मिदासको ‘मेरो डाक्टर’ अनलाइन भिडियो परामर्श सुरु, कोभिडसँग सम्बन्धित परामर्श नि:शूल्क

काठमाडौं । कोभिड–१९ महामारीसँगैको जारी बन्दाबन्दीले हिँडडुलमा कठिनाइ भइ धेरै बिरामीहरू आफ्नो नियमित स्वास्थ्य परिक्षणका लागि अस्पताल वा चिकित्सकको सम्पर्कमा आउन नसकेको अवस्थालाई मध्यनजर गर्दै मिदासले ‘मेरो डाक्टर’ एप मार्फत अनलाइन भिडियो परामर्श बिहीबारदेखि सुरु गरेको छ । नेपालका सयौँ कन्सल्टेन्ट डाक्टर र कैयन अस्पताल यस एपमा उपलब्ध हुने हुँदा जुनसुकै रोगका बिरामीहरूले जुनसुकै स्थानबाट अनलाइन भिडियो परामर्श पाउन सक्ने गरी व्यवस्था मिलाइएको मिदास टेक्नोलोजिज्सका प्रबन्ध निर्देशक छत्रहरी कार्कीले बताए । सामान्य रोगलाई अनलाइन परामर्शबाट नै उपचार गर्न र जटिल बन्न नदिन र उपचार सम्भव हुँदै अस्पताल वा विशेषज्ञ चिकित्सकहरूको सम्पर्कमा जान प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ यो अनलाइन भिडियो परामर्श सेवाको परिकल्पना गरिएको कार्कीले बताए । जारी कोभिड–१९, को बन्दाबन्दीको अवस्थाका अतिरिक्त सामान्य समयमा समेत विशेषज्ञ चिकित्सकहरुले यस एप मार्फत स्वास्थ्य सेवा परामर्श दिन सकिने गरी व्यवस्था मिलाईएको छ । जारी कोभिड–१९ सँग सम्बन्धित सम्पूर्ण स्वास्थ्य परामर्श सबै यस अनलाइन भिडियो परामर्शमा नि:शूल्क हुनेगरी व्यवस्था मिलाइएको कम्पीले जनाएकाे छ । कम्पनीले १२० वटाभन्दा बढी अस्पतालहरुलाई व्यवस्थपनमा सहयाेग गर्दै आएकाे छ । यो सेवा कसरी लिने ? यदि तपाइँ एन्ड्रोइड फोन प्रयोगकर्ता हुनुहुन्छ भने गुगल प्ले स्टोरमा गएर सजिलै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुन्छ । यदि तपाईँ आइवएएस फोन प्रयोगकर्ता हुनुहुन्छ भने एप्पल स्टोरमा गएर तुरुन्तै ‘मेरो डाक्टर’ एप डाउनलोड गर्न सक्नुहुनेछ । यदि तपाईँ ल्याप–टप वा डेस्क–टपबाट यो सेवा लिन चाहानुहुन्छ भने सिधै http://www.merodoctor.com टाइप गरेर यो सेवा लिन सक्नुहुनेछ । यदि माथि उल्लेखित कुनै पनि ग्याजेट तथा इन्टरनेट सुविधा तपाईंसँग उपलब्ध भएनन् भने आफुलाई पायक पर्ने नजिकैको फार्मेसी, क्लिनिक तथा स्वास्थ्य चौकीमा पुगेर यो सेवा लिन सक्नुहुनेछ । मेरो डाक्टर एप कसरी प्रयोग गर्ने भन्ने सम्बन्धमा यो लिंक http://www.merodoctor.com/help ले तपाइँलाई थप मद्दत गर्नेछ ।

१० जिल्लाका सर्वसाधारणले निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले थप दश जिल्लामा निःशुल्क रुपमा इन्टरनेट पुरयाएको छ । प्राधिकरणले सोमबार एक सूचना प्रकाशन गर्दै ग्रामिण दूरसञ्चार कोषको रकम प्रयोग गरेर उक्त जिल्लामा ब्रोडब्याण्ड नेटवर्क निर्माणको काम सम्पन्न भएको जनाएको हो । उक्त जिल्लाका नगरपालिका, गाउँपालिका, वडा कार्यालय, सामुदायिक विद्यालय, सामुदायिक स्वास्थ्य संस्था/केन्द्र र अस्पतालहरुमा निःशुल्क इन्टरनेट पुरयाइएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए । उनका अनुसार उक्त परियोजना अन्तर्गत गण्डकी प्रदेशका कास्की, तनहुँ, पर्वत, स्याङ्जा र लमजुङ तथा प्रदेश नं. १ का इलाम, सुनसरी, मोरङ, उदयपुर र झापामा ब्रोडब्याण्ड इन्टरनेट विस्तार सम्पन्न भएको हो । प्राधिकरणले उक्त जिल्लामा दुई वर्षका लागि निःशुल्क रुपमा इन्टरनेट उपलब्ध गराउनेछ । गण्डकी प्रदेशका पाँच जिल्लामा वल्र्डलिङ्क कम्युनिकेशनले ब्रोडब्याण्ड नेटवर्क र प्रदेश नम्बर १ का पाँच जिल्लामा टेकमाइन्ड्स् नेटवर्कले इन्टरनेट विस्तारको काम सम्पन्न गरेको हो । प्राधिकरणले उक्त दश जिल्लाका नगरपालिका, गाउँपालिका वडा कार्यालय, सामुदायिक माध्यमिक विद्यालय र सामुदायिक स्वास्थ्य संस्था/केन्द्रहरूमा इन्टरनेट सेवा जडान गर्न छुट भएमा १५ दिनभित्र प्राधिकरणमा जानकारी गराउन समेत आग्रह गरेको छ । यस्तै, प्राधिकरणले उक्त दश जिल्लाका सर्वसाधारणले इन्टरनेट सेवा जडान गरी सेवा लिनु परेमा सम्बन्धित सेवा प्रदायकसँग सम्पर्क गरी प्राधिकरणबाट स्वीकृत दरमा इन्टरनेट सेवा जडान गर्न सकिने जनाएको छ । रासस

थपिदै फोरजीका ग्राहक, ८७ प्रतिशत जनसंख्याको पहुँचमा इन्टरनेट

काठमाडौं । नेपालमा फोरजीका ग्राहक ७६ लाख भन्दा बढी भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको (गत साउनदेखि फागुन मसान्तसम्म) तथ्यांक अनुसार फारजीका प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ पुगेको हो । नेपालमा तीन दूरसञ्चार सेवा कम्पनीले फोरजी सेवा सञ्चालन गरेका छन् । तीन कम्पनी मध्येमा सबैभन्दा धेरै ग्राहक एनसेलको रहेको छ । आठ महिनामा एनसेल कम्पनीका फोरजीका ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेको छ । गत माघ महिनाको तुलनामा फागुन महिनामा ५ लाख ३० हजार ८०६ जना बढेका छन् । गत माघ महिनामा फोरजीका ग्राहक ४३ लाख २५ हजार ९३६ जना रहेका थिए । प्राधिकरणको तथ्यांक अनुसार सरकारी स्वामित्वमा सञ्चालित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को फोरजीका ग्राहक २५ लाख ८९ हजार २९४ जना पुगेका छन् । गत माघ महिनाको तुलनामा फागुन महिनामा ४४ हजार ५७० जनाले बृद्धि भएको छ । गत माघ महिनामा फोरजीका ग्राहक २५ लाख ४४ हजार रहेका थिए । यसैगरी, स्मार्ट टेलिकमका फोरजी प्रयोगकर्ता २ लाख २३ हजार १४५ जना पुगेको छ । गत माघ महिनाको तुलनामा फोरजीका ग्राहक एक हजारले मात्र बढेका छन् । स्मार्ट टेलिकमका फोरजीका मात्र ग्राहक रहेका छन् । फोरजीका प्रयोगकर्ता सगैँ गत माघ महिनाको तुलनामा फागुन महिनामा २ लाख बढी थ्रीजीका प्रयोगकर्ता थपिएका छन् । गत माघ महिनामा १ करोड १३ लाख ५१ हजार प्रयोगकता रहेकोमा फागुन महिनामा एक करोड १५ लाख ६५ हजार बढी थ्रीजीका प्रयोगकर्ता रहेका छन् । नेपालमा कुल जनसंख्याको ८७ प्रतिशत जनसंख्यामा इन्टरनेटको पहुँच पुगेको छ । आठ महिनाको तथ्यांक अनुसार नेपालमा दुई करोड ६३ लाख ५६ हजार बढी जनसंख्याको पहुँचमा इन्टरनेट सेवा पुगिसकेको छ । गत माघ महिनाको तुलनामा फागुन महिनामा ९ लाख ३६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत माघ महिनामा कूल २ करोड ५४ लाख १९ हजार जनाको पहुँचमा इन्टरनेट सेवा पुगेको थियो ।