मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत सन्देश प्रवाह गरे कारवाही
काठमाडाैं । मोबाइल सेवा प्रदायक कम्पनीको नेटवर्क प्रयोग गरेर गलत तथा भ्रामक सन्देश ग्राहकलाई सम्प्रेषण तथा प्रवाह गरेको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले सचेत रहन आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना प्रकाशन गर्दै भ्रामक सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै सूचना प्रवाह गर्नेलाई कारवाहीको व्यवस्था भएको जनाएको हो । केही दिनअघि विभिन्न व्यक्तिले कोरोना भाइरस सङ्क्रमणको दरमा वृद्धि भएको भन्दै दशैँमा कफ्र्यु र सङ्कटकालको घोषणाको तयारी भएको भन्दै सर्ट म्यासेज सर्भिस (मोबाइल एसएमएस) र सामाजिक सञ्जालमा सूचना फैलाएका थिए । गृह मन्त्रालयले नाम लिएर भ्रामक सूचना प्रवाह भएको भन्दै प्राधिकरणले मोबाइल सेवा प्रदायक कम्पनीलाई सचेत रहन निर्देशन दिएको हो । प्राधिकरणले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “दूरसञ्चार ऐन, २०५३ को दफा (३) ले कुनै व्यक्तिले दूरसञ्चार सेवाको दुरुपयोग गरेमा, अनाधिकार प्रयोग गरेमा वा दूरसञ्चार सेवासँग सम्बन्धित कुनै सम्पत्ति हानी नोक्सानी गरेमा प्राधिकरणले त्यस्तो व्यक्तिबाट बिगो असुल गरी बिगोबमोजिम जरिवानासमेत गर्न सक्छ ।” ।
सोलुखुम्बुको ताक्सिन्दु र जुभुमा टेलिकमकाे जीएसएम मोबाइल सेवा सुरु
काठमाडौं । नेपाल टेलिकमले सोलुखुम्बुको विकट स्थान ताक्सिन्दु र जुभुमा जीएसएम मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । गत असोज २९ देखि सञ्चालनमा आएको मोबाइल सेवामार्फत अब सो क्षेत्रका ग्राहकले कुराकानी गर्न र डाटा समेत चलाउन सक्नेछन् । यो भन्दा पहिले सो क्षेत्रमा कम्पनीको स्काई मोबाइलबाट मात्र सेवा उपलब्ध थियो । नुम्बुर हिमालको काखमा रहेको दुधकुण्ड नगरपालिकाको ताक्सिन्दुस्थित ३ हजार १३० मिटर उचाईमा जीएसएम प्रविधिको बीटीएस टावर स्थापना गरिएको छ । लुक्ला हुँदै नाम्चेसम्म पुग्ने पदयात्री यही रुट भएर जाने हुनाले यसबाट पर्यटकहरु समेत लाभान्वित हुने टेलिकमले जनाएकाे छ । सो क्षेत्रका नुनथला, फुलेबी, सेरा, खरिखोला, जुबिङ र पैयाँ लगायत क्षेत्रका करिब ६ सय घरधुरी अब कम्पनीको मोबाइल सेवाबाट प्रत्यक्ष रुपमा लाभान्वित हुने कम्पनी बताउँछ । सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राखी दुर्गम तथा अति विकट स्थानका रुपमा चिनिने ती क्षेत्रका वस्तीमा नेपाल टेलिकमले नि:शुल्क सिम वितरण शुरु गरेको छ । त्यसैगरी सोलुकै दुधकोशी गाउँपालिका वडा नम्बर ४ जुबु बलंगामा अर्को टावर पनि हालै सञ्चालनमा ल्याइएको छ । करिब १ हजार २३० मिटर उचाईमा रहेको यो टावरले पनि सो क्षेत्र अन्तर्गत पर्ने देउसा, मुक्ली, कागेल, पञ्चन र जुभु गरी सो भेगमा रहेका ४ हजार घरधुरीलाई सेवा प्रदान गर्नेछ । यसका साथै ओखलढुंगाको रुम्जाटारमा नेपाल टेलिकमको ग्राहक सेवा केन्द्र पुनस्थापना गरिएको छ । कम्पनीले पहिलेदेखि नै रुम्जाटार र त्यहाँ रहेको विमानस्थलस्थित ग्राहक सेवा केन्द्रमार्फत सेवा प्रदान गरिरहेको भए तापनि करिब २ वर्ष देखि केन्द्र सञ्चालनमा थिएन । ग्राहक सेवा केन्द्र पुनस्र्थापना भएपछि सेवाग्राहीलाई टेलिफोन जडान गर्न, इन्टरनेट सुविधा लिन, नयाँ सिमकार्ड खरिद गर्न वा सिम परिवर्तन गर्न सहज हुने कम्पनीले जनाएकाे छ । साथै सेवावापत भुक्तानी गर्नुपर्ने बिल पनि सो केन्द्रमा सहज रुपले भुक्तानी गर्न सकिनेछ ।
टेलिकमले कुन कुन भाषामा सन्देश प्रशारण गर्छ ?
काठमाडौं । नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक फरक मातृभाषा बोल्ने सेवाग्राहीहरुलाई लक्षित गरी कम्पनीका सेवाका बारेमा जानकारी प्रदान गर्दै आइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो । यस कार्यका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक फरक सन्देशहरु झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरु धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायल मार्फत प्रसारण भइरहेका छन् । राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिका बारेमा जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरु लाभान्वित हुने कम्पनीको अपेक्षा रहेको छ । नेपाल टेलिकमले हाल अटम अफरको रुपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ । नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ ।