरणले सम्बन्धित कम्पनीहरूलाई तत्काल जमलस्थित कार्यालयको अनुमतिपत्र व्यवस्थापन शाखामा सम्पर्क गर्न आग्रह गरेको छ । सूचना