टेलिकमको भिओएलटिई सेवा परीक्षण सुरु, यसरी तपाईंकाे फाेनमा प्रयाेग गर्नुहाेस्
काठमाडाैं । विश्व दूरसञ्चार तथा सूचना समाज दिवसको अवसर पारेर नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) एलटिई सेवाको परीक्षण सुरु गरेको छ । टेलिकमका सेवालाई आधुनिकीकरण गर्ने भन्दै आजदेखि वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटिई सेवाको परीक्षण सुरु गरिएको हो । उक्त सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा भिओ एलटिई सेवाको परीक्षण सुरु गर्न लागिएको टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए । उनका अनुसार उक्त सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेशन भ्वाइस, डायल गर्नासाथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिनेछ । कसरी लिने सेवा ? सो सेवाका लागि भिओएलटिई सपोर्ट गर्ने मोबाइलमा ८४४४३ डायल गरी प्राप्त निर्देशनको अनुसरण गरी सिममा भिओएलटिई एक्टिभेट गर्न सकिनेछ । यस्तै सो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गई भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ । लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ । भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ । भिओएलटिई सेवाका प्रयोगकर्ताले नेपाल टेलिकमको नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सक्नेछन् भने एक सय मिनेट भ्वाइस सुविधा एकपटकका लागि निःशुल्क उपलब्ध गराइनेछ । आफ्नो मोबाइल सेटले भिओएलटिई सपोर्ट गर्छ/गर्दैन भनी थाहा पाउनका लागि तथा उक्त सेवासम्बन्धी थप जानकारीका लागि टेलिकमको वेबसाइटमा लिङ्क प्रयोग गर्न सकिनेछ ।
एनटीसीकाे नाफा ५ अर्ब ८९ करोड रुपैयाँमा सीमित, यसकारण घट्यो नाफा
काठमाडौं । नेपाल दुरसञ्चार कम्पनी (एनटीसी) ले चालु आवको ९ महिनामा ५ अर्ब ८९ करोड रुपैयाँ मात्रै खुद नाफा कमाएको छ । जुन गत वर्षको तुलनामा २२ प्रतिशतले घटी हो । कम्पनीले गत आर्थिक वर्षको चैत मसान्तमा ७ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेर ५२.३६ रुपैयाँमा सीमित भएको छ । गत वर्षको चैत मसान्तसम्मा कम्पनीको प्रतिसेयर आम्दानी ६७.२७ रुपैयाँ रहेको थियो । त्यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ६५३.१२ रुपैयाँ र मूल्य आम्दानी अनुपात २५ गुणा रहेको छ । समिक्षा अवधिमा कम्पनीको लगानी भने बढेको छ । गत वर्षको तुलनामा कम्पनीको लगानी १० प्रतिशतले बढेर ६१ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । हाल कम्पनीको चुक्ता पुँजी १५ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । यसकारण घट्यो कम्पनीको नाफा तथा व्यवसाय काभिड १९ को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आर्थिक वर्षमा घट्न गएको हुँदा व्याज आम्दानीमा कमी आएको कम्पनीले जनाएको छ । कोभिड १९ को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकको सुविधाका लागि निकै कम मूल्यमा डेटा प्याकेज उपलव्ध गरिएको हुँदा अघिल्लो वर्षको तुलनामा डेटाको कन्जुम्सन बढे तापनि राजश्व आशातित रुपमा वृद्धि हुने अवस्था नरहेको कम्पनीको भनाई रहेको छ । यो महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा ओटीटीको बढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको छ । समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा फोरजी तथा फिट्थ जस्ता नवीन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई कम्पनीको नाफामा असर परेको छ ।
कनेक्ट आईपीएस मार्फत एक महिनामै डेढ खर्ब रूपैयाँको कारोबार
काठमाडौं । पछिल्लो समय कनेक्ट आईपीएस मार्फत हुने कारोबारको संख्यामा वृद्धि हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०७७ अनुसार चैत महिनामा हालसम्मकै उच्च कारोबार भएको हो । उक्त तथ्यांक अनुसार गत फागुन महिनाको तुलनामा चैत महिनामा मात्र एक खर्ब ४१ अर्ब ८० करोढ २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बैंकको तथ्यांक अनुसार फागुनको एक महिनामा कनेक्ट आईपीएस मार्फत एक खर्ब १० अर्ब ५७ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो भने माघ महिनामा एक खर्ब ४ अर्ब ३९ करोडभन्दा बढीको कारोबार भएको थियो । चैत महिनामा २० लाख ३८ हजार ४६५ पटक कनेक्ट आईपीएसको प्रयोेग भएको छ । गत फागुन महिनामा १६ लाख पटक प्रयोग भएको थियो । पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ९ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो । राष्ट्र बैंकले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांक अनुसार गत महिनाको तुलनामा कनेक्ट आईपीएस, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, क्यूआर स्क्यान र मोबाइल वालेट मार्फत हुने कारोबारमा वृद्धि भएको हो ।