टेलिकमले विद्यार्थीका लागि एनटी फाइबर अफर सुरू गर्यो, माघ २२ सम्म आवेदन खुला
काठमाडौं । नेपाल टेलिकमले विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एनटी फाइबर विद्यार्थी अफर’ उपलब्ध गराइरहेको छ । यो अफर आगामी माघ २२ गतेसम्म आवेदन गर्न सकिनेछ र विशेष गरी विद्यार्थीहरूका लागि मात्र मान्य छ । एनटी फाइबर विद्यार्थी अफर अन्तर्गत विद्यार्थीहरूले ३० एमबीपीएस स्पिडको इन्टरनेट सेवा एक वर्षसम्म पाउनेछन् । यसको मूल्य ४ हजार ९९९ रुपैयाँ मात्र रहेको छ । प्रतिदिन २५ जीबी डाटा उपलब्ध हुनेछ र यसको सीमाभन्दा बढी डाटा प्रयोग भएमा स्पिड ५ एमबीपीएस हुने व्यवस्था गरिएको छ । जडान शुल्क ५०० रुपैयाँ लाग्नेछ भने प्रत्येक विद्यार्थीले ड्युअल ब्यान्ड सीपीई र १०० मिटरसम्म ड्रप फाइबर निःशुल्क प्राप्त गर्नेछन् । अफर लिनका लागि विद्यार्थीहरूले १९८ नम्बरमा सम्पर्क गरी डिमान्ड पोर्टलमार्फत वा नजिकको नेपाल टेलिकम कार्यालयमा गएर आवेदन दिनुपर्नेछ । यसका लागि जन्म दर्ता वा नागरिकता प्रमाणपत्र, विद्यार्थी परिचय पत्र अनिवार्य पेश गर्नुपर्छ । नाबालिगका हकमा अभिभावकको नागरिकता वा पासपोर्टको प्रतिलिपि पनि आवश्यक छ । यो अफरको समयावधि सकिएपछि पुनः नवीकरण गर्न मिल्ने छैन । सेवा निरन्तरता चाहने विद्यार्थीले साविकका प्याकेजहरूबाट विकल्प छनोट गर्नु पर्नेछ वा उपलब्ध गराइएको सीपीई फिर्ता गर्नुपर्नेछ । प्रवक्ता रबिन्द्र मानन्धरका अनुसार यो अफर विद्यार्थीहरूका लागि उपयोगी रहेको छ र समयमै आवेदन दिन सबै विद्यार्थीहरूलाई आग्रह गरिएको छ ।
टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक
काठमाडौं । नेपाल टेलिकमको एकैसाथ धेरै डिभाइस चलाउन सकिने वाइफाई ६ सार्वजनिक भएको छ । टेलिकमले फाइबर टु द होम (एफटीटीएच) प्रविधिमार्फत प्रदान गर्दै आएको इन्टरनेट सेवालाई थप गुणस्तरीय बनाउन वाइफाई ६ प्रविधिको राउटर (सीपीई) तथा एक्सेस पोइन्ट (एपी) उपलब्ध गराउने भएको हाे । यससँगै अब वाइफाई ६ प्याकेज अन्तर्गत न्यूनतम १०० एमबीपीएस क्षमताको एफटीटीएच इन्टरनेट वितरण गरिने नेपाल टेलिकमले जनाएको छ । यसअघि वाइफाई ५ प्रविधिको सीपीई उपलब्ध गराउँदै आएको टेलिकमले अब वाइफाई ६ प्रविधिको सीपीईका साथै पहिलो पटक एपी समेत ल्याएको हो । नयाँ प्रविधिका यी उपकरण प्रयोग गर्दा घर वा कार्यालयका विभिन्न स्थानमा वाइफाई सिग्नल कमजोर हुने समस्या कम हुनुका साथै इन्टरनेट स्पिडमा समेत उल्लेखनीय सुधार आउने टेलिकमको दाबी छ । वाइफाई ६ प्रविधिले एकैसाथ धेरै डिभाइस कनेक्ट गर्न, सबै प्रयोगकर्तालाई पूर्ण स्पिडमा इन्टरनेट उपलब्ध गराउन, डाटा ट्रान्सफर छिटो गर्न तथा डिभाइसको ब्याट्री लाइफ बढाउन सहयोग गर्ने बताइएको छ । साथै, यो प्रविधि सुरक्षित र भरपर्दो इन्टरनेट सेवाका लागि पनि प्रभावकारी मानिन्छ । ग्राहकहरूका लागि नेपाल टेलिकमले वाइफाई ६ इन्डिभिजुअल प्याकेज र प्रिमियम प्याकेज उपलब्ध गराएको छ । इन्डिभिजुअल प्याकेज अन्तर्गत इन्टरनेट तथा टेलिफोन प्याकेज, इन्टरनेट–बेसिक एनटीटीभी–टेलिफोन प्याकेज र इन्टरनेट–प्रिमियम एनटीटीभी–टेलिफोन प्याकेजमध्ये कुनै एक छनोट गर्न सकिने छ । त्यस्तै, प्रिमियम प्याकेज अन्तर्गत प्रिमियम इन्टरनेट प्याकेज मात्र, प्रिमियम इन्टरनेट तथा बेसिक एनटीटीभी प्याकेज र प्रिमियम इन्टरनेट तथा प्रिमियम एनटीटीभी प्याकेजमध्ये कुनै एक रोज्न सकिने व्यवस्था गरिएको छ। यी सबै प्याकेज १००, १५० र २०० एमबीपीएस क्षमताका हुनेछन् भने मोबाइल डाटासमेत उपलब्ध हुने टेलिकमले जनाएको छ । वाइफाई ६ प्रविधिको सीपीई र एपी, एफटीटीएचका नयाँ दररेट तथा अन्य विस्तृत जानकारी नेपाल टेलिकमको वेबसाइट र ‘नेपाल टेलिकम’ एपमार्फत प्राप्त गर्न सकिने छ । साथै १९८ मा फोन गरेर वा नजिकको नेपाल टेलिकम कार्यालयबाट पनि थप जानकारी लिन सकिने प्रवक्ता रबिन्द्र मानन्धरले जानकारी दिएका छन् ।
एनटीसीको ३० प्रतिशत लाभांश घोषणा, सेयरधनीलाई ५ अर्ब ४० करोड रुपैयाँ
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम कम्पनी- एनटीसी) ले लाभांश घोषणा गरेको छ । कम्पनीको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित ३० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको कम्पनी सचिव द्वारिका प्रसाद पौडेलले जानकारी दिए । हाल कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । सो आधारमा कम्पनीले ३० प्रतिशतका दरले ५ अर्ब ४० करोड रुपैयाँ नगद सेयरधनीलाई वितरण गर्ने भएको हो । उनका अनुसार उक्त लाभांश अर्थ मन्त्रालयबाट स्वीकृत भएपश्चात् सेयरधनीलाई वितरण गरिनेछ । लाभांश पारित गर्न कम्पनीले पुस ३० गते राष्ट्रिय सभागृह काठमाडौंमा बिहान ११ बजे १८औँ वार्षिक साधारण सभा डाकेको छ । सभाले लाभांशसँगै गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ । यस्तै, महालेखापरीक्षकको कार्यालयको परामर्श तथा कम्पनी ऐनको प्रावधान अनुरूप कम्पनीको चालु आव २०८२/८३ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त र पारिश्रमिक निर्धारण गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस २० गतेदेखि पुस ३० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १९ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।