सार्वजनिक भए आइफोन–१२ सिरिजका ४ मोबाइल, यस्ता छन् विशेषता र मूल्य
काठमाडौ । आईफोन–१२ सिरिजका ४ वटा फोन सार्वजनिक भएका छन् । ४५ सेकेन्डमै २० गिगाबाइटसम्मको भिडियो डाउनलोड हुने विशेषता सहितको नयाँ आइफोन बजारमा आएको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ । कम्पनीले आइफोन–१२, आइफोन–१२ मिनी, आइफोन–प्रो र आइफोन–१२ प्रोम्याक्स सार्वजनिक गरेको हो । यी चार मोडलमध्ये आइफोन–१२ र आइफोन–१२ मिनीमा ६४, १२८ र २५६ जीवी स्टोरेज क्षमतामा उपलब्ध छन् । आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्समा ६४, १२८, २५६ र ५१२ जवी स्टोरेज क्षमता छ । मंगलबार सार्वजनिक भएका उक्त आइफोनको मूल्य कम्तिमा ६ सय ९९ अमेरिकी डलरदेखि १ हजार १ सय ९९ डलरसम्म तोकिएको छ । कम्पनीले सार्वजनिक गरेको मूल्य अनुसार आइफोन–१२ मिनीको मूल्य ६ सय ४९ डलर छ भने आइफोन–१२ को मूल्य ७ सय ९९ अमेरिकी डलरबाट सुरु हुन्छ । यसरी नै आइफोन–१२ प्रो र आइफोन–१२ प्रोम्याक्सको मूल्य क्रमश ९ सय ९९ डलर तथा ११ सय ९९ डलर सुरु हुने कम्पनीले जनाएको छ । मोवाइलमा उपलब्ध विभिन्न सुविधा तथा स्टोरेज अनुसार मूल्यमा फरक पर्छ । ग्राहकले आगामी नोभेम्बर तथा अक्टोबर महिनाबाट मोवाइलको प्रिअर्डर गर्न तथा हात पार्न सक्ने कम्पनीले जनाएको छ । विषेशता आइफोनको स्क्रिन परिवर्तन गरिएको छ । आगामी दिनमा ग्राहकहरुले मोवाइल फोन बोक्दा आइफोनको स्क्रिनमा परिवर्तन भएको पाउँन सक्नेछन् । यी आइफोनमो स्क्रीन केही ठूलो (६.१ इन्च) रहेको छ । पर्यावरणमा प्रभाव कम पार्न भन्दै कम्पनीले मोबाइलको साथमा चार्जर र एयरफोन भने नदिने भएको छ । यस्तै, लन्च भएको उक्त आइफोनमा फ्ल्यास बिना नै रातमा सेल्फी लिन सकिने विषेशता छ । नयाँ आइफोनमा फाइभजी नेटवर्क चल्ने गरी बनाइएको छ । सोही कारण कम्पनीले आगामी दिनमा नयाँ सेरिजका फोनमा ग्राहकको विषश आकर्षण रहने दाबी समेत गरेको छ ।
निःशुल्क वितरण गरिएको इन्टरनेटमा अब शुल्क लाग्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्लामा निःशुल्क रुपमा वितरण गर्दै आएको इन्टरनेट प्रयोगमा अब शुल्क लाग्ने भएको छ । दुई वर्षका लागि प्राधिकरणले इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउने योजनासाथ ग्रामीण दूरसञ्चार विकास कोषको रकम परिचालन गरेको थियो । निःशुल्क इन्टरनेटको अवधि २०७६ साल चैतसम्म भए तापनि कोरोना भाइरस सङ्क्रमणका कारण सेवा प्रवाहलाई निरन्तरता दिइएकामा मङ्गलबारदेखि उक्त सेवा सकिएको जनाइएको छ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालका अनुसार कोरोना महामारीका बीचमा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रवाह गर्न सेवा प्रदायकलाई थप समय दिइएकामा उक्त समय मङ्गलबारदेखि सकिएको छ । उनका अनुसार अब ब्रोडब्यान्ड इन्टरनेटको सेवाका लागि सम्बन्धित निकायले प्राधिकरणबाट स्वीकृत गरेको महसुल दरमा मात्र सेवा प्रदायकसँग सम्झौता गरी इन्टरनेट सेवाको उपभोग गर्न सक्नेछन् । प्राधिकरणले भूकम्प प्रभावित ११ जिल्ला (नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, गोरखा, धादिङ, मकवानपुर, दोलखा, रामेछाप, ओखलढुंङ्गा र सिन्धुली) का इन्टरनेट सेवा नपुगेका स्थानीय निकायमा इन्टरनेट पुर्याउन विभिन्न सेवा प्रदायकसँग सम्झौता गरेको थियो । रासस
प्रदेश २ सरकारले करिब २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान गर्दै
धनुषा । प्रदेश २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत बीमा गराएका २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी थालिएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा कार्यक्रममा २ माघ २०७६ यता बीमा गराएका छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियङ्का यादवले जानकारी दिए । गत माघ २ गतेखि प्रदेश नं २ का १३६ वटै पालिकामा छोरी शिक्षा बीमाको शिविर सञ्चालन गरिएको थियो । संयोजक यादवले अहिले छोरी बीमा गराएका घरमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर सङ्कलन गर्ने काम भइरहेको बताए । उनले महोत्तरीको लोहारपट्टि नगरपालिकाको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले यस नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको बताए । प्रदेशका सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ । सुविसु इन्टरनेट कम्पनीले बीमा भएका ती छोरीको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ । महिला हिंसा न्यूनीकरण तथा छोरीको राम्रो शिक्षादीक्षाका लागि सञ्चालन गरिएको प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत छोरी शिक्षा बीमा कार्यक्रम सञ्चालनमा छ । जसमा छोरी जन्मिने बित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर तीन लाख रुपैयाँको बीमा गरिदिने व्यवस्था गरिएको छ । उक्त बीमाको रकम छोरीले २० वर्षपछि पाउनेछन् । शुरुमा २०७५ मा योजना एकजना छोरीलाई १३ हजार ६४६ रुपैयाँ १५ पैसा तिरेर एक लाख रुपैयाँको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो । मुख्यमन्त्री कार्यालयसँग माघयता २६ हजार ९५६ छोरीको बीमा गरिएको तथ्याङ्क छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्याङ्क रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मका लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता गरिएको थियो । प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न असोज २१ गते बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो । मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बैठकले पुनः छोरी शिक्षा बीमा शुरु गर्ने, प्रभावकारी ढङ्गले अगाडि बढाउने, इन्टरनेट जडान गर्ने लगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिए। अब अर्को बैंकसँग छोरी शिक्षा बीमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम शुरु हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । रासस