फाेनपे ‘क्यूआरमा उपहार’: हरेक दिन उपहारका साथै बम्परमा यमाहाको एफजेडआइ स्कुटर

काठमाडौं । फोनपेले आफ्ना प्रयोगकर्ता तथा मर्चेन्टहरुलाई लक्षित गर्दै ‘क्यूआरमा उपहार’ योजना ल्याएको छ । फोनपेका प्रयोगकर्ता र मर्चेन्टहरुलाई क्यूआर मार्फत भुक्तानी गर्न प्रेरित गर्ने उदेश्यले यो उपहार योजना सञ्चालनमा ल्याइएको कम्पनीले जनाएको छ । यस योजनामा प्रयोगकर्ताले दैनिक, साप्ताहिक र मासिक रूपमा उपहार जित्न सक्नेछन् । यस योजनामा दैनिक ५ जना प्रयोगकर्ता र मर्चेन्टले एक हजार, हरेक हप्ता २ जना प्रयोगकर्ता र मर्चेन्टले १० हजार, हरेक महिना एक जना प्रयोगकर्ता र मर्चेन्टले एक लाख रूपैयाँ जित्न सक्नेछन् । यस्तै बम्पर उपहारमा एक जना भाग्यशाली प्रयोगकर्ता र एकजना मर्चेन्टले एक/एक वटा यमाहाको रेजेडआर आइ १२५ एफ वान स्कुटर जित्नेछन् । बम्पर उपहार योजनाको अन्तिममा दिनमा सार्वजनिक गर्ने कम्पनीले जनाएकाे छ। यो योजना ८ मंसिर देखि ११ माघसम्म सञ्चालन हुनेछ । फोनपेसँग आवद्ध बैंक तथा इसेवाको मोबाईल बैंकिङबाट प्रयोग गर्ने प्रयोगकर्ताहरु यस उपहार योजनामा सहभागी हुने सक्नेछन् ।

कञ्चनपुर प्रहरीद्वारा सवारीसाधन जाँच गर्न ‘गोप्रो क्यामेरा’ काे प्रयोग

महेन्द्रनगर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा छ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए । “सवारीसाधन जाँचका क्रममा कुनै खाले विवाद सिर्जना भइहाले पनि यसले प्रमाण राख्न पनि सहज हुन्छ”, उनले भने, “प्रहरीको प्रविधिमाथि पनि पहुँच बढिरहेको छ ।” उनले शुरुआतमा महेन्द्रनगर र आसपासका क्षेत्रमा थालिएको उक्त गोप्रो क्यामेराको प्रयोग जिल्लाभरका युनिटसम्म पु¥याउने योजना रहेको बताए । क्यामेरा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासिनीको पहलमा खरिद गरी कार्यक्षेत्रमा खटिने प्रहरीलाई प्रयोगका लागि दिइएको हो । “हरेक दिनको भिडियोसहितको रेकर्ड जिल्लामा राख्ने काम पनि हुन्छ”, प्रवक्ता थापाले भने, “ट्राफिक नियम पालना गरी दुर्घटना न्यूनीकरणका लागि सबैले सचेत हुन जरुरी छ ।” उनले क्यामेराको प्रयोगले खटिने प्रहरी कर्मचारीकोसमेत गतिविधिमाथि निगरानी हुने बताए । सवारी जाँच खटिने प्रहरीले छातीमा क्यामेरा लगाउने भएकाले चालक र प्रहरी दुवैका गतिविधि अटो रेकर्ड हुन्छ । “सवारी जाँचका क्रममा प्रहरीबाटै दुव्र्यहार भएका गुनासा पनि आउँछन्”, उनले भने, “अब यथार्थ थाहा पाउन पनि सहज हुन्छ ।” प्रहरी र ट्राफिक प्रहरीले दुई दिनदेखि उक्त क्यामेराको प्रयोगसहित बजार र आसपासका क्षेत्रमा सवारी जाँच सक्रिय बनाएको छ । दुई दिनमा ५८ सवारी साधनमाथि कारवाही गरिएको प्रहरीले जनाएको छ । “पहिलो दिन बिहीबार ३२ र शुक्रबार २६ वटा सवारी साधनमाथि कारवाही गर्दा गरियो”, थापाले भने, “ग्रामीण बस्तीसम्म प्रहरी सहभागिता बढाउन विभिन्न योजनासहित अघि बढ्दै छौँ ।” रासस

अनलाइन टिभीलाई व्यवस्थित बनाउन आग्रह

काठमाडाैं । संसारभरि आज विश्व टेलिभिजन दिवस मनाइँदैछ । यस अवसरमा विशेष गरेर टेलिभिजनको उपयोगिता र यसका नयाँ चुनौतीका बारेमा छलफल कार्यक्रमको आयोजना गरिएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले १७ डिसेम्बर १९९६ मा हरेक वर्ष २१ नोभेम्बरका दिन टेलिभिजन दिवसको रुपमा मनाउने निर्णय गरेअनुसार यो दिवस मनाउन थालिएको हो । आजभन्दा ९५ वर्ष अगाडि आविष्कार भएको टेलिभिजन आमसञ्चार माध्यम अहिले विकास हुँदै अनलाइन टेलिभिजनसम्म आइपुगेको छ । टेलिभिजन प्रविधिको सबैभन्दा कान्छो पुस्ताको रुपमा रहेको अनलाइन टेलिभिजनको विस्तार र आकर्षण दिनप्रतिदिन बढिरहे पनि यसको व्यवस्थापन तथा संस्थागत विकासको आवश्यकता पनि उत्तिकै रहेको अनलाइन टिभी पत्रकार सङ्घले जनाएको छ । सङ्घका अध्यक्ष जीवन भण्डारी र महासचिव राजु सुवेदीले दिवसको अवसरमा वक्तव्य जारी गर्दै अनलाइन टेलिभिजनको पहुँचलाई विस्तार गर्दै यसको विषयवस्तु तथा प्रस्तुतिको गुणस्तर वृद्धि गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान पु¥याउनुपर्ने बेला भएको उल्लेख गरेका छन् । सबै अनलाइन टिभीकर्मीलाई सङ्गठित हुन र एक अर्कालाई सहयोग, सीप र ज्ञान आदानप्रदान गर्न पनि उहाँहरुले सबैलाई आह्वान गरेका छन् । अनलाइन टेलिभिजनलाई व्यवस्थित, विश्वसनीय र उपयोगी बनाउन सबै टेलिभिजनकर्मी, विज्ञ र सरोकारवाला निकायका बीचमा सहकार्य गर्दै केही प्रयास भइरहेको सङ्घले जानकारी दिएको छ । नेपालमा पहिलो टेलिभिजनको रुपमा विसं २०४१ माघ १७ गते नेपाल टेलिभिजनको स्थापना भएको हो भने हाल सय बढी टेलिभिजन सञ्चालनमा रहेका छन् । त्यसैगरी अनलाइन टेलिभिजनको सङ्ख्या पनि बढीरहेपनि यसको कुनै आधिकारिक तथ्याङ्क भने उपलब्ध छैन । रासस